logo
२०८१ बैशाख ११ मंगलवार



कान्तिपुर नगरका शक्तिपीठ

विचार/दृष्टिकोण |




प्रकाशमान श्रेष्ठ शिल्पकार /सन्दीप सापकोटा

मानव सभ्यताको विकाससँगै मान्छेले सर्वप्रथम शक्तिको पूजा गरेको तथ्य विधि सभ्यताहरूको ऐतिहासिक अनुशीलनबाट थाहा पाइन्छ । सृष्टिको उषाकालबाट मातृशक्तिको आराधना गर्ने परम्परा चलेको हो भन्नुमा पनि कुनै दुविधा छैन । शक्तिको सर्वव्यापकतालाई सहज रूपमा ग्रहण गरेर आमजनजीवनमा सर्वस्वीकार्य बनाउनका लागि नै विभिन्न शक्तिपीठको स्थापना भएका हुन् । शक्तिको आराधना गर्ने तौरतरिका देश, काल र परिस्थिति विशेषका आधारमा फरक हुने गर्छ । नेपाली परिवेशलाई नै उदाहरण मानेर हेर्ने हो भने पूर्वी नेपालमा शक्तिलाई माई शब्दले सम्बोधन गर्ने, सुदूरपश्चिमी क्षेत्रमा मालिका, पश्चिमी क्षेत्रमा भुवानी र काठमाडौँ उपत्यकामा अजिमा आदि नामले सम्बोधन गर्ने गरिएको पाइन्छ । यसका साथसाथै उपासना पद्धति पनि फरक रहेको छ । यस लेखमा शक्ति उपासनाको महŒवपूर्ण केन्द्रका रूपमा रहेको काठमाडौँ उपत्यकामा श्रद्धालुहरूद्वारा उपास्य रहेका शक्तिका विविध स्वरूपबारे सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
अजिमापीठ
अजिमायुक्त शक्तिपीठ अर्थात्् मातृका (शक्ति) पीठ, जहाँ आगमिक (तन्त्र) उपासना पद्धतिका विभिन्न मार्ग एवम् विधिविधानले आफ्नै पूर्वजका रूपमा सकारेर पूजा गरिन्छ । अजिमा शब्द नेपाल भाषाको शब्द हो । जसको अर्थ हुन्छ– बज्यै देवता । अजिमासँगै पीठ शब्द जोडिएपछि त्यसमा एउटा सिङ्गो शक्ति परिवारलाई जनाउँछ । अर्थात्् शक्तिपीठमा केवल शक्तिको मूर्त वा अमूर्त स्वरूपको मात्र अवस्थिति हुने होइन, शक्तिका साथसाथै गण देवताहरूको पनि उपस्थिति हुने गर्छ । पीठलाई परिभाषित गर्न गण र शक्तिसहित रहने अनुचरलाई बिर्सिन हुँदैन । उदाहरणका लागि भद्रकाली शक्तिपीठमा भद्रकालीका साथसाथै गणेश, कुमार, कुमारी, मातृकागण, भैरवगण, योगिनीगण, सिंहिनी, व्याघ्रिनी, छ्वासलगायत गणदेवता र तिनका अनुचर हुन्छन् । काठमाडौँ उपत्यकाका धेरैजसो शाक्त मन्दिरहरू पीठका रूपमा स्थापित रहेको देखिन्छ किनभने त्यहाँ मूर्त वा अमूर्त स्वरूपमा गणहरू विद्यमान छन् ।
काठमाडौँ उपत्यकामा शक्तिका विविध स्वरूपलाई कुनै अलौकिक वा मिथकका रूपमा नभई लौकिक स्वरूपमा ग्रहण गर्ने परिपाटी छ । विभिन्न देवीलाई अजिमा (हजुरआमा देवता) र आजुद्यः (बाजे देवता) का रूपमा लिएर शक्तिबाट मातृवात्सल्यताको कामना राखी शक्तिसँग सन्निकट भएको महसुस गरिन्छ । काठमाडौँका कतिपय समुदायले विभिन्न देवदेवीलाई आफ्नो पुर्खाका रूपमा ग्रहण गरेको पाइन्छ । अनि यी देवदेवीको नियम पूजा चलाउने, जात्रापर्वका लागि आवश्यक प्रबन्ध मिलाएर यसप्रकारका नैमित्तिक, काम्य कर्म र अनुष्ठान सम्पन्न गरिन्छ । देवदेवीसँग सम्बन्धित मन्दिर, देवगृह (द्यो छेँ), पाटीपौवा, ढुङ्गेधारालगायत पुराताŒिवक एवम् धार्मिक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी पनि
लिएको पाइन्छ ।
लिच्छवि राजा गुणकामदेवले प्राचीन नेपाल (नेपालमण्डल) उपत्यकाको दक्षिणमा रहेको मञ्जुपतन यङ्गाल कोलिग्राम बस्ती र उत्तरको यङ्गु कोलिग्राम बस्ती नामक दुई बस्तीलाई समावेश गरेर त्यसको आसपासको भूमिलाई (बाग्मती, इच्छुमती (टुकुचा), विष्णुमती र रुद्रमती (धोबिखोला) नदीकिनारमा) कान्तिपुर नगरका रूपमा स्थापना गरे । नगरको चारैतर्फ उच्च तन्त्रोक्त विधिले खड्ग आकारमा अष्टमातृकाका पीठ र अष्टभैरव स्थापना गरेर दुर्ग (नगर सुरक्षा घेरा) निर्माण गरेर उनले शासन व्यवस्था चलाएको तथ्य नेपाल भाषा वंशावलीमा उल्लेख गरिएको छ । काठमाडौँको स्थानीय परम्पराअनुसार स्थापित भएका मातृकालाई अजिमा र भैरवलाई आजु द्यः (बाजे देवता)का रूपमा पूजा गरिने प्रचलन छ । यसरी खड्गाकार रूपमा स्थापना गरिएका अजिमाले शत्रु राज्यका दुस्मनले आक्रमण गरेमा विपक्षीको शक्तिलाई निस्तेज गरी नगरको संरक्षण गर्ने र नगरको श्रीवृद्धि गर्न राजालाई आवश्यक सरसल्लाह दिने गर्दथे भन्ने मान्यता रहिआएको छ । हरेक वर्ष यी मातृकाको धुमधामसाथ जात्रा चलाई पञ्चबलि समर्पणका साथ विशेष पूजा गरिने प्रचलन आजसम्म
चलिआएको छ ।

