logo
२०८१ बैशाख ११ मंगलवार



कोभिड–वर्षमा बाल मनोस्वास्थ्य

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल

विश्वलाई कोरोना महामारीले सन्त्रस्त पार्न थालेको पनि एक वर्ष पूरा भइसकेको छ । विश्व इतिहासमा पहिलोपटक पूरै संसारलाई ठप्पप्रायः पारेको कोरोना सङ्क्रमणले विश्वअर्थतन्त्र, पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै नै प्रतिकूल असर पा¥यो । विश्व परिदृश्यमा देखापरेको यस महाविपद्बाट नेपाल पनि अछुतो रहन सकेन । फलतः लामो समयसम्म नेपालले पनि बन्दाबन्दीको सामना गर्नुप¥यो । बन्दाबन्दी खुकुलो भएपछि पनि विद्यालय सञ्चालन हुन नसक्दा नियमित रूपमा विद्यालयमा अध्ययन गर्ने बालबालिका सात÷आठ महिनासम्म घरभित्रै बस्न बाध्य भए । यसका कारण उनीहरूमा एककिसिमको उकुसमुकुस र छटपटी बढ्दै गएको छ ।
विद्यालयको वातावरणमा समायोजन भएका बालबालिकालाई दैनिक तालिकाविनाको लामो समय घरमा बिताउन कठिन हुनु स्वाभाविकै हो । जबरजस्ती र फरक किसिमले सिर्जना भएको वर्तमान परिस्थिति उनीहरूका लागि असाधारण र असामान्य बन्न पुगेको छ । कोरोनाले सिर्जना गरेको विषम परिस्थितिले समाज र अभिभावकलाई आर्थिक तथा सामाजिक तनाव थपिदिएको छ भने अभिभावकले सामना गरिरहेका यस्ता अनेकौँ समस्याको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव बालबालिकामा पर्न थालेको छ । सङ्क्रमणबाट जोगिनका लागि बारम्बार हात धुने कुरा होस् कि घरबाहिर निस्कँदा सावधानी अपनाउनुपर्ने कुरा वा हरेक समय मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने कुराले समेत बालबालिकामा अनावश्यक दिक्दारी, भय र अज्ञात एवम् गहन मनोसामाजिक समस्याले गाँज्न थालेको छ ।
विद्यालयसँगै बन्द सिर्जनशीलता
बालबालिकाका लागि साथीसँगातीको निकै महŒव हुन्छ । शैशवकालमा आमाको महŒव भएजस्तै जब बालबालिकामा सामाजिकीकरणको प्रक्रिया सुरु हुन्छ, तब साथीसँगातीको त्यत्तिकै महŒव बढ्न थाल्छ । बालबालिकाको भाषिक, शारीरिक, मानसिक तथा संवेगात्मक विकासका लागि विद्यालयको वातावरण निकै उपयुक्त मानिन्छ । समान उमेरका साथीहरूसँग खेल्ने, उफ्रने तथा विचारहरू आदान–प्रदान गर्ने काममा अभ्यस्त हुँदा बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै जीवन र जगत्प्रतिको अवधारणाले विस्तारित हुने अवसर प्राप्त गर्छ । इगो सन्तुलनमा ल्याउन सिक्ने, अन्य व्यक्तिको अस्तित्व स्वीकार्ने तथा प्रतिकूल अवस्थामा समझदार बन्ने सीपको विकासका लागि पनि समवयस्कसँगको घुलमिल अपरिहार्य मानिन्छ । समान उमेर समूहका साथीसँगको खेलले आफ्नो परिवेशमा प्राप्त भएका वस्तु र सामग्रीहरूको साक्षात्कार गर्ने तथा आफ्नै सहज अभ्यासबाट प्राकृतिक र स्वाभाविक अनुभव लिने महŒवपूर्ण अवसर प्रदान गर्छ । विद्यालयमा शिक्षकसँग हुने अन्तरक्रिया तथा शिक्षकशिक्षिकाले दिने निर्देशनले बाल व्यवहारमा