logo
२०८० चैत्र १५ बिहीवार

  जमुनाह नाकामा भारत फर्कने बढे  



दैनिक तीनसय फर्कदै, आउँदा नागरिकता, फर्कदा रासन कार्ड

प्रदेश |


दैनिक तीनसय फर्कदै, आउँदा नागरिकता, फर्कदा रासन कार्ड


सिराज खान
नेपालगञ्ज, असोज ३ गते । कोभिड १९ महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् ।
गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल भारत नाका जमुनाह भएर  २५ सय बढी नेपाली भारत छिरेको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले भदौ २७ गतेबाट दैनिक तीनसयको हाराहारीमा रोजगारीका लागि नेपालीह भारतका विभिन्न सहरमा गैरहेको बताउनुभयो । प्रमुख गिरीका अनुसार एकसाताको अवधिमा करिब २५ सय नेपाली यो नाकाबाट भारत फर्किसकेका छन् ।
उहाँले कोभिड १९ का कारण नेपाल भारत सीमाना बन्द भए पनि भारतमा रोजगारी गर्ने अधिकांश नेपालीसँग भारतीय आधार कार्ड रहेकोले सोही देखाएर उनिहरु फर्किरहेको बताउनुभयो ।
भारतमा बन्दाबन्दी हुँदा काम नपाई बाध्य भएर नेपाल फर्किएको बताउँदै पहाडी जिल्लाका नेपालीले नेपालमा पनि रोजगारी नपाएपछि फेरि बाध्य भएर भारतनै जानुपरेको बताएका छन् ।
भारत जान भनि जमुनाह नाकामा पुग्नुभएका दैलेख नारायण नगरपालिका ४ का दीपक थापाले नेपाल फर्किएको तीन महिना पुगे पनि गाउँघरमा कुनै काम नपाएपछि भोकै बस्ने अवस्था आएकोले फेरी बाध्य भएर रोजगारीका लागि भारतको शिमला जान थालेको बताउनुभयो ।
उहाँले आफ्नो देशमा रोजगारी नपाएर नै विदेशी भुमिमा गएर दुखकष्ट सहनुपरेको दुखेसो सुनाउनुभयो ।यस्तै सल्यान थारमारेका अर्का युवक रामबहादुर विकले पनि नेपालमा रोजगार नपाएपछि फेरि भारत फर्किन थालेको बताउनुभयो । उहाँले कोरोना भन्दा पेट पाल्ने चिन्ता बढी भएपछि फर्किएको जनाउनुभयो ।
कोरोनाको डरले नेपालमा बस्ने हो भने दुई छाक टार्न समस्या हुन थालेपछि भोकै बस्नुभन्दा रोगसँग लड्दै रोजगारीमा लाग्ने ठानेर नै आफुहरु भारत फर्किन लागेको अधिकांश नेपालीको भनाई छ ।
भारतमा बन्दाबन्दी शुरु भएपछि कामबाट निकालिएका नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश छिरेका थिए भने अहिले उनिहरुले भारत जानका लागि भारतीय आधार कार्ड देखाइरहेको जमुनाह प्रहरीले जनाएको छ ।
नेपाली नागरिकता भएकालाई नेपाल आउन र भारतीय आधार कार्ड भएकालाई भारत जान सजिलो भएपछि भारत जाने अधिकांश नेपालीले आधार कार्ड बोकेर आइरहेको जमुनाह प्रहरी प्रमुख गिरीले बताउनुभयो ।
यसैविच जनता समाजवादी पार्टी बाँके र जनमत पार्टी बाँकेले जिल्ला प्रशासन कार्यालयमार्फत छुट्टाछुट्टै ज्ञापनपत्र सरकारलाई पठाएर सबै खुली सेकेको अवस्थामा तत्काल सीमाना पनि खोल्नुपर्ने माग गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?