logo
२०७७ मंसिर १२ शुक्रवार

सङ्घीयताको लुम्बिनी मोडल

पार्टी र सिङ्गो मुलुकलाई नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा नेतृत्व गर्न सक्नुपर्छ शङ्करले

विचार/दृष्टिकोण |




कृष्णमुरारी भण्डारी

प्रदेश–५ को नाम लुम्बिनी र भालुवाङलाई राजधानी बनाउने प्रस्ताव जनप्रतिनिधिहरूले दुईतिहाइभन्दा बढी मतले पारित गरे । प्रदेशसभाले प्रदेशको नाम र राजधानी पारित गरेपछि वरिष्ठ पत्रकार किशोर नेपालले तत्कालै ट्वीट गर्नुभयो– देउखुरी उपत्यकालाई लुम्बिनी प्रदेशको राजधानी बनाउनु आवश्यक थियो । किनभने बुटवलजस्तो सम्पन्न सहरका लागि प्रदेश राजधानीको पद्वी आवश्यक थिएन । देउखुरी उपत्यका थारुवान क्षेत्र हो । देउखुरीलाई लुम्बिनी प्रदेशको राजधानी बनाउनु आदिवासी थारू जातिको देशभक्ति र समर्पणको सम्मान हो ।

वरिष्ठ पत्रकार नेपालले लुम्बिनी प्रदेशको राजधानीबारे तत्काल दिनुभएको प्रतिक्रियाबाट थाहा हुन्छ– कति परिपक्व निर्णय प्रदेशसभाले ग¥यो ।
सबैलाई जानकारी नै छ, यो अभियानको नेतृत्व मुख्यमन्त्री शङ्कर पोखरेलले गर्नुभएको थियो । यो सफलतापछाडि मुख्यमन्त्री र प्रदेशको योजनाकारका रूपमा लामो र एकत्रित भएर उहाँले बनाउनुभएका योजना रहेको स्पष्ट हुन्छ । पाँच नम्बर प्रदेशमा के–के छ ? कहाँ छ ? को कहाँ छन् र सबैलाई कसरी समेट्ने ? उत्कृष्ट प्रदेश कसरी बनाउने ? यसबारेमा लेखकसँगको लामो अन्तर्वार्तामा उहाँले आफ्ना योजना व्यक्त गर्नुभएको थियो । उहाँको योजना गोरखापत्र दैनिकमा प्रकाशित भएको थियो ।
नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा शङ्कर पोखरेलले पाँच नम्बर प्रदेशलाई ‘मिनी’ नेपाल बनाउने सोच अगाडि सारिरहँदा के गर्न खोजेको होला भन्ने लागेको थियो । ‘मिनी नेपाल’ अर्थात् सम्पूर्ण नेपालको ‘मिनिएचर’ आफ्नो प्रदेशलाई बनाउने ! जसलाई कतिपयले सोम शर्मा ब्राह्मणको सपना भनेर उडाउन पनि खोजे । त्यतिखेर त्यो सिर्जनशील चिन्तन तर अपत्यारिलो उदाहरण थियो । आज यथार्थ खाका र योजनासहित अगाडि आइपुगेको छ ।

त्यो सोचलाई अनेक बाधा, अवरोध र जटिलताबीच दुई वर्ष पनि नबित्दै यथार्थमा बदल्नका लागि शङ्कर पोखरेलले अस्थायी रूपमा रहेको बुटवल क्षेत्रका बासिन्दाको औद्योगिक र व्यापारिक विशेषतालाई सम्बोधन, लुम्बिनीको विश्वख्यातिलाई अझ उजागर गर्न प्रदेशको नाम नै लुम्बिनी प्रस्ताव गर्नुभयो । पूरै प्रदेशको मध्यबिन्दु, सबैलाई पायक पर्ने र भोलि विस्तार गर्ने व्यापक सम्भावना पनि भएको दाङ देउखुरीको भालुवाङलाई नयाँ राजधानी बनाउनुपर्ने, जुन प्रस्ताव मुख्यमन्त्रीले गर्नुभयो त्यो रणनीतिक र कार्यनीतिक, सामाजिक र साँस्कृतिक, भौगोलिक र पायक पर्ने परिपक्व, स्वप्नदर्शी र सन्तुलित योजनासहितको दूरगामी गुरुयोजना रहेछ । जो त्यस्तो गुरुयोजनाका रूपमा अगाडि आयो, जसले राजधानी भालुवाङ र देउखुरी क्षेत्रलाई नै नदी सभ्यतासहितको भविष्यउन्मुख केन्द्र बनाउनेछ । यो योजना नेपालमा नौलो, मौलिक र सिर्जनात्मक छ । अझै नाम र राजधानी टुङ्ग्याउन नसकेका १ र २ नम्बर प्रदेशका लागि ५ नम्बर प्रदेशको उदाहरण अनुकरणीय हुन पुगेको छ । त्यसैले सधैँ र सबै विषयमा निर्मम आलोचकको भूमिका निर्वाह गरिरहनुभएका किशोर नेपालले तत्कालै शङ्करको गुरुयोजनालाई निःसर्त सम्मान गरेको हुनुपर्छ । योभन्दा उत्कृष्ट प्रदेशको नाम र राजधानी क्षेत्र अर्को हुन पनि सक्दैन । भएको भए तिख्खर आलोचक नेपालले आफ्नो विकल्प प्रस्तुत गर्न कदापि चुक्नुहुने थिएन ।

