logo
२०८१ बैशाख ७ शुक्रवार



पूर्वीय दर्शनको चिन्तन

विचार/दृष्टिकोण |




 

प्रा.डा श्रीरामप्रसाद उपाध्याय

सर्वस्य लोचनमं शास्त्रं यस्यः षडदर्शन रहस्य
(आँखाका निम्ति दर्शनशास्त्रले अमृतको काम गर्दछ ।)
सामान्य अर्थमा दर्शन भन्नाले हेर्नु हो । सबै प्राणीले बाह्य र भित्री आँखाले हेर्छन् । बाह्य दुई आँखाले आफ्ना अगाडि भएका वस्तुलाई देख्छ भने भित्री आँखाले अदृश्य वा काल्पनिक वस्तुको दर्शन वा चिन्तन गर्दछ । प्रत्यक्ष रूपमा देखिने वस्तु र नदेखिने काल्पनिक वस्तुमा भिन्नता हुने गर्दछ । अघिदेखिका र कहिले पनि नदेखिएका वस्तुमा पनि भिन्नता पाइन्छ । केही वस्तु नदेखिए पनि हाम्रा ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरूले अनुभव गर्न सक्छन् । हाम्रा हर्ष, विस्मात, उत्तेजना, कामुकता सबै अदृश्य र अनुभव गर्न सकिने कुरा हुन् । यी सबै कुराको अप्रत्यक्ष र प्रत्यक्ष रूपमा दर्शन गर्न सक्नु नै दर्शन हो ।
युरोपीय महाद्वीपदेखि पूर्वतर्फका दार्शनिकहरूको चिन्तन भएको हुनाले यस क्षेत्रका दार्शनिक चिन्तनलाई पूर्वीय दर्शन भनिएको हो । खासगरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका दार्शनिक चिन्तन नै पूर्वीय दर्शनका रूपमा स्थापित भएका हुन् । भारतका पूर्वराष्ट्रपति राधाकृष्णा मेननले भारतीय दर्शन र पूर्वीय दर्शनमा अनेक ग्रन्थहरूको रचना गरेका छन् । नेपाली विद्वान् हंशपुरे सुवेदी र भारतीय विद्वान् पण्डित रङ्गनाथ पाठकले आफ्ना पुस्तक षडदर्शनमा पूर्वीय दर्शनमा यथेष्ट प्रकाश पारेका छन् ।
पूर्वीय दर्शनमा नास्तिक र आस्तिक दर्शन भनी विभाजन गर्ने गरिन्छ । वेदमा अथ्र्याइएका सिद्धान्तलाई जस्ताको तस्तै नमान्नेलाई नास्तिक दर्शन भनिन्छ । चारबाक, जैन र बौद्ध दर्शनलाई वैदिक सिद्धान्तभन्दा भिन्न मानिन्छ । यसविपरीत वैदिक सिद्धान्तका आधारमा जगत्लाई व्याख्या तथा विश्लेषण गर्ने सिद्धान्तलाई आस्तिक भन्ने गरिन्छ । यसअन्तर्गत न्याय दर्शन, वैशेषिक दर्शन, योग दर्शन, मीमांसा दर्शन र वेदान्त दर्शन पर्दछन् । न्याय दर्शनका संस्थापक आचार्य महर्षि गौतम हुन् । एकपटक महर्षि व्यासले यस दर्शनलाई कुदर्शन भनी आलोचना गरेका थिए । त्यसपछि आचार्य महर्षि गौतमले महर्षि व्यासको मुखै नहेर्ने प्रतिज्ञा गरेका थिए । व्यासलाई आफ्नो गल्तीको बोध भयो । यिनले आचार्यसँग अनेक अनुनय विनय गरेर माफी मागे । त्यसपछि आचार्य महर्षि गौतमले आफ्ना दुई आँखाले व्यासलाई नहेर्ने तर आफ्ना खुट्टामा आँखा सिर्जना गरेर हेर्ने आश्वासन दिए । त्यसपछि मात्र दुवैको बीचमा राम्रो सम्बन्ध स्थापित भयो । यसरी खुट्टामा आँखा सिर्जना गरेको हुनाले यस दर्शनलाई अक्षपाद दर्शन भन्दछन् ।
न्याय दर्शनका १६ पदार्थहरू छन् । यिनलाई प्रमाण प्रमेय संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितण्डा, हेत्वाभास, छल, जाति र विग्रह स्थान भनिन्छ । न्याय सिद्धान्तको मुख्य उद्देश्य नै मानव कल्याण र मुक्ति प्रदान गर्नु हो । यी सबै पदार्थ वा तŒवबाट मानवमा रहेका सबै दोषहरूको अन्त्य भई मुक्ति प्राप्त हुन्छ भन्ने न्याय दर्शनको सिद्धान्त हो ।
वैशेषिक दर्शनका प्रणेता महर्षि कणाद हुन् । यिनी काश्यप गोत्री उलुक ऋषिका छोरा थिए । यिनलाई महर्षि औलुक्य भनिन्थ्यो । यिनले अन्नको एक–एक कर्णको उपयोग गर्ने हुनाले कणाद भनियो । यसै नामबाट यिनी प्रसिद्ध पनि भएका थिए ।
