logo
२०८० चैत्र १५ बिहीवार



सकारात्मक सोचको आवश्यकता

विचार/दृष्टिकोण |




डा. गोविन्दप्रसाद कुसुम

देशको विकास र राष्ट्रको निर्माण अपेक्षा गरेअनुसार हुन सकेन भन्ने ठूलो चिन्ता र चासो हुनु एउटा सचेत नागरिकको गुण पनि हो । देश विकासको लामो यात्रामा मन र वचनले मात्रै भए पनि सहभागी हुनुलाई सकारात्मक रूपमा लिनुपर्छ ।
परन्तु आफ्नोतर्फबाट झिँगा नमार्ने तर नकारात्मक कुरा गरेर सामाजिक सञ्जालका माध्यमबाट रिस पोख्नेहरू केही वर्षदेखि अन्धाधुन्ध देखिँदैछन् । नकारात्मक टिप्पणी गर्ने, कसैको व्यक्तिगत छविमा धक्का पु¥याउनेखालका लेखोटले क्षणिक तुष्टि दिए पनि यसलाई मुलुकको सभ्यता र संस्कृतिउपर प्रहार गरेको रूपमा बुझ्नुपर्छ । कुन देश कति सभ्य र कति सुसंस्कृत छ भनेर हेर्नुपर्दा सबभन्दा पहिला त्यस देशका नागरिकहरूको चालचलन, बानी व्यवहार, लेखाइ बोलाइ कस्तो छ भनेर अध्ययन गरिन्छ ।
त्यही भएर त हो आफ्नो उपनिवेशलाई बढाउँदै बलियो बनाउने हो भने नागरिकहरूमा जातीय, क्षेत्रीय, धार्मिक, शैक्षिक र सहिष्णुताका स्थापित मान्यतालाई भत्काउ, उनीहरूलाई विभाजित गर, एकतालाई र उनीहरूमा नकारात्मक भावना फैलाऊ भनेर पन्ध्रौँ शताब्दीका राजनीतिक चिन्तक निकोलो मेकियाबेलीले ‘द प्रिन्स’ र ‘द आर्ट अफ वार’ का माध्यमबाट भनेका थिए । भारतमा इस्ट इन्डिया कम्पनीले यही काम ग¥यो र पछि बेलायती उपनिवेश भएपछि समग्र भारतमा यही नीतिको अवलम्बन भयो । भारतीयहरूमा मनोवैज्ञानिक विभाजन ल्याएपछि बेलायती उपनिवेशले आफ्नो भूगोलको आकार फैलाउन सकेको थियो ।
नेपालको परिप्रेक्ष्यमा हेर्दा जसरी नागरिकहरूमा सरकारलाई आलोचनाको चस्माले मात्र हेर्ने र व्यक्तिलाई गाली गर्ने प्रवृत्ति २०४७ सालदेखि निरन्तर रूपमा बढिरहेको छ, त्यसले नकारात्मक मनोविज्ञानको विकास गरिरहने र सकारात्मक भाव पैदा नहुने स्थिति बन्ने त होइन ? भन्ने डर बढ््न थालेको छ ।
सरकारको आलोचना गर्नहँुदैन भन्न खोजिएको होइन, गर्नैपर्छ । आलोचनाले सरकारलाई गलत निर्णय गर्न र खराब बाटोमा हिँड्नबाट रोक्छ । फेरि लोकतन्त्रमा सरकारको आलोचना गर्नुलाई सही मानिन्छ तर आलोचना कस्तो ? आलोचना स्वस्थ, तथ्यमा आधारित हुनुपर्छ । मनोगत र अप्रमाणित विषयमा आलोचना गर्दै जाँदा हामी आपूmलाई सुसंस्कृत भएको पङ्क्तिमा स्थापित गर्न सक्दैनौँ ।
