logo
२०८१ बैशाख ८ शनिवार



प्लास्टिक निलिरहेका हामी

विचार/दृष्टिकोण |




आशिष आचार्य / गणेश लामिछाने

आधुनिक विकासका नाममा गरिएका मानवीय क्रियाकलापले गर्दा प्रकृतिको सन्तुलन नै खल्बलिएको अवस्थामा छ । प्लास्टिक विश्वसामु नै एक अद्वितीय समस्याका रूपमा देखिएको छ । सन् १९०७ देखि प्लास्टिक प्रयोगमा आए पनि यसको अत्यधिक प्रयोगको इतिहास करिब ५० वर्षभन्दा माथि छैन ।
अहिले विश्वमा प्रतिवर्ष औसतमा तीन सय मिलियन (लाख) टन प्लास्टिक उत्पादन हुँदै आइरहेको तथ्याङ्कले देखाउँछ । सन् २०१५ को तथ्याङ्कअनुसार उत्सर्जित प्लास्टिकको नौ प्रतिशतमात्र पुनः उपयोग गर्ने गरिएको र बाँकी सबै प्रकृतिमै जथाभावी विसर्जन गर्ने गरिएको पाइएको छ । प्लास्टिक विश्वको अग्लो टाकुरा सगरमाथादेखि समुद्रको फेदसम्म भेट्टाउन सकिन्छ ।
यस्तै, परिदृश्यका बीचमा विश्व स्वास्थ्य सङ्गठनले गरेको सर्वेक्षणअनुसार, धाराको पानीदेखि बोतलको पानीसम्ममा माइक्रो (सूक्ष्म) प्लास्टिकका अवयवहरू भेटिएको प्रमाण छ र यसले मानवजीवनमात्र नभई, समग्र प्रकृतिलाई नै हानि गरिरहेको छ । प्लास्टिकजन्य पदार्थको अत्यधिक उपयोग र चरम दुरुपयोगका कारण पर्यावरणलाई दिनानुदिन दूषित बनाइरहेका छौँ, किनकि हामीलाई सस्तो चाहिएको छ, हल्का चाहिएको छ र सजिलो चाहिएको छ । तिनै प्लास्टिक टुक्रिएर बनेका सूक्ष्म कणहरू हामीले नै निलिरहेका छौँ । यस्ता कणहरू माटोको उर्वरता र जलीय प्राणहरूका लागि समेत घातक छन् । त्यसैले हाम्रो आँखाले देख्न नसक्ने अदृश्य शत्रु हो यो माइक्रो प्लास्टिक ।

माइक्रो प्लास्टिक कसरी बन्छ ?
हाम्रा घरवरपर, सङ्घ संस्था, उद्योग र कारखानाबाट उत्सर्जन गरिएका प्लास्टिकजन्य पदार्थहरू पर्यावरणमा जथाभावी रूपमा विसर्जन गर्ने गरिएको छ । रेडियोधर्मी विकीरण, अक्सिडेसन र यान्त्रिक बलका कारण त्यस्ता प्लास्टिकहरू बिस्तारै सूक्ष्म कणहरूमा टुक्रिन्छन्, जसलाई हामी ‘माइक्रो प्लास्टिक’ (वातावरणको अदृश्य शत्रु) भन्छौँ । आकारकै हिसाबले भन्ने हो भने माइक्रो प्लास्टिक १ माइक्रोमिटर देखि ५ मिलिमिटरसम्मको हुन्छ । पछिल्लो दशकमा माइक्रोस्कोपी र स्पेक्ट्रोमेट्री प्रविधिको प्रयोग गरेर जलीय र स्थलीय पर्यावरणमा माइक्रो प्लास्टिक भए नभएको र कति मात्रामा रहेको भनेर अनुसन्धान गर्न सुरु गरिएको छ । सामुद्रिक माछाको कलेजो र मस्तिष्कमा समेत भेटिएको पाइएको छ यो । तर, नेपालमा अझै पनि त्यो किसिमको खोज र अनुसन्धान पर्याप्त भएको पाइँदैन ।
हामीले दैनिक प्रयोग गर्ने कस्मेटिक (प्रशाधन÷सिँगार)का सामान, दाँत माझ्ने मञ्जन, क्रिमहरूमा पनि माइक्रो प्लास्टिकका टुक्राहरू भेटिएको प्रमाण छ । मह, दूध र बियरजस्ता पदार्थहरूमा पनि प्रतिलिटर ४० प्लास्टिकका कणहरू भेटिएको अनुसन्धानले देखाउँछ । खेतीयोग्य जमिनमा गरिएको परीक्षणमा माटोमा माइक्रो प्लास्टिक पाइएको र त्यसले बिरुवाको अङ्कुरण र उचाइमा प्रत्यक्ष असर पार्ने गरेको पाइएको छ । हामीले दैनिक पिउनेपानीको बोतलमा पनि ठूलो मात्रामा माइक्रो प्लास्टिक भेटिएको अनुसन्धानकर्ताहरू बताउँदै आइरहेका छन् । धाराको पानी पिउनेभन्दा जार र बोतलको पानी पिउने मानिसको दिशामा पनि माइक्रो प्लास्टिक देखिएको छ ।

