logo
२०८१ बैशाख ८ शनिवार



सतीप्रथाको अन्त्य र एकल महिला अभियान

विचार/दृष्टिकोण |




डा. बिन्दा पाण्डे

एक सय वर्षअघि आजकै दिन (असार २५ गते) नेपालबाट सतीप्रथा अन्त्यको घोषणा गरिएको थियो । जसका कारण हजारौँ महिलाको जीवनरक्षा भएको छ । लाखाँै बालबालिका टुहुरा हुनबाट जोगिएका छन् । यसकारण पनि आजको दिन नेपाली समाजका लागि महŒवपूर्ण दिन हो ।
सतीप्रथा श्रीमान्को मृत्युपछि जिउँदी श्रीमतीलाई श्रीमान्को शवसँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो । प्राचीनकालमा योद्धाहरू आफ्नो मृत्युपछि आफ्ना श्रीमती आफूसँगै मर्ने वा मारिने कुरालाई गौरवका रूपमा लिने गर्दथे । महिलाको यो वीभत्स मरण (हत्या)लाई समाजले सतीका नाममा परम्परा बनायो । शासक वर्गले महिला जीवनको अमानवीय बलि, वीभत्स र नृशंस कृत्यको भयानकताबारे कुनै विचार गरेन । बरु, उल्टै धर्मकार्यको नाम दिइयो । सुरुमा राजकीय परिवारमा सीमित यो प्रथा क्रमशः सामाजिक प्रतिष्ठा, आर्थिक हैसियतसँग जोडिँदै राजनीतिक सत्ता र शक्ति मुख्य कारण बन्न गएको देखिन्छ ।
वैदिककालदेखि नै नैतिक कानुनका रूपमा यो प्रथा चल्दै आएको देखिन्छ । पूर्वीय दर्शनको प्राचीन ग्रन्थ ऋग्वेदका अनुसार आफ्ना मृत पतिको चितामा बसेकी पत्नीलाई आत्मदाह नगरी पुनः संसारमा नै फर्कन भनिएको पाइन्छ (ऋग्वेद १०।१८।८) । यसबाट त्यस समयमा सती प्रथा प्रचलनमा रहेको सङ्केत मिल्छ ।
इतिहासका प्राध्यापक डा. वासुदेव लाल लेख्नुहुन्छ, ‘रामायण र महाभारतजस्ता ग्रन्थहरूमा पनि सतीप्रथाको उल्लेख पाइन्छ । पाण्डुको मृत्युमा माद्री, धृतराष्ट्रको मृत्युमा गान्धारी, बलरामको मृत्युमा रेवती, कृष्णको मृत्युमा उनका आठजना श्रीमती र वासुदेवको निधनमा उनका चारजना श्रीमतीहरू सती गएका थिए ।’ अन्य हिन्दु धर्मग्रन्थहरूमा पनि सतीका बारेमा उल्लेख गरिएका विभिन्न आलेखहरूमा पढ्न पाइन्छ । यसका आधारमा सतीप्रथा त्यो कालमा पनि रहेको थियो, मान्न सकिन्छ ।
सती संस्कृतबाट आएको शब्द हो, जसको अर्थ ‘असल पत्नी’ हुन्छ । यस प्रथाको सुरुवातका बारेमा सती शब्द मुख्यतः हिन्दु देवी सतीबाट आएको मानिन्छ । सतीको पिता दक्ष प्रजापतिले शिवको अपमान गरेका कारण सतीले आगोमा फाल हालेर आत्मदाह गरेको र त्यही परम्परामा टेकेर पछिल्ला दिनमा श्रीमान्को मृत्युमा श्रीमतीहरू सँगै मर्ने वा मारिने चलन क्रमशः सतीप्रथाका रूपमा स्थापित हुन पुग्यो भन्ने किंवदन्ती पाइन्छ । प्राध्यापक डा. दासको भनाइमा ‘सती भनेको त्यस्तो नारी हो, जो पतिको देहान्तपछि स्वेच्छापूर्वक चितामा सँगै आपूmलाई अग्निमा समर्पित गर्दछिन् ।’ हिन्दु धर्मावलम्बी समाजमा प्रचलनमा रहेको विधवालाई जीवितै जलाउने योे प्रथा वस्तुतः पितृसत्तात्मक समाजकोे सामाजिक कुरीति थियो ।
