logo
२०८० चैत्र १५ बिहीवार



शिक्षामा असर कम गर्ने अस्त्र

विचार/दृष्टिकोण |




डा. दिलनाथ दंगाल

आज विश्वभरि सबै क्षेत्रमा कोरोनाको असर परेको छ । त्यसमध्ये शिक्षा क्षेत्र सबैभन्दा बढी त्रसित छ । कोरोना महामारीको निराकरणको निम्ति लागिरहँदा कोरोनापछिको विश्व शिक्षा कस्तो हुने ? विकासको कुन मोडल अपनाउनुपर्ने एवं शासन र अर्थतन्त्र कसका हातमा सुम्पने ? भन्ने आज विश्वसामु तेर्सिएको सङ्गीन प्रश्न हो । अथवा यो विषयमा ठूलाठूला बहसहरू चलिरहेकै छन्, निष्कर्ष निस्कन बाँकी छ । यसैबीचमा नेपालको शिक्षा कस्तो हुनुपर्छ वा शिक्षा कता जाँदैछ वा कोभिडबाट शिक्षा क्षेत्रलाई जोगाउन के गर्न सकिन्छ अथवा यसको क्षतिलाई कुन विधि प्रयोग गरेर कम गर्न सकिन्छ ? भन्ने बहसको विषय छ ।
यस्ता ठूलाठूला महामारीको समयमा मुख्य गरी जीवन जिउने कुरा, स्वास्थ्य, सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था जटिल हुँदै जान्छ । यसलाई सही व्यवस्थापन गर्ने काममा मुख्य नीतिगत निर्णय लिने काम सरकारको र त्यसमा साथ र सहयोग पु¥याउने काम जनताको हो । त्यसैगरी शिक्षा मन्त्रालय, शिक्षाविद्, शिक्षाको नीति बनाउने जिम्मा पाएका कर्मचारीहरूले योजना बनाउने र शिक्षक, विद्यार्थीले त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने हुन्छ । यसमा स्थानीय सरकारले सहजीकरण, अनुगमन र आवश्यकताअनुसार सहयोगीको भूमिका खेल्नुपर्छ ।
केही दिन यताबाट विद्यालय र क्याम्पसहरू खुल्ने क्रम त जारी छ तर साना साना विद्यार्थीहरूको मनोविज्ञान भने त्रसित अवस्थामै छ । अहिले शिक्षा क्षेत्र विस्तारै चलायमान हुन थाले पनि वा कतिपय शिक्षालयहरूको आर्थिक सङ्कलन गर्ने बाटो खुले पनि पाँच÷छ घण्टा मास्क लगाएर कक्षामा बस्नु पर्दा विद्यार्थीहरू त्यसै थकित अवस्थामा देखिन्छन् । यसले दीर्घकालीनरूपमा उनीहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन् । अझै कोरोनाको कहर कम भइनसकेको तथ्याङ्कले पनि देखाउँछ ।
यो अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र विद्यालय वा क्याम्पसहरू खोल्नुपर्छ तर कतिपय अवस्थामा यो हुन सकेको छैन । यसतर्फ सम्बन्धित पक्षहरूले समयमा नै ध्यान दिनुपर्छ । स्वास्थ्यका सबै खाले मापदण्ड पूरा गरेर शिक्षालयहरू सञ्चालनमा ल्याए पनि सामान्य अवस्थाको पाठ्यक्रम अब बाँकी तीन महिना पढाएर पूरा हुने अवस्थामा छैन । परीक्षा पनि सहज ढङ्गबाट सञ्चालन हुने देखिँदैन । विद्यालयहरू त खुले तर अब ‘कोर्स’ कसरी सक्ने, परीक्षा कसरी गर्ने, अर्को शैक्षिक सत्र कहिलेबाट सञ्चालन गर्ने ? भन्ने जस्ता समस्याहरूबाट थोरै भए पनि छुट्कारा पाउनका लागि निम्न विधिहरू अपनाउन सकिन्छ ः
अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन ः पठन पाठन नभएको अवस्थाको क्षति कम गर्न हामीले नेपालको सापेक्षतामा मिल्ने खालको अन्य देशमा भएको अभ्यास अध्ययन गरेर शैक्षिक योजनाहरू निर्माण गर्नुपर्ने देखिन्छ । त्यस्ता अभ्यासको अध्ययन गरी नेपालका शिक्षाविद् तथा शिक्षासँग सरोकार राख्नेहरूसँगको छलफल र अन्तक्र्रियाबाट कुनै न कुनै नयाँ शैक्षिक कार्यक्रमहरू निर्माण गरी यसलाई तुरुन्त कार्यान्वयनमा लैजानुुपर्छ ।
बालबालिकाको ‘बेसलाइन’ (जग) निर्माण ः कोरोनाको कारणले लामो समयसम्म विद्यालयहरू बन्द हुँदा भर्खर अक्षर चिन्न र पढ्न थालेका बालबालिकाहरूको बेसलाइन नराम्रोसँग बिग्रिएको छ । उनीहरूले अलि अलि चिन्न र सिक्न लागेका सबै अक्षरहरू बिर्सिएका छन् । विद्यालय जान तथा साथी र शिक्षकहरूसँग सञ्चार गर्न पनि भुलेका छन् । तसर्थ सबैभन्दा पहिला यी बालबालिकाहरूको बिग्रिएको बेसलाइनलाई बनाउनुपर्छ ।
