logo
२०८० चैत्र १५ बिहीवार



अस्ट्रेलियाको प्रतिरक्षा बजेटमा १९० अर्ब डलर थप गर्ने सरकारको घोषणा

अन्तर्राष्ट्रिय |




क्यानबेरा , असार १७ गते।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा १९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गर्नुभएको छ । आफ्नो देशको सीमा रक्षाका लागि व्यवस्था गर्न लागिएको थप बजेटबाट लामो दूरीका क्षेप्यास्त्रसमेतका अत्याधुनिक हातहतियारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री मोरिसनले कोरोनाकाल समाप्त भएसँगै विश्व अझ खतरापूर्ण अवस्थामा पुग्ने चेतावनी दिँदै आगामी दिनमा अस्ट्रेलियाको सार्वभौमसत्ता र अखण्डता सुरक्षित एवं सुदृढ गर्न संयुक्तराज्य अमेरिकासमेतका परम्परागत मित्रराष्ट्रसँगको सम्बन्धलाई अझ प्रगाढ बनाइने बताउनुभयो ।

उहाँले दोस्रो विश्वयुद्धपछि अहिलेको जस्तो आर्थिक तथा रणनीतिक अस्थिरता कहिल्यै नदेखिएको पनि बताउनुभयो ।

प्रधानमन्त्री मोरिसनले पछिल्ला दिनहरूमा भारत र चीनबीच तथा दक्षिण चीन सागरमा तनावको अवस्था रहेको बताउँदै भन्नुभयो, “अस्ट्रेलियामा कोरोनाभाइरसको कहर मत्थर भएपनि कोरोनापश्चातको विश्वका लागि हामी तयार हुनुको विकल्प छैन जो निकै गरिब, बढी खतरापूर्ण र अव्यवस्थित हुनेछ ।”

उहाँले एसिया–प्रशान्त क्षेत्रका मुलुकहरूले आफ्ना सैनिकको आधुनिकीकरण गरिरहेकाले पनि अस्ट्रेलियासामू चुनौती रहेकाे बताउनुभयो । प्रधानमन्त्री मोरिसनले चीन र संयुक्तराज्य अमेरिकाबीच राजनीतिक, आर्थिक तथा प्रविधिगत सर्वोच्चता कायम गर्न तीव्र प्रतिस्पर्धा भइरहेको कुरा कसैबाट नलुकेको बताउनुभयाे ।

अस्ट्रेलियाली सेनाको क्षमता विस्तार गर्न सरकारले अमेरिकाबाट पानीजहाज–भेदी एजीएम–१५८सी क्षेप्यास्त्र खरिद गर्नेछ । यसअघि १२४ किलोमिटरको दूरीसम्म मार हान्ने क्षमता रहेकामा अब ३७० किलोमिटरको दूरीसम्म प्रहार गर्ने क्षमता हुने अस्ट्रलिया सरकारको भनाइ छ ।

नयाँ क्षेप्यास्त्र प्रविधि एफ–१८ सुपर हर्नेट लडाकु विमानबाट प्रहार गर्न सकिने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप