logo
२०८१ बैशाख १३ बिहीवार



चाहिन्छ वित्तीय साक्षरता

विचार/दृष्टिकोण |




डा. नीलम ढुङ्गाना तिम्सिना

आधुनिक समाजमा रुपियाँ पैसा मानव जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ । तर रुपियाँ पैसा कसरी सिर्जना गर्ने, कसरी खर्च गर्ने, किन र कसरी बचत गर्ने, भविष्यमा आपत् पर्दा, बिरामी पर्दा, अनपेच्छित घटनाहरू हुँदा आइपर्नसक्ने आर्थिक सङ्कटबाट कसरी उम्कने, अवकाशपछिको जीवन सुरक्षित, सम्मानजनक रूपमा व्यतित गर्न आर्थिकरूपमा कसरी आत्मनिर्भर हुने भन्ने पक्षहरूमा धेरै मानिसलाई ज्ञान देखिँदैन । यी सम्पूर्ण कुराको ज्ञान र त्यसका आधारमा वित्तीय स्रोत र साधनहरूलाई कुशलतापूर्वक प्रयोग गर्ने र उपयुक्त निर्णय लिनका लागि विकास गरिने दक्षतालाई नै वित्तीय साक्षरता भनिन्छ । व्यक्तिका लागि वित्तीय साक्षरताले जीवनका आवश्यकताको योजना बनाउन, सरल तवरबाट जीवन निर्वाह गर्न, ऋणको बोझमा नपरी आकस्मिक घटनाहरूको सामना गर्न सहयोग गर्छ । यसले बचत गर्ने बानीको विकास गर्न सहयोग पु¥याउँछ ।
आम्दानी, कर्जा, लगानी, बचत, ब्याजदर, विप्रेषण, बजेट, आकस्मिक कोष, वित्तीय जालसाजी, वित्तीय सेवा प्रदायकसँगको आर्थिक व्यवहार, उपभोक्ताको अधिकार र दायित्वजस्ता शब्दहरूको परिचय र ज्ञानले व्यक्तिले आफ्नो दैनिक जीवनका आर्थिक पाटाहरूको कुशलतापूर्वक व्यवस्थापन गर्न सबल हुन्छ भने आर्थिक उतारचढावको सामना गर्न पनि सक्षम हुन्छ । यस्ता आधारभूत वित्तीय ज्ञानको अभावमा व्यक्तिहरू दैनिक खर्च धान्न पनि कठिन हुने अवस्थामा पुगेका धेरै उदाहरण पाइन्छन् । त्यस्तै, संस्थाका लागि पनि वित्तीय विवरण, उत्पादन बजेट, मुनाफा योजना र नियन्त्रण, लागत व्यवस्थापन, आदिको बारेमा पर्याप्त ज्ञान हुनु कुशल वित्तीय व्यवस्थापनका लागि अपरिहार्य छ ।
वित्तीय साक्षरता भन्नाले व्यक्तिगत र व्यावसायिक जीवनमा पैसाले कसरी काम गर्छ ? भनी बुझ्ने क्षमतालाई जनाउँछ । ज्ञान नै शक्ति हो भनेझैँ रुपियाँ–पैसा, वित्तीय उपकरण र तिनको आदर्शतम् व्यवस्थापनको बारेमा पर्याप्त ज्ञानले कुशल वित्तीय निर्णय गर्ने शक्ति सिर्जना गर्छ । वित्तीय अवधारणाको बारेमा गहिरो ज्ञान र त्यसको व्यावहारिक सदुपयोगले व्यक्ति र समाजकै वित्तीय हित प्रवद्र्धन गर्छ । अतः वित्तीय शिक्षा प्रक्रियाको परिणाम नै वित्तीय साक्षरता हो ।