खड्गाकारमा रहेका अजिमा
कान्तिपुरमा खड्गाकारमा रहेका अष्टमातृका निम्न छन् ः (१) कङ्ग अजिमा (कङ्केश्वरी), (२) न्यतमरू अजिमा (श्वेतकाली, नरदेवी), (३) लुँति अजिमा (इन्द्रायणी, ढल्को), (४) म्हैपी अजिमा (ज्ञानेश्वरी, म्हैपी), (५) मैतीअजिमा (पञ्चकुमारी, बालकुमारी, मैतीदेवी), (६) तकती अजिमा (नीलवाराही, कालीमाटी), (७) बछला अजिमा (वत्सलादेवी, पशुपति) र (८) लुँमढी अजिमा (भद्रकाली, टँुडिखेल) । यद्यपि, यस विषयमा विभिन्न विद्वान्को विभिन्न मत रहेको पाइन्छ । संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायका अनुसार खड्गाकारमा स्थापित अष्टमातृका क्रमशः नै अजिमा (वैष्णवी), कङ्ग अजिमा (वाराही), लुँति अजिमा (इन्द्रायणी), प्वार्पा अजिमा (चामुण्डा, नारसिंही), चन्द्रलखु अजिमा (महालक्ष्मी), पासिक्व अजिमा (ब्रह्माणी), लुँमढी अजिमा (महेश्वरी) र फिब्ब अजिमा (कौमारी) हुन् । खड्गको बिँडका रूपमा पचली भैरव रहेका छन् । प्राचीन कान्तिपुर नगरको सीमाङ्कनका आधार यिनै मातृका पीठ थिए । जसमा आधारित रहेर कान्तिपुर सहरभित्र र सहरबाहिरका क्षेत्रमा शासन सञ्चालन हुन्थ्यो ।
मध्यकालीन नेपाल खाल्डोका शासकमध्ये कान्तिपुरका राजाले नगर संरक्षिकाका रूपमा तान्त्रिक विधिबाट अष्टमातृकाको खड्गाकारमा स्थापना गरेर पूजा प्रक्रम चलाएजस्तै भक्तपुर (भादगाउँ)का राजाले यन्त्राकारमा नवदुर्गाको स्थापना गरेको देखिन्छ भने पाटनका राजाले शङ्खाकारमा दशमहाविद्याको स्थापना गरेर शक्ति साधना गरेको पाइन्छ । यसका साथै तत्कालीन नेपाल मण्डलका तीनवटै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका शासकहरूले राज्यश्रीका रूपमा परमआराध्या तलेजु भवानीको मन्दिर स्थापना गरेर अत्यन्त गोप्य तन्त्र विधिले शक्तिलाई प्रधान्यता दिई शक्ति साधना गर्नेे गर्थे । अहिले पनि राज्यसत्ताको प्रतिनिधिका रूपमा खड्गलाई राखेर विभिन्न जात्रापर्व, पूजाअनुष्ठान आदि कार्य सञ्चालन हुँदै आएको छ ।

