logo
२०८१ बैशाख ८ शनिवार



सामरिक कब्जामा रहेकोे देश

विचार/दृष्टिकोण |




 

काशीराज आचार्य

अफगानिस्तान फेरि एकपटक बहुचर्चामा आएको छ । ४० वर्षभन्दा लामो गृहयुद्धमा फसेको अफगानिस्तान विश्वका शक्तिशाली देशहरूको रणभूमि बन्दाबन्दै पनि यतिखेर फेरि एकपटक मेलमिलापको चरणमा प्रवेश गरिरहेको छ । पहिले सोभियत रूस र पछि अमेरिकी सेनाले परेड खेलेको अफगानिस्तानमा अमेरिका, अफगान सरकार र लडाकु तालिवानबीचको वार्ता सफल होला ?
दक्षिण–एसियाको उत्तर–पश्चिम क्षेत्रमा विस्तारित सिन्धु घाँटी सभ्यता (३३००–१३०० बीसी) अफगानिस्तानको उत्तरी भागसम्म फैलिएको थियो । पछि अरब क्षेत्रमा स्थापित हुन पुगेको इस्लाम धर्म सन् ६४२ सम्म इरानको पूर्वी सीमानजिक रहेको अफगानिस्तानको हेरात सहरसम्म आइपुग्यो । यसरी क्रमशः अफगानिस्तानका रियासती राज्यहरूमा मुस्लिम धर्म तथा संस्कृतिको बाहुल्य जम्दै गयो ।

दुर्रानी साम्राज्य
छरिएर रहेका टुक्रे राज्यहरूलाई एकीकृत गरी सन् १७४७ मा दुर्रानी साम्राज्यका अहमद शाहबाट आधुनिक राज्यका रूपमा अफगानिस्तान स्थापित हुन पुग्यो । त्यतिबेला भारत, कास्मिर र पाकिस्तानको पश्चिमतर्फको केही भागमाथि यिनले हमला गरी केही समय कब्जा पनि गरेका थिए । जे होस्, अफगानिस्तानको भौतिक स्वरूप निर्धारणमा यिनको ठूलो योगदान रहेकाले यिनलाई राष्ट्रपिताका रूपमा हेरिन्छ । यस वंशले सन् १८२३ सम्म शासन गरेको देखिन्छ ।

बेलायतको शर्मनाक हार
पटक–पटक गरी करिब सात वर्ष (सन् १८३९–१८४२, १८७८– १८८० र १९१९) बेलायती साम्राज्य र अफगानिस्तान आमिरबीच लडाइँ पनि भयो । कारण हो, बेलायतले हिन्दमहाद्वीपका देशहरूमा जस्तै आफ्नो औपनिवेशिक दासता कायम गर्ने चाहना गर्नु र सोभियत सङ्घको साम्यवादी विस्तारलाई रोक्नु । दुर्रानी वंशका आमिर शाह सुजाह र अर्का आमिर दोस्त महम्मद बारकजाईबीच भएको असमझदारीका कारण बेलायत केही वर्ष अफगनिस्तानमा खेल्न पायो । यसक्रममा बेलायतले धेरै ठूलो धनजनको क्षतिका साथै शर्मनाक हार पनि बेहोर्नुपरेको थियो ।

सम्झौता र जाहिर शाह
बेलायतले केही सीप नलागेर पाकिस्तानको रावलपिन्डीमा सम्झौता (सन् १९१९) गर्नै प¥यो । अफगानिस्तान एउटा स्वतन्त्र देशकै रूपमा कायम भइराख्यो । यसपछि बारकजाई वंशभित्र १९२६ मा एउटा नियमित राजसत्ताधारी अमिर समूह उत्पन्न भयो । यसैभित्र स्थापित राजसंस्थाका अन्तिम राजा महम्मद जाहिर शाहको शासनकाल १९७३ सम्म कायम रह्यो ।