वित्तीय साक्षरताले दुई शब्दहरू ज्ञान र दक्षतालाई समेट्छ । आफ्नो वित्तीय साधनको गहिरो ज्ञान र त्यसको प्रयोग गर्ने कुशल दक्षताको योगफल नै वित्तीय साक्षरता हो । वित्तीयरूपमा साक्षर व्यक्ति सामान्यतयाः वित्तीय जालसाजीको शिकार हुँदैन । जीवनका विभिन्न योजनाहरू, जस्तै, शिक्षा, विवाह, औषधोपचार, अवकाश, भ्रमण आदिका लागि बचत गर्ने, उत्तरदायी र धान्न सकिने रूपमा ऋण व्यवस्थापन गर्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने आदिका लागि वित्तीय साक्षरताले दह्रो सहयोग गर्छ । वित्तीय साक्षरताको अभावमा धेरै किसिमका दुःख, झण्झट र कष्ट व्यहोर्नुपर्ने हुन्छ । वित्तीय रूपले असाक्षर व्यक्ति दैनिक खर्च धान्न पनि ऋण लिनुपर्ने, एउटा ऋण तिर्न अर्को ऋण लिनुपर्ने, अन्त्यमा ऋण तिर्न नसक्ने अवस्थामा पुग्ने, धितो लिलामी हुने अवस्थामा पुग्ने सम्भावना हुन्छ ।
वित्तीय साक्षरता कसरी अभिवृद्धि गर्ने त ? सर्वप्रथम आफ्नो आम्दानी र खर्चको आधारमा बजेट बनाउने, अति आवश्यक, आवश्यक र कम आवश्यक खर्चहरूको वर्गीकरण गर्ने, के कति बचत गर्ने भन्ने निक्र्योल गर्ने कार्य महìवपूर्ण ठानिन्छन् । दैनिक आवश्यकताका वस्तुहरूमा खर्च गर्नु नै पर्छ । स्थिर किसिमका खर्चहरू, जस्तै, घरको किस्ता, विजुली पानीको बिल, स्कुल शुल्क आदिका लागि पनि पैसा छुटट्याउनु पर्ने नै हुन्छ । तर स्वेच्छिक खर्चहरू, जस्तै, बाहिर होटलमा खाने, विदेश भ्रमणमा जाने, अनावश्यक खरिद गर्नेजस्ता खर्चहरू कटौती गर्न सकिन्छ । त्यस्तै, बचतको योजना बनाउन सकिन्छ । महिनाको यति रकम म अनिवार्यरूपमा बचत गर्छु भनी प्रतिज्ञा गरेर सोहीबमोजिम बचत गर्न सकिन्छ । आफूले तिर्नुपर्ने मासिक बिलहरू विभिन्न एप्लिकेसनमार्फत तिर्न सकिन्छ । अझ स्वचालितरूपमा आफ्नो खाताबाट बिलको भुक्तानी हुने मोबाइलमा रिमाइण्डर आउने व्यवस्था गर्न सकिन्छ ।
ऋण लिनु परेमा कुन कार्यका लागि ऋण लिने, त्यसको उत्पादनशील क्षेत्रमा कसरी प्रयोग गर्ने, ऋण कसरी तिर्ने उपायका बारेमा बेलैमा सोच्ने र योजना बनाई कार्यान्वयन गर्ने, कर्जा सूचना केन्द्रबाट आफ्नो कर्जा प्रतिवेदन माग्ने र आफ्नो अवस्था जाँच्ने (ताकि राम्रो कर्जा सूचना अवस्थाको आधारमा कम ब्याजदरमा ऋण प्राप्त गर्न सकियोस्), अनावश्यक खर्च कटौती गरी ऋण तिर्नमा प्राथमिकता दिने, आदि गरेमा आफ्नो व्यापार व्यवसायको गर्जो पनि टर्छ, ऋणको सदुपयोग हुन्छ, ऋण समयमै तिर्न पनि सकिन्छ । समस्यामा परिँदैन ।
अमेरिकाको करिब आधा जनसङ्ख्याले सुविधाजनक अवकाशको लागि पर्याप्त रकम आपूmसँग हुने कुरा सोच्न पनि सक्दैनन् । त्यस्तै, अमेरिकामा क्रेडिट कार्डको ऋण अत्यन्त बोझिलो हुने गरेको पाइन्छ । ४० प्रतिशत अमेरिकीले चारसय डलरको आकस्मिक खर्चको जोहो पनि गर्न सक्दैनन् । दुईतिहाई अमेरिकी जनताले वित्तीय साक्षरताको आधारभूत परीक्षासमेत
