logo
२०८० चैत्र १६ शुक्रवार



मास्कका सारथि वीर, जसले बाडेँ २७ हजार मास्क

फिचर |
पढ्नै पर्ने |




गोकर्ण पौडेल

तुलसीपुर, साउन ३० गते । जेठ दोस्रो सातादेखि उहाँको दैनिकी फेरिएको छ । जब कोभिड १९को सङ्क्रमण देशभर फैलन थाल्यो अनि ३३ वर्षीय युवा वीरबहादुर खत्री बजार क्षेत्रमा, सडकमा मास्क बाँड्न थाल्नुभयो । बुवा आमाको आशिर्वाद लिएर मास्क बाँँड्न हिँडेका वीर अझै थाक्नुभएको छैन ।

जिल्लाको पूर्वी बजार भालुवाङदेखि पश्चिमी क्षेत्रमा रहेको अर्को बजार हापुरेसम्म पुगेर त्यहाँका बटुवा, किसान, गृहिणी समाजका सबै तह तप्काका व्यक्तिहरूलाई मास्क बाँड्नुभएको छ । हालसम्म सर्जिकल र के एन ९५ सत्ताइस हजार मास्क बाँड्नुभएको छ । वीर भन्नुहुन्छ ‘ सुरु सुरुमा घर परिवारको सहयोगमा मास्क बाँडियो अहिले साथीभाइ, अग्रजहरूले समेत सहयोग गर्नुभएको छ ।’ 

सबैभन्दा बढी गुनासो उहाँको समाजमा पढे लेखेका जाने बुझेका तप्कामा रहेका व्यक्तिहरूसँग छ । वीर भन्नुहुन्छ, ‘नाम नभनौँ केही स्वास्थ्यकर्मीहरू जो संवेदनशील क्षेत्रमा काम गर्नुहुन्छ, उहाँहरू नै मास्क नलगाएर हिँड्नुहुन्छ, मास्क लगाउनुस् भन्दा तपाईंले सिकाउनुपर्दैन भन्नुहुन्छ’ उहाँको अभियानमा सबैभन्दा बढी माया आर्थिकरुपले कमजोर रहेका वर्गबाट पाउनुभएको छ ।

वीर भन्नुहुन्छ, ‘जोसँग मास्क किन्ने पैसा नै छैन, उहाँहरूका लागि यो अभियान थालेको हुँ । बाटोमा हिँड्दा तरकारी बेच्ने आमाहरूलाई मास्क दिँदा, छिट्वा भुईंमै राखेर आशिर्वाद दिनुहुन्छ । त्यही बेला नै सबैभन्दा बढी खुसी हुन्छु’ । बजार, सडकमा मास्क नलगाई हिँडेका बटुवा देखेपछि उहाँ दौडदै मास्क दिनुहुन्छ । कतिपयले खल्तीबाट झिकेर पैसा दिन थाल्नुहुन्छ । उहाँ 'निशुल्क हो, पर्दैन' भन्नुहुन्छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ मा बसोबास गर्दै आउनुभएका वीरबहादुर खत्री कोभिड १९ सँग जुध्नका लागि सरकारको मात्रै मुख ताक्नु सबैभन्दा दुःखदायी कुरा भएको बताउनुहुन्छ । कोभिड १९ सँग जुध्नका लागि समय र क्षमताले भ्याएसम्म मास्क बाँड्ने र सचेतना फैलाउँदै हिँड्ने वीरको लक्ष्य रहेको छ । हालसम्म जिल्लाका भीडभाड हुने बजार क्षेत्र भालुवाङ, गढवा, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी र हापुरे क्षेत्रमा मास्क बाँडिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?