बाबराक कार्मालको दशक
राजा जाहिर शाहलाई उनकै वंशका दाइ नाता पर्ने तथा बहिनीज्वाईं समेत बनेका महम्मद दाउदले राजद्रोह गरी सत्ताच्युत गरे । काबुल युनिभर्सिटीमा अध्ययन गरेका बाबराक कार्माल सन् १९७३ मा शक्तिमा आएका महम्मद दाउदसँग नजिक त थिए तर पछि कुरा मिल्न छाड्यो । यही कारणले उनी पटक–पटक जेल पनि गए । कम्युनिस्ट पार्टीले १९७८ मा दाउदको पनि हत्या ग¥यो । यसपछि १९७८–७९ देखि नुर महम्मद तराकी र हफिजुल्लाह अमिनले अल्पकालीन सत्ता चलाए ।
अफगान पिपुल्स डेमोक्र्य्राटिक पार्टी (पीडीपीए, १९७०) गठन गरेका कार्माललाई १९७९ देखि १९८६ सम्म छिमेकी सोभियत सङ्घको समर्थनमात्र होइन, यिनको सत्ता टिकाउन सोभियत सेना नै अफगानिस्तानमा उतारियो । यसपछि हाजी मोहम्मद चमकानीको सरकार १० महिना सत्तामा बस्न नपाउँदै १९८७ देखि १९९२ सम्म डा. महम्मद नजिबुल्लाह राष्ट्रपति पदमा आसिन हुन पुगे । यिनलाई पनि सोभियत सङ्घको समर्थन रहिरह्यो । सन् १९९२ भित्रै अब्दुल रहिम हातिफ र सिब घातुल्लाह मोजाद्देदीजस्ता नेताहरू पनि संयोगले क्रमशः १२ तथा ६१ दिनका लागि राष्ट्रप्रमुख हुन पुगे । यसैबीचमा पनि अमेरिका, अन्य पश्चिमा मुलुक, अरब देश एवम् पाकिस्तान समर्थित मोजाहिद्दिन लडाकुहरू आ–आफ्नो वर्चस्व कायम गर्न एक–अर्काबीच देशभित्रै लडिरहे ।

मोजाहिद्दिनको सत्ता आगमन
मोजाहिद्दिनलाई अफगानिस्तानमा साम्यवादीको सरकार पटक्कै मन परेको थिएन । पाकिस्तान तथा चीनबाट युद्ध–प्रशिक्षण प्राप्त मोजाहिद्दिनलाई साउदी अरब, अमेरिका र बेलायतले आर्थिक सहायता दिएका पनि थिए । भनिन्छ, एक दशक चलेको यस युद्धमा ५० लाखभन्दा बढी अफगानहरू पाकिस्तान तथा इरानको शरणमा गए । युद्धमा हजारौँ मरे । सन् १९९२ देखि मोजाहिद्दिनको कार्यकालमा बुरानुद्दिन रब्बानीको लामो राष्ट्रपतित्वसँगै गुलबुद्दिन हिक्मतियार तथा प्रभावशाली नेता अहमद साह मसुद आदिको सरकार सत्तामा पुग्यो ।

तालिवानको प्रवेश र बहिर्गमन
सन् १९९६ मा तालिवान सत्तामा आएपछि हदैसम्मको अनुदारपन देखियो । बामियानका बुद्धमूर्तिहरू ध्वस्त बनाइयो । यस व्यवहारले विश्वलाई नै तालिवान भनेको एउटा विध्वंशकारी आतङ्कवादी दस्ता हो भन्ने बुझायो । यस कालमा अफगानी महिलामाथि सामाजिक, साँस्कृतिक, पारिवारिक र नितान्त वैयक्तिक ताड्नाका कठोरतम नियमहरू लागू गरियो । खासगरी लागूऔषध मालिक (ड्रगलर्डस्) भनाउँदाले रक्तपिपासु युद्ध सरदार (वारलर्डस्) सँग अवैध साँठगाँठ गर्ने, अकुत सम्पत्ति कमाउने, ऐøयासी जीवन बिताउने, हातहतियार जम्मा गर्ने, मौका परे सत्तामा जाने वा सत्तासीनलाई सहयोग गर्दै आफू सुरक्षित हुने मेसो मिलाउँदै आए ।