पास गर्न सक्दैनन् ।
वित्तीय शिक्षा एउटा यस्तो प्रक्रिया हो, जसको माध्यमबाट वित्तीय उपभोक्ता, लगानीकर्ताहरूले विभिन्न वित्तीय ‘प्रडक्ट’ तथा अवधारणाहरूको बारेमा विभिन्न किसिमका सूचना, निर्देशनहरू तथा वस्तुगत सल्लाहमार्फत आफ्नो दक्षता र आत्मबल विकास गर्छन्, जसबाट वित्तीय जोखिम तथा वित्तीय अवसरहरूको बारेमा सचेत भई आफ्नो वित्तीय हितका लागि सुसूचित निणर््ायहरू गर्न सबल हुन्छन् । विकसित देशहरूमा त अझै आधारभूत वित्तीय शिक्षाको आवश्यकता छ भने नेपालले त जनतालाई बचत, बजेटिङ, कर्जा, ब्याजदरलगायत विभिन्न वित्तीय आधारभूत विषयहरूमा शिक्षा प्रदान गर्नु अपरिहार्य छ । यसबाट जनतालाई वित्तीय रूपमा सचेत बनाउने सकिने उनीहरूको जीवनस्तर उकासिने र औपचारिक वित्तीय सेवामा पहुँच विस्तार हुने हुन्छ । वित्तीय बजारको विकास, नयाँनयाँ वित्तीय ‘प्रडक्ट’ हरूको आगमन, जनसाङ्ख्यिक, आर्थिक तथा नीतिगत परिवर्तनहरूको कारण जटिल र सघन हुँदै गएको वित्तीय बजार, ग्राहकहरूका लागि उपलब्ध धेरै किसिमका कर्जा र बचतका उपकरणहरू, धेरै बैङ्क तथा वित्तीय संस्थाहरू, अनलाइन बैङ्किङ, मोबाइल बैङ्किङ, दलाल अभिकर्ता, सामुदायिक समूहहरूमार्फत बैङ्किङ आदिको कारण आधुनिक समयमा वित्तीय शिक्षाको महìव दिनानुदिन बढ्दै गइरहेको छ । यसको अलावा औपचारिक वित्तीय संयन्त्रमा पहुँचको कमी, ठूलो सङ्ख्यामा बैङ्किङ पहुँचविहीन जनसङ्ख्या, बैङ्किङ प्रवद्र्धनसम्बन्धी लक्षित गतिविधिहरूका कमीका कारण पनि वित्तीय साक्षरता अपरिहार्य छ ।
नेपालमा ग्रामीण क्षेत्रको धेरै जनसङ्ख्यामा वित्तीय साक्षरता न्यून भएको, नयाँ प्रविधिको बारेमा ज्ञान कम भएको, अहिलेसम्म पनि २० प्रतिशत जनसङ्ख्या वित्तीय पहुँचबाहिर नै रहेको, नगद कारोबारलाई नै प्राथमिकता दिने गरेको, बैङ्क तथा वित्तीय संस्थाहरू ज्यादातर सहरी क्षेत्रमा नै केन्द्रित रहेको अवस्थामा वित्तीय साक्षरताको झन् धेरै महìव छ । वित्तीय क्षेत्र रणनीति, पन्ध्रौँ योजना, वित्तीय समावेशीकरण ‘रोडम्याप’, नेपाल राष्ट्र बैङ्कको रणनीतिक योजना र मौद्रिक नीतिमा समेत वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखिएबमोजिम नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता ‘फ्रेमवर्क’ तयार गरेको छ । तलबी कर्मचारी, किसान, विप्रेषण प्रापक, महिला तथा विद्यार्थी आदि लक्षित वर्गलाई विभाजन गरी सोहीअनुरूप उपयुक्त हुने गरी वित्तीय शिक्षा दिनुपर्ने प्रावधान गरिएको छ । नेपाल राष्ट्र बैङ्कलगायत वित्तीय संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिकामा सबै बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो कार्यक्रममा वित्तीय साक्षरता कार्यक्रम राख्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै, बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्नमा खर्च गर्नुपर्ने व्यवस्था पनि छ । नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता फ्रेमवर्क पनि जारी गरेको छ । वित्तीय साक्षरता कार्यक्रम विद्यालय स्तरबाटै सुरु हुनु प्रभावकारी हुने महसुस गरी विद्यार्थीसँग नेपाल राष्ट्र बैङ्क कार्यक्रम सञ्चालन गर्दै आएको छ । अन्यत्रबाट सञ्चालन हुने वित्तीय शिक्षा कार्यक्रममा समेत वित्तीय तथा स्रोत व्यक्ति सहयोग गर्दै आएको छ । विद्यालयस्तरका पाठ्यक्रममा समेत वित्तीय साक्षरता कार्यक्रमहरू राख्न पहल गर्दै आएको छ । यसरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दा विशेष गरी बचत, कर्जा, डिजिटल वित्तीय सेवा, वित्तीय, बैङ्क तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैङ्क, ग्राहक संरक्षण, ब्याजदर, साधनको लागत, सफा नोट नीति, आय आर्जनका तरिकाहरू, विप्रेषण, पुँजी बजार, बजेटिङ, विवेकशील वित्तीय निर्णय, वित्तीय सेवा प्रदायक, जोखिम व्यवस्थापन, गुनासो व्यवस्थापन, आदिको बारेमा ज्ञान दिने गरिन्छ ।
वित्तीय साक्षरता फ्रेमवर्कको मुख्य उद्देश्य भनेको वित्तीय सेवामा जनताको पहुँच बढाउने र विभिन्न बैङ्किङ ‘प्रडक्ट’ तथा सेवाको उपलब्धताको बारेमा जनचेतना अभिवृद्धि गर्ने हो । जनतालाई औपचारिक बैङ्किङ प्रणालीमा अभ्यस्त गराउन प्रेरणा दिने र तिनको वित्तीय अवस्थामा सुधार ल्याउने, उपभोक्तालाई आफ्नो अधिकार र दायित्वको बोध गर्न सहयोग पु¥याउने, वित्तीय वञ्चितीकरणमा परेका व्यक्तिहरूलाई न्यून लागतमा वित्तीय सेवा उपलब्ध गराउने, डिजिटल वित्तीय सेवा र तिनका फाइदाहरूको तथा जोखिमहरूका बारेमा जनचेतना अभिवृद्धि गर्ने, व्यक्तिगत वित्त व्यवस्थापनमा जनचेतना बढाउनेलगायतका उद्देश्यहरू छन् । ग्राहकको दृष्टिकोणबाट मात्र होइन बैङ्क वित्तीय संस्था र नेपाल राष्ट्र बैङ्कका लागि समेत अत्यन्त उपयोगी मानिने वित्तीय शिक्षाको विकास अपेक्षितरूपमा हुने हो भने मुलुकमा गरिबी न्यूनीकरण, आर्थिक विकास, नेपालमा वित्तीय पहुँच अभिवृद्धि, वित्तीय समावेशीकरण तथा वित्तीय स्थायित्वमा ठूलो टेवा पुग्ने देखिन्छ ।
(लेखक नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?