कान्तिपुरका अन्य अजिमापीठ
नगर क्षेत्रभित्रका अन्य विभिन्न स्थानमा अजिमायुक्त शक्तिपीठ प्रचुर मात्रामा विद्यमान छन् । ती अजिमा हुन्– नई अजिमा (नकिनि अजिमा, पचली, टेकु), ख्वना अजिमा (सिकाली पचली, टेकु), पासिक्व अजिमा (महालक्ष्मी, तीनधारा पाठशाला, कमलादी), फिसः (फिब्ब अजिमा, टुकुचा, माइतीघर), मनमैजु अजिमा (मनमैजु), असंभुलु अजिमा (अन्नपूर्ण देवी, असन), लुचुंभुलु अजिमा (केलटोल), कुलांभुलु अजिमा (रक्तकाली, त्यङ्गल), सख्वना माजु (नील सरस्वती, लैनचौर, लाजिम्पाट), कल्खु अजिमा (कलङ्की), तुसिमरु अजिमा (श्वेतकली, बालुवाटार), कुलेश्वर अजिमा (कुलेश्वर), प्राचीन बौद्ध अजिमा (बौद्ध), त्वरद्यः अजिमा (टुडाँलदेवी, विशालनगर), वटु अजिमा (भद्रकाली, वटु), पोर्पा अजिमा (रानी देवी, रानीबारी, लाजिम्पाट), प्याथ्वः अजिमा (बाइसधारा, बालाजु), दोलब्व (दोला) अजिमा (कुमारी, राष्ट्रबैङ्क गेटसँगै, थापाथली), न्हेकंतला अजिमा (उग्रतारा, न्हेकंतला), चन्द्रलखु अजिमा (नारायणहिटी दरबारभित्र), अरीं अजिमा (चिकंमुगल), दुई अजिमा (दुमाजु) (रत्नपार्क, खुलामञ्च गेट), भमलु अजिमा (कमलादी, असन), हारती अजिमा (स्वयम्भू), विजेश्वरी अजिमा (विजेश्वरी), ममता अजिमा (भाटभटेनी), जातिका अजिमा (थबःहि), हाकु अजिमा यट्खा (चोखाछेंगल्ली), महालक्ष्मी अजिमा (जनसेवा), ज्वाला अजिमा (त्यौढ), बिजेश्वरी अजिमा
(बिजेश्वरी), तारिणी अजिमा (मखन बहाल), चास्को अजिमा (रुद्रायणी) आदि कान्तिपुर नगरभित्रका प्रमुख अजिमापीठ हुन् ।
यी अजिमाका साथसाथै कान्तिपुर नगरभित्रका परम्परागत नेवार बस्तीमा आ–आफ्नो क्षेत्रको छ्वास अजिमा तथा अधिकांश बस्तीमा कुमारी स्थान (पीठ) रहेकोसमेत देख्न सकिन्छ । कान्तिपुर नगरका साथसाथै पाटन, भक्तपुर, बुङमती आदि स्थानमा जीवित देवी कुमारीका रूपमा बालिकालाई देवत्व प्रदान गरिने चलन छ । कुमारीलाई पनि राज्यको अधिष्ठात्री देवी नै मानेर राज्यका तर्फबाट नित्यनैमित्तिक पूजा उपलब्ध गराउने चलन छ । कान्तिपुर नगरभित्रका अन्य प्रधान शक्तिपीठहरू हुन्– तलेजु भवानी, द्वयमाजु (दिगु तलेजु), पुरानो गुह्येश्वरी (गोलढुङ्गा), गुह्येश्वरी (ग्वँल), शुभाभगवती (स्वाहाभगवती), दक्षिणकाली, नक्साल भगवती, कालिकास्थान, डिल्लीबजार, मैतिदेवी, कलङ्कीमाई, धुम्बाराही, भाटभटेनी, चामुण्डा (शङ्खमुल) आदि । काठमाडौँ उपत्यकाको स्थानीय चलनअनुसार मोहिनीनखः मनाउने नेवार समुदायले नौरथाका हरेक दिन एक÷एक शाक्तपीठको दर्शन पूजा गर्ने गर्छन् । राज्य÷प्रभुसत्तालाई होस् वा सामान्य जनतालाई नै किन नहोस् शक्तिको अपरिहार्यता सबैलाई रहन्छ । त्यसैले शरद ऋतुमा पर्ने शारदीय नवरात्रमा र वसन्त ऋतुमा पर्ने चैतेदसैँलगायतका सनातनीय पर्वमा अजिमाको विशेष पूजा आराधना हुने गर्छ ।