निकै नै प्रभाव पार्ने गरेको छ । शिक्षकले भनेको कुरा बच्चाले अकाट्य रूपमा ग्रहण गर्ने भएकाले शिक्षकशिक्षिका बालबालिकाका लागि आमाबाबुपछिको दोस्रो अनुकरणीय तथा आदर्श व्यक्ति बन्छ । बालबालिकाको जीवनको महŒवपूर्ण आदर्श पात्र शिक्षक लामो समयसम्म सम्पर्कविहीन हुँदा विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको छ । नौ दिन नौलो २० दिनमा बिस्र्यो भन्ने नेपाली उक्तिले नियमित अभ्यासबाट प्राप्त ज्ञान दैनिक जीवनको आदत बन्न सक्छ भन्ने कुरालाई सङ्केत गर्छ ।
हाम्रा बालबालिका सिर्जनात्मक कार्यविना यति लामो समयसम्म घरमा बसेपछि उनीहरूको सिक्ने आदतमा आएको विस्मरण पूर्वावस्थामा फर्कन अवश्यै पनि समय लाग्नेछ साथै सामान्य अवस्थाको जस्तो व्यवहार र शिक्षण विधिबाट बालबालिका लाभान्वित हुन सक्ने छैनन् । बालबालिकालाई सिकाइ क्रियाकलापमा आकर्षित गर्नु अथवा सिकाइ क्रियाकलापमा उनीहरूको रूचिलाई पुनरावर्तन गराउनु अबको पहिलो चुनौती देखिन्छ । यसका लागि शिक्षकले परम्परागत शिक्षण विधिको सट्टा परियोजना, सहकार्य, समस्या समाधान, अन्वेषण र प्रविधिमैत्री विधिलाई प्राथमिकता दिनुपर्छ ।
इन्टरनेटको पहुँच विस्तार
महामारीका कारण भौतिक रूपमा विद्यालय खोल्न सक्ने वातावरण नहुँदा सुविधासम्पन्न क्षेत्रका सम्पन्न विद्यार्थीले इन्टरनेटको माध्यमबाट पठनपाठन क्रियाकलापलाई अगाडि बढाएका छन् । अनलाइन प्रविधिका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापमा संलग्न भएका विद्यार्थीले प्रविधिका माध्यमबाट नयाँ कुरा सिक्ने अवसरसमेत प्राप्त गरेका छन् । लामो समयसम्म कलिला बालबालिका मोबाइल तथा अन्य ग्याजेटका स्क्रिनमा झुम्मिनु शारीरिक तथा मानसिक स्वास्थ्यका दृष्टिले राम्रो होइन । यसमा सही रूपमा अभिभावकको सुपरीवेक्षण नहुँदा बालबालिका अनलाइनमा पाइने नकारात्मक र अस्वस्थ सामग्रीका कारण खराब लतमा लाग्ने सम्भावनासमेत बढेको छ । विभिन्न किसिमका सूचनाहरू उपयोगी साधनका रूपमा प्रयोग हुन सक्छन् तर धेरै शिक्षकशिक्षिका तथा अभिभावक पढ्नु भनेकै नयाँ–नयाँ सूचनाको ग्रहण गर्नु हो भन्ने भ्रममा देखिन्छन् । यसैले उनीहरू बालबालिकालाई नयाँ सूचनाहरू घोकाउने काममा अहोरात्र तल्लीन देखिन्छन् । व्यवहारमा लागू गर्न नसकिने र वास्तविक जीवनभन्दा टाढाका सूचनाहरूको बाढीबाट बालबालिकालाई बचाउनु आजको आवश्यकता हो । आज कम सूचना पाएरभन्दा अत्यधिक, अनावश्यक र अव्यवस्थित सूचनाका कारण समस्यामा पर्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको छ । अनधिकृत र मानसिकस्तरको प्रतिकूलका सूचनाले बालमस्तिष्कमा नराम्रो प्रभाव पार्नुका साथसाथै भ्रमात्मक र त्रुटिपूर्ण अवधारणाको विकास भई व्यक्तित्व विचलनजन्य समस्याहरूको सिर्जना गर्ने सम्भावना रहन्छ । प्रविधिको अत्यधिक उपयोग गर्ने नाममा भर्चुअल संसारमा मात्र रमाउन थालेपछि