logo
२०७८ कार्तिक ३ बुधवार



शिक्षाले खुसी हुन सिकाउनुपर्छ

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल

जीवनलाई सार्थक बनाउनका लागि मानिसले विभिन्न सीप सिकेर महŒवपूर्ण काम सम्पादन गर्छ । बौद्धिकताले सुसज्जित तथा सामाजिक प्राणी भएका कारणले मानवजीवनको उद्देश्य केवल जीवन जिउनुमात्र हुन सक्दैन । परिवार, समाज र राज्यप्रति हरेक सक्षम व्यक्तिको दायित्व रहेको हुन्छ । आफ्नो जीवनलाई सुखमय बनाउँदै अरू मानवका लागि स्मरणीय र महŒवपूर्ण काम गर्न सक्नुमा जन्म लिनुको सार रहन्छ भनी चित्रण गरेको पाइन्छ ।
पूर्वीय चिन्तनमा चार पुरुषार्थ प्राप्त गर्नु नै जीवनको उद्देश्य भनेर वर्णन गरिएको छ । ती चार पुरुषार्थहरू क्रमशः धर्म, अर्थ, काम र मोक्ष रहेका छन् । शरीरलाई साधनका रूपमा लिएर उपर्युक्त चार पुरुषार्थ प्राप्तिका लागि साधना गर्नु व्यक्तिको कर्तव्य हो भने पुरुषार्थ प्राप्तिका लागि गरिने काम व्यक्ति, समाज, भूगोल, परिवेश र परिस्थितिअनुसार फरक–फरक किसिमका हुन सक्ने देखिन्छन् ।
जीवनको सार बुझ्न र सहज रूपमा पुरुषार्थ प्राप्ति गर्नका लागि शिक्षालाई उपयुक्त माध्यम मानिएको छ । विद्याविहीन पशु भन्ने भनाइले पनि व्यक्तिलाई मर्यादित र विनयी बनाउने काम शिक्षाले गर्छ भन्ने कुरालाई पुष्टि गर्छ । वास्तवमा विनयी व्यक्तिले नै आफ्नो व्यक्तित्वलाई निखार्ने अवसर पाउँछ । परिष्कृत र सीपयुक्त दक्ष व्यक्तित्व आफ्ना सीप, योग्यता र दक्षताको प्रयोग गरी धन आर्जन गर्न सफल हुन्छ । परिश्रमी व्यक्तिले आर्जन गरेको धन प्राणीमात्रका लागि उपयोग हुने भएकाले धर्म प्राप्तिको माध्यमसमेत बन्न सक्ने र उपयुक्त काममा प्रयोग गरिएको धनबाट व्यक्तिले आन्तरिक शान्ति र खुसी प्राप्त गर्ने दृष्टिकोण पूर्वीय चिन्तनमा पाइन्छ । यसैले विनय, व्यक्तित्व, सम्पन्नता र धर्म हुँदै अन्त्यमा सुख प्राप्त गर्न सघाउनु शिक्षाको उद्देश्य देखिन्छ ।
शिक्षा चेतनाको त्यो स्तर हो, जहाँ व्यक्तिले यावत् पदार्थको वास्तविक मूल्यबोध गरी मानवोपयोगी काममा उपयोग गर्न सक्छ । सत्य र असत्यको विभेद गर्न सिक्नु तथा मानवीय मूल्य र मान्यतालाई संरक्षण गर्दै शिष्ट समाजको निर्माणमा योगदान गर्न सक्नु शिक्षित व्यक्तिको वैशिष्ट्य हो । शिक्षाले व्यक्तिलाई पशुवत् वृत्तिबाट मानवीय मूल्य र संस्कारले सम्पन्न पूर्ण मानवतातिर डो¥याउँछ । भौतिक विपन्नता र सम्पन्नतामा आत्तिने र मात्तिने नगरी परोपकारमा संलग्न हुन सक्ने, आत्मसंयमित व्यक्तिले नै अरूलाई खुसी राख्न सक्छ भने आफ्नो जीवनलाई पनि सम्पद् वा विपद् दुवै अवस्थामा खुसी राख्न सक्छ ।
