logo
२०८० चैत्र १६ शुक्रवार



पश्चिम एसियामा शान्ति–युग

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा इजरायलसँग संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनले ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । तीन देशबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएसँग पश्चिम एसिया (मध्य पूर्व एसिया पनि भनिने)मा शान्तिको युग सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा भएको शान्ति सम्झौतासँगै यस क्षेत्रमा सम्बन्ध सुधारले गति लिने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र युएईका राजकुमार मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । सम्झौताअनुसार इजरायलले पश्चिमी किनाराको ठूलो हिस्सालाई मिलाउने आफ्नो योजना स्थगित गरेको छ ।
हालसम्म खाडीका अरब देशहरूसँग इजरायलको कूटनीतिक सम्बन्ध थिएन । खाडी देशबाट अलग अरबका दुई देश जोर्डन र इजिप्टसँग मात्र इजरालयको कूटनीतिक सम्बन्ध थियो । इजरायलसँग कूटनीतिक सम्बन्ध राख्ने युएई अब तेस्रो अरब राष्ट्र बनेको छ । यसअघि कूटनीतिक सम्बन्ध नभए पनि युएईसँग इजरायलको युद्ध भने भएको छैन ।
अमेरिकामा युएईका राजदूत युसुफ अल ओतैबाले यो सम्झौतालाई भन्नुभएको छ– कूटनीतिक र भूगोलका लागि जित हो । यो अरब–इजरायल सम्बन्धमा एक महŒवपूर्ण कदम हो, जसले तनाव कम गर्नेछ र सकारात्मक परिवर्तनका लागि नयाँ ऊर्जा निर्माण गर्नेछ ।
सन् १९४८ मा इजरायल स्वतन्त्र राष्ट्र भएपछि इजरायलको तेस्रो शान्ति सम्झौता हो । यसअघि इजिप्टसँग सन् १९७९ मा र जोर्डनसँग सन् १९९४ मा सम्झौता भएको थियो ।
यो सम्झौताले इजरायल र युएईका प्रतिनिधिहरू वार्तामा बस्न मार्गप्रशस्त गरेको छ । अब लगानी, पर्यटन, सिधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य, संस्कृति, पर्यावरण र पारस्परिक दूतावासहरू स्थापनाका लागि पहल गरिनेछ ।
अब दुवै देश मध्यपूर्वका लागि रणनीतिक एजेन्डा तय गर्न पनि अमेरिकासँग सहकार्य गर्नेछन् । यस क्षेत्रमा खतरा र अवसरलाई लिएर समान दृष्टिकोण बनाउने प्रतिबद्धता दुवै मुलुकको छ । साथै, कूटनीतिक सम्बन्ध, आर्थिक एकीकरण र सुरक्षाका माध्यमबाट स्थिरता बढाउन साझा प्रतिबद्धता जनाउनेछन् ।
यो ऐतिहासिक सम्झौतालगत्तै इजरायल र युएईबीच सिधा हवाई उडानको औपचारिक सुरुवात गरेका छन् । यस कदमले सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको सङ्केत गरेको छ ।
पहिलोपटक इजरायलको बेन गुरिओन विमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजावाहक अल–एल विमान युएईको अबुधाबी पुग्यो । विमानमा सवार अमेरिकी प्रतिनिधिमण्डलमा राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार एवम् ज्वाईं जारेड कुस्नर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायन, मध्यपूर्वका लागि अमेरिकी विशेष दूत अभी बर्कोविजलगायत हुनुहुन्थ्यो । इजरायली प्रमण्डलमा भने राष्ट्रिय सुरक्षा सल्लाहकार मायर बेन–साबात र विभिन्न मन्त्रालयका महानिर्देशकहरू थिए । यस अभियानलाई दुई देशबीच स्थापित कूटनीतिक सम्बन्धको पहिलो कोसेढुङ्गाका रूपमा हेरिएको छ । दुवै देशबीच सम्बन्ध सामान्यीकरणका लागि विभिन्न क्षेत्रमा नयाँ–नयाँ योजना अघि सारिएको छ ।
विमानमा चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै कुस्नरले यस ऐतिहासिक उडानमा रहभागी हुन पाएकोमा आभार व्यक्त गर्दै मध्यपूर्वसमेतका अरू देशसँगको सम्बन्ध विकास गर्न यो ऐतिहासिक प्रस्थानबिन्दु हुने विश्वास व्यक्त गर्नुभयो ।
इजरायल र युएईबीच सम्बन्ध स्थापना भएकोमा साउदी अरेबियाले सकारात्मक रूपमा लिएको छ । साउदी अरेबियाले इजरायल र युएईलाई आफ्नो आकाशबाट हवाई उडानका लागि अनुमति दिएको छ ।
इजरायल र युएईले साउदी अरेबियालाई यो अनुमतिका लागि विशेष अनुरोध गरेका थिए । सो अनुमतिको पक्षमा अमेरिकाले पनि साउदी अरेबियासँग मध्यस्थता गरेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युएई र इजरायलले आगामी केही समयभित्र नै साउदी अरेबियासँगको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको धारणा सार्वजनिक गर्नुभएको थियो ।