बालबालिकालाई वास्तविक जीवनका यथार्थ घटनालाई बोध गर्न कठिनाइ हुनेमात्र होइन, उनीहरूको संवेदनात्मक विकासमा समेत असर पुगी सामाजिक समायोजनमा प्रतिकूल प्रभाव पर्छ । साइबर बुलिङ र यौन दुव्र्यवहारका घटनाहरूसमेत बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा सूचना प्रविधिलाई सही रूपमा उपयोग गरी शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउनु आमशिक्षक तथा अभिभावकका लागि चुनौतीको विषय हो ।
घरपरिवारको प्रभाव
कोरोनाका कारण लामो समयसम्म भएको बन्दाबन्दी र पेसा व्यवसायमा परेको नकारात्मक असरका कारण धेरै अभिभावकको आम्दानीमा प्रभाव परेको छ । आम्दानीका स्रोतहरू खुम्चिँदै जाँदा उनीहरूको जीवनशैलीमा परिवर्तन आउन थालेको छ । गुमेको रोजगारी र प्रतिफल प्राप्त हुन नसकेको लगानीका कारण अभिभावकहरूमा थपिएको तनाव र उदासिनता बालबालिकामा समेत सञ्चारित हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । बालबालिकालाई सुरक्षित राख्न जतिसुकै प्रयास गरे पनि अभिभावकमा विकास भएको नकारात्मक मानसिक प्रभावबाट उनीहरूलाई जोगाउन कठिन हुने कुरा पश्चिमा राष्ट्रहरूमा भएका विभिन्न मनोवैज्ञानिक अध्ययनहरूले पुष्टि गरेका छन् । अभिभावको नकारात्मक मनोभाव बच्चामा सर्ने जोखिम तथा कोरोनाप्रतिको अति सतर्कताका कारणले गर्दा बालबालिकाको स्वच्छन्द रूपमा हुने सिकाइमा समेत बाधा सिर्जना हुन्छ । कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्य सावधानी अपनाउने सन्देश दिइरहँदा र बालबालिकालाई त्यससम्बन्धी अनुशासनमा राख्न खोज्दा उनीहरूमा एककिसिमको एन्जाइटी र त्रासको भावना बढ्न सक्छ । जुन उनीहरूको सामाजिक तथा मानसिक स्वास्थ्यका लागि
घातक बन्न सक्छ ।
निष्कर्ष
पछिल्लो समय बालबालिकामा अब्सेसिस कम्पल्सिभ डिसअर्डर, डिप्रेसन, एन्जाइटी, पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डरजस्ता मनोसामाजिक समस्या बढ्दै गएको देखिन्छ । नियमित काम गर्न नचाहने, व्यक्तिगत सरसफाइ र मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुन नखोज्ने, अनावश्यक रूपमा रिसाउने, झर्किने र एक्लै बस्न खोज्ने, हिंस्रक स्वभाव देखाउने तथा दुव्र्यसन र यौन दुव्र्यवहारका घटनामा संलग्न हुने कलिला बालबालिकाको सङ्ख्या बढ्दै जानु राम्रो सङ्केत होइन ।
नेपाल प्रहरीका अनुसार महामारीको समयमा बालबालिकाको आत्महत्या दरसमेत बढेको छ । आफ्ना बालबालिकामा देखिन सक्ने अस्वाभाविक परिवर्तन, त्रासद मनोवृत्ति, उदासिनताजस्ता कुराहरूमा अभिभावकले समयमै ख्याल राख्नुपर्छ । इन्टरनेट तथा अन्य माध्यमबाट हुने उनीहरूको सङ्गत, व्यवहार र हिंस्रक अनलाइन गेमप्रतिको आकर्षणलाई सन्तुलनमा राख्न अभिभावकको सक्रियता तथा निगरानी अत्यावश्यक देखिन्छ ।
(लेखक मनोवैज्ञानिक परामर्शदाता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?