logo
२०८० चैत्र १६ शुक्रवार



श्रीलङ्काद्वारा इंग्ल्याण्ड समक्ष ७४ रनको लक्ष्य प्रस्तुत

खेलकुद |




गोरखापत्र अनलाइन
काठमाडौं, माघ ४ गते । श्रीलङ्काले पहिलो टेष्ट खेलमा इंग्ल्याण्ड समक्ष ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो पारीमा २८६ रनले पछाडि परेको श्रीलङ्काले दोस्रो पारीमा ३५९ रनमा समेटिएपछि उसले इंग्ल्याण्ड समक्ष ७४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको हो ।
चौथो दिनको खेल दुई विकेटको क्षतिमा १५६ रनबाट अगाडि बढाएको श्रीलङ्काले दोस्रो पारीमा थप २०३ रन जोड्दै ३५९ रनमा समेटिएको छ । उसको पारीमा लहिरु थिरमन्नेले शतकीय पारी खेल्नुभयो । थिरमन्ने १११ रन बनाउँदा अर्का ओपनर कुसल परेराले ६२ रनको पारी खेल्नुभयो । दुबैजनाले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे । मध्यक्रममा एन्जेलो म्याथ्युज बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन । म्याथ्युजले ७१ रन बनाएर असिथा फर्नान्डोसँग ब्याटिंग गरिरहँदा अन्तिम विकेटको रुपमा ज्याक लिचलाई विकेट थमाउन पुग्नुभयो ।
इंग्ल्याण्डका लागि ज्याक लिचले सर्वाधिक पाँच तथा डम बेस्सले तीन तथा साम कर्रनले दुई विकेट लिए ।
त्यसअघि कप्तान जोइ रुटले दोहोरा शतक लगाएपछि श्रीलङ्का विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा इंग्ल्याण्डले दुई सय ८६ रनको महत्वपूर्ण बढ्त लियो । रुटले टेष्ट क्रिकेटमा चौथो दोहोरा शतक पुरा गर्नुभयो । पहिलो पारीमा इंग्ल्याण्डले ४२१ रनको ठूलो योगफल तयार गर्यो ।
१७ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको इंग्ल्याण्डका लागि कप्तान जोइ रुटले संयमित पारी खेल्दै जोनी बैरिष्टो, डन लौरेन्ससँग अलग अलग शतकीय पारीको साझेदारी गर्नुभयो । वैरिष्टोले ४७ तथा लौरेन्सले ७३ रनको योगदान दिए । बटलर ३० रन बनाएर पेभेलियन फर्किनुभयो ।
श्रीलङ्काका लागि दिलरुवान परेराले सर्वाधिक चार तथा लासिथ इम्बुलदेनियाँले तीन र असिथा फर्नान्डोले दुई विकेट लिए ।
यसअघि गलमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलङ्काले आफ्नो पहिलो पारीमा १३५ रनको झिनो योगफलमा समेटिन पुग्यो । उसको पारीमा कप्तान दिनेश चन्दीमालले बनाएको २८ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । कुशल परेराले २० तथा दसुन सनाकाले २३ रनको योगदान दिनुभयो ।
इंग्ल्याण्डका लागि डम बेस्स एक्लैले पाँच तथा स्टुअर्ट ब्रोडले तीन तथा ज्याक लिचले एक विकेट लिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?