लुम्बिनी प्रदेशको नाम र राजधानीको ठाउँ निश्चित गर्ने सफलताले नेपालको विकासमा सङ्घीयताको औचित्यता पुष्टि गरेको छ । विकेन्द्रीकरणको सुनिश्चितताको अभ्यास गरेको छ । नेताहरूमा न ‘भिजन’, न इमानदारी, न युवामा नेतृत्व लिने क्षमता छ भन्नेहरूमाथि पनि यो जबर्जस्त हस्तक्षेप हो । यो त्यस्तो उदाहरण हो– जसले नेताहरू पनि काबिल रूपमा व्यवस्थापकीय काम गर्न सक्छन् भन्ने स्पष्ट देखिएको छ ।
मदन भण्डारीले छरिएका वामपन्थीहरूलाई एकीकृत गर्दै विचार नीति कार्यक्रम बनाएर सशक्त अगाडि सार्ने, समाज परिवर्तन र त्यसको समकालीन व्याख्या गर्ने नवीन सुरुवात गर्नुभयो । त्यसलाई समयअनुसार पुनःपरिभाषित, पुनर्पुष्टि र सैद्धान्तिक अवधारणाहरूलाई व्यवहारमा परिणत गर्ने प्रदर्शन लुम्बिनी प्रदेशको नाम र राजधानी सार्ने सफलताले फेरि साबित गरेको छ । मदन भण्डारीको शारीरिक अन्त्यसँगै उहाँले देश विकासका लागि बसाल्नुभएको जग पनि सकियो भन्नेहरूका लागि सङ्ख्यात्मकमात्र होइन, गुणात्मक रूपमा त्यसले फड्को मारेको उदाहरण हो– पछिल्लो घटना । मदन विरासतको निरन्तरता पनि हो, अहिलेको सफलता ।

छिमेकी भारतमा सडक सञ्जाल कस्तो बनाउने ? विकासको मार्गचित्र कस्तो हुनुपर्छ भन्ने मोडलको खाका मुख्यमन्त्री नरेन्द्र मोदीले गुजरात प्रान्तमा प्रस्तुत गर्नुभएको थियो । आफ्ना योजनालाई मोदीले व्यवहारमा कार्यान्वयन गर्नुभयो, जसलाई विकासको मोदी–मोडल नै भनियो । त्यसपछि विकासको दौडमा पछौटे बनेको प्रान्तका उदीयमान नेताका रूपमा मोदी भारतीय आकाशमा चम्किनुभयो । मोदी अहिले उदाउँदो भारतका प्रधानमन्त्रीको दोस्रो कार्यकाल हाँकिरहनुभएको छ ।
के कुरा बिर्सन मिल्दैन भने नेपालमा सङ्घीयता कार्यान्वयन, सङ्घ र प्रदेशहरूबीच समन्वय गर्नेजस्ता सवालमा सुरुमै ठूला चुनौती नआएका होइनन् । यस्तो बेलामा प्रदेशका मुख्यमन्त्रीहरूले अग्रसरता पनि लिएका हुन् । सङ्घीय नेतृत्व पनि नअल्मलिएको होइन । मुख्यमन्त्रीहरू पनि अल्मलिएका थिए । तर, छोटो समयमै यस्ता ‘कन्फ्युजन‘हरूलाई छिचोल्दै प्रदेशस्तरको कार्यकारी प्रमुखको काम गरेर देखाउने उदाहरण मुख्यमन्त्री शङ्कर पोखरेल बन्नुभएको छ । उहाँको कार्यकालको दुई वर्ष सात महिना बितेर मध्यान्तर भइसकेको छ । सुरु गरेका कामलाई बिट मार्दै बाँकी काम अब यो छोटो अवधिमा गरेर देखाउनुपर्ने चुनौती उहाँसामु खडा छ । मुख्यमन्त्री पद नै छाडेर अर्थात् पदलाई नै दाउमा लगाएर पार्टीकोे काममै फर्कन्छु भनेको पनि सुनियो । पार्टी केन्द्रलाई स्थिरता दिनु कति जरुरी हुन्छ भन्ने स्थानीय जनतासँगै बसेर देखेकाले नै हुनुपर्छ उहाँमा यस्तो आँट र जाँगर पलाएको !

