logo
२०७८ जेष्ठ २ आईतवार



विप्रेषण र यसको चुहावट

विचार/दृष्टिकोण |




रामेश्वरी पन्त

कुनै देशका श्रमिकले आफ्नो देशको सीमाभन्दा बाहिर अन्य देशमा काम गरी आफ्नो देशमा पठाउने विदेशी विनिमयलाई विप्रेषण (रेमिटेन्स) भनिन्छ । विप्रेषणबाट व्यक्तिगत र समष्टिगत आर्थिक विकास दुवैमा महŒवपूर्ण योगदान पुग्छ । विप्रेषणले रकम प्राप्त गर्ने व्यक्ति वा परिवारको आम्दानीमा मात्र नभई, भुक्तानी प्राप्त गर्ने देशको विदेशी विनिमय सञ्चितीमा वृद्धि गराउँछ । यदि विप्रेषणबाट प्राप्त रकमलाई लगानी गरियो भने यसले उत्पादनमा वृद्धि हुन्छ र यदि उपभोग गरियो भने पनि उत्पादन वृद्धिमा गुणात्मक असर गर्छ ।
विकासशील देशका लागि विप्रेषण आय सबैभन्दा कम उतारचढाव हुने विदेशी विनिमयको स्रोत मानिएको छ । विकसित देशबाट विकासशील देशमा प्राप्त हुने विभिन्न प्रकारका सहायता वा पँुजीको आप्रवाह व्यापार चक्रको उतारचढाव र दुई देशबीचको सम्बन्ध सँगसँगै उतारचढाव हुन्छ । श्रमिक पठाउने देशमा मन्दी देखापरेमा पनि विप्रेषणलाई भरपर्दो आम्दानीको स्रोत भएको पाइन्छ ।
समष्टिगत आर्थिक स्तरबाट हेर्दा विप्रेषण विकासशील देशको विदेशी मुद्राको महŒवपूर्ण स्रोत हो । यसले त्यस देशको विदेशी मुद्रा सञ्चिती बढ्छ । निर्यात क्षमता कमजोर भएका विकासशील देशमा विप्रेषणबाट प्राप्त आयले ती देशको बाह्य स्थायित्व कायम गर्न मद्दत पु¥याउँछ । हालको दशकमा विकासशील देशमा विदेशी सहायताको साथै निजी क्षेत्रबाट प्राप्त हुने पुँजीसमेत घट्दै गएकाले बाह्य क्षेत्रबाट प्राप्त हुने प्रमुख स्रोत नै विप्रेषणबाट प्राप्त रकम भएको छ । यसले आयातलाई चाहिने विदेशी मुद्रा प्रदान गर्छ र शोधनान्तरलाई सन्तुलनमा ल्याउन योगदान दिन्छ ।
नेपालको सन्दर्भमा हेर्दा विप्रेषण आय अर्थतन्त्रको महŒवपूर्ण आधारका रूपमा छ । यसले नेपालको बाह्य क्षेत्र सन्तुलन कायम गर्नमात्र नभई, शिक्षा, स्वास्थ्य गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुजी निर्माणमा समेत महŒवपूर्ण भूमिका खेलेको तथ्य नेपाल राष्ट्र बैङ्कले उल्लेख गरेको छ । बैङ्कले २०७६ पुसमा नेपालमा विप्रेषण आप्रवाहको स्थिति अध्ययनअनुसार आर्थिक वर्ष २०६५÷०६६ मा रु. २०९ अर्ब विप्रेषण आप्रवाह रहेकोमा आव २०७५÷७६ मा रु. ८७९ अर्ब पुगेको उल्लेख गरेको छ । आर्थिक वर्ष २०५७÷५८ मा विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात १०.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५÷७६ मा २५.४ प्रतिशत पुगेको छ । नेपाललाई अन्तर्राष्ट्रिय दातृनिकाय तथा मित्रराष्ट्रले प्रदान गर्ने विकास अनुदान तथा नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानीको तुलनामा विप्रेषण आप्रवाह अधिक भएकाले हालको अवस्थामा विप्रेषण नेपालको विदेशी विनिमय सञ्चितीको प्रमुख आधारका रूपमा रहेकोसमेत बैङ्कले उल्लेख गरेको छ । आर्थिक वर्ष २०६०÷६१ मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ३०.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४÷७५ मा १८.७ प्रतिशत पुग्नुमा विप्रेषणको महŒवपूर्ण योगदान रहेकोसमेत उल्लेख गरेको छ ।
देशको औपचारिक स्रोतबाट स्थानान्तरण भएको विप्रेषणको रकम त्यस देशको शोधनान्तर तथ्याङ्कमा देखाइएको हुन्छ । तर, शोधनान्तर तथ्याङ्कमा देखाइएको रकम त्यस देशले प्राप्त गरेको वास्तविक विप्रेषणको रकम नभएको तथ्य धेरै देशले महसुस गरेको र धेरै अध्ययनले पनि प्रमाणित गरेका छन् । अधिकांश एसियाली देशमा विप्रेषणका रूपमा ठूलो रकम चुहावट भएको अनुमान गरिएको छ । विदेशमा काम गर्न जाने श्रमिकले जम्मा गर्न सक्ने सम्भावित बचतबाट सबै वाणिज्य बैङ्क, विदेशी मुद्रामा कारोबार गर्ने विकास बैङ्क तथा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त मनिचेन्जरबाट प्राप्त भएको विप्रेषण रकम घटाएपछि विप्रेषणको चुहावटको
रकम प्राप्त हुन्छ ।
विप्रेषणमा हुने चुहावटलाई वास्तविक चुहावट, लेखा प्रणालीबाट देखापर्ने चुहावट र अनौपचारिक चुहावट गरी तीन भागमा विभाजन गर्न सकिन्छ । प्रथमतः यदि कुनै श्रमिकले आफ्नो कमाइ काम गर्न गएको देशका बैङ्क तथा वित्तीय संस्थामै खाता खोलेर राख्छ वा त्यहीँ नै स्थिर पुँजीमा लगानी गर्छ भने त्यस्तोलाई वास्तविक चुहावट भनिन्छ । प्रायःजसो शिक्षित र उच्च आम्दानी भएका कामदार काम गर्न गएमा यस्तो चुहावट हुन्छ । त्यस्तो प्रकारको रकम देशमा फर्कंदैन । उनीहरूले भविष्यमा आपूm बसाइँ सर्ने वा आफ्नो बालबच्चाको उच्च शिक्षा अध्ययनका लागि भनेर रकम बचत गर्छन् । अर्को प्रकारको चुहावटमा भने स्वदेशमा विप्रेषण रकमका रूपमा वा सामानका रूपमा आएको त हुन्छ तर त्यसलाई देशले आफ्नो शोधनान्तर तथ्याङ्कमा देखाउन सक्दैन । जस्तो विदेशबाट आउनेले आफूसँग ल्याउने मोबाइल, घडी, क्यामेराजस्ता सामान र गरगहना पर्छन् । नगद भने उनीहरूले केही समयपछि साटेर स्वदेशी मुद्रा प्राप्त गर्न सक्छन् । तर, विदेशी विनिमयको समानान्तर बजार रहेछ भने यो रकम फेरि विदेशतर्फ नै फर्कन्छ । श्रमिकले बैङ्क तथा विदेशी मुद्राको कारोबार गर्ने संस्थाले साट्ने दरभन्दा बढी दरमा अन्य व्यक्तिलाई बेच्न सके भने त्यसरी नै बेच्छन् र फलस्वरूप विदेशी मुद्रा विदेशतर्फ नै फर्कन्छ । विकासशील देशमा यस्तो किसिमको चुहावट पनि ठूलो मात्रामा भएको अनुमान छ । नेपालमा पनि केही वर्षअगाडि यस्तैप्रकारको कारोबार हुने गरेको पाइएको थियो ।
यसैगरी, अर्को प्रकारको चुहावट भनेको अनौपचारिक स्रोतबाट विप्रेषण पठाउँदा देखापर्ने चुहावट हो । विदेशमा जाने कामदारले बैङ्किङ प्रणालीबाट विप्रेषण नपठाई साथीहरू, नातेदार र हुन्डीको माध्यमबाट विप्रेषण पठाउने कारणले पनि चुहावट भएको छ । धेरैजसो एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा यस किसिमसँग रकम पठाउने प्रचलन छ । नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा हुन्डीप्रथा लोकप्रिय छ । यो प्रथाअन्तर्गत श्रमिकले आफ्नो बचत रकम विदेशी विनिमयमा काम गर्ने देशको एजेन्टलाई स्वदेश पठाउन दिन्छन् । यसले श्रमिकको देशमा रहेको आफ्नो एजेन्टलाई सम्बन्धित व्यक्तिको विप्रेषण रकम स्वदेशी मुद्रामा भुक्तानी दिनु भनेर जानकारी दिन्छ र त्यहाँ रहेको एजेन्टले उक्त व्यक्तिको परिवारलाई स्वदेशी मुद्रामा भुक्तानी दिन्छ । यो प्रक्रिया बढी लोकप्रिय हुनुमा विकासशील देशमा ग्रामीण क्षेत्रमा बैङकिङ प्रणाली नपुग्नु, छिटो रकम प्राप्त हुने, वित्तीय प्रणालीबाट प्राप्त हुनेभन्दा धेरै रकम दिने, घरमै प्राप्त हुने, विश्वासका आधारमा कारोबार हुने र कसैकसैले त चिनजानका आधारमा आवश्यक परेको समयमा रकम दिने आदि कारण हुन् । वित्तीय प्रणालीबाट रकम पठाउँदा थोरै रकम भएमा धेरै शुल्क लाग्ने, परिचयपत्रको आवश्यकता पर्ने, न्यूनतम मौज्दात कायम गर्नुपर्ने, निर्धारित बैङ्कको अफिस समयभित्र मात्र रकम प्राप्त गर्न सकिने हुँदा पनि विकासशील देशमा हुन्डीप्रथा बढी लोकप्रिय भएको हो । यसैले विगत दशकदेखि नै कामदार पठाउने देशले विप्रेषणको रकम आफ्नो देशमा औपचारिक सोतबाट भिœयाउने र त्यसलाई अधिकतम सामाजिक हितमा प्रयोग गर्नेतर्फ विभिन्न
उपाय अपनाएका छन् ।
विप्रेषण निजी क्षेत्रले पठाउने हुनाले धेरैजसो उपाय प्रोत्साहन दिने प्रकारका हुन्छन् तर कुनै–कुनै देशमा भने अनिवार्य रूपमा पठाउनुपर्ने व्यवस्था पनि गरेको पाइन्छ । यसको प्रमुख उद्देश्यमा श्रमिकले आफ्नो कमाइ औपचारिक स्रोतबाट आफ्नो देशमा पठाउने, देशकै वित्तीय सम्पत्तिमा लगानी गर्ने र त्यसबाट रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्नु हो । वैदेशिक रोजगारीमा गएका कामदारले अमेरिकी डलर दुई सय वा सोभन्दा कम विप्रेषण पठाउँदा लाग्ने लागतमा कमी ल्याउन सके विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमतर्फ आकर्षित गर्न थप योगदान पुग्ने नेपाल राष्ट्र बैङ्कले उल्लेख गरेको छ । बैङ्कले प्रकाशन गरेको आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको (२०७७ मङ्सिर मसान्त) तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार विप्रेषण आप्रवाह नेपाली रुपियाँमा १०.९ प्रतिशतले र अमेरिकी डलरमा ६.४ प्रतिशतले बढेको छ । कोभिड–१९ का कारणले देखापरेको मन्दीको समयमा पनि विप्रेषण आप्रवाह बढ्नुमा मानिसबीच सम्पर्क गर्न कठिन भएका कारणले गर्दा औपचारिक क्षेत्रबाट विप्रेषण पठाएका कारणले हुन सक्छ ।
विप्रेषणले अर्थव्यवस्थाको समष्टिगत आर्थिक स्तरमा विदेशी मुद्राको सञ्चय बढाउने, राष्ट्रिय आम्दानी बढाउने, आयातलाई आवश्यक पर्ने विदेशी मुद्राको स्रोत बन्ने र शोधनान्तर स्थितिलाई सुदृढ बनाउँछ । तर, विप्रेषणबाट आर्थिक विकासमा पुग्ने योगदानको सम्बन्धमा भने कतिपय अर्थशास्त्रीको नकारात्मक धारणा छ । देशभित्र साधनको आप्रवाह भए पनि काम गर्ने उमेरका जनसङ्ख्याको ठूलो प्रतिशत देशबाट बाहिर जाने हुनाले उक्त रकमलाई उत्पादनशील कार्यमा लागउन सकिँदैन । प्रायःजसो ग्रामीण क्षेत्रमा उत्पादन बढ्न सक्दैन । यसले समाजमा असमानतामा पनि वृद्धि गरेको पाइएको छ । विप्रेषणबाट प्राप्त रकमले स्वदेशमा उत्पादित सामानको माग बढ्नुभन्दा पनि आयातीत उपभोग्य वस्तुको माग बढाउने अध्ययनले देखाएको छ ।
(लेखक नेपाल राष्ट्र बैङ्ककापूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?