व्यक्तिमा रहेका आकाङ्क्षाले उसको खुसीको स्तर निर्धारण गर्ने भएकाले पूर्वीय दर्शनमा भौतिक सम्पत्ति अहङ्कारजन्य दम्भी प्रवृत्तिलाई आत्मिक तुष्टि हरण गर्ने तŒवका रूपमा चित्रण गरिएको छ । त्यसो त प्रसिद्ध मनोवैज्ञानिक अब्राहम मस्लोले आवश्यकता सोपानको माध्यमबाट भौतिक र जैविक आवश्यकतालाई आधारभूत आवश्यकता रूपमा चित्रण गर्दै यी आवश्यकताको पूर्ति भएपछि मात्र व्यक्तिले मायाप्रेम तथा समाजबाट सम्बद्धता खोज्ने कुरा अघि सारेका छन् । आधारभूत र सामाजिक आवश्यकता पूर्ति भएपछि मात्र व्यक्तिले आत्मसन्तुष्टि प्राप्त गर्ने कुरा मस्लोको आवश्यकता सोपानमा रहेको छ, जुन कुरालाई आधुनिक मनोवैज्ञानिक तथा समाजशास्त्री मानवशास्त्रीले मानव जनशक्ति व्यवस्थापन तथा उत्प्रेरणाका सन्दर्भमा प्रयोगसमेत गर्दै आएका छन् ।
वर्तमान नेपाली परिवेशमा शिक्षा केका लागि भनेर प्रश्न सोध्नासाथ धन आर्जन गर्नका लागि भन्ने निर्विकल्प उत्तर पाइन्छ । शिक्षाले मानवीय मूल्य सिकाउने, खुसी हुन सिकाउने, सिर्जनशीलता बढाउने र जीवनमा शान्तिको आभास गराउने कुरा अहिले ओझेलमा परेका छन् । यसैले कलिला बालबालिकालाई अर्थहीन सूचना घोकाएर परीक्षामा उत्कृष्ट नतिजा ल्याउनका लागि प्रेरित गर्ने प्रवृत्ति बढ्दै गएको छ । परीक्षामा राम्रो गर्न नसक्ने विद्यार्थीले जीवनमा गरिखान नसक्ने दृष्टिकोण भएका शिक्षक र अभिभावकका कारण विद्यार्थी तनावमा सूचना सङ्कलन गरी अस्वस्थ रूपमा परीक्षामा प्रस्तुत गर्ने कुरामा अभ्यस्त भएका छन् । उनीहरू विद्यालयमा एक–आपसमा सहयोगको भावना विकास गर्ने कुरा सिक्नुको सट्टा हरेक कुरामा प्रतिस्पर्धा वा होडबाजी गर्ने कुरामा अग्रसरभएका हुन्छन् ।
आफ्ना बच्चालाई अरू व्यक्तिसँग तुलना गरी बच्चामा हुँदै नभएका गुण र व्यवहारको अपेक्षा गर्ने प्रवृत्ति आमनेपाली प्रवृत्ति छ । हरेक बालबालिका आफैँमा विशिष्ट गुणसम्पन्न हुन्छन् । हरेक व्यक्तिमा रहेको फरकपनकै कारणले गर्दा हरेकको व्यक्तित्व विशिष्ट बन्न पुगेको हो । स्कुल ड्रपआउट (छाड्ने)ले नै नवआविष्कारका क्षेत्रमा चामत्कारिक सफलता पाएका उदाहरण प्रशस्तै छन् भन्ने पनि ध्यान दिनु आवश्यक छ । आफ्नो बच्चाका विशिष्ट गुणलाई बिर्सेर सर्वत्र पाइने सामान्य गुणहरू खोज्ने त्रुटि गर्दा बालबालिकाको सिर्जनशीलता मर्नेमात्र होइन, उनीहरूको जीवनबाट खुसी खोसिन्छ । परीक्षालाई मात्र सर्वस्व ठानी अति हौस्याउँदा बालबालिका जीवनका लागि आवश्यक पर्ने सीप सिक्नुको सट्टा परीक्षामा राम्रो अङ्क ल्याउनका लागि चलाखी गर्ने काममा प्रेरित हुन्छन् । कुनै कक्षामा ६५ प्रतिशत ल्याई प्रथम हुँदा खुसीले गमक्क पर्ने अभिभावक त्यसै किसिमको अर्को कक्षामा ८५ प्रतिशत ल्याई पाँचौँ वा छैटौँ हुँदा चिन्तित देखिन्छन् । यसका कारण आफ्नो बच्चाले सिक्नुपर्ने आधारभूत सीप नसिकेकाले वा गुणात्मक सुधार नल्याएका कारणले होइन, बरु आफ्नो बच्चाले भन्दा अरूले राम्रो गरे भन्ने कुराले उनीहरूमा चिन्ता थपिएको हो ।
प्रत्यक्ष रूपमा आफ्ना बालबालिकालाई अझ राम्रो गर्नका लागि प्रेरित गरेको भए पनि यसको वास्तविकता बच्चालाई शान्त, सिर्जनशील, खुसी र सन्तुलित बनाउनुको सट्टा धुर्त बन्नका लागि कुत्कुत्याउनु हो । पसलमा सामान किन्न गएको बच्चा महँगोमा सामान किनेर आयो भने अज्ञानी र लाटो ठहरिन्छ तर त्यही बच्चा पसलेलाई झुक्याएर धेरै सस्तोमा सामान लिएर आयो भने प्रशंसा गर्नलायक बन्छ । आफ्ना सामानको स्याहार गर्ने र ख्याल