logo
२०८० चैत्र ६ मंगलवार



शव व्यवस्थापनमा ‘रोबो भ्यान’

मुख्य समाचार |


शव व्यवस्थापनमा ‘रोबो भ्यान’


केदार तिमल्सिना

बनेपा, कात्तिक ६ गते । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले शव व्यवस्थापनका लागि मानिसले छुुनुु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण गरिरहेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको शव छुनका लागि डर मान्नुपर्ने अवस्था आएपछि विद्यार्थीहरूले यस्तो भ्यान निर्माण गर्न लागेका हुन् ।
रिमोटबाट चल्ने यो भ्यान तिहारसम्ममा तयार हुने विद्यार्थीको अपेक्षा छ । धुलिखेल अस्पतालमा नेपालको पहिलो कोरोना सङ्क्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न भक्तपुरबाट टोली ल्याएर शव उठाइएको थियो । काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले रोबो भ्यानमार्फत अस्पतालमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्न सकिने अवधारणा अगाडि सारेका थिए ।
आफ्ना विद्यार्थीले अघि सारेको रोबो भ्यान बनाउने योजनालाई विश्वविद्यालयले नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) मा प्रस्ताव पेस गरेको थियो । केयूका विद्यार्थीले पेस गरेको प्रस्ताव नास्टले स्वीकृत गरेको थियो । नेपालमा नै पहिलो पटक निर्माण सुरु गरिएको रोबो भ्यान निर्माणका लागि करिब १० लाख रुपियाँ लाग्ने बताइएको छ । रोबो भ्यान निर्माणका लागि नास्टले काठमाडौँ विश्वविद्यालयलाई १० लाख रुपियाँ सहयोग उपलब्ध गराएको विश्वविद्यालयका एसोसियट डीन
डा. बीमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि कन्भियर बेल्टको प्रयोग गरेर रोबो भ्यान निर्माण गरिएको बताउनुभयो । ‘रोबो भ्यान निर्माणपछि शव व्यवस्थापन गर्न खटिएका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको जोखिमबाट टाढा राख्न सहयोग गर्छ,’ श्रेष्ठले थप्नुभयो ।
विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूको एक समूूहले अभियान्त्रिक कर्मशाला टिम बनाएर रोबो भ्यान बनाउने काम अगाडि बढाएका हुन् । अभियान्त्रिक कर्मशाला परियोजनाको नेतृत्व तथा रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले रोबो भ्यानले मृत शरीरलाई अस्पतालको शøयाबाट शव वाहन र शव वाहनबाट घाटसम्म स्थानान्तरण गर्न सहयोग गर्ने बताउनुभयो । ‘‘विभिन्न भाइरसका कारण मानिसलाई छुनै नहुने अवस्था आएकाले उक्त भाइरसबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनका लागि खट्ने व्यक्तिहरू सङ्क्रमित हुने डर भएकाले शव व्यवस्थापन गर्न नयाँ प्रविधिको विकास ग¥यौँ,’’ कार्कीले थप्नुभयो ।
कार्कीले एउटा शव व्यवस्थापन गर्न १० भन्दा बढी जनशक्ति लाग्ने र शव व्यवस्थापन गर्ने व्यक्तिसमेत सङ्क्रमित हुने अवस्था हुन्थ्यो तर रोबो भ्यान निर्माणपछि एक व्यक्तिले नै सबै काम गर्न सक्ने बताउनुभयो । रोबो भ्यान दुई भागको रहेको छ । रिमोट कन्ट्रोलका माध्यमबाट एउटा भागले मृत शरीरलाई उचालेर रोबो भ्यानमा राख्ने र अर्को भागले मृत शरीरलाई रोबो भ्यानबाट शव वहानमा राख्न सहयोग गर्छ । करिब तीन महिनाअघिबाट सुरु गरिएको रोबो भ्यान बनाउने कामको एउटा भागको करिब ९० प्रतिशत काम सकिएको छ । डमी मृत शरीर राखेर रोबोको परीक्षणसमेत गरिसकिएको छ । रोबो भ्यानको सम्पूर्ण काम तिहारअघि सकिने एसोसियट डीन डा. श्रेष्ठले बताउनुभयो ।
रोबो भ्यान बनाउन कार्कीको नेतृत्वमा सञ्जीव पोख्रेल, शैलेश भट्ट, आर्जन आचार्य, विशाल भेटवाल र सुदीप फुयाँल सक्रिय रहनुभयो । विश्वविद्यालयका एसोसियट डीन डा. बीमप्रसाद श्रेष्ठले र प्रोफेसर डा. रमेश माकजुले आइपर्ने समस्याको समाधानमा लाग्नुभएको छ । कोरोना भाइरसका कारण भएको बन्दाबन्दी तथा बजारमा आवश्यक सामग्रीको अभावका कारण काममा ढिलाइ भएको एसोसियट डीन श्रेष्ठले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?