logo
२०८१ बैशाख ७ शुक्रवार



अबका पाठ्यपुस्तक (सम्पादकीय)

विचार/दृष्टिकोण |




अमेरिकी प्रख्यात उपन्यासकार स्यामुएल लान्घोर्न क्लेमेन्स (साहित्यिक नाम मार्क ट्वीन सन् १८३५–१९१०)ले एक प्रसङ्गमा भनेका थिए, ‘राम्रा साथी, राम्रा पुस्तक र शान्त चेतना नै आदर्श जीवन हो ।’ असल पुस्तकलाई उनले सम्यक विचारको द्योतक मानेका छन् । एउटा व्यक्तिलाई असल मानिस बनाउन असल पुस्तक जरुरी पर्ने विचार अन्य विद्वान्ले पनि व्यक्त गरेका छन् । राम्रा पुस्तकका बारे नेपाललगायत विश्वका विभिन्न देशका आफ्नै अनुभव हुन सक्छन् । अहिलेको पुस्ताले जुन पुस्तकलाई ‘असल’ मान्दै गर्दा विगतमा त्यस्ता पुस्तक समाजका लागि ‘खराब’ भनिएका थिए भन्ने बिर्सन हुँदैन । तत्कालीन सत्ताका लागि मकैको खेती नामक पुस्तक असल नमानिए पनि आज असल हुन सक्छ । उतिखेर असल पुस्तक मानिएको ‘बधुशिक्षा’ आज फरक हुन सक्छ । असल र खराब बुझाइ सत्ता, शक्ति, समय, देश, परिवेश र सन्दर्भमा अन्तरसम्बन्धित हुन्छ ।
असल विद्यार्थी नै असल नागरिक बन्न सक्छन् । असल विद्यार्थी तथा नागरिक बनाउन असल किताब मुख्य पक्ष मानिने भएकाले उनीहरूलाई असल किताब पढाइनुपर्छ । नेपालमा औपचारिक शिक्षा तथा अनौपचारिक ज्ञानका लागि प्रशस्त पुस्तक प्रकाशन तथा प्रयोग हुँदै आएका छन् । ज्ञान तथा मनोरञ्जन केन्द्रित पुस्तकमा हुने कमीकमजोरीलाई द्रष्टामार्फत प्रस्ट्याउन सकिन्छ । पाठकले आफ्ना ज्ञानको उचाइमा त्यस्ता कमीकमजोरी पर्गेल्न सक्छन् तर विद्यालयका ससाना विद्यार्थी जसमा आलोचनात्मक चेत कम हुन्छ, उनीहरूलाई गलत वा समय सान्दर्भिकताअनुसारको पुस्तक पढाइएन भने ऊ असल नागरिक हुन सक्दैन । तसर्थ, यस्ता पुस्तकहरू हरकोणबाट ‘असल’ अर्थात् उपयुक्त हुनुपर्छ । लेखकको स्वविवेकमा लेखेर बजारमा ल्याइएका पाठ्यपुस्तक गुणस्तरीय परीक्षणविना विद्यार्थीलाई पढाइने गर्दा कतिपय अवस्थामा गलत सामग्रीमात्र पढाइएको हुँदैन । राष्ट्र, राष्ट्रियता तथा नयाँ राजनीतिक व्यवस्थाका कतिपय जान्नैपर्ने ज्ञान छुट्न सक्छन् । विगतको प्रचलनअनुसारका पाठ्यपुस्तक गुणस्तरहीन हुनुका साथै पाठ्यक्रमका मापदण्डसमेत समेट्न नसकेको पाइएपछि यस्तो प्रवृत्ति कडाइसाथ नियन्त्रण गर्नुपर्ने आवश्यकता लामो समयदेखि महसुस गरिएको थियो ।
माध्यमिक तहको कक्षा ११ र १२ मा पढाइने पाठ्यपुस्तक २०७७ सालको शैक्षिक सत्रबाट नियमन गरिने भएको छ । अबदेखि यी कक्षाका सबै पाठ्यपुुस्तक पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिपछि मात्र प्रकाशन र पठनपाठन गर्न पाइनेछ ।
पाठ्यपुस्तकमा भाषा, व्याकरण, शैलीगत एकरूपताजस्ता प्राविधिक पक्षमात्र नभएर पाठ्यक्रमले निर्धारण गरेअनुसारका विषयगत तथ्यगत जानकारी हुनुपर्छ । तर, यस्ता आवश्यकतामात्र पनि असल पुस्तकको मापदण्ड हुन सक्दैन । विविधताको धनी नेपालले अङ्गीकार गरेको बहुलवाद, समावेशीकरण, जातीय तथा लैङ्गिक समानताका सिद्धान्तजस्ता पक्षलाई पनि शैक्षिक तहगत हैसियतमा समावेश गराउनुपर्नेछ । नेपाल राष्ट्रको निर्माण र यसको राष्ट्रियता प्रवद्र्धनमा विभिन्न समुदाय तथा ऐतिहासिक व्यक्तिको योगदान छ । नेपाललाई साझा फूलबारी बनाउने हाम्रा विविध कला संस्कृति, मूल्य–मान्यता, विश्वास परम्परा छन्, जसको समग्र योग नै नेपाली संस्कृति तथा राष्ट्रियता हो । यस्ता विषयमा पनि हाम्रा विद्यार्थी जानकार हुनुपर्छ । विश्वका नयाँ अभ्यास र नवप्रवर्तन (इनोभेसन) बारे दीक्षित हाम्रा विद्यार्थीमात्र विश्व रोजगारी बजारमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने बिर्सनुहुँदैन । नेपालको संविधानको धारा ३१ अनुसार दृष्टिविहीन नागरिकले ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट शिक्षा पाउने हक सुनिश्चित गर्न त्यसअनुकूलका पाठ्यपुस्तक तयार गरिनु आवश्यक छ । साथै संविधानको अनुसूची ८ अनुसार आधारभूत र माध्यमिक शिक्षासम्बन्धी दायित्व स्थानीय तहलाई दिइएकाले पाठ्यपुस्तक निर्माण गर्दा यस पक्षमा पनि ध्यान जानु आवश्यक छ ।
पाठ्यपुस्तकमा गरिएको नयाँ व्यवस्था स्वागतयोग्य भए पनि समयमै पुस्तक नपाउने समस्या आउनुहुँदैन । पाठ्यपुस्तक लेखनका लागि नियमित रूपमा अनुमति लिनेदिने व्यवस्थाले आगामी वर्षबाट यस्ता समस्या नआउन सक्छन् । तर, यस वर्ष अनुमति, प्रकाशन, वितरण र बिक्री प्रबन्धको समस्यालाई अगाडि सारेर विद्यार्थीलाई पुस्तक अभावको समस्या
थोपरिनुहुँदैन । नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवनोपयोगी विषयका पुस्तक सरकारीस्तरबाटै प्रकाशन गरिने तयारीले ती पाठ्यपुस्तकको एकरूपताबारे विश्वस्त हुन सकिए पनि उपलब्धताबारे बेलैमा सचेत हुनुपर्नेछ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?