अमेरिकाको मध्यस्थतामा युएई, इजरायल र साउदी अरेबियाबीच गत अगस्ट १३ मा सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम नै साउदी अरेबियाले यो निर्णय गरेको हो । तीन देशीय विज्ञप्तिमा यो एक साहसिक निर्णय हो भनिएको छ । त्यसमा मध्यपूर्वको विकास, सममृद्धिका साथै यहाँको स्थायित्वका लागि पनि निकै नै सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरिएको छ ।
युएईले इजरायलसँग शान्ति सम्झौता गरेपछि अर्को अरब मुलुक बहराइनले पनि इजरायलसँग शान्ति सम्झौता गरेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई अर्को ऐतिहासिक घटना भन्नुभएको छ ।
इजरायलका प्रधानमन्त्री नेतान्याहुले यसलाई शान्तिको नयाँ युग भन्दै मध्यपूर्वमा शान्ति, स्थायित्व र विकासलाई यस कदमले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । इजिप्टले पनि यस घोषणाको स्वागत गरेको छ ।
गत जनवरीमा इजरायल प्यालेस्टाइन द्वन्द्व समाधानका निम्ति नयाँ मध्यपूर्व शान्ति योजना पेस गर्नुभएका ट्रम्पले युएई तथा बहराइनसँगका शान्ति प्रयासको मध्यस्थता गर्नुभएको थियो । अब इजरायललाई मान्यता दिने बहराइन चौथो अरब देश बनेको छ ।
उता मध्यपूर्व, दक्षिण एसिया र कोरियामा शान्तिका लागि महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबल शान्ति पुरस्कारका लागि मनोनीत गरिएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकाको सबैभन्दा कटु सम्बन्ध भएको उत्तर कोरियासँग सम्बन्ध गाँस्न गरेको प्रयासले पनि उहाँलाई यो पुरस्कारको हकदार मानिएको हो । ट्रम्पले पहिलोपटक सिङ्गापुरमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग शान्तिवार्ता गर्नुभयो । शान्तिवार्ताका लागि उहाँ उत्तर कोरिया र दक्षिण कोरियाको सीमाक्षेत्रमा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नुभयो । त्यसैगरी, ट्रम्प र किमबीच भियतनाममा पनि शान्तिवार्ता भएको थियो । त्यस्तै अफगानिस्तानमा विद्रोही तालिवान समूहसँग अमेरिकी सेना फिर्ता लिन भएको सहमतिलाई पनि ट्रम्पको सफलताका रूपमा लिइएको छ । ट्रम्पकै पहलमा अफगान सरकार र तालिवानबीच शान्तिवार्ता सुरु भएको छ । यससँगै अमेरिकाले इराकमा रहेका एकतिहाइभन्दा बढी सेना फिर्ता लिने भएको छ ।
मध्यपूर्वका शीर्षकमान्डर जनरल केनेथ म्याकेन्जीले सेप्टेम्बर महिनाभित्र इराकबाट सेनाको उपस्थिति पाँच हजार दुई सयबाट घटाएर तीन हजार पु¥याउने बताउनुभएको छ । बाँकी रहेका सेनाले भने इस्लामिक स्टेटको अन्तिम अवशेष जम्मा गर्ने बेलासम्म इराकी सुरक्षा बललाई सल्लाह र सहयोग गर्ने पनि म्याकेन्जीले स्पष्ट गर्नुभएको छ ।
मूलतः इजरायल नै मध्यपूर्वको सबैभन्दा शक्तिशाली राष्ट्र हो । अमेरिकाको पूर्ण सहयोग र समर्थन रहेको इजरायललाई मध्यपूर्वको ‘सानो अमेरिका’ पनि भनिन्छ । करिब ९३ लाख जनसङ्ख्या भएको यसको लामो समयदेखि अरबी मुलुकहरूसित द्वन्द्वको अवस्था रहेकोमा पछिल्ला दिनमा सम्बन्ध सुधारको नयाँ प्रयास सुरु भएको छ ।
इजरायलसित नयाँ सम्बन्ध स्थापना गरेको युएईको क्षेत्रफल ८३ हजार छ सय वर्गकिलोमिटर र जनसङ्ख्या करिब ९९ लाख छ । इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर युएईले शान्तिका लागि ढोका खोलेको छ । बहराइनको क्षेत्रफल ७८० वर्गकिलोमिटर र जनसङ्ख्या करिब १६ लाख छ । राजतन्त्रात्मक मुलुक बहराइनले इजरायलसँगको सम्बन्ध सुधारले अमेरिकासँग निकटता बढ्ने आशा गरेको छ ।
मध्यपूर्वमा शान्ति र स्थायित्वका लागि इजरायलसित सुरु भएको नयाँ सम्बन्ध विस्तार गर्न अरू अरब मुलुकहरूले पनि सहृदय उदारता देखाउनु आवश्यक छ । मध्यपूर्वमा शान्ति आजको प्रमुख आवश्यकता हो । हिंसा र द्वन्द्वले मानवताको कल्याण
हुन सक्दैन ।

(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?