logo
२०८० चैत्र १५ बिहीवार



अध्यात्म र भौतिक विज्ञानको सेतु

विचार/दृष्टिकोण |




बद्रीप्रसाद दाहाल
यसपालि मार्ग (मङ्सिर)१० गते स्मार्तहरूको, ११ गते वैष्णवहरूको हरिबोधिनी एकादशीको व्रत भनी पञ्चाङ्गमा उल्लेख गरिएको छ । यसलाई प्रबोधिनी एकादशी, ठूली एकादशी, विष्णु एकादशी आदि नामले पनि सम्बोधन गरिन्छ । वर्षभरमा जम्मा २४ वटा एकादशी चाड पर्छन् तर मलमासको बेला भने दुई एकादशी थपिन्छन् । हरेक एकादशीको आ–आफ्नै नाम र चिनारी छन् । वास्तवमा हाम्रा सबै तिथि र बारहरू चाड वा उत्सवका याम हुन् । तथापि, एकादशीको महŒव वर्णनयोग्य छ । त्यसमा पनि हरिबोधनी एकादशी सबै एकादशीका मुली हुन् ।
एकादशीको रोचक कथा छ । परापूर्वकालमा ब्रह्माको वंशमा ‘तालजङ्घ’ नाम गरेको डरलाग्दो असुर जन्मियो । उसको छोरो ‘मुर’ चन्द्रावती नामको नगरमा बस्थ्यो । त्यो दानव साह्रै पराक्रमी शुरो भएकाले आफ्नो वीरताबाट तीनै लोकमा प्रसिद्ध हुन गयो । एकपटक उसले स्वर्गमा बस्ने देवताहरूलाई युद्धमा परास्त गरी लखेट्यो । स्वर्गको अधिपति भएर उसले एकछत्र राज्य कायम ग¥यो । अनि अग्नि, चन्द्र, सूर्य, वायु र वरुणजस्तालाई पनि पदच्युत गरी अर्कै प्रणाली लागू ग¥यो । मुर दानवको यो अत्याचारबाट मुक्त हुन देवगण शिवजीकहाँ सल्लाह गर्न गए ।
शिवजीले पनि क्षीर सागरमा शयनरत भगवान् विष्णुको स्तुति गर्न सल्लाह दिए । देवगण भगवान् विष्णुकहाँ गई स्तुतिमार्फत प्रसन्न गराएपछि उनी जागा भए । विष्णुले सबै देवताहरूलाई लिएर तत्कालै चन्द्रावती नगरमा गए । दानवहरूलाई युद्धमार्फत संहार गरेर विष्णुलगत्तै बदरिका श्रमको सिंहावती गुफामा पुगेर सुते । यता, मुर नामक दैत्य विष्णुको पिछा गर्दै गुफाभित्र पस्यो र सुतेका विष्णुलाई मार्न तम्सियो । तत्काल विष्णुको शरीरबाट अत्यन्त रूपवती एवम् दिव्य अस्त्र शस्त्रले युक्त कुमारी प्रकट भइन् । भगवान्को तेजको अंशबाट जन्मिएकी ती कन्याले मुर दानवलाई युद्धको हाँक दिइन् । तर, लड्दालड्दै मुर दानव खरानीको रासमा परिणत भयो । त्यसपछि विष्णु व्युँझिए । कन्याको वीरताबाट प्रभावित हुँदै विष्णुले वर माग्न अनुरोध गरे । ती गुणवतीले सबै तीर्थमा मुख्य, विघ्नबाधा नाश गर्ने, सबै प्रकारका सिद्धि दिन सक्ने देवत्व पाउन सकूँ भनिन् । विष्णुले तथास्तु भनी वरदान दिए । तिनै रूपवती कन्या एकादशीको नामले संसार प्रसिद्ध भइन् ।
एकादशीहरूका नाम निम्न छन्– उत्पन्ना, मोक्षा, सफला, पुत्रदा, षट्तिला, जया, विजया, आमलकी, पापमोचनी, कामदा, बरुथिनी, मोहिनी, अपरा, निर्जला, योगिनी, हरिशयनी, कामिका, पुत्रदा, अजा, पद्मा, इन्दिरा, पापाङ्कुशा, रमा, हरिप्रबोधिनी, कमला, कामदा । यतिखेरको प्रबोधिनी एकादशी हो । असार शुक्ल एकादशीका दिनदेखि क्षीर सागरमा सुतेका विष्णु चार महिनापछि हरिबोधिनी एकादशीका दिन निद्राबाट व्युँझन्छन् । चतुर्मासभर वैदिक सनातनीहरू व्रत गर्छन् । चतुर्मासमा विवाह, व्रतबन्ध र अन्य माङ्गलिक काम गर्न हुँदैन । यसको मूल कारण भगवत् भक्तिको अलावा बर्खाको याम हुँदा बिच्छी, सर्प, नदीखोला, बाढीपहिरो र हिंस्रक जनावरहरूले दुःख दिन्छन् भनेरै हो । प्राकृतिक विपत्तिमा परेर मान्छेहरू मर्न नपरोस् भन्ने चाहना नै यसको अन्तर आसय हो ।
