logo
२०७८ कार्तिक ४ बिहीवार



अल्जाइमरपीडितलाई माया

विचार/दृष्टिकोण |




कृष्णहरि बास्कोटा

आज सेप्टेम्बर २१ विश्व अल्जाइमर चेतना दिवस हो । विश्व अल्जाइमर सङ्गठनले यस वर्ष “लेट्स टक एबाउट डिमेन्सिया” अर्थात् “डिमेन्सिया रोगबारे चर्चा गरौँ” भन्ने नारा तय गरेको छ । यो रोग मूलतः पाका उमेरका नागरिकमा लाग्ने भए पनि कम उमेर समूहका व्यक्तिहरूमा पनि यसको लक्षण देखिन थालेको विभिन्न अध्ययनले
देखाएको छ ।
विश्वव्यापी अध्ययनका अनुसार प्रत्येक तीन सेकेन्डमा एकजना व्यक्तिलाई यो रोग लाग्ने गरेको अनुमान छ । यसलाई बोलीचालीको भाषामा बिर्सिने रोग अर्थात् विस्मृति रोग भनेर पनि बुझ्ने गरिन्छ । हामी सबैले दैनिक जीवनमा प्रत्येक क्षण भुल्ने र बिर्सिने गरेका छौँ । तथापि, कुनै पनि व्यक्तिमा बिर्सिनेक्रम बढ्दै गएमा त्यस्ता व्यक्तिप्रति हेय भावना नराखी स्याहार, सुसार, उपचार र आदरभाव प्रकट गर्नु हाम्रो कर्तव्य हो ।
विशेषगरी, वृद्धावस्थामा पुगेपछि केही मानिसमा मनोभ्रम हुनु स्वाभाविकै हो । नेपालमा यस समस्याबाट कति मानिस पीडित छन् भनी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छैन, तथापि करिब तीनदेखि पाँच प्रतिशत जनसङ्ख्यामा यो समस्या रहने विश्वव्यापी मान्यता छ । यस हिसाबले नेपालमा करिब ७८ हजार मानिस यस रोगबाट पीडित रहेको बुझिन्छ । तर, यो न्यून सङ्ख्या हो । नेपालमा सरदर आयु वृद्धि भएर ७० वर्षको नजिकमा पुगेको छ । वृद्ध उमेरका मानिसको जनसङ्ख्या बढ्दै जाँदा यस रोगका पीडितहरू पनि वृद्धि हुँदै जानु स्वाभाविकै हो ।
डिमेन्सिया रोग अर्थात् डिप्रेसन वा उदासिनताको (मनोरोग) रोगबाट विश्वमा करिब ३० करोड मानिस पीडित भएको अनुमान गरिन्छ । यसर्थ, विश्वव्यापीस्तरमा प्रत्येक अस्पतालमा ज्येष्ठ नागरिकको उपचारको विज्ञ चिकित्सक, उपकरण, वार्ड र बेड (शøया) को व्यबस्था गर्ने अभियानले तीव्रता लिएको छ । हामीले पनि जेरियाट्रिक वार्ड खडा गर्न ढिला गर्नुहँुदैन । यस विषयमा विज्ञ चिकित्सक उत्पादन गर्न छात्रवृत्ति दिन जरुरी छ । ज्येष्ठ नागरिकको उपचारका लागि विशिष्टीकृत छुट्टै राष्ट्रिय अस्पताल निर्माण गर्नुपर्छ । यस्तो अस्पताल प्रदेशस्तरमा पनि स्थापना गर्नु समयको माग हो ।
हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवासम्बन्धी विविध कार्यक्रमको पहल गरिआएको छ । जसअनुसार, घरमा आधारित स्वास्थ्य सेवा मापदण्ड र कार्यविधि, २०७६ ले ज्येष्ठ नागरिकलगायतका लक्षित समूहलाई घरमै सेवा प्रदान गर्न मार्गनिर्देश गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा ज्येष्ठ नागरिकको सेवाका लागि नर्स तथा प्यारामेडिक्सका लागि तालिम सञ्चालन भइरहेको छ ।
हाल एक सयभन्दा बढी शøयाका १२ वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन भइआएकोमा चारवटामा यो सुविधा थप भई १६ वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड खुलेको छ । यस अतिरिक्त, स्वास्थ्य बीमा बोर्डद्वारा ज्येष्ठ नागरिकका लागि रु. एक लाखको बीमा सञ्चालनमा आएको छ । ७५ वर्षमाथिका नागरिकलाई तोकिएका अस्पतालमा डाइलासिस तथा मुटुरोगलगायतको निःशुल्क उपचार व्यवस्था छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट नर्सिङ जनशक्तिलाई जेरियाट्रिक तालिम प्रदान गरिएको छ । यी काम सराहनीय छन् ।
नेपाल सरकारले अल्जाइमर रोग लागेकालाई एकमुष्ट रु. एक लाख दिने व्यवस्था गरेको छ तर यो पर्याप्त छैन । यसलाई कम्तीमा पनि रु. पाँच लाख पु¥याउनुपर्छ ।
