logo
२०८१ बैशाख ७ शुक्रवार



नेपाली भाषा नेपाली पहिचान

विचार/दृष्टिकोण |




 

कल्पना भण्डारी

फाट्टफुट्ट राष्ट्रिय दैनिकहरूमा मेरा लेख प्रकाशित भएपछि ती लेख पढेर अमेरिकामा बस्ने चिनजानका भाइ सरोज अधिकारीले “विदेशमा बस्ने नेपालीका बच्चाहरूले नेपाली बोल्दैनन् र अभिभावकले पनि नेपाली बोल्न प्रेरित गर्दैनन्” यससम्बन्धी एउटा प्रेरणादायी लेख लेखिदिनुप¥यो भनेर अनुरोध गर्नुभयो । मलाई पनि यो विषय निकै संवेदनशील लाग्यो । यसका बारेमा हामीले नलेखे कसले लेख्ने ? नेपाली भाषा र संस्कृति तथा अल्पसङ्ख्यकको यो प्रश्न विदेशमा बस्ने नेपालीका लागि त विचारणीय प्रश्न हो । सरोज १० वर्षअगाडि अमेरिका पुगेका राम्रा गायक पनि हुनुहुन्छ र अहिले पनि गायनलाई निरन्तरता दिँदै आफ्ना छोराछोरीलाई नेपाली संस्कार दिएर हुर्काउन तल्लीन हुनुहुन्छ ।
भाषा कुनैै पनि जातजातिको पहिचान हो । भाषाबाट नै मानिसको सभ्यताको यात्रा प्रारम्भ भयो । ब्रिटानिकाले मानिसले आफूलाई अभिव्यक्त गर्ने माध्यमलाई भाषाका रूपमा परिभाषित गरेको छ, जुन बोलेर र सङ्केतका सहायताले बोधगम्य हुन्छ । भाषालाई बोलेर र लेखेर अभिव्यक्त गर्न सकिन्छ भने विकिपिडियाका अनुसार सञ्चारको संरचनागत प्रणालीलाई नै भाषा भनिन्छ ।
यसरी हेर्दा भाषा भनेको अभिव्यक्तिको माध्यम हो । आ–आफ्ना देशका आफ्नै राष्ट्रिय र मातृभाषाहरू हुन्छन् । नेपालको संविधान २०७२ को धारा ६ अनुसार नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भने धारा ७ को उपधारा १ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ ।
सञ्चार र पहुँचका कारणले संसार नै एउटा भूमण्डलीय ग्रामका रूपमा परिणत भइसकेको परिप्रेक्ष्यमा आफ्नो मौलिकता बचाउनु साँच्चिकै चुनौतीको कुरा हो । कुनै पनि व्यक्तिका लागि उसको पहिचान, संस्कार, संस्कृति, धर्म, चाडबाड, रीतिरिवाजहरूले विशेष महŒव राख्छन् । यी मौलिकताविना जति नै प्रगति र उन्नति गरे तापनि हामी अपुरो नै रहन्छौँ । यस्ता मौलिकताहरूले हाम्रो जीवनमा ऊर्जाको काम गरेका हुन्छन् र यस्ता मौलिक पहिचानहरू हामीसँग भएनन् भने हाम्रो जीवन पनि जराविनाको वृक्ष समान हुन्छ । जसरी एउटा बिरुवाले आफ्नो जरा छोडेर अर्को बिरुवाको जराको सहायताले आफ्नो अस्तित्व कायम राख्न सक्दैन, त्यसैगरी हामीले पनि आफ्ना जराहरूको महŒव नबुझेर वा आफ्ना जराहरूलाई अवमूल्यन गर्दा हाम्रो मौलिकता, पहिचान र अस्तित्वलाई नै सङ्कटमा पारिरहेका त छैनौँ ?
