logo
२०८१ बैशाख ७ शुक्रवार



कोभिडले बढाउला ‘गेमिङ डिसअर्डर’

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल

कोरोना महामारीका कारण लामो समयसम्म स्वतन्त्र रूपमा घरबाहिर घुमफिर गर्न र पर्याप्त मात्रामा शारीरिक व्यायाम गर्न नपाउँदा धेरै मानिसमा मोटोपन तथा अन्य शारीरिक समस्याहरू बढेका छन् । दैनिक तालिका नै बिगे्रको छ । यसले कुनै न कुनै रूपमा हरेक मानिसलाई मानसिक समस्या पारेको देखिन्छ । मानव मस्तिष्कले कुनै समस्या सिर्जना भइसकेपछि त्यस समस्याबाट क्षणिक वा दीर्घकालीन रूपमा व्यक्तिलाई मुक्त राख्नका लागि प्रयास गरेको हुन्छ, जसलाई मनोविज्ञानका शब्दमा ‘कोपिङ मेकानिजम’ भनिन्छ ।
ग्याजेट र इन्टरनेटको सहज उपलब्धता भएका ठाउँमा मानिस समय बिताउनका लागि विभिन्न किसिमका ‘अनलाइन गेम’हरू खेल्ने गरेका कारणले गेमको कुलत लागेका गुनासाहरू पनि सुनिन थालेका छन् । एकथरी मानिस अनलाइनमा खेलिने सबै गेम घातकमात्रै हुन्छन् भन्ने दृष्टिकोण राख्छन् भने अर्काथरी समय बिताउनका लागि गेमलाई निकै राम्रो उपाय ठान्छन् । विज्ञानसम्मत अनुसन्धानअनुसार छोटो समयसम्म खेलिने अनलाइन गेमहरू स्वास्थ्यका लागि हानिकारक नभए पनि लामो समयसम्म खेलिने तथा लत लाग्ने गेमहरू शारीरिक र मानसिक स्वास्थ्यका लागि नकारात्मक नै देखिएका छन् ।
ग्लोबल गेम मार्केटिङ रिपोर्ट (न्युजु २०१७) का अनुसार संसारभर दुई अर्ब अनलाइन गेम खेल्ने मानिस छन् । यस्तै निएल्सन कम्पनीले २०१७ मा गरेको अध्ययनअनुसार खेलाडीहरूले २०११ मा ५.१ घण्टा औसतमा प्रतिहप्ता अनलाइन गेममा बिताउँथे भने २०१७ मा यो समय बढेर ६.५ घण्टा प्रतिहप्ता पुगेको छ । मिहारा र हिगुचीले सन् २०१७ मा गरेको इन्टरनेसनल गेमिङ डिसअर्डरको क्रससेक्सनल र लङ्गिच्युड्नल अध्ययनले अत्यधिक मात्रामा खेलिने अनलाइन गेम घातक हुने निष्कर्ष निकालेको छ । दुई हजार ७३४ जना मानिसमा गरेको उक्त अध्ययनमा दुई हजार ३७७ पुरुष र तीन सय ५७ जना महिला सहभागी थिए । सहभागीहरूका माझ गरिएको परीक्षणले एकाग्रता बढाउने र एकैपटक एकभन्दा बढी काम गर्न सक्ने क्षमता अनलाइन गेमले विकास गर्ने भए पनि समग्रमा उपलब्धिमा गिरावट ल्याउने देखाएको छ । गेममा तल्लीनताका कारण कार्यक्षमतामा कमी आउने अनि साथीसँगाती र घरपरिवारसँगको सम्बन्धमा समस्या सिर्जना गरेको अनुसन्धानमा पाइयो । अन्ततः गेमिङका कारण व्यक्तिमा सामाजिक सीप र भावनात्मक र संज्ञानात्मक संवेदनशीलताको कमी भई समायोजनमा समस्या सिर्जना हुने निष्कर्ष आएको छ ।
मानसिक क्षमतासमेत उपयोग गरी गरिने शारीरिक श्रम वा खेललाई मानव स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक मानिएको छ । पूर्वीय पद्धतिमा रहेको योग, ध्यान वा पश्चिमा सभ्यतामा विकसित भएका विभिन्न किसिमका थेरापीहरूले शरीर र मनलाई सन्तुलित र व्यवस्थित राखी दुवै तहका श्रमलाई व्यवस्थित गर्ने कुरालाई जोड दिन्छन् । अनलाइन गेमले व्यक्तिलाई पूर्णतः मानसिक रूपले एकाग्र बनाउने भएका कारण मस्तिष्कले गेमका कारण सिर्जित भावनालाई वास्तविक जीवनको यथार्थका रूपमा बुझ्छ र हर्मोनहरूमा तीव्र परिवर्तन ल्याएर बाह्य अवस्थालाई सन्तुलित पार्न खोज्छ तर शारीरिक रूपमा कुनै बाह्य परिवर्तन नहुने भएकाले शरीरको प्राकृतिक चक्रमा असन्तुलन आई असामान्य र अनौठा गतिविधि देखाउन थाल्छ । एकैठाउँमा लामो समयसम्म बसेर शारीरिक श्रमविना मानसिक उत्तेजना र उल्लासको उत्कर्षमा पु¥याउन सक्नु अनलाइन गेमको विशेषता हो भने मस्तिष्कीय समस्याका लागि यही नै प्रमुख कारण पनि हो । ठीक समयमा स्वस्थकर खाना, प्राकृतिक जीवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्न नसकेका कारणले विभिन्न रोगहरू लागेर आत्तिएको आजको मानव समुदाय एकैठाउँमा बसेर लामो समयसम्म खेलिने गेमहरूको नकारात्मक असरबाट झनै पीडित बन्दै गएको छ भने लामो समयको कोभिडको त्रासले गेममा लत लाग्नेहरूको सङ्ख्या अझै बढ्ने निश्चित छ ।
अमेरिकी मनोवैज्ञानिक एसोसिएसन (एपीए)ले मानसिक विकारहरूको डायग्नोस्टिक र साङ्ख्यिकीय म्यानुअल (डीएसएम ५) मा अनलाइन एडिक्सन (लत) लाई तेस्रो परिच्छेदमा समावेश गरेको छ । डीएसएम ५ को तेस्रो परिच्छेद भनेको पूर्ण रूपमा चिकित्सकीय प्रयोजनका लागि घोषणा नभएको तर मानसिक समस्या हो भन्ने अध्ययनहरूले प्रमाणित गरिसकेको विषय समावेश गर्ने परिच्छेद हो । यो समस्या मूलतः एसियाका १२ देखि २० वर्षका पुरुषहरूमा अत्यधिक बढिरहेको अध्ययनहरूमा पाइएको पनि डीएसएम ५ मा उल्लेख छ । अनलाइन गेमको लत बसेमा डिप्रेसन, अतिसक्रियता, ‘अब्सेसिब कम्पल्सिब डिसअर्डर’लगायतका समस्याहरू देखापर्नेे कुरा पनि डीएसएम ५ मा बताइएको छ ।