समय सङ्कुचन ः सामान्य अवस्थामा शैक्षिक सत्र एक वर्षको हुने गर्छ र पाठ्यक्रम पनि सोहीअनुसारको निर्माण गरिएका हुन्छन् । तर यो कोभिडको कारणले धेरै समय शैक्षिक संस्थाहरू बन्द भएर पूरा समय पढाइ हुन नसकेकोले पाठ्य घण्टीलाई घटाएर थोरै बनाउन सकिन्छ । यसलाई सही ढङ्गबाट कार्यान्वयनमा ल्याउन विषयगत शिक्षकहरूको एउटा समिति बनाएर अध्ययन, छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ । यसो सम्भव नभएमा विषय शिक्षक आफँैले पनि आफूले अध्यापन गर्ने विषयमा आधा समय अथवा छ महिनामा कोर्ष पूरा गर्ने कार्यक्रम बनाएर लागू गर्न सकिन्छ ।
अन्तरिम कालका उपयुक्त विधिको खोजी ः शिक्षा मन्त्रालयको संयोजनमा शिक्षाविद्, प्राध्यापक र शिक्षकहरूको एउटा अध्ययन टोली बनाएर छोटो समयमा पनि पूरै विषयवस्तुको अध्ययन गराउन सकिने विधिहरूको खोजी गर्न सकिन्छ । यस्ता विधिहरू भेटिएमा तुरुन्त शिक्षालयहरूमा लागू गर्नुपर्छ ।
पाठ्यवस्तुको सङ्कुचन ः हाम्रा पाठ्यवस्तुहरू कतिपय तल्ला कक्षासँग मेल खाने खालका छन् । तसर्थ यस्तो अवस्थामा शिक्षा क्षेत्रका सरोकारवालाहरूको एउटा टोली बनाइ पाठ्यक्रमले निर्धारण गरेको प्रत्येक कक्षाको क्षेत्र र क्रमलाई अध्ययन गरी अघिल्लो कक्षामा अध्ययन गरिसकेका विषयवस्तुलाई सारांशमा मात्र राखेर पाठ्यवस्तुको सङ्कुचन गरी नयाँ जुन पाठ्यवस्तु मात्र सम्बन्धित कक्षामा अध्यापन गराउन सकिन्छ ।
शैक्षिक सत्र समायोजन ः आजसम्म आइपुग्दा शैक्षिक वर्ष २०७७ को नौ महिना बितिसकेको छ । अब तीन महिना मात्र बाँकी छ । शैक्षिक सत्र समायोजन गर्ने विधिमा जाने हो भने यो वर्षको मात्र शैक्षिक अवधि घटाउनुभन्दा दुई वा तीन वर्षलाई आधार लिएर औषत समय तय गरी समान समय व्यवस्थापन गर्न पनि सकिन्छ । तर अब ढिला हुन लागेको छ तसर्थ चाँडै नै यो कामको सुरुवात गर्नुपर्छ ।
बिदा कटौती ः लकडाउनले गर्दा लामो समय शैक्षिक संस्थाहरू बन्द हुँदा भएको समयको क्षतिपूर्तिका लागि सार्वजनिक बिदा र लामो बिदाहरू सबै कटौती गरेर समयमा हुन गएको क्षतिलाई कम गर्न सकिन्छ । यसका लागि विश्वविद्यालयहरूले त हिउँदे बिदा कटौती गर्न थालिसकेका छन् । तर अब यो शैक्षिक वर्षको अवधि नै कम भएको हुनाले त्यति प्रभावकारी त नहोला तर यो विधि अन्य विधिहरूको सहयोगी भने हुन सक्छ ।
शिक्षकलाई तालिम ः शिक्षकहरूलाई तालिम दिने विभिन्न संस्थामार्फत अनलाइन वा भौतिक रूपमा नै उपस्थित भएर जुन सम्भव हुन्छ त्यही विधि प्रयोग गरेर शिक्षकलाई सूचना प्रविधिलगायत महामारीपछिको शिक्षा कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारे तालिमको व्यवस्था गर्नुपर्छ । समय छोटो र तालिम दिन विज्ञहरू कम भएको हुँदा अनलाइनबाटै छोटो अवधिमा धेरै शिक्षकहरूलाई तालिम दिन सकिन्छ । यसो गर्न केन्द्रबाट नै पनि सम्भव हुन्छ ।
शिक्षाको मूलधारमा जोड्ने ः कोभिडले गर्दा अहिले पनि लगभग ४० लाख बालबालिकाहरू शिक्षाको मूलधारबाट बाहिर छन् वा सामान्यरूपमा शिक्षा लिनबाट यी बालबालिकाहरू वञ्चित छन् । सबैभन्दा पहिला यिनीहरूलाई शिक्षाको मूलधारमा जोड्नुपर्छ वा सामान्यरूपमा शिक्षा दिने अवस्थाको सिर्जना गर्नुपर्छ । यसका लागि वडामार्फत टोल शिक्षालाई अगाडि बढाउन पनि सकिन्छ ।
छुट्टै विधिले परीक्षा ः यो अवस्थामा सामान्य अवस्थाको जस्तो विधिबाट परीक्षा सञ्चालन गर्दा विद्यार्थीहरूमा नराम्रो मनोवैज्ञानिक असर पर्न सक्छ । तसर्थ शिक्षक, प्राध्यापक, शिक्षाविद्को सल्लाहमा अन्तरिम कालका लागि छुट्टै प्रकारको परीक्षा लिने विधिको प्रयोग पनि गर्न सकिन्छ । यसका लागि परीक्षाको पूर्णाङ्क घटाउन सकिन्छ । अनलाइन परीक्षा पनि लिने व्यवस्था गर्न सकिन्छ । निर्णयात्मक मूल्याङ्कन पद्धतिको सट्टामा निरन्तर मूल्याङ्कन पद्धतिका अनुसार हप्तैपिच्छे वा १५ दिने अनलाइन वा भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरी विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न पनि सकिन्छ ।
(लेखक त्रिविमा प्राध्यापनरत हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?