गर्ने बच्चा राम्रो मानिन्छ तर आफ्नो खेलौना वा चीज अन्य कुनै बालबच्चालाई दिने वा अरूलाई बाँड्ने बालक हाम्रो समाजमा लाटो र बुद्धु ठहरिन्छ । सामाजिक सोचका कारणले हामी आफ्ना बालबालिकालाई सहयोगी एवम् मानवीय मूल्य र मान्यताले सम्पन्न बनाउनुभन्दा अरूलाई झुक्याउने र छक्याउने सीपले सम्पन्न बनाउन चाहन्छौँ । अर्को शब्दमा भन्ने हो भने हाम्रो मानसिकतामा अरूलाई छक्याउन सक्नु बुद्धिमानी हो भन्ने भ्रष्ट सोचले बास गरेको छ । यसैले बालबालिका स्कुल प्रवेश गर्नासाथ आफ्नो स्वाभाविक सन्तुष्टि र खुसी गुमाउन विवश हुन्छन् । परीक्षा सकिएपछि खुसी हौँला भन्ने कल्पनामा डुबेका बालबालिकाको आधा उमेर बितुन्जेल खुसी हुने मौका नै आउँदैन अनि अध्ययन पूरा गरिसकेपछि जागिरको सपना पूरा गरेर आफूलाई खुसी राख्ने धोको पालेका व्यक्तिको वास्तविक खुसी जीवनभर
प्राप्त हुन सक्दैन ।
स–साना सीपलाई महŒव दिएर सिक्ने विद्यार्थीलाई हाम्रा विद्यालयमा एक दिन पनि खुसी हुने कला सिकाइँदैन । यसैले हाम्रो शिक्षा बालबालिकालाई न त पठनपाठनका अवधिमा खुसी बनाउने किसिमको छ न त पठनपाठनपछिको जीवनमा खुसी ल्याउन सक्ने किसिमको छ । जीवनभर असन्तोषी, ईष्र्यालु, असहिष्णु र अस्वस्थ प्रतिस्पर्धी बनाउने काममा वर्तमान शिक्षाको योगदान देखिन्छ ।
शिक्षा आर्जन गर्नु धन कमाउनका लागि मात्र हो भन्ने हाम्रो मानसिकतालाई परिवर्तन गरी पूर्वीय चिन्तनमा जस्तै विद्याले विनयी, परिष्कृत व्यक्तित्व, सम्पन्नता, मानवीय मूल्यबोध गर्न सफल र खुसी नागरिक निर्माण गर्ने उद्देश्य राख्नुपर्छ । यसका लागि जीवनलाई कसरी सुन्दर र शान्त बनाउन सकिन्छ भन्ने कुरा कलिला बालबालिकालाई सिकाउनुपर्छ । अर्थहीन सूचना घोकाउनुको सट्टा विद्यार्थीलाई सिर्जनशील बन्न प्रेरित गर्ने एवम् खुसी हुने कला सिकाउने काममा हाम्रो शिक्षाको योगदान रहनुपर्छ ।
युनिसेफले रिपोर्ट अनलाइफ स्किल २०१५ मा विश्वव्यापी जीवनोपयोगी कलाका रूपमा रचनात्मक, गहन र समानुभूतिपूर्ण सोच, समस्या समाधान गर्ने सीप, भावनात्मक बुद्धिमत्ता (इमोसनल इन्टेलिजेन्ट), सञ्चार सीप, नेतृत्व सीप, सचेतना, समय व्यवस्थापन र तनाव व्यवस्थापनलाई अगाडि सारेको छ । वास्तवमा यी कलाविनाको शिक्षा अर्थहीन, अरूचिकर र
अव्यावहारिक हुन्छ ।
प्रतिस्पर्धीका सट्टा सहयोगी र स्वार्थीका सट्टा मानवीय मूल्यले सम्पन्न दक्ष नागरिक उत्पादन गर्नु आजको शिक्षाको उद्देश्य हुनुपर्छ । धन र शिक्षालाई पर्यायका रूपमा लिएर बालबालिकालाई उनीहरूको सिर्जनशीलता, रुचि र वैयक्तिक विशिष्टता भएको क्षेत्रमा काम गर्न नदिई, जबर्जस्ती गर्ने प्रवृत्तिले उनीहरूको जीवनलाई अरूचिकर, शुष्क र निरस पार्छ । यसैको परिणामस्वरूप व्यक्ति मानसिक रोगको सिकार भई जीवनलाई कहरका रूपमा व्यतीत गर्न विवश हुन्छ । यसैले योगी नरहरिनाथले भनेझैँ समुज्वल राष्ट्रको निर्माणका लागि असल नागरिक निर्माण गरौँ, असल नागरिक निर्माण गर्नका लागि शिक्षामा सुधार गर्न ढिलाइ नगरौँ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?