हाल आएर नेपालका सहरी क्षेत्रमा र विदेशका विभिन्न मुलुकमा बसोवास गर्ने नेपाली भाषी समुदायले आफ्ना बच्चासँग नेपाली भाषाभन्दा अङ्गे्रजी भाषा बढी मात्रामा प्रयोग गरेको पाइन्छ भने नेपालका निजी विद्यालयहरूमा त नेपाली भाषाको कक्षाबाहेक अरू समयमा नेपाली बोलेमा सजायको भागिदार नै हुनुपर्छ । बच्चाहरू नेपाली बोल्दा सजाय पाइने डरले साथीहरूसँग खेल्न, बोल्न पनि मन फुकाएर नपाउने अवस्था थियो भने हाललाई चाहिँ घरबाटै अनलाइन कक्षाले थोरै मात्रामा भए पनि बच्चाहरूलाई राहतको महसुस गरेको अनुभव म स्वयमले पनि गरेकी छु । अङ्ग्रेजीमा आफ्नो कुरा अभिव्यक्त गर्न नसक्दा शिक्षक–शिक्षिका र विद्यार्थीबीचको दूरी पनि कतै बढिरहेको त छैन ? यसले हाम्रो सिकाइ प्रक्रियालाई नै त प्रभावित पारेको छैन ? यो सोच्नुपर्ने होइन र ?
विक्रम संवत् २०५५ मा बनेको नेपाली सिनेमा ‘साथी’को गीतमा राजेश हमालले करिश्मा मानन्धरलाई “मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न” भनिरहँदा साँच्चै नै त्यो बेला अङ्ग्रेजीमा बोल्न जान्ने नेपाली कलाकारहरू औँलामा गन्न सकिन्थ्यो होला । आज समय फेरिएको छ, कतिपय नेपाली कलाकारहरूलाई त नेपाली भाषा अप्ठ्यारो लाग्न थालिसकेको छ । जिब्रो बटारीबटारी कनीकुथी भए पनि अङ्ग्रेजी बोल्ने परिपाटी सुरु भएको सुन्न र हेर्न पाइन्छ । नेपाली नायक–नायिकादेखि लिएर गायक–गायिकामा पनि लोकगायकदेखि पप हुदै ¥यापसम्ममा आइपुग्दा अङ्गे्रजीमोह प्रस्ट झल्कन्छ । त्यसरी नै नेपालका नेताहरू पनि अङ्ग्रेजीमोहबाट अछुतो छैनन् । विदेशका कार्यक्रममा जाँदा होस् वा नेपालमै विदेशी पाहुना आउँदा नजाने पनि अङ्ग्रेजी बोलेर विवादित हँुदै पनि आएका छन् । आफूलाई पूर्ण ज्ञान र आत्मविश्वास नभएको अर्को भाषा बोलेर विवादित हुनुभन्दा दोभाषे राखेर बोल्दा विवादितको सट्टा आत्मसम्मान हुन्छ भन्ने कुरा हाम्रा नेताहरूले नबुझेको देख्दा अचम्म लाग्छ । म पनि अङ्ग्रेजी राम्रो बनाउनुपर्छ भन्ने मान्यता राख्छु । अङ्ग्रेजी राम्रो बनाउनुपर्छ भनेर नेपाली भाषालाई अवमूल्यन गरेर आई÷नआई जबरजस्ती अङ्गे्रजी भाषा बोल्ने र नेपालमै बसेर नेपाली भाषा अप्ठ्यारो लाग्छ भन्नु कतै नाक काटेर ....टाल्नुजस्तो त हुन्न ?
नेपालमा पनि कति ठाउँमा जाँदा एकप्रकारको भिन्नै समूह हुन्छ, जो आफूलाई अङ्गे्रजी बोलेर आफू पृथक परिवेशको मानिस हुँ भनेर परिचय गराउन पछि पर्दैनन् ।
अङ्गे्रजी भाषालाई नै सर्वेसर्वा ठान्ने हो भने चीन, जापान, रूस, कोरियाजस्ता विकसित देशलाई हेरे पुग्छ । विकासमा फड्को मारेका यी देशहरूले शिक्षालगायत सबै कार्यमा आफ्नै भाषाको प्रयोग गर्छन् । फ्रान्समा फ्रेन्च भाषा प्रयोग हुन्छ । त्यहाँका नागरिकलाई अङ्ग्रेजीको ज्ञान भए तापनि प्रयोगको हिसाबले अङ्गे्रजी भाषा प्राथमिकतामा परेको पाइँदैन । युरोपका कतिपय देशहरूले अङ्ग्रेजी थोरै मात्रामा प्रयोग गरेको पाइन्छ । युरोपमा कतिपय व्यापारिक केन्द्रहरूमा अङ्गे्रजीमा बोल्यो भने बुझे