logo
२०७७ श्रावण ३१ शनिवार

किन सुक्छन् ढुङ्गेधारा

विचार/दृष्टिकोण |




रमेश गौतम

ढुङ्गेधाराबाट जमिनभित्रको पानी बाहिर निस्कन्छ । प्राचीनकालमा यस्तै ढुङ्गेधारा, कुवा, सफा नदी, तलाउ नै पानीको प्रमुख स्रोत हुने गर्थे । आज पनि नेपालको कतिपय ग्रामीण बस्ती र काठमाडौँ उपत्यकाको कतिपय स्थानमा यस्ता ढुङ्गेधारा देख्न सकिन्छ । केही ढुङ्गेधारामा त अहिले पनि पानी आइरहेको छ । तर, यहाँका धेरैजसो र ग्रामीण भेगका केही ढुङ्गेधारामा पानी नआएर ती ढुङ्गेधाराको भौतिक स्वरूप मात्रै अस्तित्वमा छ । वास्तवमा जलविज्ञान र भूमिगत जलका बारेमा केही सामान्य किसिमको वैज्ञानिक अवधारणा र सामान्य जानकारी पाउन नसक्दा यस्ता पानीका स्रोतहरू क्रमिक रूपले सुक्दै गएका हुन् ।
पृथ्वीको सतहमा खोलानाला, ताल, नहर, कुलोमा पानी भएजस्तै पृथ्वीको सतहभित्र पनि पानीको विशाल भण्डारण हुन्छ । जमिनभित्रको पानीको त्यो विशाल भण्डारणलाई भूमिगत जल भनिन्छ । सतहमा पानी बगेजस्तै सतहमुनिको पानी पनि धेरै कम गतिमा बगिरहन्छ । जमिनभित्रको पानी बढी चाप भएको ठाउँबाट कम चाप भएको ठाउँमा र बढी उचाइ भएको ठाउँबाट कम उचाइ भएको ठाउँतर्फ बग्छ । पृथ्वीको सतहमा बगेको पानी बिस्तारै जमिनभित्र पस्दा विभिन्न कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै ः बालुवा माटो, ढुङ्गाको स–साना कण मिसिएको माटोबाट पानी सजिलोसँग र अन्य मसिनो कणयुक्त माटोको भन्दा बढी मात्रामा जमिनभित्र पस्छ, त्यस्तै वर्षा हँुदा भिरालो जमिनबाटभन्दा समथर जमिनबाट बढी मात्रामा पानी जमिनमुनि पस्छ । कुनै पनि कारणले यसरी जमिनमुनि पानी पस्ने सतह बन्द हुन गयो भने बिस्तारै जमिनमुनि रहेको पानी सकिँदै जान्छ वा जमिनमुनिबाट निकालेको पानीको परिमाणअनुरूपको पानी जमिनमुनि पस्न नपाउँदा भूमिगत जलभण्डारण रित्तिन गई वा कम हुन गई मूल, इनार, कुवा र ढुङ्गेधारा क्रमशः सुक्दै जान्छ । पानीको मुहान सुक्ने, ढुङ्गेधारामा पानी सुक्ने प्रमुख कारणहरूमध्ये यो प्रमुख कारण हो । काठमाडौँ उपत्यकाको सवालमा यो कारण नै ढुङ्गेधाराहरू सुक्ने वा पानीका अन्य मुहानहरू सुक्ने प्रमुख कारण हो ।
काठमाडौँको धेरैजसो जमिन कालोपत्रे वा सिमेन्टले टाल्दा वर्षायाममा परेको पानी जमिनको सतहबाट भित्र पस्न पाउँदैन । फलस्वरूप जमिनभित्र रहेको पानीको भण्डारण प्रयोगसँगै बिस्तारै रित्तिँदै जान्छ वा जमिनभित्र पानी रहेको सतह बिस्तारै दबिँदै जान्छ । यसैकारणले गर्दा हाल काठमाडौँ उपत्यकामा बोरिङ गर्दा पानीको सतह भेट्न धेरै गहिरो खाडल खन्नुपर्छ । यस्तो अवस्थामा बोरिङबाट पानी पनि लामो समयसम्म आउँदैन । फलतः उपत्यकावासीको जीवन कष्टकर हुने निश्चित छ ।
काठमाडौँको सुन्धारामा उच्च बहाव भएका कारण टाउको थापेर नुहाउनसमेत कठिन हुन्थ्यो । भोटाहिटी, असन, भोटेबहाल आसपासका मान्छेहरू त्यहाँ पानी लिन आउँथे भनिन्छ तर अहिले त्यो धारोको भौतिक स्वरूप मात्र बाँकी छ । एक अध्ययनले अहिले सुन्धारा नजिकै रहेको सञ्चय कोषको भवन बनाउँदा भवनको जग राख्न गहिरो बनाएर खाडल खन्दा र जमिनमुनिबाटै कङ्क्रिट वाल उठाउँदा त्यस स्थानको भूमिगत जलको आवातजावत गर्ने बाटोमा असर पुगी वा पानी बहावको दिशा परिवर्तन भई पानी सुकेको बताएको छ । जमिनमाथिको ढलानले पनि जमिनमुनि पानी पस्न नपाएर त्यस ढुङ्गेधाराको पानी सुक्न सहयोग गरेको छ ।
