logo
२०८१ बैशाख ८ शनिवार



राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र राजदूत छोङ सुकबीच शिष्टाचार भेटवार्ता

राष्ट्रिय |





गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ५ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत छोङ सुकबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी र सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो ।
अध्यक्ष तिमिल्सिनाको सचिवालयका अनुसार भेटमा, अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत छोङ सुकलाई नेपालका लागि राजदूतमा नियुक्त हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल र दक्षिण कोरियाबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सुमधुर सम्बन्ध रहँदैआएको भन्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “नेपाल र दक्षीण कोरियाकाबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले थप सहयोग पु-याउनेछ । यस कार्यमा यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु ।”

गौतम बुद्धको जन्मस्थान नेपाल र बौद्ध धर्मालम्बीहरुको बाहुल्य रहेको दक्षिण कोरियाबीचको हवाई उडानमा आगामी दिनमा दुवै देशको ध्वजावाहक जहाजहरु उडाउनुपर्नेमा अध्यक्ष तिमिल्सिनाले जोड दिनुभयो । नेपाल भ्रमणमा आउने पर्यटकहरु गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी, तराई तथा हिमालमा रमाउन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र दक्षिण कोरियाबीचको व्यापारमा नेपालले व्यापार घाटा कम गराउन हस्तकला र जडिबुटि निर्यातमा जोड दिनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले कोरियाली नागरिकहरुलाई उत्प्रेरित गर्न कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा अध्यक्ष तिमिल्सिनाले कोरियाली नागरिकलाई नेपालको कृषि, पर्यटन तथा उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिरहेको र नियन्त्रणको प्रयत्न नेपाल सरकारले गरिरहेको अवस्थामा कोरियन सरकारबाट समेत सहयोग प्राप्त भएकोमा नेपाली जनता र संघीय संसदको तर्फबाट उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

सोहीअनुसार राजदूत छोङ सुकले भेटका क्रममा नेपाल र दक्षिण कोरियाको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताउनुभयो । संयुक्त राष्ट्र संघ, डब्लु।टि।ओ। जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमा दुई देशबीच साझा बिचार तथा सहकार्य हुदै आइरहेको पनि उहाँले बताउनुभयो ।

ईपिएस मार्फत कोरियामा गएर सीप सिकेर फर्केका नेपालीहरुलाई नेपालमा पनि काम गर्ने वातावरण मिलाउन आफूहरुले सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो । दुई देशका संसदबीचको सम्बन्ध र सहकार्यमा अभिवृद्धि गर्न आवश्यक कार्य अघि बढाउने पनि बताउनुभयो ।

राजदूत छोङ सुकले लुम्बनीका साथै नेपालका प्राकृतिक सुन्दर स्थानहरुको भ्रमण गर्न दक्षिण कोरियन नागरिकलाई उत्प्रेरित गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालमा कोभिड - ९ नियन्त्रणका लागि कोरियन सरकारबाट सक्दो सहयोग गर्ने तथा दुई देशको व्यापार घाटा सन्तुलनमा राख्न सहयोग गर्ने समेत बताउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?