logo
२०८० चैत्र १६ शुक्रवार



ऋतुहरूको माला चाडबाड संस्कृति

विचार/दृष्टिकोण |




आरसी न्यौपाने

मानवजीवनका विभिन्न आयाम श्रमपद्धति, मूल्य–मान्यता, रहन–सहन, कलासाहित्य, विचार, दर्शन, खानपान, भेषभूषा, कौशल, इतिहास, आत्मिक, भौतिक, जीवनशैली संस्कृति हुन् । मानवनिर्मित संस्कृतिलाई विचार र व्यवहारले परिपक्व बनाई जीवन व्यवहारमा पस्कने सत्कर्मले संस्कारको रूप धारण गर्छ । असल काम गरेर अमर हुने आत्मिक, भौतिक पौरखी जीवनधारा सत्यम् शिवम् सुन्दरम्को कला सौन्दर्य संस्कृति हो भने मानिसमा योग्यता प्रदान गर्ने क्रिया संस्कार हो ।
मानवविकासको प्रक्रियासँग संस्कृति जोडिएको छ । मानवजीवनको सार्थकता पस्कन संस्कृति र संस्कारको ठूलो भूमिका हुने गर्छ । मानव हुनुको अर्थ अरूको चित्त नदुखाउने, नराम्रो कुरा नगर्ने व्यक्ति (शतपथ ब्राह्मण, निरुक्त ३–२), यस्तै ऐतरेय ब्राह्मण (३–३३) मा “सोच–विचार गरेर परिणाममा कतै कसैलाई कहिले केही मर्का नपार्ने, काम गर्ने व्यक्ति’’ भनी परिभाषा दिइएको छ । संस्कृति, संस्कारविनाको मानवजीवन तथा समाजको कल्पना गर्न सकिँदैन । हो, संस्कृतिलाई धर्मसँग जोड्ने गरेको पाइन्छ तर संस्कृति धर्मभन्दा जेठो छ । धर्म संस्कृतिको एउटा अंशमात्र हो । संस्कृति समग्रताको समुच्चय हो ।
संस्कृति र धर्म उस्तै–उस्तै देखिन्छ तर वास्तवमा तिनीहरूबीच समानता र अन्तर पनि छ । धर्मबारे वैदिक मान्यता छ– सुखस्य मूलं धर्मः । धर्मस्य मूलमर्थस्अर्थस्य मूलं राज्यम् । राज्यमूलमिन्द्रियजयस्इन्द्रियजयस्य मूलं विनय । विनयस्य मूलं वृद्धोपसेवा । वृद्धसेवया विज्ञानं भवति ।
अर्थ– सुखको मूल धर्म हो । धर्मको मूल अर्थ हो । राज्यको मूल इन्द्रिय जय हो । इन्द्रिय जयको मूल विनय हो । विनय भनेको सभ्य सुशील शिक्षा हो । विनयको मूल वृद्धहरूको सेवा हो । वृद्धहरूको सेवाले विज्ञान हुन्छ । विज्ञान भनेको जीवन र जगत्लाई निर्देशित गर्ने विशिष्ट ज्ञानराशि हो । जसरी पदार्थ र अलग–अलग तŒवहरूमा आ–आफ्नै किसिमका गुणहरू तथा असमानता रहन्छ, त्यस्तै मानिसका बीचमा पनि विविधता हुनु स्वाभाविक छ । कर्म नै गुरु हुन् । कर्म नै ईश्वर हुन् । (श्रीमद्भागवत महापुराण ।)
नेपालको सामाजिक संरचनामा विविध जातजाति, वर्ग, धर्मावलम्बी वैदिक सनातन हिन्दु, बौद्ध, इस्लाम, किराती, जैनलगायतका धर्मावलम्बी समुदाय अन्तरघुलित छ । नास्तिकताको विचार बोकेकाहरू पनि छन् । यस समाजमा पितापुर्खाहरूले मान्दै मनाउँदै आएका चाडबाड, संस्कारहरूमा संस्कृति वर्गीय रूपमा प्रतिविम्बित भएर जागृत रहेको हुन्छ । जातजाति, वर्गहरूले युगौँदेखि मान्दै आएका चाडबाड, संस्कार, संस्कृतिहरू पनि सामाजिक सङ्घर्षकै उपज हुन् ।
दशैँ, तिहार, छठ, तीज, इन्द्रजात्रा, देउडा, माघी, ल्होसार, इद, धाननाच, नयाँ वर्ष, नेपाल संवत्, अक्षय तृतीया, वैशाखे पूर्णिमा, बुद्धजयन्ती, निर्जला एकादशी, हरिशयनी एकादशी, गुरुपूर्णिमा, नागपञ्चमी, हरितालिका तीज, ऋषि तर्पणी, कुशेऔँसी, सोह्रश्राद्ध, म्हपूजा, इन्द्रजात्रा, शरद पूर्णिमा, तिहार, बालाचतुर्दशी, माघी, माघेसङ्क्रान्ति, वसन्तपञ्चमी, शिवरात्रि, रामनवमी, उँधौली, उँभौली आदि संस्कृतिकै उपज राष्ट्रिय चाड हुन् । यिनका अतिरिक्त सोह्र संस्कार छन्– गर्भाधान, पुंशवन, सिमन्तो नयन, जन्मजात कर्म संस्कार, नामाकरण, निष्क्रमण संस्कार अन्नप्रासन, चूडाकर्म, कर्णभेद, विद्यारम्भ संस्कार, उपनयन व्रतबन्ध, समावर्तन, विवाह, मृत्युसंस्कार । वास्तवमा नेपाली समाज र संस्कृतिलाई परिचय गराउने कार्यमा यस्ता संस्कृति, संस्कारहरूको भूमिका छ ।
