logo
२०८१ बैशाख ७ शुक्रवार



कर्मचारीतन्त्रमा सकारात्मक मनोज्ञान

विचार/दृष्टिकोण |




डा. गोविन्दप्रसाद कुसुम

पढेलेखेका बुद्धिजीवी समुदायभित्र अहिले दुईखाले सोचले ठाउँ लिएको सोसल मिडिया (सामाजिक सञ्चार सञ्जाल) भित्र खुबैसँग हेर्न र पढ्न पाइन्छ । एउटा सोचले नकारात्मक कुराहरूलाई सम्प्रेषण गरिरहेको हुन्छ, अर्को सोचले सकारात्मक पक्षलाई सम्बोधन गर्न खोजिरहेको हुन्छ । सकारात्मक भावका अभिव्यक्तिउपर गालीगलौज हुन्छन्, जसलाई पढ्न पनि लाज लाग्छ । नकारात्मक टिप्पणीउपर भने प्रतिक्रियाहरू समर्थनमा आउँछन् ।
नकारात्मक टिप्पणी गर्न रुचाउनुलाई व्यक्तिको मनोविज्ञानले प्रभाव पारेको हुन्छ । नकारात्मक टिप्पणीलाई समर्थन गर्दै आफ्नो विचार दिनेलाई पनि नकारात्मक मनोविज्ञानले ग्रस्त बनाएको हुन्छ ।
जब मानिस आफ्नो काममा अति व्यस्त हुन्छ, उसलाई सोसल मिडियामा प्रवेश गरेर नानाभाँतीका कुराहरूमा समय दिने समय हुँदैन । आर्थिक, वैज्ञानिक, प्राविधिकलगायत अन्य कार्यमा जब अति व्यस्त हुन थाल्छ, व्यक्तिले अन्य टिप्पणी र अर्थहीन काममा आफ्नो समय खर्च गर्दैन । नेपालका प्रत्येक नागरिक आर्थिकलगायत अन्य क्रियाकलापमा व्यस्त हुने अवस्था जतिखेर आउँछ, त्यतिखेर चौतारीमा बसेर पसिना पुछ्नबाहेक कुरा काटिबस्ने फुर्सद हुन्छ र ? त्यसैले नकारात्मक कुराहरू आउनुको मुख्य कारण कुण्ठा, निराशा, असन्तोषजस्ता व्यक्तिको मनोविज्ञानसँग सरोकार राख्ने विषयहरूको उपज हो ।
कार्ल माक्र्सले कम्युनिस्ट क्रान्ति सबभन्दा पहिले जर्मनीलगायत पश्चिमी युरोपमा हुन्छ भनेका थिए । तर, त्यसको ठीक उल्टो रूसमा बोल्सेभिक क्रान्ति भयो । माक्र्सले देखेको र लेखेको युरोपमा कम्युनिस्ट क्रान्ति हुनै सकेन । यसको एउटा कारण थियो, त्यहाँ औद्योगिक क्रान्ति भयो, जसले मजदुरहरूको अधिकारलाई स्थापित ग¥यो । आर्थिक क्रियाकलापको विकास भयो र ती क्रियाकलापको अग्र र पृष्ठसम्बन्धमा आमनारिकको ठूलो संलग्नता रह्यो । जब मानिस आफ्नो भरणपोषणका लागि काम गर्ने अवसर पाउँछन्, उनीहरूले चौतारीमा बसेर गफ गर्दै समय फ्याँक्दैनन्, उनीहरूमा नकारात्मक मनोचिन्तन हाबी हुन पाउँदैन ।
नेपालमा रोजगारीको अवसर कम हुनु, नेपाली युवा बाध्यतावश वैदेशिक रोजगारीमा गएर दुःख पाउने स्थिति बन्नु, आर्थिक क्रियाकलापमा गिरावट आउनु, उत्पादनमूलक उद्योगहरूको विकास नहुनु, भएका उद्योगहरू पनि मूल्य अभिवृद्धि (भ्यालु एड) गर्नेभन्दा पनि अन्य हिसाबले सञ्चालन गर्नेतर्फ जोड दिने मनोविज्ञान हाबी हुनु, रोजगार र निर्यातमूलक उद्योगहरूको स्थापना गर्नेतर्फ निजी क्षेत्र उत्साही नबन्नुजस्ता कारणले रोजगारीको अवसर साँघुरो भएको छ । यस्तो साँघुरोपनाले गर्दा ज्याला रोजगार वा स्वरोजगारमा नागरिकको क्रियाशीलता बढ्दैन । फलतः यसको दोष भागी सरकार बन्न पुग्छ ।
