logo
२०८० चैत्र १५ बिहीवार



दक्ष जनशक्ति उत्पादन अभियान

विचार/दृष्टिकोण |




विनोद बडाल

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको समग्र विकास र विस्तार, विभिन्न निकायसँग समन्वय र सहजीकरण गर्न एउटा छुट्टै स्वायत्त संस्थाको आवश्यकता महसुस गरी आधारभूत, मध्यम तथा उच्चस्तरीय सीपयुक्त प्राविधिक जनशक्ति उत्पादनको व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन–२०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापना भयो । हरेक वर्ष फागुन १२ गते परिषद्ले आफ्नो स्थापना दिवसका रूपमा मनाउने गर्छ । यस वर्ष परिषद्को ३३औँ वार्षिकोत्सव मनाइँदै छ ।
परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति निर्धारण, कार्यक्रम समन्वय, सम्बन्धन, कार्यान्वयन, अनुगमन र नियमन, गुणस्तरको प्रत्याभूति, पाठ्यक्रम निर्माण तथा परिमार्जन, प्रशिक्षकको क्षमता विकास, अध्ययन अनुसन्धान, छोटो अवधिका तालिम सञ्चालन, औपचारिक र अनौपचारिक रूपमा सिकेका सीपको प्रमाणीकरण, प्रि–डिप्लोमा तथा डिप्लोमा तहको प्रशिक्षण, परीक्षा सञ्चालन, व्यवस्थापन र प्रमाणपत्र वितरणलगायतका विविध कार्य सम्पादन गर्दै आइरहेको छ ।
यसका लागि परिषद् केन्द्रीय तथा प्रदेश कार्यालयमातहत रहनेगरी ६१ वटा आङ्गिक शिक्षालय, ३८ वटा साझेदारी स्वरूपमा सञ्चालित शिक्षालय, ५७२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र ४२९ वटा सम्बन्धनप्राप्त निजी शिक्षालय र छोटो अवधिका सीपमूलक तालिमप्रदायक संस्थाको सङ्ख्या एक हजार एक सय ४० वटा रहेका छन् ।
विद्यार्थी भर्ना क्षमताको हिसाबले वार्षिक रूपमा परिषद्को प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहका लामो अवधिका शैक्षिक कार्यक्रममा ८३ हजार र छोटो अवधिका सीपमूलक तालिम कार्यक्रममा करिब एक लाखको सङ्ख्यामा विविधप्रकारको शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालन हुने गर्छ । हालसम्म परिषद्बाट डिप्लोमा तथा प्रमाणपत्र तहमा ८४ हजार नौ सय ६३ जना र
प्रि–डिप्लोमा तहमा दुई लाख ३० हजार ५६ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन भएका छन् । त्यसमध्ये करिब ७५ प्रतिशतले स्वदेश तथा विदेशमा विभिन्न किसिमका रोजगारी पाएका छन् ।
परिषद्ले प्राविधिक तथा व्यावसायिक शिक्षा र व्यावसायिक तालिम गरी मूलतः दुईप्रकारको कार्यक्रम सञ्चालन गरिरहेको छ । लामो अवधिको प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत कृषि, इन्जिनियरिङ, स्वास्थ्य, होटल म्यानेजमेन्ट र अन्य विविध क्षेत्र र विधामा १८ महिने प्रि–डिप्लोमा र तीनवर्षे डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रम सञ्चालनमा रहेका छन् ।
प्रि–डिप्लोमातर्फ कृषि तथा वनविज्ञानमा पाँच, स्वास्थ्यमा पाँच, इन्जिनियरिङमा नौ, होटल, पर्यटन र अतिथि सत्कारमा दुई, अन्य विधामा तीन र औद्योगिक प्रशिक्षार्थी (एप्रेन्टिसिप) का लागि २४ महिने कार्यक्रममा सातवटा गरी जम्मा ३१ वटा पाठ्यक्रममा आधारित कार्यक्रम सञ्चालन भएका छन् भने डिप्लोमा तथा प्रमाणपत्र तहमा कृषि तथा वनविज्ञानमा आठ, स्वास्थ्यमा १८, इन्जिनियरिङमा १६, होटल, मेनेजमेन्टमा एक र अन्य विधामा पाँचवटा गरी ४८ वटा पाठ्यक्रम निर्माण भई प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रम सञ्चालन भएका छन् । त्यसैगरी ४० घण्टादेखि एक हजार छ सय ६९६ घण्टा समयावधिसम्मका व्यावसायिक तालिमका लागि दुई सय ४३ वटा पेसा व्यवसायमा छोटो अवधिका सीपमूलक तालिमका पाठ्यक्रम छन् । औपचारिक रूपमा छोटो अवधिका तालिम लिएका वा अनौपचारिक रूपमा सीप हासिल गरेकाका लागि परिषद्अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिबाट तह एकदेखि तह चारसम्म दुई सय ९९ वटा पेसा व्यवसायमा सीप परीक्षण गरी सीपको प्रमाणपत्र प्राप्त गर्ने नेपालीको सङ्ख्या हालसम्म चार