एकजना मित्रले भन्नुभयो– ‘सिङ्गापुर हुनुपर्ने यो देश खत्तम भयो ।’ के नेपाल खत्तम भएकै
हो ? मलाई लाग्छ, नेपाल खत्तम भएको छैन । खत्तम भएको भए, हामीले आपूmलाई नेपाली हौँ भन्न सक्ने स्थितिमा सायद हुने थिएनौँ होला । हाम्रो देश कमजोर भयो किनकि हामी कमजोर छौँ । हाम्रो देश गरिब भयो, किनकि हामी गरिब छौँ । त्यसो हो भने देशलाई बलियो र धनी कसले बनाउने ? नेपाललाई बलियो र आर्थिक रूपमा सम्पन्न बनाउने अरू कोही होइन, हामी नै हौँ । हामी नागरिकले नै देशलाई विकसित गर्ने हो र आधुनिक राष्ट्रको निर्माण गर्ने हो ।
सरकार भनेको हामीले चुनेर पठाएको प्रतिनिधिको मण्डली हो । ती प्रतिनिधि हामो आफ्नै समाजका सदस्य हुन् । हामी जस्ता छौँ, जुन चरित्रका छौँ, त्यस्तै चरित्रको प्रतिनिधिलाई सरकारमा पठाएका छौँ । सरकारमा पुग्नेबित्तिकै उनीहरूमा कुनै चमत्कारिक दैवी शक्ति आउने होइन जसले गर्दा मुलुकको कायापलट गर्न सकून् । यत्ति हो, उनीहरू गाडीको चालक सिटमा बसेका छन् र गाडीलाई कुशलतापूर्वक चलाएर गन्तव्यमा पु¥याउने गुरुत्व र जिम्मेवारी बोकेका छन् । यसमा किन्तु, परन्तुको प्रश्न उठ्न पाउँदैन ।
यसे भन्नुको कारण हो– अहिले नेपाल एउटा जटिल मोडमा उभिएको छ । सरकारले राष्ट्रियता र राष्ट्रिय सार्वभौमसत्ताको कुरा उठाउँदा आफ्नो स्थापित भूभागको कुरा उठाउँदा, मुलुकलाई अप्ठ्यारो पार्ने चेतावनीसहितका अभिव्यक्ति बाह्य मिडियामा आइरहनु राम्रो सङ्केत होइन । कुनै अनिश्चित दुर्घटना कुनै पनि बेला हुनसक्छ भन्ने विषयमा हामी नागरिक सचेत र सजग हुनु जरुरी छ । यसका लागि पहिलो र प्रमुख शर्त हो, नेपालीहरू एक ढिक्का भएर देशलाई आर्थिक, सामाजिक रूपमा बलियो बनाउने काममा आआफ्नो क्षेत्रबाट लागिपर्नु । जसको जे क्षमता छ, त्यही अनुसार स्वरोजगारी काममा लाग्न सकियो भने आयात कटौती गर्दै आत्मनिर्भर हुने अवस्था आउनेछ ।
नेपालीले उपभोग गर्ने शैलीमा परिवर्तन गर्नु जरुरी छ । विदेशी संस्कृति, संस्कारभन्दा नेपाली संस्कृति र संस्कारले सिकाएको मान्यता र मूल्यभित्र बाँच्न सिकियो भने वर्षको दश जोर लुगाको ठाउँमा चार जोर लुगाले काम चलाउन सकिन्छ । यसबाट विदेश पुग्ने हाम्रो सञ्चित विदेशी मुद्रामा सकारात्मक प्रभाव पर्छ । यसका लागि युवा नेपाली जागरुक बन्नुपर्छ । युवा नै हाम्रो भविष्य हो भने वर्तमानको विकासका साझेदार उनीहरू नै हुन् ।