सरकारले जनताका लागि केही गरेन, जनताबाट कर असुल्छ तर अनुत्पादक क्षेत्रमा खर्च गर्छ, नागरिकप्रति जिम्मेवारी देखिएन भन्दै सरकार र सरकारका प्रतिनिधिप्रति रोष, व्यङ्ग्य र तल्लो तहसम्म ओर्लेर गालीगलौज गरेको देखिन्छ । यस्तो नकारात्मक टिप्पणी खेतमा काम गर्ने किसानले गर्दैन । किनकि उसलाई खेतमा काम गर्नै भ्याइनभ्याइ छ । उसलाई फुर्सद छैन । तर पढे–लेखेकाहरूबाटै यसप्रकारका नकारात्मक टिप्पणी आउने गर्छन् । यी पढालेखाहरू नेपालमै बसेर समयको दुरुपयोग गरेको हुन सक्छन् वा विदेशमा बसेर नेपालको सञ्चार र सोसल मिडियामा आएका कुरा हेरेर आफ्नो मानसिकता बनाएका हुन सक्छन् । कानुनको दायराभित्र आउने कुनै पनि प्रकारको अभिव्यक्ति दिनु, आलोचना गर्नु, सरकारलाई खबरदारी गर्नु लोकतन्त्रको अभिव्यक्ति, स्वतन्त्रताको मर्मभित्र पर्छन् । तर, पढेलेखेकाहरू कैयौँमै यस्तो नकारात्मक सोच हाबी छ, किन ?
जसले मुलुकलाई सकारात्मक दिशातर्पm लैजान सक्ने सामथ्र्य राख्छ, उसको मनोज्ञानमा नकारात्मक भाव सरकारप्रति किन सिर्जना हुन्छ ? त्यो बुभ्mनु जरुरी छ । पढेलेखेको त्यो शिक्षित वर्गले क्षमताअनुसारको अवसर नपाएका कारणले पनि उसमा असन्तोष सिर्जना भएको हुन्छ । राज्यले आमनागरिकको असन्तोष व्यवस्थापन समय छँदै गर्नुपर्ने हुन्छ । ढिलो हुँदा त्यसले दुःखद परिणामलाई नजिक ल्याउँछ ।
अर्कोतिर, सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्ने संयन्त्रमा त्यो कार्यकुशलता र कार्यदक्षता उजागर हुन सकेको छैन । सार्वजनिक सेवा प्रवाह गर्ने जिम्मेवारी बोकेको संयन्त्रले परम्परागत शैलीमै काम गर्ने साबिकको ढाँचामा परिवर्तन गर्न सकेको छैन । हिजो जसरी चलेको थियो, आज पनि त्यसैगरी चल्छ भन्ने मनोविज्ञानले जरा गाडेको छ । यो मनोविज्ञानमा परिवर्तन नआएसम्म सरकारको नीति र कार्यक्रमले जनताको छाप्रोमा उज्यालो ल्याउन सक्दैनन् । जनताको छाप्रोमा बत्ती नबलुन्जेलसम्म सरकारप्रतिका नकारात्मक अभिव्यक्तिहरू सोसल मिडिया र मिडियाका अन्य साधनमा देखिन छोडिने छैनन् ।
मनोविज्ञानमा परिवर्तन भन्नाले ‘माइन्ड सेट चेन्ज’ (अवधारणा परिवर्तन) हो भन्ने पढालेखाले बुझ्छन् होला । कर्मचारीतन्त्रको समग्रतामा रहेको ‘फिक्स्ड माइन्ड सेट’ (स्थिर, पुरातनपन्थी अवधारणा)लाई ‘ग्रोथ (विकसित) माइन्डसेट’मा परिवर्तन गर्नुपर्छ । फिक्स्ड माइन्ड सेट (पुरातनपन्थी)ले भइरहेको जुन प्रक्रिया र सोच छ, त्यसमा परिवर्तन गर्दा त्यसले अप्ठेरो ल्याउँछ, त्यसैले माइन्ड सेटमा परिवर्तन हुनुहुँदैन भन्ने विश्वास गर्छन् र परिवर्तनलाई स्वीकार गर्दैनन् । यस्तो माइन्ड सेट भएका कर्मचारीहरूले विगतमा जे भयो, त्यसको निरन्तरतामात्र चाहन्छ । उसले जोखिम उठाउन चाहँदैन । जोखिम उठायो भने आफू भड्खालोमा परिन्छ भन्ने ठान्छ । जसरीतसरी आफ्नो कार्यकाल सक्न पाए पुग्यो भन्ने सोच्छ ।
प्रदेश सरकारमा कार्यरत एकजना उच्च तहका पदाधिकारीले मसँग गुनासो गर्नुभयो, ‘अमूक मन्त्रालयका सचिवले कुनै पनि विषयमा निर्णय नगरिदिँदा मन्त्रालयले गर्नुपर्ने काममा अप्ठेरो आएको छ । सेवा प्रवाह हुन सकेको छैन । अनुरोध गर्न जाँदा सचिवले भन्नुहुन्छ– जसोतसो मेरो कार्यकाल सक्ने हो । निर्णयहरू गरेर केही हुनेवाला छैन । बरु निर्णय ग¥यो भने अप्ठेरो हुन्छ । आलोचना आउँछ । नदुखेको टाउकोलाई डोरीले बाँधेर किन दुखाउनु ? सरकारले मलाई मन पराएन भने अर्को प्रदेशमा सरुवा गर्ला । ठिकै छ, त्यहीँ जाउँला । तर, मलाई तपार्इंहरूले दबाब नदिनूस् । कस्तोखाले सचिव हो उहाँ ? मलाई त आश्चर्य लाग्छ ।’