माक्र्सवादी दृष्टिमा दुनियाँ बुझ्ने बुझाउने दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण नै हो । माक्र्सवादले सामाजिक सङ्घर्षबाट स्थापित मान्यता एवम् कलासाहित्य, संस्कृतिलाई निषेध गर्दैन र कुनै पनि विषयलाई निरपेक्ष मान्दैन । अयं निज परो वेति गणना लघुचेत साम । उदार चरितानान्तु वसुधैव कुटुम्बकम् । अर्थात् यो मेरो यो तेरो र पराईको भन्ने भावना सानो चित्त भएकाहरूको हो । उदार चरित्र भएका खुला र पारदर्शी महान् आत्माहरूका लागि त समग्र भूमण्डल ब्रह्माण्ड एउटै विशाल र सभ्यसौम्य संस्कृत परिवार हो ।
मन सत्यंवच सत्यंकर्म सत्यं त्रिसत्यवत्– समस्त मानिसले मन, वचन कर्मले सत्यको मार्ग अनुशरण गर्नुपर्छ । समाजलाई साम्यवादी र समवादी बनाएर मानव सभ्यतालाई थप चम्काउने कार्य गर्न जरुरी छ ।
सर्व परवंश दुस्ख सर्वमात्मवशं सुखम् । एतद विधात समासेन लक्षँणं सुखदुःखयो ऽ। पराधिनता दुःख हो । स्वाधीन र स्वाभिमान सुख हो । वास्तवमा सुख–दुःखको लक्षण यत्ति नै हो । कठोपनिषद्को एउटा मन्त्र छ’’ सहनाबवतु । सह नौ भुनक्तु । शहबीर्यकरबाबहै तेजस्वि नावधीतमस्तु मा विद्विषावहै ।। सँगै मिलेर बसौँ । सबै मिलेर खाऔँ । सँगै मिली ठूला पराक्रमी काम गरौँ, सबै मिली ओजस्वीपूर्ण अध्ययन गरौँ । विद्विषावहै (कठोपनिषद् शान्तिपाठ) ।
कोही कसैसँग विद्वेष नगरौँ एवम् आफूलाई नराम्रो लाग्ने कुनै पनि काम अरूप्रति गर्नुहुन्न भन्ने धारणा साँस्कृतिक चेतना हो । हाम्रा संस्कृति र संस्कारहरूले जीवन र जगत्को ठोस वस्तुगत संश्लेषण गरी जीवनलाई सत्मार्गमा दिशानिर्देश
गरिरहेका छन् ।
माक्र्सवादले परिकल्पना गरेको साम्यवादी जीवनपथ र वैदिक तथा पूर्वीय संस्कृतिले राखेको वैदिक साम्यवाद साँस्कृतिक चेतनाको कुञ्ज हो । हाम्रो वैदिक पूर्वीय संस्कृति पाश्चात्य संस्कृतिको तुलानमा धेरै जीवनोपयोगी वैज्ञानिक, व्यावहारिक तथा वस्तुगत छ । मानव जातिमाथिको उत्पीडनका विरुद्ध माक्र्सवादले उठाउने न्याय, समानता, स्वतन्त्रता तथा वर्गीय संस्कृतिसँग पदार्थीय भौतिक चेतना उजागर भएको वैदिक संस्कृतिको नजिकको साइनो छ ।
जनताको संस्कृति, संस्कार कुनै अर्कै ग्रहबाट आयात हुने होइन । यो त हाम्रै पुर्खाले लामो समयदेखि जीवन सङ्घर्षबाट प्रतिपादित गरी मान्दै मनाउँदै आएको जीवनको समुच्चय हो । संस्कृति कुनै जातविशेषको घेरामा अल्मलिएर यो राम्रो यो नराम्रो भनेर भेदभावको सङ्कुचनमा अल्मलिँदैन । संस्कृति समुदाय तथा समाजसँग मात्र सम्बन्धित हुने गर्छ । माक्र्सवादले एकको दुईमा विभाजन र विपरीत्वको एकत्वमा विश्वास गर्छ । यस अर्थमा हरेक चीजभित्र सकारात्मक र नकारात्मक कुरा हुन्छन् ।
त्यसैले जनताले मान्दै मनाउँदै आएका चाडबाडहरूभित्र पनि राम्रा र नराम्रा पाटाहरू छन् । हो, यहाँभित्र पनि केही विकृति, विसङ्गति, रूढीवाद पनि छन् । यस्ता विकृतिहरू समयसापेक्ष हट्दै जान्छन्, हटाउँदै जानुपर्छ । त्यसैले मानिसले दुर्लभ जीवन पाएर बुद्धि भ्रष्ट, अज्ञानताको वशमा परी नेपालको गौरव चाडबाड, संस्कार, संस्कृतिको अपमान हुने कार्य गर्नुहुँदैन । किनकि संस्कृति र संस्कारले प्रत्येक ऋतुहरूलाई आफ्नो माला बनाएर अनेकताका बीच एकताको सौन्दर्य प्रतिनिधित्व गर्छन् ।

(लेखक प्रगतिशील लेखक सङ्घ नेपालका उपमहासचिव हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?