मूलतः सतीप्रथा भारत र नेपालमा प्रचलित थियो । सतीप्रथाका बारेमा ऋचा जैनले आफ्नो आलेखमा भन्नुभएको छ, ‘भारतको मध्यप्रदेशमा विक्रम संवत् ५१० को दस्तावेजमा नै उल्लेखित यो प्रथा १५औँदेखि १८आँै शताब्दीको बीचमा सबैभन्दा आक्रान्त रूपमा रह्यो । त्यतिखेर सती हुने फरक तरिकाहरूबारे आलेखहरूमा पाइन्छ, कुनै ठाउँमा श्रीमान्को शव जलिरहेको चितामाथि नै श्रीमतीलाई राखेर पोल्ने गरिन्थ्यो भने कतै छेउमा अर्को चिता बनाएर जलाइन्थ्यो । कतिपय ठाउँमा विषपान गराएर अचेत बनाएर चितामा राखिन्थ्यो भने कतै विषालु सर्पलाई टोकाउने वा धारिलो पत्तीले घाँटी चिरेर विक्षिप्त बनाएर चितामा राखिदिने चलन पनि थियो । आखिर जे होस्, यो मानवताविरुद्धको हदैसम्मको क्रूरता र बर्बरता थियो । यो चलन सुरुका दिनमा शासक वर्गले आफ्नो शान र औकात देखाउने कुरामा केन्द्रित रहे पनि समयक्रममा पुरेत–पण्डित हँुदै अन्य समुदायका आफूलाई शक्तिशाली र समाजमा प्रतिष्ठित ठान्नेहरूमा पनि विस्तार हुन पुग्यो । र, परिवारको सामाजिक प्रतिष्ठा र महिलाको पतिव्रताका रूपमा व्याख्या गर्न थालियो ।
भारतमा यस बर्बरतालाई रोक्न पन्ध्राँै शताब्दीदेखि धेरै प्रयत्नहरू भए पनि प्रभावकारी हुन सकेन । सन् १८६१ मा कानुनी रूपमा बन्देज नै गरियो । तर, पनि रोकिएन । अन्ततः सर चार्ले नापिएरले
सन् १८२९ मा सतीका लागि आदेश दिने पुरेत÷पण्डितलाई समेत मृत्युदण्ड दिने कानुन बनाए । तर पनि यो पूर्णतः अन्त्य भएन । एक्काइसौँ शताब्दी लागेपछि मात्र पनि कम्तीमा चारजना महिला सती बन्न बाध्य भएको कुरा सञ्चारमाध्यममा सार्वजनिक भएका थिए ।
नेपालमा पनि सतीप्रथाका बारेमा प्राचीन अभिलेखहरूमा उल्लेख गरेको भेटिन्छ । प्रा. दिनेशराज पन्तका अनुसार लिच्छविकालका दुई सयभन्दा बढी अभिलेखहरूमा सतीप्रथाको प्रामाणिक तथ्य पाइन्छ । जसमा विसं ५२२ को चाँगुनारायणको स्तम्भ लेखलाई सबैभन्दा पुरानो तथ्यका रूपमा मानिन्छ । लिच्छविकालमा मानदेवकी आमा राज्यवती, भौमगुप्तकी आमा आभिरी, जयदेव (द्वितीय)की आमा वत्सदेवीहरू सती नगई धर्मकर्म गरी बसेका कुराले त्यतिखेर सतीप्रथा प्रचलनमा थियो तर अनिवार्य थिएन भन्न सकिन्छ । अर्को कुरा, सती नगएको कुराहरू स्तम्भहरूमा उल्लेख हुनुले समाजको बौद्धिक समुदाय त्यस किसिमको आततायी प्रचलनको विपक्षमा रहेको बुझिन्छ । तर, महिलाको जीवनमाथिको खेलवाडलाई सोख मान्ने शासकहरूको अमानवीय प्रवृत्तिका कारण उक्त प्रथा कायम रहन गयो भन्न सकिन्छ ।
विसं १५३३ को शिलापत्रले मल्लकालमा पनि सतीप्रथा रहेको बताउँछ । कीर्तिपुरमा १५८७ मा स्थापित नारायणको मूर्तिको पादपीठको अभिलेखमा हकु जोशीको मृत्यु भएपछि उनकी श्रीमती हेरभी सती गएको कुरा उल्लेख छ । त्यसपछि पनि काठमाडौँ उपत्यकाका मल्ल राजाहरूको मृत्युमा धेरै रानीहरू सती गएको अभिलेखहरू पाइन्छन् । ती दिनहरूमा सतीका नाममा जिउँदो मानिसले शवसँगै डढ्दाको सुनिनसक्नुका चिच्याहटलाई मत्थर पार्न ठुल्ठूलो स्वरमा बाजा बजाउने गरिन्थ्यो भन्ने कथन पाइन्छ । आगोको राप सहन नसकेर कतिपय सतीहरू भाग्ने गर्थे भन्ने कुरा विसं १७३७ मा खोरतमसँगै सती पठाइएकी पत्नी चिताबाट भागेको भन्ने आलेखले पुष्टि गर्दछ ।
शाहकालमा पनि सतीप्रथा सत्ता र शक्तिका रूपमा कायम रह्यो । अवस्था हेरेर कोही सती जान्थे÷पठाइन्थे । कसैलाई जान दिइँदैन थियो÷जाँदैनथे । विसं १७९९ मा नरभूपाल शाहको मृत्युमा कान्छी रानी सुभद्रावती सती गए पनि अरू रानीहरू गएनन् । पृथ्वीनारायण शाहको मृत्युमा श्रीमती नरेन्द्रलक्ष्मीसहित अरू धेरै महिलाहरू सती गए । प्रतापसिंह शाहको मृत्युमा अरू रानीहरू सती गए पनि राजेन्द्रलक्ष्मी सती नगई शासनसत्ता चलाउन बसिन् । रणबहादुर शाह मारिँदा जेठी रानी राजराजेश्वरीलाई माइतीबाट ल्याएर नवौँ दिनपछि पनि सती पठाइयो भने कान्छी रानी ललित त्रिपुरासुन्दरी राज्य सञ्चालनका लागि बसिन् ।