अमेरिकी धावा र बोन सम्झौता २००१
अलकायदाका आतङ्कवादी हर्कतबाट अमेरिका र विश्व नै त्रसित भइरहेको बेला तालिवानले नै अलकायदालाई संरक्षण दिएको भन्दै सन् २००१ को सेप्टेम्बरमा अफगानिस्तानमा अमेरिकाले धावा बोल्यो । तालिवानतर्फ ठूलो क्षति भयो, सत्ताबाट हट्न बाध्य भयो ।
अफगानिस्तानलाई अब आधुनिक शासन प्रणालीअन्तर्गत पुनर्निर्माणको युगमा प्रवेश गराउने उद्देश्य राखी जर्मनीको राजधानी बोनमा संयुक्त राष्ट्रसङ्घ, अफगान अन्तरिम सरकार, अमेरिका र अरू सरोकारवालाहरूबीच एउटा सम्झौता भयो । यसअनुसार तुरुन्तै अन्तरिम संसद् लोयजिर्घा (भारदारी सभाजस्तो) गठन भयो । यसमा विभिन्न वंशगत, जातिगत, भौगोलिक बस्ती तथा स्थानीय कमान्डर र बुद्धिजीवीको प्रतिनिधित्व गरियो । सरकार गठन गर्ने, राष्ट्रपतिको चुनाव गर्ने, अफगान सेना, अमेरिका र नेटो गठबन्धन (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन)ले सुरक्षा हेर्ने एवम् विकास निर्माणका कामहरू पनि गर्दै जाने सर्तहरू राखिए ।

अन्तरिम व्यवस्था
सन् २००१ को बोन सम्मेलनद्वारा अफगानिस्तानको लोयाजिर्घालाई मान्यता दिई हामिद कारजाइलाई अन्तरिम राष्ट्रपति बनाइयो । संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (उनामा)ले सन् २००२ मार्च महिनादेखि कार्य प्रारम्भ ग¥यो । पुनर्निर्माणमा समन्वयकारी भूमिका खेल्ने, लोकतान्त्रिक संस्थाको विकासमा जोड दिने र मूलतः निर्वाचनमार्फत प्रजातान्त्रिक सरकारको स्थापना गर्न सहयोग पु¥याउनु नै मिसनको प्रमुख उद्देश्य रह्यो ।
हामिद कारजाईको लामो सत्ता
सन् २००४ अक्टोबर ९ मा भएको राष्ट्रपतीय चुनावमा हामिद कारजाई नै बहुमतद्वारा सत्तामा आउनुभयो । अन्तरिम काल र त्यसपछिका लगातार दुईवटा पाँचवर्षे कार्यकाल रजाइँ गर्नुभएका कारजाई लोकतान्त्रिक चरणका पहिलो राष्ट्रपति हुनुहुन्छ, जो निकै लामो अवधि (२००१–२०१४) सत्तासीन हुनुभयो । अफगान संविधाअनुसार एउटै राष्ट्रपतिको कार्यावधि लगातार दुई कार्यकालसम्म मात्र सीमित गरिएको हुनाले त्यसपछिका निर्वाचनमा कारजाई उम्मेदवार हुन पाउनुभएन ।

