logo
२०८० चैत्र १५ बिहीवार



युग सान्दर्भिक दशैँ (सम्पादकीय)

विचार/दृष्टिकोण |




आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मका १० दिन र त्यसपछि कोजाग्रत पूर्णिमासम्मका थप पाँच दिन नेपालीले मनाउने विशेष पर्वोत्सव नै दशैँ हो । तर, दशैँ तिथि, गणना वा प्रविधिको पहिचानमात्र होइन । दशैँभित्र सत्यको विजय, सत्यको उपासना र सत्यकार्यका लागि प्रेरणा छ, सँगै अभावमा पनि रमाउन सक्ने, पीडामा पनि हाँस्न र हँसाउन सक्नुपर्ने सन्देश पनि दशैँमा छ । दशैँ, दशहरा, विजयादशमी, आयुध–पूजा जसरी यसलाई बुझे पनि दशैँले विश्वलाई सत्यको सतत् सन्देश दिई नेपाल तथा नेपालीलाई एक सूत्रमा बाँधेको छ । शान्तिप्रेमी नेपालीलाई सत्यवादी बन्न यसले शताब्दीऔँदेखि सन्देश दिँदै आएको छ । त्यो त विविधताको सौन्दर्यले आभूषित नेपालमा मनाइने विभिन्न चाडबाडले नेपाललाई सर्वदा अल्हादित तुल्याएको छ । आज सम्पूर्ण नेपालीले आफूलाई नेपाली भनी गर्व गर्न सक्नुका पछाडि हाम्रा यिनै साँस्कृतिक सम्पदा प्रभावी छन् । प्रेरक छन् ।
चाडबाडहरू मानवनिर्मित साधन हुन्, जो मानव समाजको आवश्यकता पूरा गर्नेक्रममा बने, बनाइएका हुन्छन् । त्रेतायुगीन समाजमा शिक्षा तथा सन्देश दिन अहिलेका जस्ता साधन र विकल्प नभएकाले दशैँलाई सन्देशप्रदायक साधन बनाइएको हो । हुन त सबै चाडबाडहरू यस्ता साधन हुन्, जसको साध्य सुशिक्षा र शुभसन्देश नै हो । भगवान् श्रीरामले सीताको हरण गर्ने रावणको वध गरेको सम्झनामा दशैँ मनाइन्छ । यो प्रतीक हो । यसलाई ‘कल्चरल सिम्बोलिजम्’ (साँस्कृतिक प्रतीक)को दृष्टिकोणबाट व्याख्या गर्न सकिन्छ । यसले स्थापित गरेका मान्यता अन्याय र अत्याचारविरुद्ध सत्यको विजय र त्यसका लागि तयार होऊ भन्नु नै हो । महात्मा गान्धीले अन्याय सहनु झन् ठूलो अन्याय हो भन्नु यस्तै पूर्वीय दर्शनले निःसृत गरेका सन्देशमा आधारित छ । आज देशभर नारी शक्तिविरुद्ध बलात्कार तथा अपहरणका घटना भइरहेका सन्दर्भमा रावण वधको सन्दर्भलाई यही प्रवृत्तिमा बुझ्नुपर्छ । गलत प्रवृत्तिविरुद्ध सत्यवादीहरू गोलबद्ध हुनैपर्छ । यही हो– दशैँको सन्देश । रावणलाई पूर्वीय दर्शनले सम्पूर्ण रूपमा खराब देख्दैन । रावण होइन, रावणमा आउने आसुरी प्रवृत्तिविरुद्ध रामले चालेका कर्मलाई बुझ्नुपर्छ । राम वा रावणलाई कुनै अमूक पात्रभन्दा पनि प्रवृत्ति बुझ्नुपर्छ । असत्यबाट सत्य वा खराबबाट असलतिर प्रवृत्त हुन पात्रलाई होइन, प्रवृत्तिलाई प्रेरक बनाउन सक्नुपर्छ । यसैका लागि दशैँ वा राम अथवा रावणको मूल्याङ्कन आज होइन, त्रेतायुगमा उभिएर गर्नुपर्छ ।
कोभिड–१९ नामको एउटा आसुरी प्रवृत्तिले अहिले आमविश्व प्रताडित छ । आज निर्दोष सर्वसाधारण, अबोध शिशु र अशक्त ज्येष्ठ सबै त्राहीमाम छन् । हुन त यस्ता विभिन्न सङ्कटका यात्रा पार गर्दै मानव समाज आजको समृद्ध युगमा प्रवेश गरेको हो । पृथ्वीमा आएका प्राकृतिक तथा मानवनिर्मित विप्लव र भयानक जटिलता जित्दै मानिसले आफूलाई सर्वश्रेष्ठ प्राणी बनाएको छ । यसका लागि मानव समाजले संयम, विवेक, धैर्य र साहसलाई मूलमन्त्र बनाउँदै आएको छ । विश्व प्रकोपको बादलमुनि रहेर हामी नेपालीले दशैँ मनाउँदै गर्दा प्रातःस्मरणीयहरूले अवलम्बन गरेका संयम, विवेक, धैर्य र साहसलाई नयाँ संस्करणका साथ पालना गर्नु छ । सरकारले भीडभाड र सम्पर्कले कोभिड फैलन सक्ने भएकाले जो, जहाँ रहेका छौँ, त्यहीँ दशैँ मनाऔँ भनी गरेको आग्रहलाई यिनै सूत्रका रूपमा ग्रहण गर्नु बुद्धिमत्ता हुनेछ । हो, दशैँको एउटा प्रमुख उद्देश्य मान्यजनबाट आशीर्वाद लिनु हो तर उहाँहरूलाई नै जोखिममा पार्नेगरी आशीर्वाद लिनु कति सुखद र औचित्यपूर्ण होला ? सबैले समीक्षा गरौँ ।
दशैँ अर्थशास्त्रको भिन्नभिन्न पाटा छन् । ‘या गच्छःया तुष्ठ’ बोध गरेर दशैँ मनाउन दशैँ स्वयम्ले सन्देश दिएको छ । यो कुनै तडकभडकजन्य उन्मादी प्रदर्शनको प्रहर होइन, सुसन्देश ग्रहण गर्ने, आत्मसंयमी र सत्यार्थ साधनारत हुने प्रतिज्ञा हो । भड्काव तथा प्रदर्शन होइन, साँस्कृतिक निरन्तरतालाई अविच्छिन्न गर्न दशैँ वा अन्य चाडबाट उत्प्रेरणा लिनु्पर्छ । साथै, अविच्छिन्नतामा मात्र दशैँको सार्थकता नरहने भएकाले दशैँले निर्दिष्ट गरेका सन्देशलाई समय, परिस्थिति र गच्छेसँग सापेक्ष गरेर यसलाई युग सान्दर्भिक बनाउनु छ– शुभकामना ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?