यही एकादशीमा घर–आँगनमा मण्डप बनाएर तुलसीको विवाह गर्ने चलन छ । यो कार्यक्रममा नवग्रह तथा मातृकाको पूजा गरिन्छ । विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गा गाडिन्छ । हाम्रो धर्ममा ‘तुलसीत्वं जगत् माता, तुलसीत्वं जगत् पिता’ अर्थात् तुलसीलाई संसारका प्राणीको आमा–बा भनेर सम्मान बर्साइएको छ । त्यसैले तुलसीको मठ भएको घर तीर्थ वा देवालयसमान हुन्छ । कार्तिक महिनाभरि सबै देवदेवी तुलसीमा निवास गर्छन् । तुलसीको सुगन्धले दसै दिशा पवित्र हुन्छ । त्यस्तो घरमा यमदूतहरू
पस्न सक्दैनन् ।
तुलसीमा भिटामिन र खनिज पर्याप्त मात्रामा पाइन्छ । राम–तुलसी र कृष्ण–तुलसी दुवैको महŒव छ, कृष्ण तुलसी अझ उम्दा हुन्छ । रगतको शुद्धीकरण, दिमागको कार्यक्षमता बढाउने, झाडाबान्ता निमन गर्ने, तुलसीपत्ताको स्नानबाट जुम्रा, लिखाको दोहोलो हुने, सुख्खा खोकी, दम, कफ, वा त पित्तदोषको नाश, टाइफाइड, मलेरिया, चर्मरोग, सर्पदंश आदिको यो अचुक ओखती हो । आयुर्वेदका महान् ग्रन्थहरू चरक र सुश्रुतसंहितामा यसको औषधीय गुणको बखान व्यापक रूपमा गरिएको छ । त्यसै हाम्रा शास्त्र र ऋषिमुनिहरूले तुलसीको स्याहारसुसार, पूजाअर्चना गर्न लगाएका होइनन् । तुलसीको सम्मान गर्ने यो एकादशी अध्यात्मविज्ञान र भौतिक विज्ञानको सेतु नै हो ।
व्रतमा वैज्ञानिकता व्रत भनेको शारीरिक एवम् मानसिक शुद्धिका लागि संयमित भई नियममा रहेर गरिने कार्य हो । यसमा सङ्कल्प र प्रतिज्ञा हुन्छ । क्षमा, सत्य वचन, दया, दान, पवित्रता, इन्द्रिय निग्रह, देवपूजा, होम, सन्तोष, चोरी नगर्ने काम व्रतालुले गर्न जरुरी छ । स्वास्थ्यविज्ञको भनाइमा व्रत र उपवासले पाचनमार्गमा जमेका विकार सफा हुने, कब्जियत, मोटोपना, मधुमेह, अरू चिनिमन गर्छ । फोक्सो, मुटु, मिर्गौलालाई काम गर्न सहज बनाउँछ । साथै, छालाको चमक पनि बढ्छ । हाम्रा पुर्खाहरूले पनि ‘थोरै खाए बल, धेरै खाए मल’ भनेर स्वास्थ्यविज्ञान सिकाएका थिए । तर, व्रत बस्दा आराम गर्नुपर्छ । घण्टा–घण्टामा एक गिलास पानी पिउनु जरुरी हुन्छ । व्रत बसेको साँझ चिल्लो, पिरो, अमिलो, दूध, दही र सुख्खा वस्तुहरू खानुहुन्न । यसरी हरेकले एक हप्तामा एक दिन भित्री अङ्गहरूलाई काम नलगाएर आराम दिनुपर्छ । त्यसैले त एकादशी पूर्णिमा, औँसी र विभिन्न बारहरूमा व्रत बस्ने चलन बसाएका हुन् । हाम्रो सनातन सभ्यताभित्र विज्ञान गुदी भएर लुकेको छ । नासाजस्ता अनुसन्धान संस्थाहरू आज आएर शोध गर्न मरिमेटेर लागेका छन् ।
‘हरि’को लाक्षणिक अर्थ हो– विवेक । जुन तŒवले न्याय, अन्याय, ठीक, बेठीक, गुण, दोष उचित, अनुचित छुट्याउने क्षमता राख्छ । त्यस्तो परमार्र्थी भाव जागा हुने वा व्युँझने शुभमुहूर्त भएरै यो दिनलाई हरिप्रबोधिनी एकादशी भनेर पुकारिएको हो ।
(लेखक धर्म संस्कृति अध्येता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?