logo
२०७८ माघ ९ आईतवार



विहार निर्वाचनको निहितार्थ

विचार/दृष्टिकोण |




श्रीमन नारायण

शासन, इमानदारी तथा विकाससामु रोजगार एवम् आर्थिक प्याकेजको नारा पनि सफल हुँदोरहेनछ भन्ने कुरालाई सीमावर्ती भारतको विहार प्रदेशको निर्वाचन परिणामले पुष्टि गरेको छ । २४३ सदस्यीय प्रादेशिकसभामा मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले स्पष्ट बहुमत हासिल गरेबाट १५ वर्षपछि विहारको सत्तामा आफ्नो पार्टीको पुनर्आगमन हुने विश्वास राखेका युवा नेता तेजस्वी यादवको सपनामाथि वज्रपात भएको छ ।
विगत १५ वर्षदेखि विहार प्रदेशको नेतृत्व गर्दै आएका मुख्यमन्त्री नितिशकुमारलाई थप पाँच वर्षका निम्ति जनादेश हासिल भएको छ । विहारको राजनीतिको प्रभाव नेपालको पूर्वी मधेस खासगरीकन प्रदेश नम्बर २ मा पनि पर्ने निश्चितजस्तै छ । जातिवाद, परिवारवाद र भ्रष्टाचारलाई अब स्वीकार गर्न विहारका जनता तयार छैनन् भन्ने पुष्टि भएको छ । यस निर्वाचन परिणामले विहारमा नितिशकुमारको इमानदार एवम् स्वच्छ छविभन्दा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीले बढी प्रभावित गरेको छ ।
सातौँपटक विहारको मुख्यमन्त्री पदको शपथ लिनुभएका इन्जिनियर नितिशकुमारले आफ्नो १५ वर्षको शासनकालमा धेरै त्यस्ता कार्य गरेर देखाइदिनुभयो, जसलाई विहारको तत्कालीन परिवेश र परिस्थितिमा असम्भवजस्तो मानिएको थियो । हत्या, हिंसा, अपहरण, बलजफ्ती पैसा असुल गर्ने, धाक, धम्की, भय–त्रासका कारण विहारमा विकासकार्य ठप्प भएको थियो । उद्योगधन्दाहरू चौपट्ट थिए । उद्योगपति एवम् पुँजीपतिहरू विहारबाट पलायन भइरहेका थिए । अपराधी तथा हत्याराहरू सरकारमा मुख्यमन्त्री, मन्त्री तथा सत्ताधारी दलका नेताको संरक्षणमा आफूलाई सुरक्षित ठानिरहेका थिए । प्रशासनिक कर्मचारी एवम् सुरक्षाकर्मीको मनोबल खस्किएको थियो । ठाउँ–ठाउँमा जातीय द्वन्द्व चर्काउने काम भइरहेको थियो । स्वयम् तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवबाटै सार्वजनिक मञ्चहरूबाट जातीय द्वन्द्व चर्काउने मनसायले सम्बोधन हुन्थ्यो । सम्भवतः उपरोक्त कारणहरूले लालु तथा उहाँकी श्रीमती राबडीदेवीको शासनकाललाई जङ्गलराजको संज्ञा दिइएको थियो । चलचित्रकर्मी प्रकाश झाले त सोही परिवेशलाई समेटेर ‘गङ्गाजल’ तथा ‘अपहरण’जस्ता चलचित्रको निर्माण गर्नुभयो ।
१५ वर्षअघि मुख्यमन्त्री पदको शपथ ग्रहण गर्दा नितिशकुमारसामु चुनौतीहरूको पहाड नै थियो तर उहाँले समस्याको समाधान गर्ने अठोट लिनुभयो । आफ्नो शासनकालमा ३६ हजारभन्दा बढी अपराधीलाई हिरासतमा राख्न लगाएर नितिशले हत्या, अपहरण, बलात्कार, झुटो मुद्दा, बलजफ्ती रकम असुल गर्नेजस्ता कार्यमाथि सफलतापूर्वक रोक लगाउनुभयो । प्रहरी र प्रशासनलाई विनाकुनै दबाब निर्भीक भएर निष्पक्ष रूपमा आफ्नो कर्तव्य एवम् जिम्मेवारीको निर्वाह गर्न आदेश दिनुभयो । यसरी प्रहरी प्रशासनभन्दा पनि कानुनको भय जनतामा कायम हुन जाँदा आपराधिक घटनाहरू स्वतः नै कम हँुदै गए । अपराधीहरूमा भय एवम् त्रास कायम हुनुको अर्थ जनता आफूलाई सुरक्षित ठान्नु हो । यसले सरकारको विकास निर्माणका साथै प्रत्येक कामको सम्पादन गतिलाई पनि तीव्रता एवम् ऊर्जा प्रदान गर्छ ।
