logo
२०८१ बैशाख १३ बिहीवार



महिला मर्यादामा हातेमालो (सम्पादकीय)

विचार/दृष्टिकोण |




पछाडि फर्केर हेर्ने हो भने विश्व महिला आन्दोलन र उपलब्धिका अग्ला शैलशृङ्खला देख्न सकिन्छ । समान कामका लागि समान ज्याला र मतदानजस्ता आधारभूत अधिकारले प्रेरित महिला आन्दोलनको यात्राले निरन्तर सफलता पाउँदै आएको छ । महिला आन्दोलन खास कुनै निश्चित उद्देश्य प्राप्तिका लागि निर्दिष्ट नभएर सांस्कृतिक परिमार्जनको निरन्तरता भएकाले यसको सान्दर्भिकता समाज रहेसम्म निरन्तर रहनेछ । केवल आन्दोलनका माग, दृष्टिकोण तथा उपलब्धिमा भिन्नता हुनसक्छ तर यो निरन्तरता संस्कृति बनिसकेकाले कहीँ पुगेर यसले विश्राम लिनेछैन । समाज परिवर्तनसँगै आउने जटिलतामा अन्योन्याश्रित हुने महिला आन्दोलन यसैले पनि अनन्त छ । महिला आन्दोलनले ठूलो उपलब्धि प्राप्त गरेको भए पनि यसका अगाडि त्यति नै अग्ला र जटिल समस्या शृङ्खला छन् । यस्ता समस्या समाज र समयले ल्याउने गर्छन् । उदयकालीन महिला आन्दोलनले महिला बेचबिखनको मुद्दा उठाउन आवश्यक थिएन किनभने तात्कालिक समाजमा यस्ता समस्या थिएनन् । समाजमा समस्या र चुनौती थपिएसँग महिला आन्दोलन चुनौतीका ती कुँडाकर्कट काट्न र छाँट्न उभिनुपर्ने भएकाले आन्दोलनका माग तथा दृष्टिकोण गतिशीत र समयसापेक्ष हुनु आवश्यक छ ।
महिलाविरुद्ध हुने शारीरिक, मानसिक, सांस्कृतिकलगायत सबै प्रकारका हिंसा अन्त्य गर्नुपर्ने आवश्यकता महसुस गर्दै संयुक्त राष्ट्रसङ्घले १९९९ को महासभामार्फत नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेको हो । नेपाललगायत विश्वका विभिन्न देशमा यस्ता दिवसले विशेष महत्व राख्छन् किनभने यी मुलुकमा अहिले पनि महिलाविरुद्ध हिंसाका निकृष्ट घटना भइरहने गरेका छन् । यो दिवस मनाउनु गर्व होइन्, लज्जा हो । यस्ता दिवस मनाउनै नपर्ने विश्व समाज निर्माण हुनुपर्ने आकाङ्क्षालाई मूर्तरूप दिनुपर्छ । अहिले पनि हामी महिलाविरुद्ध हिंसा गर्छौं र त्यस्ता कुकृत्य रोक्न दिवस मनाउँछौं भन्नुपर्दा आगामी पुस्ताले वर्तमान समयको कसरी मूल्याङ्कन गर्छ भन्ने प्रश्नले नघोचेसम्म दिवस मनाउनुको औचित्य स्पष्ट हुँदैन ।
जहाँ गरिबी, अन्धविश्वास, अशिक्षा, सांस्कृतिक विभेद बढी प्रचलित छन् तिनै देशमा महिला हिंसाका घटना बढी हुनेगरेका उदाहरणबाट यसका उपचार विधि तय गर्नुपर्ने देखिएको छ । भौतिक सुरक्षाले मात्र भौतिक, अभौतिक प्रकृतिका महिला हिंसाको अन्त्य सम्भव नभएकाले विश्वले महिला विकास नै हिंसा अन्त्यको प्रभावकारी साधन हुनसक्ने सत्य स्वीकार गर्दै विकासका विभिन्न पहल गर्दै आएको छ । नेपालले पनि निरन्तर त्यस्ता पहलमा साथ दिँदै आएको छ । सन् १९७५ मा मेक्सिकोमा सम्पन्न पहिलो विश्व महिला सम्मेलनले निर्दिष्ट गरेको महिला विकास कार्ययोजनालाई नेपालले महìव दिँदै आएको छ । कोपेनहेगन विश्व सम्मेलन (१९८०), नैरोबी विश्व सम्मेलन (१९८५) र बेइजिङ विश्व सम्मेलन (१९९५)ले तय गरेका महिला विकासका प्राथमिकतालाई नेपालले उच्च महत्व दिंदै आएको छ । मूलतः आठौं पञ्चवर्षीय योजनादेखि घनिभूत हुँदै आएको महिला विकास तथा लैङ्गिक सशक्तिकरणका अवधारण, नेपालको संविधानले निर्दिष्ट गरेको समातामूलक समावेशी नेपालका चरित्रका कारण नेपाली महिला आन्दोलन ठोस उपलब्धि प्राप्त गरेको स्पष्ट देखिन्छ । खासमा नेपाली समाज संस्कृतिको परम्परा त नारीपूजक नै हो ।
सिद्धान्त र व्यवहार, अपेक्षा र उपलब्धि समान हुन निकै गाह्रो हुन्छ । सिद्धान्ततः, कानुनतः नेपाली महिला आन्दोलन परिणाममुखी देखिएको छ तर अझै समाजको पिँधमा रहेका महिलालाई यस्ता उपलव्धिका प्रतिफल पु¥याउन धेरै काम गर्नुपर्नेछ । अझै पनि महिला हिंसा र विभेद मात्र होइन अपहरण, बलात्कार र हत्याजस्ता घटनाले पूरै महिला आन्दोलन र उपलब्धिलाई धमिलो पार्ने गरेका छन् । यस्ता प्रवृत्तिलाई परास्त गर्न वर्तमान नेपाली महिला आन्दोलनले ऊर्जा खर्चनुपर्ने छ । यस वर्ष नेपालले पनि ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ नाराका साथ महिला हिंसा विरुद्धको दिवस मनाउँदै गरेकाले महिला हिंसा निर्मूूल गर्न समाजका सबै पक्षको प्रतिबद्धता र ध्यानाकर्षण हुनुपर्ने छ । सो नारालाई परिणाममुखी बनाउन बुधबारदेखि ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ सञ्चालन हुँदैछ । नेपाल सरकारले महिलाहिंसाविरुद्ध विरुद्धको प्रतिबद्धताकै चित्रण मान्न सकिन्छ एसिड प्रहार र बलात्कारसम्बन्धी अध्यादेशहरूलाई । तर कानुनभन्दा सभ्यता निर्माणमा समाज र राज्यको ध्यान केन्द्रित हुनुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?