वैशेषिक दर्शनअनुसार दुुःखबाट मुक्ति पाउन भगवान्को दर्शन पाउन आवश्यक छ । यसनिम्ति श्रवण, मनन र ध्यान गर्नु आवश्यक हुन्छ । महर्षि कणाद दुईवटा प्रमाणलाई मान्दछन् । पहिलोलाई प्रत्यक्ष र दोस्रोलाई अनुमान भनिन्छ । यस दर्शनमा सबै पदार्थमा गुण हुन्छ भनी विश्वास गरिन्छ । यस दर्शनमा पृथ्वीमा गन्ध, जलमा रस, अग्निमा रूप, वायुमा स्पर्श र आकाशमा शब्दजस्ता विशेष गुण हुन्छ भनी उल्लेख गरिएको छ । काल, दिक र आत्माको विशेष गुण हुँदैन भनिएको छ । महर्षि कणादले पदार्थका एघार गुण मानेका छन् । यस्ता गुणहरूमा रूप, रस, गन्ध, स्पर्श, सङ्ख्या, परिमाण, पृथक्त, संयोग, विभाग, पुरत्व र अपुरत्व पर्दछन् ।
योग दर्शनका प्रणयता महर्षि पतञ्जली थिए । महर्षि पतञ्जलीभन्दा अघि महर्षि हिरण्यगर्भ र यज्ञवल्क्यले पनि योग दर्शनमाथि विवेचना गरेका थिए । तर, महर्षि पतञ्जलीले यसलाई अझै व्यापक बनाएका थिए । यिनले योग दर्शनलाई सूत्रका रूपमा जनसमक्ष सरल रूपमा प्रस्तुत गरेका थिए । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई अष्टाङ्गयोग भन्दछन् । अष्टाङ्गयोगको साधनाबाट मानिसको अज्ञानता नाश भएर जीवन सुखी र सम्पन्न बन्दछ ।
महर्षि कपिलबाट साङ्ख्य दर्शनको प्रतिपादन भएको मानिन्छ । यो दर्शन ज्यादै पुरानो मानिन्छ । सामान्य अर्थमा साङ्ख्य भन्नाले सङ्ख्या वा गन्ती भन्ने बुझिन्छ । तर, प्राचीनकालमा सङ्ख्या शब्दको अर्थ कुनै विषयलाई प्रमाणित तथा परिष्कृत रूपमा विचार गर्नु हो । यस दर्शनले प्रकृति र पुरुषलाई दुई मूल तŒव मान्दछ । यस दर्शनअनुसार प्रकृति जड छ भने पुरुष चेतन नित्य छ । प्रकृति र पुरुषको संयोगबाट नै सृष्टिको अस्तित्व कायम रहेको छ । यस दर्शनले प्रकृति जड र एकमात्र छ तर पुरुष चेतन र नित्य छ भन्ने विश्वास गर्दछ ।
साङ्ख्य दर्शनले तŒवलाई चार भागमा बाँडेको छ ः प्रकृति, प्रकृति– विकृति उभयात्मक, केवल विकृति र चौथोेमा अनुभयात्मक ।
महर्षि कपिलपछि अनेकौँ विद्वान्हरूले साङ्ख्य दर्शनमाथि कलम चलाएका थिए । यिनका शिष्य विद्वान् आसुरीले साङ्ख्य दशर्नको व्याख्या र विश्लेषण गरेका थिए । नेपालका विद्वान्हरूले पनि साङ्ख्य दर्शनमा यथेष्ट प्रकाश पारेका छन् । यससम्बन्धमा प्राध्यापक चूडानाथ भट्टराईद्वारा लेखिएका साङ्ख्य विवेक र पण्डित छविलाल पोखरेलका नेपाली व्याख्यासमेत साङ्ख्य दर्शनविशेष उल्लेखनीय छन् ।
मीमांसा दर्शनका प्रवर्तक महर्षि जैमिनी हुन् । धर्मको अनुष्ठानबाट नै फल प्राप्त गर्न सकिन्छ भन्ने मीमांसा दर्शनको मुख्य सार हो । श्रुति, स्मृति, पुराणजस्ता ग्रन्थबाट धर्मको फल प्राप्त गर्न सकिन्छ भन्ने मीमांसा दर्शनको मान्यता हो । पूर्वीय मीमांसा दर्शनमा धर्मको लक्षण के हो र धर्मको प्रमाण के हो भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरिन्छ ।
महर्षि जैमिनीको मीमांसा दर्शन १६ अध्यायमा विभाजित छन् । यसका सुरुका १२ अध्याय द्वादशलक्षणिका नामबाट प्रसिद्ध छन् । यसका अन्तिम चार अध्यायहरू सङ्र्षणकाण्डबाट चिनिन्छ । मीमांसाका प्रत्येक अध्यायमा अनेक पादहरू छन् ।
नेपाली विद्वान्हरूले पनि मीमांसा दर्शनमा प्रकाश पारेका छन् । यिनमा पण्डित बुद्धिसागर पराजुली, पण्डित जुनानाथ तथा प्राध्यापक चूडानाथ भट्टाराईको विशेष योगदान रहेको छ ।
वेदान्त दर्शनको सामान्य अर्थ वेदको सिद्धान्त हो । वेदको अध्ययनपछि निकाल्ने निष्कर्ष वा अन्त्य नै वेदान्त हो । वेदान्त दर्शन उपनिषद्हरूको सिद्धान्तहरूमा आधारित छन् । यसका विभिन्न सम्प्रदायहरू छन । यिनलाई अद्वैत, विशिष्टाद्वैत, द्वैत र शुद्धाद्वैत भनिन्छ ।
वेदान्त दर्शनका प्रणयता तथा व्याख्याता महर्षि व्यास हुन् । यिनको व्रह्मसूत्र ग्रन्थले वेदान्त दर्शनको सार प्रस्तुत गरेको छ । यसबाहेक महर्षि व्यासले उपनिषद् र श्रीमद्भागवत् गीताको रचना गरेका हुन् । जगत् गुरु शङ्कराचार्यले पनि वेदान्त दर्शनको व्याख्या सजीव ढङ्गबाट गरेका छन् । यिनले ब्रह्मसूत्रको व्याख्या यस प्रकार गरेका छन् ।