लाखभन्दा बढी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ फागुन ३ गते आफ्नो पदबहालीक्रममा सम्बोधन गर्दा आगामी दुई वर्षभित्र हरेक पालिकामा प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को सेवा विस्तार गरिने लक्ष्य घोषणा गरेअनुरूप परिषद्ले व्यापक रूपमा आङ्गिक तथा सामुदायिक र साझेदारी स्वरूपमा प्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन गरिसकेको छ । हाल परिषद्को सेवा विस्तार तीन सय ८३ पालिकामा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राविधिक धारका रूपमा दुई सय ५२ पालिकामा गरी छ सय ३५ पालिकामा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका कार्यक्रम विस्तार भएका छन् । अब केवल एक सय १७ वटा पालिकामा मात्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको पहुँच विस्तार गर्न बाँकी रहेको छ ।
परिषद्को सेवा विस्तार सँगसँगै यसका विविध समस्या र चुनौती विद्यमान छन् । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा परिषद्बाहेक सङ्घीय सरकारका करिब एक दर्जनजति मन्त्रालयले कुनै न कुनै रूपमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका कार्यक्रम सञ्चालन गरिरहेको देखिन्छ । पहुँच, विकास र विस्तारको हिसाबले यसलाई सकारात्मक रूपमा लिन सकिन्छ तर एक–अर्काबीच समन्वय अभावमा आफूखुसी कार्यक्रम सञ्चालन गर्दा कार्यक्रममा दोहोरोपन, बढ्दो सञ्चालन खर्च, अस्वस्थ प्रतिस्पर्धाका कारण कार्यक्रमको प्रभावकारिता र उत्पादित जनशक्तिको दक्षता र गुणस्तरमा एकरूपता कायम गर्न एकद्वार प्रणाली र एकीकृत संरचनाको आवश्यकता र सान्दर्भिकता अपरिहार्य देखिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ ले प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम ‘फेजआउट’ गरेकाले वार्षिक रूपमा १० हजार युवा यो तहको कार्यक्रमबाट वञ्चित रहेका छन् भने २०५१ सालदेखि सो कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाको भविष्य अन्योलमा छ । सोही ऐनको प्रावधानअनुसार प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाको आफ्नै एक सय शøयाको अस्पताल हुनैपर्ने प्रावधानले आगामी वर्षदेखि नर्सिङ कार्यक्रम सञ्चालनमा अन्योल देखिएको छ ।
संविधानमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सञ्चालन, व्यवस्थापन, नियमन र सहजीकरणमा स्पष्ट व्यवस्था र जिम्मेवारी नतोकिएको साथै विद्यमान परिषद् ऐनको परिमार्जन वा नयाँ ऐन नआएको अवस्थामा प्रदेश तथा स्थानीय तहबाटै कार्यक्रम सञ्चालन गर्ने कुरामा स्पष्टता आवश्यक छ । परिषद्को स्थापनाकालमै नौ सय ३२ जनाको स्वीकृत दरबन्दीमा वृद्धि भएको छैन । अधिकांश सेवा करारमा प्रशिक्षक कर्मचारी नियुक्त गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको परिषद्ले मानव संसाधन विकास र व्यवस्थापनमा थप शिक्षालय स्थापना सँगसँगै जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्नेछ ।
प्रशिक्षक कर्मचारीको क्षमता विकासका लागि निरन्तर तालिम र वृत्तिविकासका अवरूद्ध ढोका खोल्दै अगाडि बढ्न र गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्न उद्योग व्यवसायी तथा रोजगारदातासँग छलफल र सहकार्य गर्दै सिक, कमाउ र तिरको अवधारणा कार्यान्वयनमा परिषद् अग्रसर छ ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग जोडेर आर्थिक वृद्धि गरी देशमा विद्यमान बेरोजगारी अन्त्य गरेर समृद्ध नेपाल सुखी नेपालीको अभियानमा जोड्ने काम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले गर्दै आएको छ । विगतका अनुभवबाट पाठ सिकेर उन्नत र प्रविधिमा आधारित कार्यक्रम सञ्चालन र गुणस्तरीय सेवा विस्तार गर्नु आजको अपरिहार्य आवश्यकता रहेको छ । बेरोजगार युवालाई प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदान गरी सीपयुक्त उद्यमी बनाउने र उद्यमीका लागि स्वर्णिम अवसर प्रदान गर्ने काममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्रयासरत छ ।
(लेखक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक तथा प्रवक्ता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?