logo
२०८० चैत्र १५ बिहीवार



अस्ट्रेलियाको मेलबर्नमा छ हप्ते लकडाउन शुरु

अन्तर्राष्ट्रिय |




मेलबोर्न, असार २५ गते। कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न आदेश दिएका छन् । भिक्टोरिया राज्यमा बिहीबार अरु १६५ जनामा संक्रमण देखिएको थियो । यस राज्यमा अरु राज्यबाट हुने आवातजावतमा पूर्ण रुपमा प्रतिबन्ध समेत लगाइएको छ ।
लकडाउनको सम्भावना रहेसँगै छिमेकी राज्य न्यू साउथ वेल्सबाट मानिसहरु बुधबार ठूलो संख्यामा भिक्टोरिया प्रवेश गरेका छन् । प्रहरीका अनुसार ३६ घण्टाभन्दा कम अवधिमा ३० हजारभन्दा बढी कार भिक्टोरिया प्रवेश गरेका छन् । यसबाट भिक्टोरियाका अरु क्षेत्रमा पनि कोरोनाभाइरसको संक्रमण अरु बढ्ने खतरा औंल्याइएको छ ।
न्यू साउथ वेल्सका प्रमुख ग्लाडिज बेरेजीक्लियानले सीमावर्ती शहर अल्बरीमा दुई जना नयाँ संक्रमित भेटिएको जनाउँदै अन्य राज्यको भ्रमण गर्दा विशेष सावधानी अपनाउन चेतावनी दिनुभयो । क्विन्सल्यान्ड राज्यले पनि बिहीबार भिक्टोरियाबाट हुने आवागमनलाई निषेध गरिएको घोषणा गरेको छ । क्विन्सल्यान्डले यसअघि अन्य राज्यबाट आउने यात्रुलाई १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने नियम पनि हाल स्थगित गरेको जनाएको छ ।
मेलबर्नमा लकडाउनका कारण उत्पन्न हुनसक्ने आर्थिक तथा मानसिक स्वास्थ्यमाथिको असरका बारेमा चासो र चिन्ता व्यक्त हुन थालेको छ । अधिकारीहरुका अनुसार यस लकडाउनबाट राज्यमा करिब ४ अर्ब २० करोड डलर बराबरको आर्थिक क्षति हुनेछ ।
मेलबर्नमा रेस्टुराँ र क्याफेहरु आंशिक खुल्न दिइने छ, तर जिम, सौन्दर्य सैलुन र चलचित्र प्रदर्शनमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । आम मानिसलाई घरभित्रै बस्न भनिएको छ, तर कार्यलयका काम, शारीरिक अभ्यास, स्वास्थ्य सेवा वा अत्यावश्यक सामान खरिद गर्नेगरी काममा निस्कन दिइने छ । सरकारले कडा नियम घोषणा गरे पनि धेरैजसो मानिसले प्रतिबन्धहरुको स्वागत गरेका छन् ।
मेलबोर्नमा सरकारी स्वास्थ्य अधिकारीहरु मानिसको स्वास्थ्य परीक्षणका लागि अहिले घरघरमा पुगेका छन् । अस्ट्रेलियामा हालसम्म कोविड–१९ बाट करिब ९ हजार व्यक्तिमात्र संक्रमित भएका र १०६ जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यबाहेक अस्ट्रेलियामा ज्यादै न्यून संख्यामा संक्रमित भेटिएका छन् । अधिकांश संक्रमित व्यक्तिहरु विदेशबाट फर्किएका र होटलमा क्वारेन्टिनमा बसेकाहरु रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?