आमजनजीवनमा मातृका
काठमाडौँ उपत्यकाको स्थानीय लोकपरम्परामा विभिन्न देवदेवी एवम् मातृशक्तिलाई दैनिक प्रयोगमा आउने विषयहरूसँग सम्बद्ध गरेर प्रयोग गरिएको पाइन्छ । उदाहरणका लागि घरको मूल ढोकाको आग्लो (क्वयँ)लाई गणेशको प्रतीक, आग्लोको दायाँबायाँ सिंहिनी र व्याघ्रिनी, धान चामल भण्डारण गर्ने भकारीलाई अन्नपूर्ण वा महालक्ष्मीको प्रतीक, सिलौटालाई कुमारी, लोहोरोलाई वैष्णवी, चिउरा कुट्ने ओखललाई वाराही, पानी राख्ने घैँटोलाई चामुण्डा, भात पकाउने कसौँडीलाई महाकाली, तरकारी वा दाल पकाउने कराही वा भाँडालाई कुमार, कुचोलाई ब्रह्माणी, नाङ्लोलाई महेश्वरीको प्रतीक मानेर देवीदेवीलाई आमजनजीवनसँग जोडिएको पाइन्छ । त्यस्तै कृषि कर्म गर्ने किसान, शिल्प कर्म गर्ने शिल्पीहरूले आ–आफ्नो ज्यावललाई गणेश, भीमसेन, विश्वकर्मा र विविध मातृकाको प्रतिमूर्ति मानेर पूजा उपासना गर्ने गर्छन् । अतः गृहविज्ञान, आहारविज्ञान, प्रकृतिविज्ञानलगायतमा पनि शक्तिलाई विशेष रूपमा हेर्ने गरिएको पाइन्छ । यसबाट आमजीवनलाई शक्ति सापेक्षमा हेरिएको हुन्छ भन्ने पनि पुष्टि हुन्छ ।

सामाजिक समन्वयका आधार
आस्थाको केन्द्रका रूपमा स्थापित यी शक्तिपीठ काठमाडौँ उपत्यकाको विशिष्टतम् महŒव झल्काउने धार्मिक, साँस्कृतिक समन्वयका आधार हुन् । उदाहरणका लागि सतीदेवीको गुह्यस्थान पतन भएको मानिने गुह्येश्वरी शक्तिपीठमा हिन्दुहरूले गुह्यकालीको स्वरूपमा र बौद्धहरूले हेबज्र नैरात्मा योगिनीका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ । त्यस पीठमा एकै समय हिन्दु बौद्धहरूले आ–आफ्नो मार्गबाट पूजा उपासना गर्छन् । फरक–फरक धर्मको समन्वय गर्ने र समभावलाई कायम राख्न शक्तिपीठहरू
उदाहरणीय छन् ।
नेवार समुदायले मात्रै अजिमाको पूजा उपासना गर्छन्, पर्वते समुदायले गर्दैनन् भन्नु गलत अवधारणा हो । येनकेन प्रकारेण, काठमाडौँका विभिन्न अजिमालाई नै विविध मातृकाका रूपमा आर्यहरूले पनि पुज्ने गर्छन् । यसरी सामुदायिक सद्भावका संवाहकका रूपमा पनि काठमाडौँ उपत्यकामा अजिमाहरूलाई लिइन्छ ।

(लेखकद्वय काठमाडौँ उपत्यकाको  मौलिक संस्कृतिबारे अनुसन्धानरत हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?