कसरी वातावरणमा फैलिन्छ ?
फोटोडिग्रेडेसन, बायोडिग्रेडेसन, घर्षण र हाइड्रोलाइसिस विधिबाट प्लास्टिक टुक्रिएर वातावरणमा फैलिने हो । फोहोरमैला र फोहोर पानीको उपचार गर्ने प्लान्ट, यातायात उत्सर्जन, कपडा फाइबर, माटो, जैविक मल र खोलानालामार्फत माइक्रोप्लास्टिक पर्यावरणमा मिसिने गर्छ । ल्यान्डफिल साइट (फोहोर जम्मा गर्ने ठाउँ), कपडा उद्योग, निर्माण क्षेत्र र सडकहरूबाट प्लास्टिकका टुक्राहरू हावाले उडाएर वातावरणमा फैलाउँछ र ती कणहरू अनवरत रूपमा पानीका स्रोतमा मिसिरहेका हुन्छन् । त्यसले जलीय प्राणी र ब्याक्टेरियाहरूको जीवन नष्ट गरिरहेको छ । समुद्रबाट निकालिएको नुन र पिँधमा तैरिएको बालुवाको नमुनामा समेत माइक्रो प्लास्टिकका कणहरू भेटिएको तथ्य फेलापर्नुको मुख्य कारण नै अनावश्यक र अनधिकृत रूपमा फालिएको प्लास्टिकजन्य फोहोर नै हुन् । समुद्रमा भएका प्लास्टिकका टुक्राहरूले वातावरणबाट गह्रौँ धातुहरू पनि सोसेको हुन्छ । समुद्री माछा, स्तनधारी र सूक्ष्म जीवाणुहरूले आफ्नो खानामा माइक्रो प्लास्टिक निल्नाले तिनीहरूको स्वास्थ्यमा ठूलो हानि पुगिरहेको छ ।

