logo
२०७७ कार्तिक ६ बिहीवार

यस वर्षको दशैँ यसरी

विचार/दृष्टिकोण |




कमल रिजाल

दशैँ नेपालीहरूको ठूलो चाड हो । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने यो चाड ऐ दशमीसम्म मनाइन्छ तर कतै–कतै पूर्णिमासम्म मनाउने गरिएको पाइन्छ । १० दिनसम्म मनाइने चाड भएकाले दशैँ भनिएको हो । यस चाडमा नौ रातसम्म शक्तिस्वरूपिणी माता भगवतीको पूजा तथा उपासना गरिन्छ । यस अर्थमा यसलाई नवरात्र भन्ने गरिएको पाइन्छ ।
वैदिक सनातन संस्कृतिमा चारवटा नवरात्र उल्लेखनीय मानिन्छन्, जसमा असोज शुक्ल प्रतिपदादेखि दशमीसम्मका नौ रात, माघ शुक्ल प्रतिपदादेखि दशमीसम्मका नौ रात, चैत शुक्ल प्रतिपदादेखि दशमीसम्मको नौ रात र असार शुक्ल प्रतिपदादेखि दशमीसम्मका नौ रातहरू पर्छन् । यिनमा असोज शुक्लमा पर्ने नवरात्र सर्वाधिक महŒवको मानिन्छ । यतिबेला नौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन विर्सजन गरी मान्यजनका हातबाट प्रसादका रूपमा टीका र जमरा लगाई आशिर्वाद लिने चलन छ । यसो गर्नाले सुख, शान्ति, आनन्द प्राप्त गरी दीर्घजीवन पाइन्छ भन्ने परम्परागत विश्वास छ ।
दशैँ चाडको विशेषता भनेको आपसी मेल र पारिवारिक जमघट पनि हो । परिवारका सदस्य जम्मा हुन्छन्, कुलकुटुम्ब तथा इष्टमित्रहरू आपसमा माया, प्रेम तथा सद्भाव साट्न एक–अर्काका घरमा पुगिरहेका हुन्छन् । गाउँघर तथा टोलछिमेकमा आपसी वैमनस्यता केही भए त्यसलाई समेत बिर्सेर आफूभन्दा ज्येष्ठ नागरिकको हातबाट आशिर्वाद लिन लालायित देखिन्छन् । बालबालिकामा देखिने उत्साह र उमङ्ग साँच्चै वर्णनातीत हुन्छ ।
दशैँलाई राम्रो लगाउने र मीठो खाने चाडका रूपमा पनि लिने गरिएको पाइन्छ, खासगरी गाउँघरमा । सहर–बजारमा त्यस्तो नहोला । गाउँघरमा र सहर–बजारमै पनि कहीँ कतै राम्रो लगाउन र मीठो खान दशैँ नै कुर्नुपर्ने दुरावस्था अझै हटेको छैन । भलै गरिबी निवारणको नारा बढी नै सुनिने गरेको किन नहोस् । दशैँको अर्को विशेषता भनेको पिङ संस्कृति पनि हो । खासगरी बालबालिका लागि यसको महŒव अर्कै हुन्छ । टीकाको दिनमा त प्रौढ नरनारीहरू वर्षमा एक दिन भए नि भुँइ छाड्नुपर्छ भनेर पिङमा हल्लिने गरेका अझै फेलापर्छन् गाउँघरमा ।
दशैँको अर्को विशेषता अर्थोपार्जन पनि हो । खासगरी ठुल्ठूला कर्पोरेट गृहहरूले दशैँलाई लक्षित गरी विभिन्न मोडेलका गाडी, मोटर, कार तथा मोटरसाइकल बजारमा ल्याएका हुन्छन् । तिनमा विशेष छुट तथा उपहारको व्यवस्था गरी ग्राहकहरूलाई आकर्षित गर्ने प्रयास गर्दै आएका देखिन्छन् । कपडा पसल तथा किराना पसलहरूमा लाग्ने भीड पनि उत्तिकै हुन्छ । कपडा च्यात्दाच्यात्दै खानै पाइएको छैन भन्ने पसलेहरू यसपालि भने कोरोना कहरका कारण निकै मन्दी आएको गुनासो गर्दै छन् ।
दशैँको मूलभूत विशेषता भनेको अग्रजहरूको हातबाट टीका थापी आशिर्वाद लिनु नै हो तर यस वर्ष कोरोना महामारीबाट तिनै अग्रज पुस्ता बढी प्रभावित हुन पुगेका छन् । उनीहरूलाई सम्मान गर्ने नाममा उनीहरूलाई नै जोखिम थपिन पुग्यो भने के गर्ने ? त्यसैले जो जहाँ छौँ, त्यहीँ बसेर दशैँ मनाउने र त्यहीँबाट अग्रजहरूसँग आशिर्वाद माग्नुपर्ने अवस्था छ । सरकारले पनि त्यस्तै आग्रह गरेको छ । सरकारी आग्रह हाम्रै मान्यजन तथा अग्रज पुस्ताका हितनिम्ति हुन् । सरकारी आग्रह आफ्नै हितका लागि ठानी बसेकै स्थानमा दशैँ मनाउनु उत्तम हुनेछ ।