सिङ्गापुरबाट सिकांँै
सिङ्गापुरका प्रधानमन्त्री गोह चोक तोंगले आफ्नो किताबमा लेख्नुभएको छ– असंलग्न आन्दोलनको शिखर सम्मेलन हालै जकार्तामा सम्पन्न भयो । नेपालका प्रधानमन्त्रीले मलाई सोध्नुभयो– सिङ्गापुरको सफलताको राज के हो ? म मुस्कुराएँ र भनंँे– लि क्वान यु । मैले यस्तो बताउनुको अर्थ थियो, ‘सिद्धान्त, मूल्य र दृढता’ । यसैको जगमा टेकेर लि क्वान युले सरकार चलाउनुभयो र सिङ्गापुरलाई बनाउनुभयो । (गोह १९९२ पे. १५)
लि क्वान यु भन्नुहुन्छ– ‘सरकार सञ्चालनका लागि असल मान्छे चाहिन्छन् । असल मान्छेले आफ्नो स्वार्थ हेर्दैन । उसले सिङ्गापुर र सिङ्गापुरका नागरिकको स्वार्थ मात्र हेर्छ । असल मान्छेले मात्र असल नेतृत्व दिन्छ । खराब मान्छेले आफ्नो जनतालाई हानि मात्र पु¥याउँछ । (लि क्वान यु २०००,पे. ७३५–७३७)
लि क्वान युका शब्दमा भन्नुपर्दा– ‘सिङ्गापुरलाई सिङ्गापुर बनाउने काम मन्त्रीहरूको योग्यता र क्षमता तथा कर्मचारीहरूको उच्च तहको कार्य दक्षताले गरेको थियो । यसमा सबै नागरिकले आ–आफ्ना ठाउँबाट राष्ट्रनिर्माणमा सहयोग गरे । (ऐ ऐ.) । वास्तवमा सरकार सञ्चालनमा मन्त्री र कर्मचारको भूमिका कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा सिङ्गापुरलाई हेरे पुग्छ । नेपालमा मन्त्री र कर्मचारीको बीचमा योग्यता र क्षमताको मिलनबिन्दु भेटिएको छैन । मन्त्रीहरूको गुनासो हुन्छ, कर्मचारीले सहयोग गरेनन् । कर्मचारीको गुनासो हुन्छ, मन्त्रीहरूले कर्मचारीको विश्वास गर्दैनन् । आफ्नै पार्टीका स्वकीय सचिव र कार्यकर्ताको विश्वास गर्छन् । त्यसो हुँदा कर्मचारी र मन्त्रीहरूका बीचमा किन दूरी नबढोस् ?
यी दुवै गुनासा आ–आफ्नो कोणबाट सही देखिन्छन् तर अहिलेसम्म यी गुनासाको ब्यवस्थापन हुनसकेको छैन, वा भनौँ गुनासो व्यवस्थापन गर्ने कसरी भन्ने सवाल अनुत्तरित छ । सरकार सञ्चालनमा कुनै अचुक ‘सिद्धान्त’लाई ठ्याक्क मिलाउँछु भन्दैमा मिल्दैन । युरोपमा ठीक भएको सिद्धान्त एसियामा मिल्छ भन्ने हुँदैन । अमेरिकी अर्थशास्त्रीको विश्लेषण अमेरिकाको सवालमा ठीक हुन्छ तर नेपालको सवालमा हुँदैन । सिङ्गापुरले यस मान्यतालाई स्थापित गरेको छ । उसले भन्छ– सिद्धान्त र मोडेललाई हेर्ने होइन, आफ्नो देशलाई फाइदा पुग्ने परिणाम कसरी आउँछ, त्यही हेर्ने हो ।
सन् १९६५ सम्म एउटा सानो जमिन भएको मुलुकसँग कुनै प्राकृतिक स्रोत र साधन थिएन, तेस्रो विश्वको गरिब देश थियो त्यो अहिले आर्थिक रूपमा ज्यादै सम्पन्न पहिलो विश्वको महŒवपूर्ण देशको रूपमा स्थापित भयो । यो कम चुनौतीपूर्ण कार्य थिएन । स्ट्यान्फोर्ड राफ्लर्सले जनवरी १८१९ मा सिङ्गापुरलाई स्थापित गर्दा सायद आफूले स्थापित गरेको समुद्रतटीय यो गाउँ, यति उन्नत देश बन्ला भनेर सोचेका सम्म थिएनन् होला ।
जब मलेसियाबाट लि क्वान युलाई निकालियो र भनियो– ‘तिमीहरू मलेसिया छोड र आफ्नो बाटो लाग ।’ त्यतिखेर उनीहरूसँग जाने ठाउँ थिएन । गन्तव्य अनिश्चित थियो । बाँच्न गाह्रो थियो । विकट र अनकन्टार बाटोबाट यात्रा अघि बढाउनु थियो । पछिका दिनमा सिङ्गापुरमा जे देखियो, त्यसले एउटै शिक्षा हामीलाई दिएको छ– त्यो हो जतिसुकै अप्ठ्यारो भए पनि देशलाई उन्नत बनाउन सकिन्छ । यसका लागि व्यवहारवादी नेतृत्व (प्रोग्रयाम्याटिक लिडरसिप) को आवश्यकता पर्छ । किनकि सङ्कीर्णवादी अर्थशास्त्रीको रूपमा चिनिएका मिल्टोन फ्राइडमेनले समेत विकासलाई ठीक ढङ्गले गर्नुपर्छ भन्ने मान्यता राखेका छन् । उनले ठीक ढङ्गको विकास होइन विकासलाई ठीक ढङ्गले गर्नुपर्नेमा जोड दिएका छन् ।
यहाँनेर हेक्का राख्नुपर्छ नेपालको विकास सिङ्गापुरे मोडेलले गर्दैन । यहाँको विकास, नेपाली सभ्यता, संस्कृति र पहिचानसँग मिल्ने हुनुपर्छ । किनकि नेपाल र सिङ्गापुरको बीचमा भूगोल, संस्कृति, संस्कार, परम्परा र जीवनशैलीमा ठूलो अन्तर छ ।
नेपाल अहिले पुस्ता हस्तान्तरणको समयमा छ । नयाँ युवामा देशका लागि केही योगदान गर्नुपर्छ भन्ने मान्यता बलियो छ । यी युवामा नकारात्मक भावना कम, सकारात्मक भावना बढी छ । सरकारले यस्तो भावलाई सही बाटोमा लगाउनु जरुरी छ ।
अहिले सरकार नवप्रवर्तक भएर जानुपर्छ । दक्षिण कोरियाले जसरी विश्व नवप्रवर्तक नेतृत्व लिन सक्ने अवस्थामा आपूmलाई पु¥यायो, नेपालले त्यसका राम्रा पक्षलाई अँगाल्नुपर्छ । सरकारले गुणस्तरीय प्रविधिजन्य शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ र प्राथमिक तहदेखि नै विद्यार्थीलाई देशभक्ति, राष्ट्रिय एकता, सहिष्णुता, सदाचार, मूल्य–मान्यतासम्बन्धी शिक्षा दिनुपर्छ । यसले गर्दा नयाँ पुस्तामा आफ्नो माटोप्रति माया बढ्न गई सकारात्मक सोच र भावनाको विकास हुन जानेछ ।

(लेखक लोकसेवा आयोगका पूर्वसदस्य हुनुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?