व्यवस्थापनमा दुईवटा भनाइ बहुचर्चित छन्, ‘स्क्वारल आइभ्यु’ र ‘बर्डस् आइभ्यु’ ! अर्थात्, लोखर्केको दृष्टि र चीलको दृष्टि । लोखर्के सानो छ र उड्न सक्दैन । त्यसैले ऊ जमिनमा बसेर विश्व हेर्छ तर चिल आकाशमा कावा खान सक्छ र माथिबाट जगत्लाई हेर्ने गर्छ । शङ्कर पोखरेलले दुवै ठाउँबाट हेर्न पाउनुभयो । विद्यार्थीदेखि संसदीय राजनीतिसम्म, सञ्चारमन्त्रीसमेत भइसकेको र अहिले आएर प्रदेशको मुख्यमन्त्री बनेर स्क्वारल र बर्ड्स दुवै दृष्टिबाट हेरिरहेको । अर्थशास्त्र पढेको पनि । जीवनमा भोगेका, पढेका, देखेका, सुनेका कुराहरूलाई प्रयोग गरेर अभ्यासबाट गरेर नै देखाउने अवसर उहाँलाई मिलेको हो । यसले उहाँलाई अपूर्व अवसर सिर्जना गरिदिएको छ । असफल बनेको भए नेपाली राजनीतिको पोखरीमा डुब्नु हुने थियो । सफल भएकाले भावी नेतृत्व भनेर उहाँको चर्चा हुन थालेको छ । काम देखाएर आफूलाई रूपान्तरण गर्ने दिशामा यो उहाँको प्रवेश हो । यसलाई विदेशी उदाहरणसँग तुलना गर्ने हो भने ‘टिप्स अफ द आइसवर्ग’ भन्न सकिन्छ ।

समुद्रीयात्रामा देखिने हिउँको थुप्रोको वास्तविकता असल जहाज चालकलाई मात्र हुन्छ । पानीको सतहमा हिउँको जुन ढिस्को देखिन्छ त्यो २० प्रतिशतमात्र हो । त्यसको ८० प्रतिशत भाग पानीभित्र रहेको हुन्छ । अब समय आएको छ नेता शङ्करलाई, आफूभित्रको ८० प्रतिशत क्षमता देखाउने ! अहिले लुम्बिनी प्रदेश र यसको राजधानी कायम गर्न सक्नु शङ्करको २० प्रतिशत क्षमतामात्र प्रदर्शन हो र यसले शङ्कर मोडल स्थापित भएको छ । सुरुमै यो मोडल स्थापित भएको भए अहिलेसम्ममा प्रदेशहरूले चमत्कार देखाउन थालिसक्ने थिए । २ नम्बर प्रदेशले यो मोडल लियो भने समग्र नेपालमै यसको सुप्रभाव पर्नेछ । सङ्घीयतापछि विकेन्द्रीकरण र आँगनमा सिंहदरबार पुगेको तथा जनता आफैँ शासक बनेको प्रत्याभूत हुन सक्छ ।
साङ्ग्रिला बुक्सले प्रकाशित गरेको ‘समृद्धिका आधार’मा लेखक जीवनप्रसाद राईका अनुसार लुम्बिनी प्रदेशको क्षेत्रफल २२ हजार दुई सय ८८ वर्ग किलोमिटर छ । जनसङ्ख्या ४४ लाख ९९ हजार दुई सय ७२ छ । यस प्रदेशमा १२ वटा जिल्ला, चारवटा उपमहानगर, नगरपालिका ३२ वटा, गाउँपालिका ७३ वटा र वडाहरू नौ सय ८३ वटा छन् । यो प्रदेशको जलवायु शीतोष्ण अर्थात् हिमाली, समशीतोष्ण अर्थात् पहाडी र उष्ण अर्थात् तराई रहेको छ । लेखकले कृषि, उद्योग, व्यापार, पर्यटन, जलस्रोत, शिक्षा, स्वास्थ्य, बैङ्क आदि अनेक क्षेत्रबारे पनि जानकारी दिनुभएको छ । नेपालको मध्यबिन्दुमा रहेको लुम्बिनी प्रदेश खासमा पूर्वमा नारायणी नदी र पश्चिममा कर्णाली नदीबीचमा अवस्थित छ ।
विद्यार्थी नेताका रूपमा पोखरेललाई नजिकबाट चिनेका अश्विन पुडासैनी (जो व्यवस्थापन प्राध्यापन पनि गर्छन्)ले भन्नुभयो, ‘ठीक काम गर्ने नेतृत्व र काम ठीक गर्ने नेतृत्वको ‘कम्बिनेसन’ शङ्कर पोखरेलमा छ । ठीक काम गर्ने राजनीतिक नेतृत्व हो र काम ठीक गर्ने व्यवस्थापक हो । यसमा पोखरेल खरो उत्रिनसक्नुहुन्छ ।’