विसं १९०३ मा जङ्गबहादुर प्रधानमन्त्री भए । उनी शासन सत्तामा निरङ्कुश बने पनि सतीप्रथाका भने विरोधी थिए । तर, लामो समय चलेको परम्परालाई एकैपटक हटाउने आँट उनमा पनि आएन । त्यसैले, नेपालको पहिलो मुलुकी ऐन जारी गर्दै जङ्गबहादुर राणाले सतीप्रथालाई निरुत्साहित गर्न १६ वर्षभन्दा मुनिका विधवा महिला र नौ वर्षभन्दा कम उमेरका सन्तानकी आमालाई सती जानबाट रोक लगाए । धेरै आफन्तहरूको मृत्युमा उनीहरूका श्रीमतीलाई सती जानबाट रोके । तर, १९३३ मा उनको मृत्यु हुँदा ४६ जना श्रीमती सती गएको इतिहासमा पाइन्छ । त्यसपछि, १९४४ मा वीर शमशेरले मुलुकी ऐन संशोधन गरी सतीप्रथा रोक्ने प्रयत्नस्वरूप उपयुक्त कारण र विनाअनुमति सती जान नपाइने व्यवस्था गरे । तर, यो पहल पनि सफल हुन सकेन ।
समयक्रमसँगै सतीप्रथाविरुद्ध भित्रभित्रै आवाजहरू उठे पनि ती आवाजहरू मुखरित हुन सकिरहेका थिएनन् । विसं १९७३ बाट योगमाया न्यौपानेको अगुवाइमा धर्मराज्यको मागसहित सुरु भएकोे नागरिक अभियानकोे एउटा माग सतीप्रथा अन्त्य पनि बन्यो । अन्ततः चन्द्रशमशेरले १९७७ असार २५ गतेदेखि लागू हुनेगरी सतीप्रथामाथि प्रतिबन्ध गरिदिए । यसरी कानुनी रूपमा नेपालमा सतीप्रथा पूर्णतः गैरकानुनी भयो ।
आज सतीप्रथामाथि प्रतिबन्ध लागेको सय वर्ष पूरा भएको छ । यसबीचमा हजारौँ एकल (विधवा) महिलाहरूले जीवन पाएका छन् । तर, अझै पनि समाजमा उनीहरूप्रति सम्मानपूर्ण दृष्टिकोण र मर्यादित व्यवहार पाइँदैन । हिन्दु संस्कारको प्रभावमा आज पनि श्रीमान्को मृत्युमा श्रीमतीमाथि जुन व्यवहार गरिन्छ, त्यो मानवीय छैन । राज्यको कानुनले विभेद नगरे पनि सामाजिक संस्कारको नाममा अझै पनि श्रीमान्को मृत्युपछि श्रीमतीको जीवनबाट खोसिने खुसीले हजारौँ महिलाको बाँकी जीवन निरस बनाएकै छ । उनका दिनचर्या र गतिविधिमाथि समाजले लगाउने प्रतिबन्ध, लाञ्छना र पाइलैपिच्छे राखिने कुदृष्टि र उठाइने प्रश्नहरूले उनीहरूलाई सार्वभौम जीवन बाँच्न दिइँदैन । उनीहरूका बारेमा राज्यले केही सकारात्मक कदम चाले पनि पितृसत्तात्मक मूल्य–मान्यता र संस्कार आधारित विभेदपूर्ण सामाजिक दृष्टिकोण र खोटपूर्ण व्यवहारका कारण मन र मस्तिष्कमा लागेका चोटहरूमा आँसुको मलम लगाएर बाँच्न बाध्य छन् ।
यही चोट, पीडा, विभेद र अपमानविरुद्ध सामूहिक रूपमा सामना गर्न विगत केही दशकदेखि एकल महिलाहरू सङ्गठित रूपमा देशव्यापी अभियानमा छन् । सामाजिक र साँस्कृतिक रूपमा विद्यमान अमानवीय र कुसंस्कारयुक्त विभेद र अन्यायविरुद्ध उनीहरूको यो अभियानमा राज्य, राजनीतिक शक्ति र सामाजिक आन्दोलनसमेत सचेतनापूर्वक लाग्न सकेमा उनीहरूप्रतिको समाजको दृष्टिकोण र व्यवहारमा मानवीय रूपान्तरण सम्भव छ । र, हरेक व्यक्तिको मानव मर्यादा र सम्मानपूर्ण जीवनले नै समाजलाई समृद्ध बनाउन सक्दछ । यस आधारमा पनि नेपाली महिला मुक्ति आन्दोलनको दृष्टिकोणबाट समेत यो दिनले विशेष महŒव राख्दछ । अब सबै एकल (विधवा) महिलाहरूको जीवनमा मानव मर्यादाका रङ्गहरू भरिन सकून् ।

(लेखक सङ्घीय सांसद हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?