पनि उनीहरूले कपी र कलम दिन्छन् अनि उनीहरूले पनि लेखेरै उत्तर दिन्छन् । त्यसरी नै विश्वको उत्कृष्ट शिक्षा प्रणाली भएको फिनल्यान्ड फिनिस भाषा नै प्रयोग गरेर शैक्षिक उन्नतिको शिखर चढ्दै छ । फिनल्यान्डमा बस्ने साथी श्रवण खनालका अनुसार त्यहाँ कक्षा ३ देखि मात्र अङ्ग्रेजी भाषाको पढाइ हुन्छ, त्योभन्दा तलका कक्षामा सम्पूर्ण पाठ्यसामग्री आफ्नै मातृभाषामा नै हुन्छन् । यसको अर्थ आफ्नो भाषालाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने नै हो ।
अङ्ग्रेजी भाषा नै महŒवपूर्ण भएको भए कोरियाली गायकले नौ वर्ष अगााडि गाएको गीत “ओप ग्याङ्नम स्टायल’’ले विश्व रेकर्ड तोड्ने थिएन । त्यसरी नै गत वर्ष हाम्रोसमेत मुखमा झुन्डिएको स्पेनिस गायिकाले गाएको “ताकी–ताकी रुम्बा”ले पनि विश्व बजारमा राम्रो स्थान जमाउन सफल हुने थिएन होला । बेलायती कलाकार चार्ली च्याप्लिनले कुनै भाषा नबोलेरै आफ्नो कला÷अभिनयलाई संसारभर प्रसिद्ध बनाए, त्यसैगरी कलाकार मिस्टर विनले पनि चार्ली च्याप्लिनकै पदचाप पछ्याउँदै नबोलेरै संसारभरका मानिसलाई हँसाउँदै आएका छन् ।
म स्वयम् पनि केही वर्ष अमेरिका बसेकी थिएँ । सो स्थानमा नेपाली जनसङ्ख्या उल्लेख्य नै थियो । नेपालीले आयोजना गर्ने विभिन्न कार्यक्रममा जाँदा किशोरावस्थाका मानिस आफ्ना अभिभावक र त्यही उमेरका अरू मानिस भएको वरिपरि नै नजाने, सकभर बोल्दै नबोल्ने र बोल्नै परे पनि अङ्गे्रजीमा बोल्ने गर्थे । उनीहरू आफ्नो उमेर समूहमा अङ्ग्रेजीमा गफिएर रमाइरहेका हुन्थे । यिनीहरूलाई सोधेको खण्डमा नेपाली आउँछ तर बोल्न अप्ठ्यारो मान्छन् भनेर अभिभावकले नै ढुक्कसँग भन्दा मलाईचाहिँ चसक्क हुन्थ्यो । यतिसम्म कि नेपालमा नौ, दस कक्षासम्म अध्ययन गरेर गएका बच्चाहरू एक वर्षमै नेपाली पटक्कै नबोल्ने र अभिभावकको मनसाय पनि अङ्ग्रेजी नै बोल्दिए हुन्थ्यो भन्ने देखिन्थ्यो । यो अवस्था अहिले सायद विदेशमा सबैतिर व्याप्त नै होलाजस्तो लाग्छ ।
विशेषगरी अमेरिका, युरोप, क्यानडा, अस्ट्रेलियालगायतका देशमा बसोवास गर्ने नेपालीहरूका सन्तानलाई अभिभावकले नेपाली सिकाउनैपर्छ । कति परिवारमा त सिकाएर राम्रोसँग नेपाली बोल्ने बच्चाहरू पनि नभएका होइनन् तर विदेशमा हुने बहुसङ्ख्यक नेपालीका बच्चाहरूले नेपाली भाषा न्यून मात्रामा प्रयोग गर्छन्, त्यो पनि बेखुसीमा । मैले अमेरिकामा बस्ने आफन्तसँग कुरा गर्दै थिएँ, अमेरिका गएको छ वर्ष भएछ, यहाँ नौ कक्षा सकेर गएको बाबुसँग कुरा गरे उसले अङ्ग्रेजीमा कुरा ग¥यो मैले नेपालीमा गफ गरौँ न बाबु भनेको “आई डोन्ट फिल कम्फरटेबल इन स्पिकिङ नेपाली ल्याङ्वेज” भनेर आमालाई फोन दियो । मैले दिदीलाई किन बाबुले नेपाली बिर्सियो, यहाँ त्यति ठूलो भएपछि गएको भनेको दिदीले फुर्तिसाथ भन्नुभयो– अब यिनीहरूलाई नेपाली किन बोल्नुप¥यो र यहीँको नागरिक भइसकेपछि ।
म तीनछक परेँ । के अमेरिकी नागरिक हुनासाथ आफ्ना पुर्खाहरूको थातथलो र भाषालाई नै तिरस्कार गर्नुपर्छ र ?