मुलुकलाई नै आशावादी बनाउने प्रदेशको नाम र राजधानी घोषणा गर्ने मुख्यमन्त्रीको प्रस्ताव अनि निर्णय गराउन सक्ने क्षमता यतिखेर ‘टक अफ द टाउन’ नै बनेको छ । यो किन पनि बहुचर्चामा छ भने यसले देशको भावी नेतृत्वको आकृति दिएको छ, जसले मुलुककै रूपान्तरण गर्न सक्छ । यस्तो अवसर राजनीतिमा लागेका दुर्लभ व्यक्तिलाई मात्र प्राप्त हुन्छ, जो शङ्कर पोखरेलले यतिखेर प्राप्त गर्नुभएको छ । दसौँ लाख सदस्य भएको, सैद्धान्तिक, दार्शनिक मोडलका रूपमा पार्टी र सिङ्गो मुलुकलाई नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा नेतृत्व गर्न सक्नुपर्छ शङ्करले । जसरी भारतीय नाकाबन्दीमा मुर्झाएका नेपालीलाई केपी ओलीले ढाडस दिएर सपना देखाउनुभएको थियो, त्यसैगरी समृद्ध प्रदेश, खुसी जनताको नारा दिएर अगाडि बढ्नुभएका शङ्करले लाखौँलाख नेपालीलाई यो सम्भव छ र हामी सक्छौँ भन्ने उज्यालो छर्न र विश्वास जगाउन सक्ने देखिएको छ । उहाँ सबैलाई एकताबद्ध गराई मुलुक हाँक्ने लोकप्रिय नेता बन्नुभयो भने त्यो लामो लोकतान्त्रिक आन्दोलनको सबलता र समाज रूपान्तरणका लागि उहाँलाई दुर्लभ अवसर प्राप्त हुनेछ ।

समयले यो अभिभारा तिनै व्यक्तिको काँधमा आएको छ, जसबारे प्रख्यात भाषाविद् तथा पत्रकार शरच्चन्द्र वस्तीको टिप्पणीले अझ रोचक र विश्वासिलो बनाउनेछ । कुरैकुरामा लुम्बिनी र भालुवाङबारे चर्चा हुँदा वस्तीले भन्नुभयो– ०३५ सालमा दाङमा राष्ट्रिय विकास सेवा (एनडीएस्)अन्तर्गत म जनता क्याम्पसमा पढाउन पुगेको थिएँ र नजिकैको एउटा घरमा डेरामा बसेको थिएँ । त्यो घरमा ४० वर्षअघि सात कक्षामा पढ्ने नयाँ कुरामा जिज्ञासु, जाँगरिलो र एक्टिभ एक किशोर थिए, जो मसँग अद्भुत जिज्ञासाहरू राख्थे । ती किशोर अहिलेका मुख्यमन्त्री शङ्कर पोखरेल नै थिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?