विभिन्न अध्ययनअनुसार ढुङ्गेधारा सुक्ने कुरालाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जमिनमा गरिने कालोपत्रे, ठुल्ठूला भवन बनाउँदा जमिनमा गहिरो खाल्डो खन्दा र त्यस खाल्डोमा कङ्क्रिट वाल उठाउँदा, इनार वा ट्युबबेलबाट अत्यधिक मात्रामा पानी तान्दा र सोही अनुपातमा पृथ्वीको सतहबाट पानी जमिनमुनि पस्न नसक्दा, जमिनमुनिको पानी रहने सतह तलतिर दबिन पुगी ढुङ्गेधारामा पानी सुक्ने वा पानीको बहाव कम हुने हुन्छ । काठमाडौँ उपत्यकामा अहिले विभिन्न कलकारखाना, उद्योगधन्दा, होटल व्यवसाय र मानिसको अत्यधिक चापले गर्दा पानीको खपत धेरै हुन गएको छ । सोही अनुपातमा जमिनमुनि पानी जान नपाउँदा नै ढुङ्गेधारा सुक्न गएको हो । काठमाडौँ उपत्यकामा जस्तै देशको अन्य बाक्लो बस्ती भएको ठाउँ जस्तै धुलिखेल, बनेपामा पनि ढुङ्गेधारा क्रमशः सुक्दै गएको पाइन्छ ।
काठमाडौँ उपत्यकामा अहिले पनि विभिन्न ऐतिहासिक ठुल्ठूला पोखरी (रानीपोखरी, नागपोखरी, कमलपोखरी, टौदह) देखिन्छन् । ती पोखरीले भूमिगत जल भण्डारणमा सहयोग पु¥याइरहेका हुन्छन् । ती ऐतिहासिक पोखरीलाई समेत आधुनिकीकरण गरी ढलान स्वरूपमा लैजाँदा पोखरीमा जम्मा भएको पानी जमिनभित्र जान पाउँदैन र भूमिगत जलभण्डारमा सहयोग नपुगी ढुङ्गेधारालगायतका पानीका स्रोतहरू सुक्दै जान्छन् । ग्रामीण भेगमा सडक निर्माणकार्य गर्दा जथाभावी रूपमा जमिन काट्दा कुनै एक काटिएको स्थानबाट पानी आउने र अरू स्थानका पानीको मूल, मुहान सुक्ने हुन सक्छ । त्यसैगरी जमिनमा ठूला डोजर वा अन्य मेसिन चलाउँदा त्यसको कम्पन वा कारणवश विस्पोटक पदार्थ पड्काउँदा निस्केको कम्पनले जमिनमुनि बगेको भूमिगत जलको बहावको दिशा परिवर्तन भई कतै पानीको मूल सुक्ने र अर्काे कुनै ठाउँमा पानीको मूल फुट्ने हुन सक्छ । भूकम्पले जमिन हल्लाउँदा भूमिगत जलको बहावको दिशा परिवर्तन भई वा भूकम्पले जमिनभित्र पारेको स–साना चिराबाट भूमिगत जल अन्यत्र दिशामा बग्न गई कतै पानीको मुहान सुक्ने र कतै पानीको मूल फुट्ने हुन्छ ।
भूमिगत जलको सतह पनि चलायमान हुन्छ । जमिनको सतहबाट जति धेरै पानी जमिनमुनि गयो त्यति नै भूमिगत जलको सतहमाथि बढ्दै आउँछ । भूमिगत जलको सतहलाई सन्तुलित राख्न हामीले भूमिगत जल निकाले अनुपातबराबर जमिनको सतहबाट पनि प्राकृतिक वा कृत्रिम रूपमा पानी जमिनमुनि पठाउने हो भने ढुङ्गेधारालगायतका पानीका स्रोतहरूको आयु लामो हुन सक्छ । प्राविधिक भाषामा कृत्रिम रूपमा जमिनमुनि पानी पठाउने कार्यलाई कृत्रिम रिचार्ज भनिन्छ । कतिपय सम्पन्न राष्ट्रमा भूमिगत जलको सतह नघटोस् र पानीका स्रोत नसुकून् भनेर कृत्रिम रूपमा पानी जमिनमुनि पठाइन्छ । सर्वसाधारणमा भूमिगत जलबारेमा सामान्य जानकारी दिन सकेमा र सोहीअनुरूपको व्यवहारमा उतार्न सकेमा पनि भूमिगत जलभण्डारण र त्यसको उचित प्रयोगमा सहयोग पुग्ने थियो ।

(लेखक त्रि–चन्द्र कजेलको भूगर्भ विभागमा अध्यनरत हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?