logo
२०८० चैत्र १६ शुक्रवार



बाढीले गण्डक बाँध नाघ्न लाग्यो, सुस्ताक्षेत्र उच्च जोखिममा

मुख्य समाचार |


बाढीले गण्डक बाँध नाघ्न लाग्यो, सुस्ताक्षेत्र उच्च जोखिममा
फाइल तस्बिर : चाँदनी हमाल


चाँदनी हमाल
काठमाडौँ, साउन ६ गते । लगातारको वर्षाले ठूला नदीको सतहले सतर्कता तह पार गर्दै केहीले खतराको तहसमेत पार गरेको छ । जसका कारण तटीय क्षेत्र आसपासका बस्ती डुबानमा पर्न थालेका छन् ।

सबैभन्दा बढी खतरा यतिबेला नवलपरासी त्रिवेणीस्थित गण्डक नदीमा बढेको छ । बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनिल पोखरेलका अनुसार नारायणी नदीले खतराको तह पार गरेसँगै गण्डक बाँधमा बढेको बहावले बाँध नै नाघ्ने अवस्था आएको छ । “माथि देवघाटतिर आएकोभन्दा पूर्वी राप्तीको बहावका कारण आज बिहानै गण्डक बाँधको पानीको सतह तीन फिटमाथि बढेर पुल छुन पुगेको थियो,” उहाँले भन्नुभयो ।

यो मात्र हैन चितवनको सौराहाहुँदै बग्ने पूर्वी राप्ती ह्वात्तै बढेकाले त्यस क्षेत्र हुँदै जाने नदीको बहाव पनि नारायणीमा मिसिएर जलबहावलाई थप तीव्र बनाएको छ । पूर्वी राप्तीकै सहायक नदी माडीको रियु खोलामा बाढीले खतराको तह नाघेको छ । त्यस नदीसँगै स्थानीय खोलाको बाढी पनि नारायणी नदीमा मिसिँदै त्रिवेणी पुगेकाले गण्डक बाँधबाट ओभरफ्लो हुने सङ्केत देखिएको पोखरेलले बताउनुभयो ।

'त्यहाँ नारायणीकै बाढी मात्र जाँदा पनि त्यो बाँध र आसपासका क्षेत्र डुबानमा पर्थ्याे भने अझ पूर्वी राप्तीतिरबाट समेत अधिक जलबहाव भएपछि झन खतरामा पुगेको हो', उहाँले भन्नुभयो । जसका कारण सुस्ता क्षेत्रका नेपालतर्फका १२ गाउँमा बाढी पस्ने उच्च खतरा बढेको छ ।

कोशी नदीको बहाव पनि सतर्कता तह आसपास पुगिसकेको छ । कोशी बेसिनको सबै नदीमा बाढी बढेको छ । जसका कारण पूर्वी र पश्चिम भेगको बाँधमा बाढीले ठक्कर दिन थालेको छ ।
पश्चिमतिर बुटवलको तिनाउ नदीमा बाढी बढेपछि त्यहाँको नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको बाग्मती, बिष्णुमती, मनोहरा, हनुमन्तेलगायत खोलाको सतह बढेर नदी छेउका बस्ती डुबानमा परिसकेका छन् । मध्यान्हसम्म नदीको पानी ओभरफ्लो भएर सडकमा समेत पुग्नेक्रममा रहेको पोखरेलले जानकारी दिनुभयो ।

प्रदेश १ र २ का तराईका स्थानीय खोलाको बाढी बढ्नेछ । आज मध्यान्हपछि अन्यत्र केहीबेर वर्षा रोकिने सम्भावना रहेपनि नवलपरासी सीमाक्षेत्र आसपासमा वर्षा निरन्तर रहनेछ । जसका कारण पनि त्यो क्षेत्रमा डुबान र बाढी पस्ने खतरा रहेको छ ।

यतिबेला नारायणीको देवघाटस्थित स्टेसनमा बाढीले खतराको तह पार गरिसकेको छ । त्यहाँ खतराको तह आठ मिटर पार गरेर ९.८२ मिटर पुगेको छ । कोसीको पूर्वी क्षेत्रको धनकुटा स्टेसनमा पनि खतराको तह पार गरेको छ । खतराको तह ११ मिटर पार गरेर ११.९७ मिटर पुगेको छ । योसँगै नारायणीको उद्गनस्थल कालीगण्डकी क्षेत्रको तातोपानी स्टेसनमा भने सतर्कता तह पार गरेको छ । नारायणीकै नारायणगढस्थित पुलमा सतर्कता तह पार गर्दै १२.५९ मिटर जलबहाव रहेको छ ।

पूर्वी राप्तीको मुख्य बहावक्षेत्र मकवानपुर हेटौँडाको रजैयास्थित स्टेसनमा पनि नदीको बाढीले सतर्कता तह पार गरेको छ । त्यहाँ ३.३६ मिटरमाथि जलसतह पुगिसकेको छ । अझै बढ्ने क्रममा छ । यीसँगै तिनाउ, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, बाग्मती, कमला, कन्काईलगायतका नदीको जल बहाव बढ्ने क्रममै रहेको छ । तर यी नदीले सतर्कता तह भने पार गरिसकेको छैन । दिनभरमा सतर्कता तह आसपास पुग्ने जनाइएको छ ।

वायुकाे न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था छ । जसका कारण देशभर हल्कादेखि मध्यम वर्षा निरन्तर रहनेछ । साथै केही भेगमा भारी वर्षा पनि हुने जनाइएको छ । आजसहित तीन दिन प्रदेश १, २, बाग्मती , गण्डकी क्षेत्र र प्रदेश ५ मा र कर्णाली तथा सुदुरपश्चिमका केही क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?