logo
२०८१ बैशाख ८ शनिवार



भारतीय सञ्चारले बिगारेको सम्बन्ध

विचार/दृष्टिकोण |




प्रदीप नेपाल

अहिले विश्व आतङ्कित छ भिन्न भिन्न नकारात्मक समाचारबाट । एकातिर विश्व आतङ्कित छ कोरोना महामारीबाट । अर्कातिर भारतीय सञ्चार माध्यमलाई विश्वास गर्ने हो भने सुनिन्छ– अमेरिका र चीन, चीनको दक्षिण सागरमा युद्धको स्थितिमा छन् । चीन र रुसबीच पनि ‘टकराव’ को अवस्था छ । भारत–चीन सीमाक्षेत्र अक्साई चीन (लद्दाख) क्षेत्रमा भिडन्त भएको छ । नेपालले पनि कोल्टो फेरेको छ । भारतसितको रोटी–बेटीको सम्बन्धलाई तिरस्कार गरेर हिमालपारिको चीनको पोल्टामा बसेको छ । नेपालका लागि मर्दा पर्दा हामी छौँ । चीनसँग के छ र ? नेपालका प्रधानमन्त्री के.पी. ओलीका विरुद्धमा लाखौँ मानिस सडकमा ओर्लिए । के.पी. ओलीका कारण नेपाल भारतबीचको सम्बन्ध बिग्रिन थाल्यो आदि इत्यादि !
माथिका समाचार र विचार मैले भारतीय सञ्चार माध्यमबाट लिएको हुँ । फेसबुकमा पनि पढिने यी समाचार झुट र आत्मरतिका नमुना हुन् । जहिलेसम्म नेपाल भारतको बलमिच्याइँ सहेर बस्छ, तहिलेसम्म भारत– नेपालबीचको सम्बन्ध ‘सुमधुर’ हुन्छ तर जब नेपालले भारतभन्दा भिन्न निष्कर्ष निकाल्छ, त्यसपछि नेपाललाई चीनको पोल्टामा हालिदिने भारतीय मानसिकता बनिहाल्छ । यसको कारण के हो ? कतै त्यो औपनिवेशिक मानसिकता त होइन ? एउटा सत्य के हो भने भारतको एकीकरण कुनै भारतीय राजा अथवा बहादुर भारतीय पौरखीले गरेको होइन । बेलायती उपनिवेश नबनुञ्जेल भारत झण्डै छ सय रजौटामा विभाजित थियो । जयपुर, पटियाला, दिल्ली, बङ्गाल, कोचविहार, हैदरावाद, मराठा जस्ता राज्यमा बेलायती सरकारको फौजले आक्रमण गरेर ‘इन्डिया’ नामकरण गरी एकीकरण गरिदिएको हो । द्ुई सय वर्षको शासनमा हिन्दुस्तान र पाकिस्तानका ठूलाबडाहरूलाई बेलायतीकरण गरेर बेलायतले नै इन्डिया बनायो । दुई सय वर्षमा आठदेखि दश पुस्ता जान्छन् । जब कि तीन पुस्तामै मान्छे परम्परागत मान्यतालाई त्याग गरेर आधुनिक भनिने दास संस्कृतिमा समाहित हुन्छ ।
अङ्ग्रेजसँग नेपालीहरूले पनि लडाइँ लडेका हुन् । त्यो लडाइँ खालि १८१४ देखि १८१६ सम्मको मात्र थिएन । भारतको उत्तराञ्चल राज्यको गढवालमा गोर्खालीको शासन १३ वर्षसम्म थियो भन्ने जानकारी त्यहाँको इतिहास पढ्दा थाहा हुन्छ । हाम्रो नेपालको सिमाना सतलजसम्म थियो भन्ने सत्यलाई अस्वीकार गरे पनि किल्ला काङ्गडा त नेपालको सिमाना हो भन्ने सत्य ‘हाम्रा बहादुर शत्रु बलभद्र’ भनी ब्रिटिस इण्डियाका शासकले स्वीकार गरेको सत्य अहिले पनि जीवित छ । नेपालीहरूले सिन्धुली, बुटवल, कुमाउँ, अल्मोडा, गढवालमा ब्रिटिस इन्डियालाई हराएकै हो ।