नितिशकुमारले सडक निर्माणकार्यलाई पनि उच्च प्राथमिकतामा राख्नुभयो । त्यतिबेला भारतको सङ्घीय सरकारले लागू गरेको चतुर्भुज सडक परियोजना तथा प्रधानमन्त्री ग्रामीण सडक योजना पनि तीव्र गतिमा चलिरहेको थियो । त्यसमा विहार सरकारको सक्रिय योगदान एवम् सहभागिताले सडक सञ्जाललाई टोल–टोलमा पु¥यायो । छ घण्टाभित्रमा विहारको कुनै पनि कुनाबाट प्रादेशिक राजधानी पट्ना आइपुग्ने नितिशकुमारको घोषणाले मूर्त रूप लिइसकेको छ । शिक्षाको क्षेत्रमा पनि व्यापक सहभागिताका निम्ति प्राथमिक स्तरमा महिला शिक्षिकाको अनिवार्य नियुक्तिलाई सुनिश्चित पार्ने काम गर्नुभयो । आङ्गनवाडी कार्यक्रम सफल साबित भएको छ । छात्राहरूलाई निःशुल्क साइकल, विद्यालयमा दिउँसोकोे खाना, छात्राहरूलाई शिक्षाप्रति आकर्षित बनाउन मासिक रूपमा आर्थिक सहायतालगायतका कार्यक्रमले साक्षरता दरमा ठूलो सुधार ल्यायो । विद्यालय भवनहरूको निर्माण तथा शिक्षकको नियमित उपस्थितिमाथि जोड दिइयो । पट्ना मेडिकल कलेज तथा पट्नास्थित एम्स अस्पताललाई सुविधासम्पन्न बनाइयो । स्वास्थ्य उपचारलाई सस्तो एवम् सुलभ बनाइएको छ ।
नितिशकुमारले मुख्यमन्त्रीका रूपमा विहारका लागि धेरै काम गर्नुभएको देखिन्छ । विगत केही वर्षदेखि जारी उहाँको साथ निश्चय कार्यक्रमले पनि जनतालाई धेरै आकर्षित गरेको छ । सुधार र विकासकै भरमा नितिशकुमारले थप पाँच वर्षका लागि जनादेश पाउनुभएको हो । उहाँको १५ वर्षको शासनकालमा भ्रष्टाचारका घटना सुनिएनन् । मुख्यमन्त्रीको इमानदार छविमाथि औँला ठड्याइएन । सरकारका मन्त्री पनि भ्रष्टाचारमा मुछिएका पाइएनन् । उपरोक्त कारणहरूले गर्दा नै विहारका जनता उहाँलाई सुशासन बाबुको नामले सम्बोधन गर्छन् ।
१५ वर्षसम्म निरन्तर रूपमा सरकारमा रहँदा केही कमीकमजोरी पनि हुनु स्वाभाविक मान्नुपर्छ । सबैको चाहना र महŒवाकाङ्क्षालाई पूरा गर्न नसकिएको पनि हुन सक्छ । विहारमा उद्योगधन्दाको स्थापना हुन सकेन । बाहिरबाट लगानी भित्रिन सकेन । रोजगारीको अवसर सिर्जना हुन सकेन । युवामा निराशा अवश्य पनि छ । यो मनोदशा समाउन हालै सम्पन्न निर्वाचनमा लालुप्रसादका पुत्र तथा प्रमुख विपक्षी राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले १० लाख युवालाई रोजगार दिने घोषणा गर्नुभएको थियो । सम्भवत. बेरोजगारीलाई नितिशकुमारको कमजोर पक्ष मानिएको थियो । कोरोना महामारीको सङ्कटका कारण हजारौँ विहारी मजदुरहरू सयकडौँ किलोमिटर पैदल नै आफ्नो गाउँ पुगेका कारुणिक एवम् दुःखद दृश्यले नितिशकुमार सरकारको रोजगारप्रतिको उदासिनतालाई सहज रूपमा नै प्रतिविम्बित गरिरहेको थियो । आफू अब विहारबाट अन्यत्र नजाने बरु गाउँमै परिश्रम गर्ने ती श्रमिकहरूको चाहना भने पूरा हुन सकेन ।
