logo
२०८१ बैशाख १३ बिहीवार



बाटो देखाएका नायक

विचार/दृष्टिकोण |




गोपाल शाक्य

नेपालको लोकतान्त्रिक एवं कम्युनिस्ट आन्दोलनको शिखर व्यक्तित्व तुल्सीलाल अमात्यको भनाइ छ– “देशको औद्योगिक विकास आर्थिक विकासको मेरुदण्ड हो ।” “सर्वप्रथम हामीले अदम्य साहस, दृढ सङ्कल्प लिनुपरेको छ कि देशको अर्थतन्त्रलाई स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रका रूपमा विकास गर्नेछौँ–गैरपुँजीवादी समाजवाद उन्मुख विकासको बाटो राष्ट्रिय पुँजी निर्माणको बाटो हो । हरेक क्षेत्रमा राष्ट्रिय उत्पादन वृद्धिको बाटो, वास्तविक रूपमा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको बाटो नै तुल्सीलालले देखाएको बाटो हो ।
हामीले उहाँले देखाएको बाटोलाई आत्मसात् गर्दै जनवादी–समाजवादी नयाँ मूल्य मान्यता स्थापना र नेपाली चरित्रको लोकतान्त्रिक समाजवादी–बाटो पनि निर्माण गर्दै जानुपरेको छ ।
तुल्सीलालले गरीब दुःखी नेपाली होइन धनी– सुखी नेपालीको सपना देख्नुभएको थियो । नेपालमा समाजवादी– समाजको सपना देख्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव (वि.स. २०१९), नेकपाको पहिलो संसदीय दलका नेता (वि.सं. २०१५–१७), अखिल नेपाल किसान सङ्घका संस्थापक अध्यक्ष (वि.सं..२००८) वाम मोर्चाका मानार्थ अध्यक्ष (वि.सं. २०४६) पनि तुल्सीलाल अमात्यको जन्म वि.सं. १९७३ जेठ १४ गते पाटनको कोबहालमा भएको थियो भने निधन २०५४ साउन १७ गते पाटनमा नै भएको थियो । मिर्गौला खराब भएर रोगी जीवन बिताइरहे पनि उहाँ ८१ वर्षको उमेरमा पनि सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । उहाँको सङ्घर्षशील जीवन जनसेवा, राष्ट्रसेवा र पार्टी सेवामा समर्पित थियो । उहाँको नैतिकता र अनुशासन, त्याग र निःस्वार्थपन, अध्ययन र सिर्जनशीलता हाम्रा लागि प्रेरणाको स्रोत हो । उहाँको सन्तुलित विचार दृष्टिकोण र सैद्धान्तिक अडानहरूबाट आज पनि हामीले सिक्न सक्ने धेरै कुरा छन् ।
निरङ्कुश राणाशासनविरुद्व प्रजातन्त्र प्राप्तिका लागि, २००७ देखि २०१७ सम्म देशी–विदेशी षड्यन्त्र, राजाको हुकुमशाही विरुद्ध प्रजातन्त्र सुदृढीकरण र जनताको गाँस र बासका लागि पुनः प्रजातन्त्र प्राप्तिको ३० वर्ष लामो सङ्घर्षमा उहाँ अविचलित रहनुभयो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव र संयुक्त वाममोर्चाका मानार्थ अध्यक्षको हैसियतले संयुक्त जनआन्दोलन सुरुवात गर्दै २०४६ फागुन ७ गते हँसिया–हथौडा अङ्कित रातो झण्डा लिएर काठमाडौँबाट गिरफ्तारी दिने शान्तिपूर्ण संयुक्त जनआन्दोलनका प्रथम नायक तुल्सीलाल अमात्य नै हुनुहुन्थ्यो ।