अनलाइन गेम खेल्नुका कारण
रेयान र यीले सन् २००६ मा गरेको अध्ययनअनुसार अनलाइन गेम खेल्ने मानिस दिनानुदिन बढ्दै गएको छ । गेमका कारण धेरै मानिसको नियमित दैनिकीमा समेत असर पर्न थालेको छ । कुनै पनि व्यक्ति अनलाइन गेम खेल्नुका पछाडि विभिन्न कारणहरू हुने तथ्यलाई यस अध्ययनले अगाडि सारेको छ । भर्चुअल सामाजिक सञ्जालमा रम्ने इच्छा, जीवनका वास्तविक समस्या समाधान गर्न नसकी क्षणिक उन्मुक्ति खोज्ने चाहना एवम् सामाजिकीकरण हुन नसक्दाको मानसिक क्षतिको क्षतिपूर्ति र जीवनमा सन्तुष्ट हुन नसक्दा अवास्तविक कुराबाट वैयक्तिक सन्तुष्टि लिन खोज्ने मनोसामाजिक विकारका कारण अनलाइन गेमप्रतिको आकर्षण बढेको देखिन्छ । अनलाइन गेमका प्रकृतिका सन्दर्भमा पुरुषहरू घटनामूलक र घातक खेलहरूमा रमाउने गरेका देखिन्छन् भने महिलाहरू स–साना सीपमा आधारित कम घातक गेमहरूमा रमाउने गरेको अध्ययनमा पाइएको छ । जीवनका वास्तविक कामबाट उन्मुक्ति दिने माध्यम अनलाइन गेम बन्न पुगेकाले यसलाई नकारात्मक सामना विधिअन्तर्गत ड्रग्स वा अन्य ग्यामलिङजस्ता एडिक्सनसँग तुलना गरिन्छ । पैसा कमाउने उद्देश्यले अनलाइनमा गरिने विभिन्न कारोबार र खेललाई भने गेमिङ डिसअर्डरसँग जोड्न नहुने तर्क राखिएको छ ।