भाषा आफैँमा खराब हुँदै होइन । भाषालाई सही स्थान र समयमा प्रयोग गर्न सक्नु नै बुद्धिमत्ता हो । संसारका सबै भाषाहरूको पछाडि आ–आफ्नै मौलिकता, विशिष्टता र इतिहास गाँसिएका हुन्छन् । जति धेरै भाषाको ज्ञान भयो त्यति नै दैनिक वा पेशागत जीवन सहज हुन्छ । आफ्ना देशभित्रका राष्ट्रिय र मातृभाषाको जानकारी राख्नु एक शिक्षित र सभ्य नागरिकको कर्तव्य पनि हो ।
नेपालका निजी क्षेत्रमा खुलेका शैक्षिक संस्थाहरूले अङ्गे्रजीलाई किन यति धेरै महŒव दिइरहेका छन उनीहरू आफैँमा स्पष्ट नभएको हो कि भन्ने पनि भान हुन्छ । हामी र हामीभन्दा अगाडिका पुस्ताका बहुसङ्ख्यक मानिसले सरकारी विद्यालयमा चार कक्षादेखि अङ्गे्रजी पढेर पनि अङ्गे्रजीकै कारणबाट पछाडि परेजस्तो मलाई लाग्दैन । डा. अभि सुवेदी, डा. सञ्जीव उप्रती, डा. सम्राट उपध्याय, स्वर्णिम वाग्ले, शेष घले, डा. सन्दुक रुइत, डा. भोला रिजाल, डा. भगवान कोइराला, स्वर्गीय डा. उपेन्द्र देवकोटा, महावीर पुन, कुलमान घिसिङजस्ता धेरै चार कक्षाबाटै ए, बी, सी, डी सुरु गर्नेमा पर्छन् होला । उनीहरूले अङ्गे्रजी नबोलेका कारण सजाय भोग्नुपरेन होला । आज उनीहरूलाई न अङ्गे्रजी भाषाले कतै प्रगतिपथमा रोकेको छ न त नेपाली बोल्नमा नै हिच्किचाहट छ । त्यसैले अबका बच्चाहरूलाई अङ्गे्रजी वाहवाह नबनाइदिऊँ । नेपालका प्रत्येक विद्यालय जाने बच्चाहरूले अबका दिनमा अङ्ग्रेजी निर्वाध रूपमा बोल्न, लेख्न सक्छन्, अङ्गे्रजीका लागि नेपाली भाषालाई विस्थापित गर्न नखोजौँ । नेपाल र विदेशमा पनि घरमा कडाइका साथ बच्चाहरूलाई नेपाली बोल्ने वातावरण सिर्जना गरौं ।
अमेरिका, क्यानडा, अस्ट्रेलियामा साताको एक दिन र जाडो, गर्मी बिदामा नेपाली स्कुल भनेर सञ्चालन गरेको पनि पाइन्छ । त्यो पनि एउटा सकारात्मक पाटो हो, यसरी सञ्चालन गर्ने कक्षाहरूलाई पनि निरन्तरता दिँदै घरमा अनिवार्य रूपमा बच्चाहरूसँग नेपाली बोलेमा विनाकठिनाइ बच्चाहरूले नेपाली बोल्न सक्नेछन् । अहिले त इन्टरनेटमा नेपाली भाषाका पाठ्यसामग्री पनि उपलब्ध हुने हुनाले विदेशमा हुने अभिभावकलाई पनि नेपाली सिकाउन सहज हुन्छ । त्यसैगरी, विदेशमा हुने एनआरएनहरूका प्रत्येक सभा, सम्मेलन, गोष्ठी र भेटघाटहरूमा पनि यो विषयसम्बन्धी कुरा उठाउँदा सुनमा सुगन्ध हुने थियो भने एनआरएनहरूका परिवारका घरमा पनि नेपाली भाषामात्र प्रयोग ग¥यो भने केही हदसम्म भए पनि नेपाली भाषा जोगाउन सहयोग पुग्ने देखिन्छ । हाम्रा विदेशमा भएका भावी पुस्ताहरूले नेपाली भाषा नबिर्सियून् । 
(लेखक गृहिणी हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?