राणाशासनविरुद्व तुल्सीलाल
राणाशासनविरुद्व सङ्घर्षमा उहाँ सानै उमेरबाट सक्रिय हुनुभएको थियो । करिब १२ वर्षको उमेरमा तुल्सीमेहर, रुद्र मुल्मीसँग मिलेर पाटन शङ्खमूलमा बसी भारतका महात्मा गान्धीका विचार प्रचार गर्ने कामसँगै आपूmले खादीका साधा पहिरहन लगाउने गर्नुहुन्थ्यो । वि.सं. १९९७ पछि राणाशासन विरोधी युवा–विद्यार्थीको गोप्य बैठकमा भाग लिनुभयो । त्रिचन्द्र कलेजबाट २५ वर्षको उमेरमा बी.ए. पास गरी भारतको लखनउ विश्वविद्यालयबाट वि.सं. २००१ मा उहाँले अर्थशास्त्रमा एम.ए. उत्तीर्ण गर्नुभएको थियो ।
सन् १९४२ मा २८ वर्षीय अमात्यले बेलायती साम्राज्यवादविरुद्ध भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत ब्रिटिस साम्राज्यवादबाट स्वतन्त्र भएको खुशियालीमा पाटनको शङ्खमूल, मङ्गलबजार हुर्दै टङ्गालसम्म जुलुस निकालेर प्रदर्शनको नेतृत्व गर्दै गिरफ्तारीमा परी हनुमानढोका खोर र भद्रगोल जेल पुग्नुभयो । यो तुल्सीलालको प्रथम जेलयात्रा थियो ।
दरबारका पुजारी शिव बाजेसँग सम्पर्क गरी वि.सं.२००५ मा तुल्सीलालले राजा त्रिभुवनलाई नारायणहिटी दरबारको उत्तरपश्चिम भागको पर्खाल चढी भेटेर राणाशासन अन्त्य गर्न हतियार उठाई सङ्घर्ष गर्न तीन लाख रुपियाँ सहयोग गर्नुप¥यो भन्दा राजाले बी.पी., डिल्लीरमण रेग्मी र सुवर्ण शमशेरलाई मिलाउन आग्रह गर्दै राणाशासनविरुद्ध सहयोग गर्ने वचन दिएका थिए ।
२००५ सालमा काँग्रेस पार्टीमा रहँदा नै तुल्सीलालले नेपालमा पहिलोपल्ट मजदुर किसान सङ्घ रौतहट, बारा, पर्सा, सर्लाही जिल्लाका गाउँगाउँमा गठन गर्नुभएको थियो । मातृकाप्रसाद कोइरालासँग कार्यक्रम र सङ्गठन निर्माण सञ्चालन आदिमा कुरा नमिलेपछि काँग्रेस पार्टी त्याग गरी २००६ असार साउनतिर कलकत्ता पुग्नुभयो । गौरीभक्त प्रधानले पुष्पलालसँग भेट गराएपछि तुल्सीलालले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभयो ।
२००६ भदौ ३१ गते (१९४९ सेप्टेम्बर १५) मा भारतको कलकत्तामा भारतको कम्युनिस्ट पार्टीका नेता अयोध्याप्रसाद सिंहको उपस्थितिमा पुष्पलाल, मनमोहन अधिकारी, डी.पी. अधिकारी, शैलेन्द्रकुमार उपाध्याय र तुल्सीलाल रहेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सङ्गठन कमिटी गठन गरिएको थियो । त्यसै दिन नेकपाको घोषणापत्र जारी गरिएको थियो ।
२००६÷०७ तिर तुल्सीलाल काठमाडौँ, भक्तपुर, ललितपुरमा नेकपाको सम्पर्क र सङ्गठन विस्तारमा सक्रियता साथ लाग्नुभएको थियो । २००७ मङ्सिर, पुस, माघ तनि महिना नेपालका धेरै जिल्लामा राणाविरोधी जनसङ्घर्ष भए । उता दिल्लीमा राजा त्रिभुवन, काँग्रेस र राणा सरकारका प्रतिनिधि जम्मा भई नेहरूको उपस्थितिमा सम्झौता भयो र २००७ माघ १ गते (१४ जनवरी १९५१) मा दिन युद्धविराम घोषणा भयो । फागुन ४ गते राजा त्रिभुवन दिल्लीबाट काठमाडौँ फर्किए । स्वदेश फर्किएपछि राजा त्रिभुवनले नेपाली जनतासमक्ष कबुल गरे “हाम्रो प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधान अनुसार होस् भन्ने हाम्रो इच्छा र निर्णय भएकोले...।” त्यही घोषणाबाट श्री ३ मोहन शमशेर नेतृत्वमा १० सदस्यीय मन्त्री मण्डलको गठन गरियो ।

