logo
२०८० चैत्र १६ शुक्रवार



पाँच वर्षदेखि पक्की पुल निर्माण अलपत्र

प्रदेश |




डडेल्धुरा, असोज ४ गते ।  डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ ।

रु दुई करोड ५० लाखको लागत रहेको पुलको निर्माण दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी डडेल्धुरा जिल्लाकै राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीको जेभीसँग विसं २०७२ मा सम्झौता भएको थियो तर सम्झौता भएको पाँच वर्ष पुग्दासम्म पनि तीन प्रतिशतमात्रै काम भएको छ । पुल निर्माण सम्पन्न गर्ने अवधि सकिएको तीन वर्ष भएको छ तर खोलाका दुवैपट्टि अपुरा पिलर राखेर पुल अलपत्र अवस्थामा छ ।

बर्सातको समयमा खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहरदोहर गर्न समस्या भएको स्थानीय सुरेन्द्र देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत बेवास्ता गर्दा जोखिमपूर्णरूपमा खोला वारपार गर्नुपरेको छ ।” समयमै पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको र पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटकपटक आग्रह गर्दा पनि निर्माण हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताउनुभयो ।

काम सम्पन्न गर्नका लागि छ महिनाको म्याद थप भएकाले यो अवधि सकिँदा पनि काम सम्पन्न नगरेमा निर्माण कम्पनीलाई कारवाही गरिने सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ । यता पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी लोकेन्द्र गुरुङले स्टिमेट रिभाइज भएकाले काममा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । निर्माण व्यवसायी गुरुङले तत्काल काम शुरु गरी सडक डिभिजन कार्यालयले थप गरेको म्यादमा काम सम्पन्न हुने बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?