logo
२०८१ बैशाख ४ मंगलवार



विकास निर्माणको गति (सम्पादकीय)

विचार/दृष्टिकोण |




 

कोरोना (कोभिड–१९)को महामारीका सुरुका केही दिन विकास निर्माणका काम प्रभावित भए पनि सरकारले स्वास्थ्य मापदण्ड पूरा गरी क्रमशः यस्ता क्षेत्रमा काम गर्न खुला गरेपछि अहिले अधिकांश विकास निर्माणले तीव्रता पाएका छन् । कोरानाकालमा पनि निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा उल्लेख्य प्रगति भएको छ । कोरोनाको असर देखिनुअघि ८५ प्रतिशत काम सम्पन्न भएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम हाल करिब ९३ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, कोरोनाअघि ५० प्रतिशत काम भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य करिब ६३ प्रतिशत सकिएको छ । कोरोनाका कारण चीनमा रोकिएका सामानहरू छुटेकाले बाँकी कामले थप तीव्रता पाउने ती आयोजनाले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३०० मिटर धावनमार्गको काम पनि लकडाउनमै सुरु भएर सम्पन्न भइसकेको छ । १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना (सेती) को काम दसैँ, तिहार, कोरोना सङ्क्रमणबीच पनि निरन्तर छ । भारत तथा चीनसँग जोडिएका विभिन्न स्थानमा सीमा सुरक्षा चौकी बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएका छन् । कोरोना भाइरसका कारण निर्धारित समयभन्दा केही ढिला भएको थानकोट–नागढुङ्गा–सिस्नेखोलाका सुरुङ खन्ने काम पुसको पहिलो हप्तादेखि हुनेछ ।
यसैगरी, नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम तत्काल सम्पन्न हुने भएको छ । जाजरकोटमा आयोजनास्थल रहेको कुल ४१७ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको डीपीआरको तयारीमा लामो समय लागेको भए पनि अब ढिला नहुने सम्बद्ध पक्षले स्पष्ट गरेको छ । सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्यका साथ पहिलो चरणमा ३९६ वटा अस्पतालको शिलान्यास यही महिनाको १५ गते हुँदै छ । सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपियाँ खर्च गरिनेछ । सीमापार रेल सञ्चालन, पूर्व–पश्चिम रेलमार्ग निर्माणलगायतका काम कोरोनाकालमा पनि उल्लेख्य रूपमा भएका छन् । रूपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित सहरका रूपमा विकसित गरिने भएको छ । नगर विकासका लागि राष्ट्रिय गौरवका आयोजनाको काम धमाधम भइरहेको छ । चक्रपथ, ढल प्रशोधन केन्द्र निर्माण, ज्येष्ठ नागरिक ग्राम, बौद्धकालीन सङ्ग्रहालय, कृषि उपज केन्द्र तथा खेल मैदान निर्माणकोे काम तीव्र स्तरमा भएका छन् । लुम्बिनी प्रदेशकै गौरवको आयोजना लामीरह उच्च बाँध निर्माणले यस क्षेत्रमा विकासको थप सम्भावना खोल्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायलाई पुनर्जीवन दिने तयारी गरेको छ । तराई–मधेस द्रुत मार्गको निर्माणकार्यले गति लिएको छ । डीपीआर, अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा केही विलम्ब भए पनि यसै हप्ता अन्तर्राष्ट्रिय परामर्शदाता र प्राविधिक टोली नेपाल आई कार्य प्रारम्भ गरेको छ ।
सरकारले नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको भए पनि विकासका कार्यसमेत सँगसँगै अगाडि बढेका छन् । प्रधानमन्त्री स्वयम् विभिन्न आयोजनाको निरीक्षणमा जानु भई विद्यमान बाधा अड्चन फुकाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विषम परिस्थतिमा पनि विकास निर्माणका कार्यमा आएको तीव्रताले विकास खर्चमा बढोत्तरी ल्याई समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउन योगदान दिएको छ । यति भए पनि सरकारले अझ बढी काम गर्न सक्ने थियो । एकातिर कोरोना सङ्क्रमण अर्कोतिर सत्तारूढ पार्टीको नेतृत्वमा देखिएको विवादले सरकार अन्य सन्दर्भमा पनि अल्झनुपरेको छ । नेतृत्वको कलहका असरका कारण सिङ्गो पार्टी पङ्तिले सरकारको कार्यमा अपनत्व प्रस्तुत गरिरहेको देखिँदैन । विकास कार्यले अझ बढी तीव्रता पाऊन्, सर्वाङ्गीण विकासले मूर्त रूप लियोस् भन्ने अपेक्षा आमकार्यकर्ता तथा नागरिकमा हुनु स्वाभाविक हो तर यस्ता अपेक्षासहित सरकारको मूल्याङ्कन गर्दा आग्रहमुक्त हुनुपर्छ । विषम परिस्थितिमा सरकारले गरेको सही निर्णय, उचित कार्यपद्धति, पूर्वतयारी तथा प्रतिबद्धताका कारण कोरोनाको उपचारमा नेपाल विश्वको तुलनामा सफल रहेको तथ्यले पुष्टि गरिरहेका छन् । यस्ता सबै पक्षमा विनापूर्वाग्रह गरिने मूल्याङ्कनले सरकारलाई सही बाटो देखाउने र नागरिकलाई सही चित्र प्रस्तुत गर्नेछ तर विरोधका लागि विरोध गर्ने परिपाटीले कुनै पनि दल, सरकार वा नागरिकलाई सूचितभन्दा भ्रमित बनाउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?