२००७ देखि २०१७ सम्म
२००८ देखि २०१२ सालसम्म नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको थियो । त्यसबखत तुल्सीलाल भूमिगत कार्यशैली (लुकी–लुकी नाम र भेष बदलेर) अखिल नेपाल किसान सङ्घ र नेकपाको सङ्गठन कार्यको विस्तार र सङ्घर्षको नेतृत्व गर्दै हुनुहुन्थ्यो । २००८ मा सम्पन्न नेकपाको प्रथम सम्मेलनमा भाग लिनुभएको उहाँ त्यसै वर्ष अखिल नेपाल किसान सङ्घको संस्थापक अध्यक्ष चयन हुनुभएको थियो । अनेकिसङ्घले किसानहरूलाई सामन्त, जमिन्दार, जाली, फटाहाविरुद्ध सङ्घर्षमा देशभरि सङ्गठित गरेको थियो । २००९÷०११ सालमा रौतहट, बारा र सर्लाहीमा तुल्सीलाल स्वयंले किसान–आन्दोलनको नेतृत्व गर्नुभएको थियो र त्यहाँ तीन लाख किसानले भाग लिएका थिए । २० करोडभन्दा बढी रुपियाँका जाली तमसुक जलाइयो । ०१० सालमा नेकपाको प्रथम महाधिवेशन पाटन सहरको लुकसीमा भूमिगत रूपमा सम्पन्न भयो । मनमोहन अधिकारी महासचिव र तुल्सीलाल पोलिटब्युरो सदस्य चुनिनुभएको थियो ।
२०१४ सालमा नेकपाको दोस्रो महाधिवेशन खुला रूपमा काठमाडौँको फोहोरा दरबारमा सम्पन्न भयो, जसबाट डा. केशरजङ्ग रायमाझी महासचिव हुुनुभयो । केन्द्रीय कमिटीमा रायमाझी समूह नै बलियो थियो । त्यसबखत पुष्पलाल र तुल्सीलालले पार्टी महाधिवेशनमा संविधानसभा र गणतन्त्रको प्रस्ताव राख्नुभएको थियो । उहाँहरू देशमा आमूल परिवर्तन र गणतन्त्र चाहनुहुन्थ्यो ।
२०१५ सालको आमचुनावमा पार्टीले भाग लिने निर्णय ग¥यो र चार सिट जित्यो । ललितपुर निर्वाचन क्षेत्रबाट तुल्सीलाल, रौतहटबाट सेख फर्मान र हरदयाल महतो अनि पाल्पाबाट कमलराज रेग्मी जनताको मत पाएर नेपालको पहिलो संसद्मा पुग्नुभएको थियो भने शम्भुराम श्रेष्ठलाई माथिल्लो सदनमा पठाइएको थियो । प्रमुख प्रतिपक्षमा गोरखा परिषद् भए पनि नेकपाको प्रस्तुतिले संसद्मा प्रमुख प्रतिपक्षकै भूमिका निर्वाह गरेको थियो । नेकपाको पहिलो संसदीय दलका नेता तुल्सीलालको तथ्य र तर्क काट्न नसकेर काँग्रेस सरकारले भारत सरकारसँग डाल्डा घिउ आयात र गण्डकी नदीको सम्झौता रोक्नुपरेको थियो ।
२०१७ पुस १ गते सैनिक ‘कु’ गरी राजा महेन्द्रले जननिर्वाचित संसद् र सरकार विघटन गर्नुका साथै पार्टीमाथि प्रतिबन्ध लगाए । त्यतिबेला तुल्सीलाल अमात्यको दोस्रोपल्ट सर्वस्वहरण भयो ।