घानी र अब्दुल्लाहबीच दोहोरी
सन् २०१४ मा भएको निर्वाचनमा ५५.२७ प्रतिशत मत ल्याएका स्वतन्त्र उम्मेदवार असरफ घानीलाई विजयी घोषणा गरिए पनि निर्वाचन निष्पक्ष नभएको भनी ४४.७३ प्रतिशत मत ल्याएका निकटतम उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहले परिणाम स्वीकार गर्नुभएन । यस सङ्कटलाई निकास दिन अमेरिका र नेटो सम्बद्ध राष्ट्रहरूले प्रयास गरे । राज्यशक्तिको बाँडफाँडमा घानी र अब्दुल्लाह मन्जुर भए । जसअनुसार राष्ट्रपतिमा घानी भए पनि कार्यकारी प्रमुखचाहिँ अब्दुल्लाह बन्नुभयो । यसरी नै पाँचवर्षे कार्यकाल बित्यो । सेप्टेम्बर २०१९ मा भएको अर्को अवधिको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार असरफ घानीले ५०.६४ प्रतिशत मत ल्याई विजयी हुनुभयो । उहाँको शपथ ग्रहण पनि भयो । यसविरुद्ध ३९.४२ प्रतिशत मत ल्याई दोस्रो स्थानमा रहेका उनै अब्दुल्लाह अब्दुल्लाहले धाँधली भएको भनी पुनः अपिलमा जानुभयो । यसपटक पनि २०१४ मा जस्तै अधिकार बाँडफाँडको कुरा हुँदा तालिवानसँग वार्ता गर्ने सन्दर्भमा कार्यकारी प्रमुख भई काम गर्न अब्दुल्लाहले पूर्ण अधिकार पाएपछि हाल कुनै अवरोध देखिएको छैन ।

खुलेआम हतियार
गज्जब त यस कुरामा लाग्छ कि वर्तमान अवस्थामा पनि काबुल सहरका फ्लावर स्ट्रिट, चिकन स्ट्रिट र यस्तै अन्य सहर केन्द्रमा पिस्तोल, रिभल्भर, राइफलदेखि ठूला साइजका बन्दुक तथा क्षेप्यास्त्र खुलेआम बेच्न वा प्रदर्शन गर्न राखिएका छन् । हामीसँग यति हतियार छन् भन्ने गर्व देखाउन पनि हतियार राखिने गरिँदोरहेछ । कतिपयले त सोखका लागि घरमा हतियार सङ्ग्रह पनि गर्दारहेछन् ।