भारतका शक्तिशाली राजा, महाराजाहरूले आत्मसमर्पण गरेर आफूलाई बेलायतीकरण गरे तर सानो राज्य नेपालले त्यही ब्रिटिसलाई पराजित गरेर आफूलाई स्वतन्त्र राख्यो । यसको अर्थ हो, हामीलाई न इन्डियन पोल्टो चाहिन्छ, न त चाइनिज । हामीसँग छ हजार वर्षको स्वतन्त्र इतिहास छ । बितेको छ हजार वर्षले हामीलाई कुन मानसिकता दिएको छ भने जस्तासुकै प्रतिकूल परिस्थितिमा पनि हामी एक्लै उभिन सक्छौँ । इन्डियाको कुरो नखानेबित्तिकै उसले नेपाललाई आफ्नो विरोधी नठानोस् । कुनै पनि इतिहासलाई बिगार्ने काम नगरोस् । हामीलाई कसैको सुरक्षा छाता चाहिँदैन भनी पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले दिल्लीमै दिएको जवाफको सम्झना अहिले मैले गराइरहनु पर्दैन ।
झुट कुरा बोलेर अरूलाई केही समय वा केही वर्ष अलमल्याउन अथवा झुक्याउन सकिएला तर अन्तिम निष्कर्षमा सत्यलाई मेट्न त सकिँदैन । ‘केपी. ओली के दिन गए’ भनेर किन लेख्नु ? बेकारमा नेकपाका वरिष्ठ नेताहरूको हुर्मत किन लिनु ? सिधै भन्दा के बिग्रन्छ – हामी केपी. ओलीलाई मान्दैनौँ भनेर लेख्दा हामी पत्रकारको कलम भाँच्न त जाँदैनौँ होला । नेपालीमा एउटा उखान छ– नाक छुनु छ भने सिधैै छुनु नि, किन पछाडिबाट हात घुमाएर छुने कष्ट गर्नु ?
नेपालीहरू बहादुर छन्, यो विश्वव्यापी मान्यता हो तर नेपाली लडाइँ झगडा पनि मन पराउँदैनन् । नेपाली शान्तिप्रिय छन् । त्यसैले बीसौँ शताब्दीपछि नेपालमा कुनै हिंस्रक आन्दोलन सफल भएनन् । भारतसँग झगडा गर्नुपर्ने दर्जनौँ मुद्दा थिए र अझै पनि छन् । सिमाना बजारको पश्चिम उत्तरको नेपाली चिहान, पशुपतिनगरको अध्यागमन, हिले भञ्ज्याङको घरको आँगन, मेची पुल दक्षिणका जङ्गे पिलरभन्दा दुई किलोमिटर पश्चिमको भूमि, सुस्ता, कञ्चनपुरको दक्षिणी सिमाना– कति छन् कति पेलिएका भूभागहरू । १९५० तिरको भारतीय नक्सा पल्टाउँदा पनि थाहा हुन्छ हामी कति ठाउँमा कोतरिएका छौँ भनेर ।
किन यस्तो गर्छ इन्डिया ? ठूला नेताले रोटीबेटीको सम्बन्ध भनिरहनुपर्दैन । बेलायती उपनिवेशको निरन्तरताको सपना देखेको त होइन इन्डियाले ? अहिलेको झमेलामा हामी नभए नेपाल बाँच्दैनसमेत भनेर लेखे । यो गोर्खालीको सिँए जगाउने हिसाबले त ठीकै होला तर अपमानको बोली हो भने यो अत्यन्त अनुचित हो । भारतले बोलेका कतिपय सहयोग परियोजनाहरू अहिले पनि कागजमै सीमित छन् । नेपाली आफैँले गरेको हुनाले २५ वर्षपछि मेलम्चीको पानी उपत्यकामा