चुनावमा विहारका युवा निकै जोश एवम् उत्साहका साथ नितिशकुमारको विपक्षमा तथा तेजस्वी यादवको पक्षमा लागेका थिए । प्रथम चरणको निर्वाचनमा यसको असर पनि देखियो । तेजस्वी यावदले चुनाव प्रचारमा आफ्ना आमा र बुवा दुवै (पूर्वमुख्यमन्त्री)को तस्बिरलाई समेत प्रचारमा ल्याउनुभएन, जब कि उहाँ उनीहरूकै उत्तराधिकारी रहेको विहारका जनतालाई थाहा छ । युवा तेजस्वीको अथक परिश्रम, समर्पण र जनताप्रतिको सहज लगावले उहाँलाई विहारको भावी मुख्यमन्त्रीका रूपमा अवश्य पनि चर्चामा ल्यायो । मोदी र नितिशकुमारको गठबन्धनलाई समेत माथ दिएर आफ्नो पार्टी राष्ट्रिय जनता दललाई विहारको प्रादेशिक सभामा सबैभन्दा ठूलो दलका रूपमा मान्यता दिलाउनु तेजस्वीको कुशल नेतृत्व क्षमताको परिचायक हो । नितिशकुमारलाई भरसक चुनावमा उहाँले उछिनिसक्नुभएको थियो तर प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाव प्रचारले नितिशकुमारको कमीकमजोरीलाई ढाकछोप गर्ने काममात्रै गरेन अपितु मोदीका लागि मतदान गर्न थालेको ठान्दै विहारका मतदाताले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनलाई बहुमत प्रदान गरे । फलस्वरूप नितिशकुमारको नेतृत्वमा पुनः एनडीएको नयाँ सरकार अस्तित्वमा आएको छ । विकास भनेको ंसंरचनात्मक कार्यको निरन्तर प्रक्रिया हो । विकासको अनुभूति जनतालाई प्रत्यक्ष रूपमा भएको हुनुपर्छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, शान्ति, सुरक्षा जनकल्याणका कार्यक्रमहरू (बीमा, आर्थिक सहायता, सामाजिक भत्ता, खाद्यान्न, राहत, ग्यास चुलो आदि) सोझै जनताको मुटु तथा मनसँग जोडिन्छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र विहारका मुख्यमन्त्री नितिशकुमारले उपरोक्त कुरालाई राम्ररी बुझिसकेको देखिन्छ । प्रधानमन्त्री मोदीको लोकप्रियतामा निरन्तर रूपमा प्रगति भइरहेको छ । नितिशकुमारको यस सफलतामा पनि प्रधानमन्त्री मोदीको पनि ठूलो भूमिका छ ।
विहारका जनताले जातिवाद, परिवारवाद र भ्रष्टाचारलाई खारेज गरे तथा विकासको पक्षमा मतदान गरे । विकासको पक्षमा मतदान हुनु सकारात्मक राजनीतिको प्रतीक हो । नेपालको राजनीतिमा पनि खासगरीकन तराई–मधेसको क्षेत्रमा जातिवाद र परिवारवादले ठूलो महŒव पाएको छ । परिवारवादको अर्थ नै भ्रष्टाचारको जरोलाई मलजल गर्नु हो भन्ने कुरालाई विहार तथा भारतका जनताले बुझिसकेका छन् । नेपालमा पनि अब जातिवाद र वंशवादले बढी महŒव नपाउने अपेक्षा गर्न सकिन्छ । इमानदारी, पारदर्शिता, जवाफदेही एवम् सुशासनमा आधारित राजनीति विश्वको जुनसुकै क्षेत्रमा भए पनि त्यसको स्वागत र समर्थन हुनुपर्छ । 
(लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?