मानव स्वास्थ्यमा पार्ने असर
फाइबर (रेशा–धागो) र माइक्रो प्लास्टिकले बिरुवाको अङ्कुरण र विकासमा समेत प्रभाव पार्छ भने मानव शरीरमा कति प्रभाव पार्छ होला ? विश्व स्वास्थ्य सङ्गठनले चाहिँ माइक्रो प्लास्टिकले मानव शरीरमा असर पु¥याउने पर्याप्त प्रमाणहरू फेला नपरेको जनाएको छ । जलीय पर्यावरणमा यसले पार्ने असरहरूको जति अनुसन्धान भइरहेको छ, त्यही अनुपातमा मानव स्वास्थ्यमा पारिरहेको असरको अनुसन्धान सीमित छ । सामान्यतया एक व्यक्तिले वार्षिक ५० हजारभन्दा बढी माइक्रो प्लास्टिकका टुक्राहरू ‘फुड चेन’मार्फत निल्ने गरेको तथ्याङ्कले देखाउँछ । यो हिसाबले हेर्ने हो भने यसले मानव स्वास्थ्यमा पार्न सक्ने नकारात्मक असरको गहन अध्ययन हुनु आवश्यक छ ।
प्लास्टिक व्यवस्थापनको प्रोटोकल (मापदण्ड)लाई कडाइसाथ लागू गराएका विकसित देशहरूमा गरिएको विभिन्न अध्ययनमा प्लास्टिकका कण भेटिएको देखियो । हामीकहाँ पर्याप्त मात्रामा प्लास्टिक रिसाइकल (पुनः नवीकरण) हुन सक्दैन, सडक र सार्वजनिक स्थल प्लास्टिकजन्य फोहोरले पुरिएका हुन्छन्, पानीका मुहानमा अरूले नदेख्नेगरी फोहोर फ्याँक्ने संस्कार छ । कतिपय सहरमा ल्यान्डफिल नै छैनन् र भएका क्षेत्रमा पनि व्यवस्थित छैनन् । हाम्रा यस्ता गतिविधिले गर्दा अप्रत्यक्ष रूपमा कति प्लास्टिकका कणहरू निलिरहेका छौँ होला ? ‘माइक्रो र नानो साइज’का प्लास्टिकका कणहरू सजिलैसँग शरीरले लिने हुनाले यसले पार्ने असरहरूको सूक्ष्म अध्ययन गर्नु आवश्यक छ ।
एक अध्ययनका अनुसार माइक्रो प्लास्टिक श्वासप्रश्वास, खानपान र छालाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ । परिणामस्वरूप बाँझोपन, मोटोपना, क्यान्सरजस्ता समस्याहरू देखिन सक्छ । हिमालहरूका बारेमा अनुसन्धान गर्ने एक वैज्ञानिकले विगतमा कोही मानिस नपुगेको र मानव बस्तीभन्दा २५ सय मिटर उचाइमा रहेको नेपालको एक हिमालमा समेत प्लास्टिकका टुक्रा भेट्टाएका थिए । त्यति माथिसम्म माइक्रो प्लास्टिक स्थानान्तरण हुनुको मुख्य कारण हावा नै हुन सक्ने उनको अनुमान थियो ।
ठोस फोहोरमैलाको उचित व्यवस्थापन गर्नु आफैँमा चुनौतीको विषय रहेको बेला वातावरणको अदृश्य शत्रु माइक्रो प्लास्टिकको फैलावट र असरको अध्ययन गर्नु सरोकारवालाका लागि थप सकसको विषय हो । प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्ने विषयमा नेपाल सरकारले बेलाबखतमा उत्साहजनक कुरा गरेको भए पनि त्यसको निरन्तरता र उचित कार्यान्वयन नै चुनौतीको विषय बन्यो । केही संरक्षण क्षेत्र र पालिकाहरूलाई ‘प्लास्टिक फ्री जोन’का रूपमा घोषणा गरे पनि त्यो व्यवहारमा लागू हुन सकेन । ‘वेस्ट टु इनर्जी’को अवधारणा गर्दै केही समयपहिले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले प्लास्टिकबाट डिजेल निकालेको खबर सुनिए पनि त्यो प्रविधिले मूर्त रूप पाउन सकेन । प्लास्टिकबाट अलकत्रा बनाई सडक पिच गरेको खबर पनि सुनेकै हौँ तर ती सबै केही समयका लागि पत्रपत्रिकाका आकर्षक समाचार बनेर हराए ।
माइक्रो प्लास्टिक र यसको हानिलाई न्यूनीकरण गर्नका लागि प्लास्टिकको पुनः प्रयोगको अवधारणा ल्याउने, प्लास्टिक उत्पादनमा कडाइ गरी वैकल्पिक स्रोतलाई प्राथमिकता दिने, ‘बायोडिग्रेडेबल‘ प्लास्टिक प्रयोग गर्न उत्साह गर्ने र स्रोतमै प्लास्टिकको उत्पादन कम गर्नेतिर ध्यान दिइयो भने केही हदसम्म यसलाई कम गर्न सकिन्छ ।
विश्व समुदायमा नै प्लास्टिकको अत्यधिक उत्पादन हुने र दैनिक जीवनमा यसको प्रयोग सहज मानिने भएकाले माइक्रो प्लास्टिक समस्याको पूर्ण न्यूनीकरण गर्नु चुनौतीको विषय बन्न सक्छ ।

(आचार्य इन्जिनियरिङ भूगर्भशास्त्रमा स्नातकोत्तर र लामिछाने रसायनशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?