सबै अनलाइन गेमहरू घातक हुन्छन् ?
निश्चित समयसम्म खेल्न सकिने सावधिक अनलाइन गेम र अन्य सामान्य किसिमका गेमहरू छोटो समयका लागि खेल्दा मानसिक स्वास्थ्यलाई सकारात्मक असर पार्न सक्ने अध्ययनहरूले देखाएका छन् । अनिश्चित समयसम्म चलिरहने वा स्कोर र लेभल थपिँदै जाने तर कहिल्यै निष्कर्षमा पुग्न नसकिने फयरफेरी, चोकिङ गेम, पब्जीलगायतका गेमहरूले व्यक्तिलाई एकोहोरो बनाउँदै लत लगाउँछन् र व्यक्तिलाई असन्तुष्ट र विनाकारण उत्तेजित अनि असामान्य बनाइरहन्छन् । एडिक्सन भइसकेपछि समय र उपयोगको मात्रामा नियन्त्रण गर्न सकिँदैन, जसकारण गेममा असीमित समय खर्चनुपर्ने हुन्छ । एउटापछि अर्को चरणमा प्रवेश गरिने भएकाले हरेक चरणमा उत्साही हुँदै नयाँ चरणको खेल खेल्ने चाहना बढ्दै जान्छ । मस्तिष्कले त्यतिबेला कृत्रिम रूपमा डोपामाइन र सेराटोनिनको अत्यधिक उत्सर्जन गर्ने भएकाले अलौकिक आनन्द प्राप्त हुन्छ तर जब गेमबाट बाहिरिएर वास्तविक संसारमा आइन्छ तब निराशा, एकलासेपन, एन्जाइटी र दिक्दारी बढ्न थाल्छ । लामो समयसम्म विध्वंसात्मक पात्रहरू र परिवेश भएका अनलाइन गेम खेलिरहँदा खेलाडीका वास्तविक आनीबानी र स्वभावमा स्थायी रूपमै परिवर्तन आई गेमका पात्रको जस्तो मानसिकता र हाउभाउ प्रदर्शन गर्न थाल्छन् । सोच्ने र व्यवहार गर्ने तरिकामा परिवर्तन आई असामान्य मानसिक असन्तुलनका कारकसमेत बन्ने भएकाले अनलाइन गेमहरू शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खतरापूर्ण मानिन्छन् । यसैले कहिलेकाहीँ र फरक–फरक किसिमका छोटो समय खेलिने स–साना र सावधिक गेमहरू भने हानिकारक मानिँदैनन् ।

गेमिङ डिसअर्डर त छैन ?
मानसिक विकारहरूको डायग्नोस्टिक र साङ्ख्यिकीय
म्यानुअल (डीएसएम–५) ले तलका मध्ये कुनै पाँच वा सोभन्दा बढी लक्षण मिलेमा आवश्यक उपचार र परामर्श लिनुपर्ने बताएको छ ः (१) निरन्तर गेमकै सोचाइ आइरहने, पछिल्लोपटक खेलेका कुराले मनलाई दुःखी बनाइरहने अवस्था, (२) खेल्न नपाउँदा एन्जाइटी हुने, छटपटी बढ्ने र मन दुःखी भइरहने (३) खेलमा बिताउने समय दिनदिनै बढ्दै जानु (४) आफूलाई नियन्त्रण गर्न नसक्नु (५) पहिलेदेखिका सामान्य क्रियाकलाप र रमाउने अन्य माध्यमप्रति अनिच्छा बढ्दै जानु (६) मनोसामाजिक समस्याबारे थाहा पाएपछि पनि गेमलाई कम गर्न नसक्नु (७) परिवारका सदस्य वा थेरापिस्टले गेममा बिताएको समय अत्यधिक वा अनुपयुक्त ठानेको अवस्था (८) नकारात्मक मनस्थिति, एकाङ्कीपन, ग्लानि र एन्जाइटीबाट बच्न गेम खेलिरहेको अवस्था
(९) गेमकै कारण जागिर, परिवार, शिक्षा वा अन्य अवसरमा नकारात्मक असर परेको स्थिति ।
कोभिडका कारण सामाजिक सम्बन्धमा पुगेको क्षति, विद्यालय तथा अन्य कार्यक्षेत्र लामो समयसम्म बन्द भएको अवस्था एवम् क्वारेन्टिन र आइसोलेसनका कारण व्यक्तिमा आएको एकाङ्कीपनले अनलाइन गेम साथीजस्तै बन्न सक्ने सम्भावना प्रशस्तै रहेको वर्तमान अवस्थामा स्क्रिन डिसअर्डर तथा घातक अनलाइन गेमका कारण सिर्जना हुने मानसिक समस्याबाट सबै उमेर समूह अझ विशेषतः बालबालिकालाई बचाउनु अति आवश्यक छ । गेममा खर्चिने समय अन्य सिर्जनात्मक तथा सामाजिक अन्तर्सम्बन्ध विकास गर्ने गतिविधिमा प्रयोग गर्न सके इन्टरनेट तथा गेमको कुप्रभावबाट आफू र समाजलाई बचाउन सकिन्छ । नेपालमा यस विषयमा हालसम्म राज्यस्तरबाट कुनै छलफल र बहस नचलेको अवस्थामा अन्य कुलतमा जस्तै गेमिङ एडिक्सनका विषयमा सावधानी र सचेतना बढाउन सरकार, सामाजिक सङ्घ संस्था, विद्यालय र सचेत नागरिकले आजैदेखि काम
सुरु गर्नुपर्दछ ।
(लेखक मनोवैज्ञानिक परामर्शदाता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?