logo
२०८० चैत्र ६ मंगलवार



प्रोपोगान्डा छाड, पत्रकारिता गर (सम्पादकीय)

विचार/दृष्टिकोण |




भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले मुख्यमन्त्रीहरूलाई पत्र लेख्दै भन्नुभएको थियो, ‘भारतले स्वाधीनता प्राप्त गरेको छ, प्रजातन्त्र पाएको छैन, प्रजातन्त्रका लागि धेरै काम गर्न बाँकी छ ।’ अहिले उहाँ जीवितै रहेको भए भन्नुहुँदो हो, ‘भारतमा प्रजातान्त्रिक शासन व्यवस्था छ तर प्रजातान्त्रिक संस्कार बसाउन सकिएको छैन ।’ एक गालामा कसैले थप्पड हान्यो भने अर्को गाला पनि थापिदिनु भन्ने संस्कार सिकाउनुहुने गान्धीको देश भारतका केही सञ्चारकर्मी र सञ्चार माध्यमले विश्व पत्रकारिताको मूल्यमान्यता भङ्ग गरेका छन् । पत्रकारिताको सामान्य विद्यार्थीले पालना गर्नुपर्ने सत्य, तथ्य निष्पक्षजस्ता सिद्धान्तको धज्जी उडाउँदै केही भारतीय सञ्चारमाध्यमले दोस्रो विश्वयुद्धकालीन प्रोपोगान्डा गरिरहेका छन् । अफवाह फैलाएका छन् । खराब मनसाय प्रकट गरेका छन् । पत्रकारितालाई माध्यम बनाएर नेपाल, नेपाली र नेपाली नेतृत्वविरुद्ध गरिएका भ्रमको खेती पत्रकारिताको आममान्यताविरुद्ध छन् । सङ्क्षेपमा भन्नुपर्दा उनीहरूले प्रचार गरेका छन्, पत्रकारिता त्यागेका छन् ।
नेपालले आफ्नो मुलुकको नक्सा अद्यावधिक गरेपछि भारतीय सञ्चारमाध्यमले सुनियोजित तरिकाले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनर्गल प्रचार गरिरहेका छन् । विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारतका त्यस्ता सञ्चारमाध्यमले भारतको खिल्लीमात्र उडाएका छैनन्, लोक हँसाएका छन् । नेपाल, एउटा असल मित्रराष्ट्रविरुद्ध लेख्दै गर्दा, बोल्दै गर्दा भारतीय पत्रकारले बिर्सन हुँदैन– उनीहरूलाई साम्राज्यवादको दलदलबाट मुक्त गराएर स्वतन्त्रतापूर्वक लेख्ने हैसियत दिन र स्वतन्त्र मुलुकको नागरिक बन्न नेपाली नेताहरूले ठूलो योगदान दिएका थिए । नेपाली युवाले अहिले पनि भारतको सीमा रक्षा गरिरहेका छन् । यस्तो गौरवपूर्ण सत्यलाई उपेक्षा गरेर भारतका केही सञ्चारकर्मीले गरेका भ्रमको सर्कस उनीहरूका लागि मनोरञ्जनात्मक हुन सक्छन् तर न यसले भारतको शुभचिन्तक नेपालको सम्मान गर्छ न विश्व पत्रकारिताको धर्म धान्दछ ।
नेपालले आफ्नो लिपुलेक क्षेत्रमा भारतले बनाएको सडकलगायतका संरचना र सीमा विवादबारे खुला हृदयले वार्ता गरी कूटनीतिक समाधानका लागि पटक–पटक गरेको आग्रहलाई उपेक्षा गर्दै भारत सरकारले गरेको अर्घेलो चिर्न नसकेर सरकारको मुन्सीखाना वा चप्रासीको हैसियतामा त्यहाँको सञ्चारजगत् बर्बाद हुनुहुँदैन भन्ने नेपालीको मान्यता छ । नेपाली पत्रकारिताले भारतीय सञ्चारले अपनाएको गलत बाटोमा दयाभाव प्रकट गरिदिनमात्र सक्छ । नेपाली पत्रकारहरूलाई राम्ररी थाहा छ, भारत स्वाधीन हुन गर्दै गरिएका गर या मरको अभियानमा कतिपय भारतीय पत्रकार र सञ्चारले स्वाधीन भारत अभियानलाई असहयोग गरेर ब्रिटिस–भारत सरकारको गुलामी गरेका थिए । यसबारेमा गान्धीका तीता अनुभव पढ्नुपर्छ, त्यहाँका पत्रकारले । अहिले पनि निष्पक्ष र पत्रकारिताको धर्मपालना सन्दर्भमा जनताले लिने परीक्षामा कस्तो अङ्क ल्याउनेछन् उनीहरूले ?
राष्ट्रियताका पक्षमा नेपालभित्र देखिएको अभूतपूर्व एकता, हार्दिकता र त्यस्तो वातावरणको नेतृत्व गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास सच्याउँदै नेपालका कुटियाङ्दी, नाभीलगायत लिम्पियाधुरासम्म समेटी नक्सा जारी गरेर नेपाली स्वाभिमान उच्च बनाउनुभएकाले भारतीय सञ्चारमाध्यमले उहाँविरुद्ध गर्ने बद्ख्याइँलाई नेपाली मन र मुटुले राम्ररी बुझेका छन् । नेपाल ‘नबिराऊ, नडराऊ’ सिद्धान्तमा अघि बढिरहेको छ । यस्ता कुप्रचारले नेपालीलाई थप सजग, एकताबद्ध र दृढ हुन पे्ररणा दिनेछ । नेपालीले हरप्रहारलाई थप प्रेरणा बनाएको इतिहास धेरै टाढा छैन । जनताले लेखेको संविधान जारी हुनेबित्तिकै नेपालीमाथि लादिएको नाकाबन्दीमा नेपालीले भनेका थिए, ‘आधापेट खान्छौँ, अन्यायविरुद्ध नझुक सरकार ।’ त्यसबेला पनि नेपाली स्वाभिमानको नेतृत्व गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको नशा–नशामा अद्यावधिक नक्सा प्रविष्ट गराउँदा भारतीय अपरिपक्व सञ्चारकर्मीले तल्लोस्तरको गालीगलौज गर्छन् भने नेपालीले उनीहरूको सीमित ज्ञान, पूर्वाग्रह र अज्ञानताविरुद्ध क्षमा दिनुपर्छ । नेपाली पत्रकारिताले भारतको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकताको सम्मान गर्दै आएको छ र आगामी दिनमा पनि गर्नेछ । भारत–चीन तनावका कारण लद्दाख क्षेत्रमा भारतीय सेनाले बेहोरेको क्षति तथा शहादतका सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको थियो– विस्तारवादको युग समाप्त भएको छ । भारतका सञ्चारकर्मीहरूले बुझ्नुपर्छ एक्काइसौँ शताब्दी न भौगोलिक विस्तारवादका लागि आएको हो न आफूअनुकूल विचार विस्तारका लागि उदाएको हो । एक्काइसौँ शताब्दीले न बलको विस्तार स्वीकार गर्छ न नियोजित विचार स्वीकार गर्छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?