logo
२०८० चैत्र १६ शुक्रवार



अर्थतन्त्रका बाह्य सूचक सकारात्मक

अर्थ |


अर्थतन्त्रका बाह्य सूचक सकारात्मक


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ६ गते । अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक सकारात्मक अवस्थामा पुगेका छन् । प्रायः सधैँ घाटामा रहने चालू खाता बचतमा पुगेको छ । विप्रेषणको वृद्धि र कोभिडका कारण आयातमा कम दबाब परेकाले चालू खाता बचतमा पुगेको हो ।
चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा १६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । कोरोना कहरले मुलुकको अर्थतन्त्र धराशयी भएका बेलामा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७७÷७८ को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.६ प्रतिशतले वृद्धि भई एक अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।
प्रतिवेदनअनुसार चालू खाता २६ अर्ब सात करोडले बचतमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु. २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । विगतमा चालू खाता कुल गार्हस्थ उत्पादनको ८ प्रतिशतसम्म घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड तीन लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. आठ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा सात करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।

विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि
चालू आर्थिक वर्षको असार मसान्तमा रु. १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि भई २०७७ भदौ मसान्तमा रु. १४३३ अर्ब ६७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ । शोधनान्तर बचत ६७ अर्ब ६३ करोड रुपियाँ छ । अघिल्लो वर्ष आठ अर्ब ८३ करोड बचतमा थियो ।

वस्तु निर्यातमा १०.५ प्रतिशतले वृद्धि
चालू आर्थिक वर्षको दुई महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ ।

मुद्रास्फीति घट्यो
चालू आर्थिक वर्षको भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पनि ४.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ ।

कर्जा घट्यो, निक्षेप बढ्यो
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.१ प्रतिशतले घटेको थियो । बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप भने ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले बढेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?