सचिवको यो सोच फिक्स्ड माइन्ड सेटको उपज हो । त्यही भएर होला स्टान्डफोर्ड युनिभर्सिटीका मनोविज्ञानवेत्ता कारोल डिवेकको भनाइमा– सधैँभरि चुनौतीपूर्ण कार्यको छनोट गर्नुपर्छ । सुरक्षित क्षेत्र खोजेर काम गर्नेले कहिल्यै माइन्ड सेट चेन्ज गर्न सक्दैन ।अहिलेको कर्मचारीतन्त्रको समस्या नै यही हो । स्थायी सरकारको नाम पाएको कर्मचारीतन्त्रभित्रका अधिकांश कर्मचारीहरू सुरक्षित क्षेत्र (सेफ जोन)मा रहेर काम गर्न खोज्छन् । सुरक्षित क्षेत्रमा रहेर काम गर्नेहरूले, समस्याको गम्भीरतालाई बुझ्दैनन्, उत्तरदायित्वप्रति सजग रहँदैनन् र जिम्मेवारी पन्छाएर रमाउन खोज्छन् । यही कार्य संस्कृतिको विकास नेपालको कर्मचारीतन्त्रमा हुँदै गएको छ ।
माइन्ड सेटको अर्को पाटो हो– ग्रोथ माइन्ड सेट (विकसित मनोविज्ञान) । ग्रोथ माइन्ड सेट भएको कर्मचारीले आफूमा भएको कमजोरीको मूल्याङ्कन गर्छ । कमजोरीलाई हटाउनका लागि सक्दो मिहिनेत गर्छ । आफूमा विश्वास पैदा गर्छ । चुनौतीलाई स्वीकार गर्छ र दृढताका साथ अघि बढ्छ । विकसित मनोज्ञानयुक्त कर्मचारीले गिलासमा आधा पानी छ भने आधा रित्तो गिलास भन्दैन । उसले त्यो गिलास आधा भरिएको मात्र देख्छ । यही हो, उसको सकारात्मक सोच । यही सोचको कमीका कारणले व्यक्तिमा नकारात्मक भावना सिर्जना हुन्छ ।
कर्मचारी नवप्रवर्तक हुनुपर्छ, सरकारलाई नयाँ कुरा दिन सक्नुपर्छ । नागरिकलाई प्रभावकारी सेवा दिने र सरकारलाई नीति निर्माण र निर्णय गराइमा झिँगेटँसाइ होइन, ठोस र परिवर्तनकारी सुझाव दिनुपर्छ । यी सुझावहरू हतार र हलुका हिसाबले होइन, बरु व्यावहारिक, कार्यान्वयनयोग्य र हरेक नागरिकलाई फाइदा पुग्ने हिसाबको हुनुपर्छ ।
सरकारले कर्मचारीतन्त्रलाई ग्रोथ माइन्ड सेट भएका कर्मचारीहरूको समुदायका रूपमा लैजानु जरुरी छ । कर्मचारीतन्त्र भनेको ‘वेबेरिन मोडेल‘को निरन्तरतामात्र होइन, देश र आमनागरिकको सर्वोत्तम हितका लागि गर्नैपर्ने सकारात्मक परिवर्तनमा उद्यत हात र दिमागहरूको एउटा सशक्त समुदाय हो ।
यही समुदायको चिन्तन, बानी अग्रगामी सोच र नागरिकप्रति गरिने व्यवहारले उसको माइन्ड सेट निर्धारण गरेको हुन्छ ।
अहिले कोभिड–१९ को समस्याका कारण मुलुक स्वास्थ्य, आर्थिक पक्षको अँध्यारो सुरुङभित्र छ । यसको अकल्पनीय प्रभावले भोलिको अवस्था कस्तो हुनेछ भनेर पूर्वानुमान गर्न गाह्रो छ । यस्तो बेला नकारात्मक माइन्ड सेट कर्मचारीतन्त्रमा हाबी हुनु भएन । प्रत्येक कर्मचारीको दायित्व हो– आफूमा सकारात्मक सोचको विकास गर्दै नागरिकलाई सेवा प्रदान गर्नु ।
अहिले सङ्कटबाट छुट्कारा दिलाउनका लागि जसरी डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अरू सरोकारवालाहरू दिन–रात खटिइरहनुभएको छ, उहाँहरूको सकारात्मक सोच र कर्तव्यपालनालाई बाहिर रहेका हामी नागरिकले सलाम गर्नुपर्छ । उहाँहरूको ग्रोेथ माइन्ड सेटका कारणले नै फ्रन्टलाइन (अग्रपङ्ति) बाट नागरिकले सेवा पाइरहेका छन् । कर्मचारीतन्त्रको समग्र क्षेत्रमा सकारात्मक सोचको खाँचो छ । यो खाँचो पूर्ति गर्ने वातावरण बनाउने काम निर्माणाधीन सङ्घीय निजामती सेवा विधेयकले पूरा गर्नुपर्ने देखिन्छ ।

(लेखक लोकसेवा आयोगका पूर्वसदस्य हुनुहुन्छ । ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?