व्रह्मसत्यं जगन्मिथ्या जीवो व्रह्मैव नापर ः
सत्य ब्रह्म हुन्, दुनियाँ झुटो हो । उनको विचारमा जगत् र ब्रह्मामा कुनै भेद छैन । यिनी भन्दछन्, जसरी माटो र माटोको भाँडोमा कुनै अन्तर हुँदैन त्यसरी नै ब्रह्म र जगत्मा कुनै अन्तर छैन । नेपालका अनेक विद्वान्हरूले वेदान्त दर्शनमा कलम चलाएका छन् । यस्ता विद्वान्हरूमा दुर्गाप्रसाद भट्टाराई, हरिनाथ ढुङ्गेल, डा. क्षितिश चक्रवर्ती, स्वामी ईश्वरा नन्द, पण्डित बद्रीनाथ भट्टराई, कृष्णकान्त अधिकारी, चूडानाथ भट्टराई र रामबहादुर गोतामे अत्रि पर्दछन् ।
ऋग्वेदमा भारद्वाज, कश्यप, मरीचि, गौतम, अत्रि, विश्वामित्र, जमदग्नि र वशिष्ठलाई सप्तऋषि भनिएको छ । महाभारतमा सप्तऋषिअन्तर्गत मरीचि, अत्रि, अङ्गिरा, पुलह, क्रतु, पुलत्स्य र वशिष्ठलाई सप्तऋषि भनिएको छ । जापानी विद्वान् मिचीहिरो नारिताले ‘हिन्दुत्वको खोजीमा’ शीर्षकको पुस्तक लेखेका छन् । उक्त पुस्तकमा अथर्ववेदको प्रमाण प्रस्तुत गर्दै मानव शरीरको सात अङ्गलाई सप्तर्षिसँग आबद्ध गरेका छन् । यसप्रकार मानव अङ्गका दुई कानलाई गौतम र भारद्वाज, दुई आँखालाई विश्वामित्र र जमदग्नि, दुई नाकको प्वाललाई वशिष्ठ र कश्यप अनि मुखलाई अत्रि भनी उल्लेख गरिएको छ ।

निष्कर्ष
पूर्वीय दर्शनमा अनेक प्राचीन विद्वान्हरूले आफ्ना आध्यात्मिक विचार अगाडि सारेका छन् । यिनको मुख्य उद्देश्य मानव जीवनलाई दुःखबाट मुक्ति दिलाई परम आनन्दको अनुभूति गराउनु हो । á
(लेखक त्रिबिबाट सेवानिवृत्त हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?