logo
२०८० चैत्र १५ बिहीवार



अवैध उत्खनन गरिएकाे दुई करोडभन्दा बढीको बालुवा बारे प्रहरी अनुसन्धान शुरू

खुला |





बिदुर आचार्य,
चौतारा, असोज २ गते । जिल्ला समन्वय समितिको अनुगमन टोलीले जिल्ला भित्रका विभिन्न स्थानहरुमा ठूलो परिमाणमा अवैध उत्खनन् र संकलन गरिएको नदीजन्य पदार्थलाई नियन्त्रणमा लिई सिल गरेको छ । अनुगमनको क्रममा ३५ हजार ३१९ घनमिटर बालुवा नियन्त्रणमा लिइ सिल गरिएको समन्वय समितिले जनाएको छ ।

अवैध उत्खनन्का सामाग्री बोकेका पाँच सवारी साधनलाई कारवाही समेत गरेको समितिले जनाएको छ । असारदेखि तीन महिना नदी तथा खानीजन्य सामाग्री निकाल्न रोक लगाएको थियो । तर जिल्लाभर असार यता ३५ हजार घनमिटर बढी बालुवा अनुगमनको क्रममा बरामद भएको जिल्ला समन्वय समितिकी उपप्रमुख वालकुमारी सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार दुई करोड ५० लाख रुपियाँभन्दा बढीको बालुवा सिल गरिएको छ ।

अवैध उत्खनन् गरिएका नदीजन्य सामाग्री बोकेका सवारी कारवाहीमा डेढ लाख राजस्व संकलन हुने भएको छ । जिल्लाका सुनकोशी, ईन्द्रावती र ब्रम्मायणी नदी आसपासका १४ स्थानमा अनुगमनको क्रममा बालुवा सिल गरिएको हो । वलेफी–४ आँपवोटेमा एकै स्थानमा १५ हजार घनमिटर सहितको बालुवा जफत भएको हो ।

जिल्लामा पहिलोपटक ठूलो मात्रामा नदीजन्य सामाग्री जफत गरिएको समितिले जनाएको छ । जफत गरिएको बालुवा लिलाम विक्री गर्ने अधिकार स्थानीय तहलाई भएकाले सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनुभयो ।

जिल्लामा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य पदार्थको अनुगमन गरी प्रतिवेदन पेश गर्न समन्वय समितिको उपप्रमुख वालकुमारी सापकोटाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र सम्बिन्धित स्थानीय तहका प्रतिनिधि सम्मिलित एक अनुगमन टोली गठन गरेको थियो । ‘अनुगमन टोलीको प्रतिवेदन अनुसारको कारवाही अगाडि बढाउन स्थानीय तहलाई जानकारी गराईएको छ ।’ अनुगमन समितिका प्रमुख तथा समन्वय समितिका प्रमुख तामाङले भन्नुभयो । जफत भएका बालुवा सम्बन्धित स्थानीय तहले आफ्नो कार्यविधि अनुसार लिलाम विक्री गर्न सक्ने जिल्ला समन्वय समितिले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?