दशैँमा विशेषगरी दुईवटा पक्षसँगै जोडिएर आउने गर्छन्– दुर्गापूजा र टीका तथा आशिर्वाद । दुर्गापूजाको अर्थ शक्ति उपासना हो । शक्तिविना हामी कुनै काम पनि गर्न सक्दैनौँ । संसारमा जति पनि काम भएका छन् वा हुने गरेका छन्, शक्तिकै कारण सम्भव भएका छन् । शक्तिविना न जन्म सम्भव हुन्छ न मृत्यु नै । जुन शक्तिले जन्माएको हुन्छ, सोही शक्तिले नै मृत्युको मुखमा पु¥याएको हुन्छ हामीलाई । अनि आज जुन शक्तिले मृत्युको मुखमा पु¥याएको हुन्छ भोलि सोही शक्तिले नै प्रकृतिको प्रयोगशालामा गालेर नयाँ जीवन दिने काम गरेको हुन्छ । हामीलाई स्वस्थ र निरोगी रहन पनि शक्ति चाहिन्छ, खान र खाएको चीज पचाउन पनि शक्ति चाहिन्छ । दशैँ चाडमा प्रतीकात्मकरूपमा तिनै शक्तिको पूजा तथा उपासना हुने गरेको हुन्छ ।
यस्तो शक्तिको उपासना गर्न मानिसको जमघट हुनैपर्छ भन्ने पनि छैन र मठमन्दिर तथा शक्तिपीठ धाउनैपर्छ भन्ने पनि छैन । घरमै बसेर शक्तिको उपासना गर्न सकिन्छ, शास्त्रीय मतकै कुरा गर्ने हो भने पनि । यसका लागि हामीले प्रतिपदाकै दिन घटस्थापना गरी जमरा राख्ने र दुर्गापूजाको उपक्रम सुरु गरिसकेका हुन्छौँ । अहिलेको अवस्था भनेको मानिसले मानिससँग डराउनुपर्ने अवस्था हो, मानिसले मानिससँग मुख छोप्दै, लुक्दै र भाग्दै हिँड्नुपर्ने अवस्था हो । त्यसैले घरमै बसेर शक्तिको उपासना गर्दै स्वस्थ र निरोगी रही दीर्घजीवी हुने प्रयास गरौँ । शक्ति प्राप्त गर्न मठमन्दिर धाउन थाल्यौँ भने थप शक्ति प्राप्त गर्न त सकिएला नसकिएला तर भएकै शक्ति गुम्ने भने निश्चितजस्तै छ ।
आयो आशिर्वादको कुरा । हामी जहाँ बसेर पनि आफ्ना मान्यजनको आशिर्वाद प्राप्त गर्न सक्छौँ । आशिर्वाद लिनका लागि भेट्नैपर्छ र निधारमा टीका टाँस्नैपर्छ भन्ने छैन । संस्कृति हो, सम्भव हुँदा गर्दा राम्रै हुन्छ । संस्कृति बचाउने हो भने गर्नुपर्छ पनि तर सम्भव नहुँदा आशिर्वाद लिन भेट्नैपर्छ भन्ने छैन । यसै पनि आशिर्वाद भनेको टाढाबाट दिइने र लिइने कुरा हो । हामी देवीदेवताको पूजा गरी आशिर्वाद माग्छौँ तर ती कहाँ छन् ? निकै टाढा छन्, जसलाई देखिन्न, केवल भावनाले मात्र भेट्टाउन सकिन्छ । जसलाई हामी सूर्य, चन्द्र, शनि, मङ्गल आदिलार्ई ग्रहदेवता भनेर पूजा गर्छौं र आशिर्वाद माग्छौँ, ती पनि धेरै टाढा छन् ।
प्रकाशको गति प्रतिसेकेन्ड एक लाख ८४ हजार माइल हुन्छ भन्ने वैज्ञानिकहरू बताउँछन् । त्यस्तो गतिमा सूर्य किरणलाई पृथ्वीसम्म आइपुग्न आठ मिनेट २० सेकेन्ड लाग्छ भने सूर्यको स्थान हामीभन्दा कति टाढा होला आफैँ अनुमान लगाउन सक्छौँ । जब त्यति टाढा रहेका ग्रह, नक्षत्र तथा देवीदेवताले त आशिर्वाद दिन्छन् भन्ने विश्वास छ भने आफ्नै गाउँघर वा सहर–बजारमा रहेका हाम्रा अग्रज तथा मान्यजनहरूका आशिर्वाद कसो नपाइएला र ?
त्यसैले दशैँ त मनाऔँ तर आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित रहन दिऔँ । त्यसमा पनि ज्येष्ठ नागरिकको बढी नै हेक्का राखौँ । जीवन बचे भेटघाट फेरि पनि हुन्छ । फेरि पनि सँगै बसेर दशैँ मनाउन सकिन्छ । हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बीउ जोगाउनु भन्ने उखानै छ ।
(लेखक, गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?