logo
२०८० चैत्र १६ शुक्रवार



कोभिड–१९ का कारण 'मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम' हुन सकेन

स्वास्थ्य |




मधुसुधन तिमल्सिना

काभ्रे, असार ३१ गते । नसर्ने रोग र तिनका जोखिम समयमा नै पहिचान गरी उचित परामर्श वा उपचार गर्ने उद्देश्यले सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लामा हुन सकेन । चैतबाट सुरु भएको उक्त कार्यक्रम कोभिड–१९ का कारण हुन नसकेको हो ।

प्रत्येक हप्ताको शनिबार धुलिखेल अस्पतालमा परीक्षण हुने गरी छ नगरपालिकामा उक्त कार्यक्रम सुरु गरिएको थियो । स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले मुख्य मन्त्री जनता स्वास्थ्य परीक्षणका लागि आएको ४५ लाख १८ हजार रुपियाँ फ्रिज भएको जानकारी दिनुभयो । उहाँका अनुसार चैत १ गतेदेखि सुरु हुने उक्त कार्यक्रम कोरोनाका कारण हुन नसकेका बताउनुभयो । जिल्लाका बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा मुख्य मन्त्री जनता स्वास्थ्य परीक्षण सुरु भएको थियो ।

नसर्ने रोग जटिल हुन नदिन र स्वस्थ व्यक्तिमा नसर्ने रोगको जोखिमलाई न्यूनीकरण गर्न बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अघिल्लो आर्थिक वर्षबाट नमूनाको रुपमा पाँच जिल्ला मकवानपुर, सिन्धुपलाञ्चोक, चितवन, सिन्धुली र भक्तपुरबाट सुरु गरेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका १३ वटै जिल्लामा लागू गरेको थियो ।

जिल्लाका छ नगरपालिकाका चार हजार तीन सय नागरिकको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिइएको थियो । एक हजार आठ सय ५० जनाको निःशुल्क र दुई हजार चार सय ५० जनाको २५ प्रतिशत शुल्क छुटमा स्वास्थ्य परीक्षण हुने थियो । उक्त मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षणमा नेपाल सरकारले वितरण गरेको गरिब घर परिवार परिचय प्राप्त नागरिक तथा स्वघोषित विपन्न घोषणा गरेको व्यक्ति, लोपोन्मुख तथा अल्पसङ्ख्यक जातिहरू, शहीद तथा बेपत्ताका परिवार र सशस्त्र द्वन्द्वका घाइते व्यक्ति, महिला स्वास्थ्य स्वयमसेविका, लोकतान्त्रिक आन्दोलनका घाइते व्यक्तिहरूलाई निःशुल्क परीक्षण गराइने उल्लेख छ । वडाअध्यक्षहरूको सिफारिसमा उक्त व्यक्तिहरूले उपचार पाउनेछन् । उनीहरूले अस्पतालबाट १६ थरी रोगको परीक्षण सेवा प्राप्त गर्ने थिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?