लागूऔषधले दिएको समृद्धि
ग्रामीण अफगानहरूको जीवनस्तर बाहिरबाट देखेकोभन्दा बिल्कुलै फरक छ । गाउँले घरमा भित्र पस्नासाथ गज्जबको आकर्षण आँखाभरि आउँछ । त्यो हो– महँगा कार्पेट तथा सोफा–काउच, मोजाइक पत्थरले बुट्टा हानिएका सुराही, अम्खोरा र भाँडाकुँडाहरू । गाउँबीच रहेका मस्जिदहरू पनि उत्तिकै सजिसजाउ देखिन्छन् । यसका कारण हो– लागूऔषध कारोबारबाट प्राप्त अर्बौं डलरको आम्दानी ।
ग्रामीण क्षेत्रका बारी, उर्वर फाँट, बेँसी, विशेषगरी ठूलो उपत्यकाबाट सोतो बनेर घुसेका स्वाँराहरूमा आँखाले नभ्याउने अफिमको खेती हुन्छ । यसलाई ‘पप्पी फ्लावर’ भनिन्छ र यसको गाँठको बाहिरी भाग बिस्तारै चक्कुले धर्सा पारी काटेपछि त्यसबाट चोप निस्कन्छ । यही चोप सङ्कलन गरी डल्ला पारिन्छ । साँझ सकिएर रातको सुरू प्रहर लाग्दा घरको बाहिर पिँढी जस्तोमा ठिक्क झ्यालमुनि ती सेता तथा काला–काला डल्लाहरू राखिन्छन् । हाम्रो चालकले दिएको जानकारी अनुसार ‘जति केजीका ती अफिम छन्, गाडीवालाले त्यहीअनुसारको पैसा झ्यालको प्वालबाट घरभित्र छिराइदिन्छ र डल्ला अर्थात् अफिम लिएर जान्छ ।’ यही हो– अफगान जनतालाई धनी बनाउने कारोबार । खासगरी हेलमन्ड र कान्धहार प्रान्त यसनिम्ति प्रसिद्ध छन् । भनिन्छ, अनौपचारिक गतिविधिले औपचारिक अर्थतन्त्रलाई हमेसा चुनौती दिएको हुन्छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सन् १९७२ मा पहिलोपटक अफ्रिकाको केन्यामा अनौपचारिक क्षेत्र (इन्फर्मल सेक्टर) बारे अध्ययन गरेको थियो । यसका विशेषताहरू यसरी तय गरिएका थिए– अनौपचारिक क्षेत्रको आर्थिक कारोबार प्रायः सरकारी गणनामा आउँदैन, दर्ता गरिएको हुँदैन, यो बढी श्रममूलक (लेबोर इन्टेनसिभ) हुन्छ, यसका श्रमिकहरू सङ्गठित हुँदैनन् आदि–आदि । विकास अर्थशास्त्री माइकल टोडारोले यस विषयमा कलम चलाएका छन् ।
अर्थशास्त्रीहरू यस्तो आर्थिक शक्तिलाई ‘दोस्रो अर्थतन्त्र (सेकेन्ड इकनमी) पनि भन्छन् । विश्वमा सबैभन्दा ठूलो मात्रामा यसको प्रयोग कतै भएको छ भने सायद अफगानिस्तान नै प्रमुख देशमा आउँछ । त्यसैले त यहाँका ग्रामीण जनताहरू पनि सहरिया सुविधामा बस्न सकेका देखिन्छन् । सतप्रतिशत ग्रामीण जनता यसमा पर्छन् भन्ने होइन तर यस्ता जनताको सङ्ख्या कम छैन । अफगानिस्तान, इरान र पाकिस्तानसँग सीमा कायम भएको क्षेत्रलाई लागूऔषध उत्पादन गर्ने कुख्यात स्थल ‘सुनौलो चाँद’ (गोल्डेन क्रिसेन्ट) भनिन्छ । संयुक्त राष्ट्रसङ्घ तथा सार्क सङ्गठनको सदस्य भइसकेपछि लागूऔषध नियन्त्रण गर्नेबारे यी निकायअन्तर्गत बनेका नीतिहरूको अधिनमा सदस्य राष्ट्रहरू बस्नुपर्ने हुन्छ । त्यसैले लागूऔषध उत्पादन, प्रशोधन, ओसारपसार र प्रयोगलाई कडा रूपमा प्रतिबन्ध लगाइएको छ, जसको पालना अफगानिस्तानले पनि गर्नैपर्छ । तर, विश्वका कतिपय राष्ट्रले वैधानिक रूपमा सरकारी नियन्त्रणमा नै लागूऔषध वनस्पतिको खेती गर्ने इजाजत दिएका पनि छन् । अफिम, कोकिन आदिबाट मनोद्दीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्यान्स) निकाली मनोवैज्ञानिक तथा मानसिक रोगको उपचार गरिन्छ ।

राज्यसत्ताको भोक, नशा र पठान
राज्यसत्ता एउटा विचित्रको भोक र नशा हो । अफगानिस्तानमा पठान समुदायले राज्यसत्तामा आफ्नो पकड छाडेकै छैन । चाहे विदेशीसँग मिलेर होस् वा देशभित्रैका सँग लडेर होस् वा कुनै पनि प्रकारको सम्झौता गरेर होस्, आफ्नो हातमा शासनको बागडोर लिनैपर्ने एउटा जोदाहा जाति पठान हो । राजा भए पनि उही, गणतन्त्र भए पनि उही, इस्लामिक राज्य भए पनि उही, तालिवानजस्तो आतङ्कवादी भए पनि उही, लोकतन्त्र भए पनि उही, जता फर्केर जे गर्दा पनि उही– तिनै पठान । यस्तो प्रभुत्ववाद र आभिजात्यपनको हैकम राख्ने वर्ग प्रत्येक देश समाजमा स्वतः पैदा हुँदोरहेछ ।