अल्जाइमर रोगबारेमा जनमानसमा ठूलो भ्रम र अज्ञानता विद्यमान रहेकाले जनचेनतामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ । यस रोगको प्रकृति, उपचार पद्धति, रोगीलाई दिइनुपर्ने उचित स्याहार–सुसारका बारेमा घरपरिवार र समाजलाई समुचित जानकारी दिन सके यस रोगबाट पीडित कसैले पनि हेलाँ वा अवहेलना सहनुपर्ने थिएन । यो रोग उपयुक्त खानपानको व्यवस्था र उपयुक्त मायालु वातावरणबाट न्यून गर्न सकिन्छ । यसर्थ, यसका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्छ ।
हाल नेपालका ज्येष्ठ नागरिक विविध रोगले पीडित छन् । विशेषगरी ज्येष्ठ नागरिकमा रक्तचापको समस्या बढेको देखिएको छ । पेटसम्बन्धी रोग, मुटु रोगबाट पीडित छन् । बुढेसकालमा सुन्ने शक्ति कम भएर कानमा इएरफोन लगाउनुपर्ने हुन्छ भने आँखा कमजोर भएर चस्मा लगाउनुपर्छ । यस अतिरिक्त पेसमेकर जडान गरिएका ज्येष्ठ नागरिक पनि निकै छ । हाडजोर्नी र नशाको समस्या, पायल्स र ग्यास्ट्राइटिस पीडित पनि थुप्रै छन् ।
अधिकांश ज्येष्ठ नागरिकले नियमित रूपमा रगत तथा मूत्र परीक्षण गराउनुपर्ने हुन्छ । उनीहरू डाइबेटिज र निमोनियाबाट पीडित हुन पुग्छन् । कैयौँ ज्येष्ठ नागरिकले नियमित रूपमा फिजियोथेरापी गराउनुपर्ने हुन्छ । यसर्थ, नेपाल सरकारले आधुनिक चिकित्साका अलावा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपङ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिको अनुसन्धान, विकास र उपयोगमा जोड दिएको छ । हामीले समयमै ज्येष्ठ नागरिकको उचित स्याहार–सुसार गर्न सके, उनीहरूलाई आवश्यकताअनुसार ‘मल्टी भिटामिन’ खुवाउन सके र समुचित आदरपूर्ण वातावरणमा राख्न सके बिर्सन रोगबाट धेरै हदसम्म त्राण पाउन सकिनेछ । यसर्थ, हामीले उमेरजन्य विभेद अन्त्यको यात्रालाई सफल तुल्याउनुपर्छ ।
यथार्थमा, ज्येष्ठ नागरिक त्यसै रोगी भएका होइनन् । उनीहरूले भोगिरहेको अवस्थाले पनि तिनलाई बिर्सने रोगले च्याप्दै गएको पाइन्छ । ज्येष्ठ नागरिक सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षालगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट वञ्चित रहेका छन् । उनीहरू अन्य समूहको तुलनामा पीडित, कुण्ठित र दयनीय अवस्थामा छन् । रेखदेख र सहयोग गर्ने व्यक्तिहरूको अभाव घरभित्रै पनि खड्कँदो छ भने भएकाहरूमा पनि वृद्धावस्था व्यवस्थापनको सीप एवम् अनुभवको अभाव छ । बसाइँ सराइ र बढ्दो वैदेशिक रोजगारीका कारण ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणमा चुनौती थपिँदै गएको छ । यसबाट ज्येष्ठ नागरिकमा विरक्तिको भाव पैदा भई बिर्सने रोगले सताउने
गरेको छ ।
ज्येष्ठ नागरिकको पक्षमा सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तथा कार्यक्रम तय गर्र्नुपर्छ । उनीहरूको बहुमूल्य ज्ञान, सीप र अनुभवलाई समग्र समाज र राष्ट्रको हितमा परिचालन गर्नुपर्छ । आमसचेतीकरण, संवाद र सहकार्यमार्फत अन्तरपुस्ताबीचको दूरी कम गरी ज्येष्ठ नागरिकलाई परिवारमा खुसीपूर्वक बस्ने वातावरण सिर्जना गर्नुपर्छ । आवश्यक राहत र पुनःस्थापनाको कामलाई प्राथमिकीकरण गर्नुपर्छ । ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम सञ्चालन गर्नुपर्छ ।
यस अतिरिक्त, ज्येष्ठ नागरिकलाई आर्थिक सुरक्षाका साथै आत्मनिर्भरताका लागि सीपमूलक तालिम दिनुपर्छ । ज्येष्ठ नागरिकसम्बन्धी समग्र सूचना एवम् तथ्याङ्क सङ्कलन एवम् व्यवस्थित गर्न स्रोत केन्द्रको स्थापना गर्नुपर्छ । आमज्येष्ठ नागरिकको प्रोफाइल तयार गरी उनीहरूको क्षमताअनुसार राष्ट्रनिर्माणमा उपयोग गर्नुपर्छ । उपयुक्त अवसर र वातावरण पाएपछि हत्तपत्ती अल्जाइमर रोगको सिकार हुनु नपर्ने परिस्थिति सिर्जना हुनेछ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने वातावरण निर्माणमा पहल गर्नुपर्छ । 
(लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका कार्यकारी सदस्य हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?