logo
२०८० चैत्र १५ बिहीवार



उपत्यकामा कोरोनाको उच्च जोखिम

मुख्य समाचार |


उपत्यकामा कोरोनाको उच्च जोखिम


सरोज ढुङ्गेल

काडमाडौँ, असार २३ गते । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि भएको यो धेरै सङ्ख्या हो  ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौँ उच्च जोखिममा पर्दै गएको बताउनुुभयो । उहाँका अनुसार चाँगुनारायण, हरिसिद्धि लगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका जोखिममा पर्दै गएको हो ।

वायु सेवाका कर्मचारीलाई कोरोना
नेपाल वायुसेवा निगमका सात जना कर्मचारीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । निगमका सात जना कर्मचारीको परीक्षण पोजेटिभ आएको बताउँदै डा. पाण्डेले निगमका कर्मचारीसँगै उपत्यकास्थित अस्पतालका स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको उल्लेख गर्नुभयो । कुन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

मृतक सङ्ख्या ३५ पुग्यो
कोरोना भाइरसका कारण नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ । बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय पुरुषको आइतबार निधन भएको स्वास्थय तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किनुभएका उहाँ ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बसेका बेला मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?