निर्दलीय पञ्चायती व्यवस्थाविरुद्व
२०१७ फागुनमा नेकपाको केन्द्रीय विस्तारित बैठक भारतको दरभङ्गा सहरमा सम्पन्न भयो । उक्त दरभङगा प्लेनममा कनेपालका जम्मा ५२ जना कम्युनिष्ट नेताहरूले भाग लिएका थिए । उक्त पार्टीको विस्तारित बैठकमहेन्द्रको ‘कु’ र शाही सेना परिचालन, नेपाली काँग्रेसको सरकार विघटनपछि मुलुकको राजनीति अवस्थाको मूल्याङ्कनसँगै पार्टीको भावी कार्यनीति–रणनीति र पार्टीको सङ्गठनात्मक जिम्मेवारी पनि नयाँ ढङ्गले तय गर्ने उद्देश्यले बोलाएको थियो । नौ महिना बित्यो दरभङ्गा विस्तारित बैठकको निर्णय कार्यान्वयन नभएपछि पुष्पलाल, तुल्सीलाल, भरतमोहन आदिको पहलमा पाँच अञ्चलको केन्द्रीय को–अर्डिनेसन कमिटी निर्माण गरी त्यसको सचिव सर्वसम्मतिले तुल्सीलाललाई चुनिएको थियो । २०१९ वैशाखमा भारतको वाराणसीमा पार्टीको तेस्रो महाधिवेशन सम्पन्न भयो ।
तेस्रो महाधिवेशनमा तुल्सीलालले राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । उक्त प्रतिवेदनमा नेपालको राजनीतिक शक्ति सन्तुलनको विश्लेषण, मजदुर किसान, उत्पीडित जाति–जनजाति आम श्रमिक जनताको उत्पीडनको अवस्थाको चित्रण र उनीहरूलाई सामन्तवादी, साम्राज्यवादी शोषणबाट मुक्त–स्वतन्त्र बनाउन राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको बाटो, गैरपुँजीवाद समाजवादमुखी बाटो देखाइयो । साथै हुकुमशाही निरङ्कुश प्रक्रियावादी सत्ताविरुद्ध प्रजातान्त्रिक शक्तिहरूबीच एकतामा जोड दिँदै पुँजीवादी प्रजातान्त्रिक शक्ति र राष्ट्रिय प्रजातान्त्रिक शक्तिबीच राजनीतिक मोर्चा बन्न सक्ने, अलग–अलग कार्यक्रम लिनेबीच मिलनबिन्दु खोज्न दुई प्रमुख नारा तय गरियो – राजाको हातबाट सम्पूर्ण शक्ति जनताको हातमा हस्तान्तरण गर्नुपर्ने र सार्वभौम शक्तिसम्पन्न संसद्को स्थापना । यी दुई नारा पूरा गर्ने सपना २०१९ मा तुल्सीलालले देख्नुभएको थियो ।

सपना साकार
पहिलो संविधानसभाले २०६५ जेठ १५ गते राजाबाट सम्पूर्ण शक्ति जनतामा ल्याई नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो भने दोस्रो संविधानसभाको ठूलो बहुमतले नेपालको संविधान पारित गरी २०७२ असोज ३ गते जारी ग¥यो । २०७४ मङ्सिरमा स्थानीय तह–वडा, गाउँ, नगर, उपमहानगर, महानगरको निर्वाचन र २०७५ वैशाखमा प्रदेश र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भई जननिर्वाचित प्रतिनिधिद्वारा संसद्–सरकारको गठनसँगै नयाँ कार्य सुरु गरिएको छ । संविधानसभाबाट रूपान्तरित संसद् होस् वा निर्वाचित सङ्घीय संसद् दुवै सार्वभौम शक्तिसम्पन्न संसद् हुन् । २०१९ सालमा तुल्सीलालले राखेको राजनीतिक प्रस्तावले मूर्तरूप लिएको छ ।
तुल्सीलाल, नेपाल कम्युनिस्ट पार्टी फुटेको होइन एकताबद्ध भएको देख्न चाहनुहुन्थ्यो । २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी)केन्द्रको एकताले उहाँको दोस्रो सपना पनि विपनामा बदलिदिएको छ । यो पार्टी एकता नेपालको विभाजित कम्युनिस्ट आन्दोलनमा सबभन्दा ठूलो एकता र एकीकरण हो । यो एकताबद्ध शक्तिले इमान राखी काम गर्दा तुल्सीलालले भने झैँ नेपालका गरिब मजदुर, किसान, दलित जाति, जनजाति, महिला, युवा विद्यार्थी शोषण र उत्पीडनबाट मुक्त भएर वास्तविक रूपमा देशका मालिक हुनेछन् ।

(लेखक पूर्वमन्त्री तथा तुल्सीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?