आयो तर भारतले मनमोहन अधिकारीलाई हामी बनाइदिन्छौँ भनेको नौमुरे बहुउद्देश्यीय परियोजना कहाँ छ अहिले ? महाकाली टनकपुर बाँधबाट सित्तैँ दिने भनिएको बिजुली खै ? माधव नेपाल र केपी ओलीलाई उडाउने एकीकृत महाकाली सन्धि कता हरायो ? (यद्यपि यो परियोजना बन्नुहुँँदैन भन्ने कुरामा म अहिले त झन् दृढ भएको छु जोगबुढाको भ्रमणपछि) भारतका इन्डियनहरूले बुझेर बोल्नु राम्रो ।
हिमाञ्चल प्रदेशमा स्याउ कुहेर सकिँदैछ, स्याउ टिप्ने मजदुर नपाएर । स्याउ टिप्ने मजदुर भनेर नेपालीलाई हियाउन खोजे पनि मलाई यो राम्रो लागेको छ । म श्रमजीवीलाई ठूलो मान्ने मान्छे हुँ । यति कुरो त इन्डियनहरूले बुझ्नुपर्ने हो नि । नेपाली श्रमिक भारत जानु नपर्ने स्थिति आयो भने हिमाञ्चल प्रदेश मात्र होइन, जम्मु काश्मिरका स्याउहरू पनि बगानमै कुहिएर सकिन्छन् । सानातिना कुरामा के गनगन गरिरहनु, गोर्खा बटालियन खारेज भयो भने भारतको सिमानाको रक्षा कसले गर्छ ?
त्यसैले भारतीयहरू ! हामीले नेपाललाई पालेका छौँ भन्ने दम्भ नदेखाउनुस् । छलफल गर्दा थाहा हुन्छ कसले कसलाई पालेको छ ! केही हप्ताअघि मैले पढेको थिएँ– भारतबाट नेपाल भित्रिने ‘रेमिटेन्स’ भन्दा भारत जाने ‘रेमिटेन्स’ तीन गुणा बढी हुन्छ ।
मलाई भारतविरोधी ठान्नुहुन्छ भने पनि केही छैन । मैले मेरो राष्ट्रको गीत गाउँदा कसैलाई रिस उठ्छ भनेर मैले बोली बन्द गर्नु हुँदैन । मेरो भनाइ के मात्र हो भने बोल्नु अगाडि सोच्नुस् । दक्षिण एसियाको म दादा भन्ने बिमारीबाट मुक्त हुनुस् । ‘चीन, पाकिस्तान र नेपाल मिलेर भारतलाई एक्ल्याउने षड्यन्त्र’ जस्तो लघुताबोध कहिल्यै नलिनुस् । उसै पनि पाकिस्तानी रगत र हिन्दुस्तानी रगत एउटै हो । रोटीबेटीको सम्बन्धभन्दा रगतको सम्बन्ध कता हो कता बलियो हुन्छ ।
जहाँसम्म चीनको पोल्टोको कुरो हो, त्यो एकदमै असम्भव कुरा हो । किनभने छुवाछोईको समाज भएको राष्ट्रमा कहिल्यै समाजवाद आउँदैन । नेपाल भारतजस्तो, नेताहरू राजा महाराजा हुने मुलुकमा पनि समाजवाद आउँदैन । तपार्इंहरूले बारम्बार नाकाबन्दी लगाएर हामीलाई आत्मनिर्भर अर्थतन्त्र बनाउने काममा सहयोग गर्नुभयो भने नेपाल सुखी र समृद्ध राज्य बन्न सक्ला तर अब त तपाईंहरू त्यो पनि गर्न सक्नुहुन्न । हाम्रो नाकाबन्दीले त नेपाललाई फाइदा पो हुने रहेछ भन्ने सत्य बुझेपछि तपाईंहरू त्यहाँबाट पनि पर सर्नुहुन्छ ।
तपाईंहरू हाम्रो आँगन नहेर्नुस्, हामी पनि त्यता नहेरौँला ।

(लेखक नेकपाका नेता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?