शिवशंङ्कर मिश्र
बारा, असोज ५ गते । बलात्कारीलाई जोगाउन पीडितलाई पैसा दिएर मिलापत्र गराउने खोज्ने वडाध्यक्षलाई स्थानीयले लखेटेका छन् । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ५ मा कथित भद्रभलादमीको सहभागितामा बसेको पञ्चायतीमा आर्थिक जरिवाना गरेर बलात्कारीलाई जोगाउन खोजेको भन्दै वडा नम्बर ५ का वडा अध्यक्ष रामएकवाल साहलाई पञ्चायतीबाटै लखेटिएको छ ।
असोज २ गते शुक्रबार राति ८ बजे सोही ठाउँ वडा नम्बर–५ औरैया टोलकी ती १२ वर्षीय बालिका खाना खान बुवालाई बोलाउन घरबाट घारीगोठतर्फ गईरहेकी अवस्थामा सोही ठाउँका २२ वर्षीय शिवपुजन यादवले बालिकाको मुख गम्छाले थुनेर नजिकैको गोठमा लगेर जबरजस्ती करणी गरेका थिए ।
मुख थुनिएको अवस्थामा पनि बालिका चिच्याएपछि छिमेकीहरु गोठमा हेर्न जाँदा आरोपित व्यक्ति भागेको र छिमेकीहरुले बालिकालाई उद्दार गरेको स्थानीय विनोदप्रसाद यादवले बताउनुभयो ।
घटनाको भोलिपल्ट शनिबार वडाध्यक्ष रामएकवाल साहले पञ्चायती राखेर एक लाख ५० हजार जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेको अवस्थामा आक्रोशित स्थानीयहरुले वडाध्यक्ष साहलाई पीडितको घरबाट लखेटेका थिए ।
पीडित बालिकाको परिवारले दिएको जाहेरीका आधारमा आरोपित शिवपुजन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
बलत्कारको घटनापछि अभियुक्त फरार रहेका तथा पीडित बालिकाको शनिबार जिल्ला अस्पताल कलैयामा स्वास्थ परीक्षण गरी यस घटनाबारे थप अनुसन्धानसहित आरोपितको खोजी भईरहेको प्रहरी नायब उपरिक्षक मिश्रले बताउनुभयो ।