नेपालका कुलीन भनाउँदाहरू
ऐतिहासिककालमा नेपालमा किरात वंश, गोपाल वंश, लिच्छवि वंश, मल्ल वंश, शाह–राणा वंशहरू एकलौटी पाराले राज्यसत्तामा हाबी भए । यी सबै आ–आफ्नो समयका आभिजात्य वर्ग हुन् । पछिल्लो चरणमा आएर शैक्षिक हिसाबले ज्ञान बुद्धि हासिल गरेको, राज्यका स्रोतमा बढी पकड भएको, समाजमा हैकम कायम गर्न सक्ने र सुरक्षा तथा प्रतिरक्षामा कमान्ड लिन जान्ने वर्ग बाहुन–क्षेत्रीले नै राजनीतिक नेतृत्व लिएको पाइन्छ ।

प्रवासी अभिजात्य
बेलायतका लर्ड, सर हुन् वा युरोपबाट अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड पुगेका गोरे हुन्, यी सबैले ती–ती देशमा अद्यापि प्रभुत्व कायम गरेकै छन् । दक्षिण अफ्रिका, जिम्बाब्वेजस्ता देशमा गोराहरूबाट अश्वेत सामन्तहरूले सत्ता हातमा लिए तापनि आफ्नै वर्गमाथिको चर्को शोषणले जनता आत्तिएका छन् । मारिसस, फिजीजस्ता देशमा भारतीयले पूरै र मलेसिया, सिङ्गापुरजस्ता देशमा त्यहाँका सामन्तसँगै आयातीत भारतीय तथा चिनियाँ सामन्तको बोलवाला चलेकै छ ।

जातीय पदोन्नति
राक्षस योनिका भक्त प्रह्लाद आफ्नो सुकर्मद्वारा देवयोनिमा स्तरीकृत बनेका थिए । कुनै किसिमले श्रापयुक्त जीवन बिताएका तर देव–प्रभाव वा स्पर्शबाट उच्च जीवनमा आएका पात्रहरूको उदाहरण हाम्रा पुराणहरूमा धेरै पाइन्छ । यस्तोक्रम मानव चोलाभित्रको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा पनि भइरहेको देखिन्छ । गज्जब त यो लाग्छ कि विश्वका कुनै पनि दलित, सीमान्तकृत, उत्पीडित, लोपोन्मुख, पिछडावर्ग जे–जे नामका भए पनि सत्तामा हिस्सेदार बन्नेहरू आर्थिक र सामाजिक हिसाबले आफूलाई तथाकथित कुलीन ठान्ने गर्छन् । अन्ततोगत्वा परम्परागत सम्भ्रान्त वर्गसँग मिल्न पुग्छन् । प्रायः विकासशील समाजमा प्रभुत्ववाद यसरी नै मौलाउँदै गएको देखिन्छ र सहजै यसको अन्त्य हुने पनि देखिन्न ।
अङ्गीकृत सम्भ्रान्तहरूको त यस हदसम्म बोलवाला हुन्छ भने मूलतः हजारा, उज्बेक र ताजिकको तुलनामा निकै ठूलो प्रतिशतमा रहेको पठानको वर्चस्व तथा बोलवाला अफगानिस्तानमा हुनु के अनौठो भयो र ? वास्तवमा आपसी लडाइँले ‘भाइ फुटे, गँवार लुटे’को अवस्था आएकाले नै अफगानिस्तानले विदेशी अतिक्रमण भोग्नुपरेको हो । á
(लेखकले सन् २००४–५ को अवधिमा दुई वर्ष राष्ट्रसङ्घीय मिसनअन्तर्गत अफगानिस्तानमा काम गर्नुभएको थियो ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?