logo
२०८१ बैशाख ७ शुक्रवार



सलहको समाधान (सम्पादकीय)

विचार/दृष्टिकोण |




कृषिमा विभिन्न प्रकारका जोखिम हुन्छन् । मौसमी र गैरमौसमी भनेर त्यस्ता जोखिमलाई वर्गीकरण गर्न सकिन्छ । मौसमी जोखिममा झरी, हिमपात, पहिरो, सुख्खाजस्ता घटना पर्छन् भने गैरमौसमी जोखिममा कीराफट्याङ्ग्राको आक्रमण, मानवीय क्षति, भण्डारण समस्या पर्दछन् । यी सबै जोखिमबाट सुरक्षित गर्दै खाद्यान्नको अन्तिम उपभोग गर्न विभिन्न होसियारी अपनाउनुपर्छ । यो हप्ता नेपालमा सलहको समस्या निकै चर्चामा रह्यो । कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रणमा केन्द्रित रहेका यस क्षेत्रका अन्य मुलुकमा जस्तै नेपालमा पनि सलहको प्रवेश, क्षतिका बारेमा विभिन्न तर्क वितर्क आएका छन् । नेपालमा धार्मिक ग्रन्थदेखि पुराना पुस्तकमा सलहबारे चर्चा गरिएकाले ज्येष्ठ पुस्ता यसबारेमा धेरथोर जानकार छन् तर नयाँ पुस्ताका लागि सलह नयाँ समस्या र सन्दर्भ हुनसक्छ ।
लोक संस्कृतिविद् तुलसी दिवसद्वारा सङ्कलित झण्डै पाँच दशकअघि नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली लोककथामा बझाङ्मा सलह आएको र स्थानीयले त्यसलाई गीतमार्फत व्यक्त गरेको प्रसङ्ग उल्लेख छ । अन्य पुस्तक र पुराना पुस्ताले पनि नेपालमा सलह पटकपटक आएको पुष्टि गरेका छन् । असारको दोस्रो हप्ता अफ्रिकाबाट भारत हुँदै (गत शनिबार) सलह नेपाल प्रवेश गरेको पाइएको छ । फट्याङ्ग्राको एक प्रजाति सलहलाई समूहमा उड्ने भएकाले फौजी कीरा पनि भनिन्छ  । यसले बालीनाली, रुखपोथ्रा खाइदिएर सखाप बनाउँछ । दसौँ लाख सलहको समूहले झुण्ड (फौजी) व्यवहार देखाउने भएकाले यसलाई संयुक्त राष्ट्रसङ्घको कृषि तथा खाद्य सङ्गठनले सलह (लोकस्ट) प्लेग नामकरण गरेको छ ।
अहिले इरान, पाकिस्तान र भारत हुँदै नेपालमा सलह आइसकेको छ । कीरा प्रजातिमा पर्ने यो प्रतिजीवले कृषिबालीमा ठूलो क्षति पु¥याउने भए पनि नेपालमा त्यस्तो सम्भावना नरहेको बताइएको छ । गत हप्तासम्म नेपालमा यसपटकको सलह नआउने दाबी गरिएको थियो तर अहिले सर्लाही, पर्सा, रूपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगेको छ । सोमबार साँझसम्म पाल्पा र रूपन्देहीको सैनामैनास्थित मकैमा केही क्षति गरेबाहेक खासै क्षति गरेको छैन भनिएको छ तर ढुक्क भएर बस्ने अवस्था पनि छैन । छिमेकी मुलुक भारत र पाकिस्तानमा
सन् २०२० को सुरुमा नै यसले वितण्डा मच्चाएको थियो । पाकिस्तानमा २०२० को फेबु्रअरीमा सलह प्रकोपले राष्ट्रव्यापी सङ्कटकाल घोषणा गरिएको र यसै वर्षको मेमा भारतको मध्यप्रदेश, राजस्थान, गुजरातलगायत राज्यमा करिब ५० हजार हेक्टरमा लगाइएको बालीनाली सलहले सोत्तर बनाएको घटना बिर्सन हुँदैन ।
सलहलाई फुल पार्न र बच्चा हुर्काउन मरुभूमि क्षेत्र उपयुक्त हुने र त्यसको अभाव तथा नेपालमा मनसुन सक्रिय भइसकेकाले सलहले खासै क्षति नगर्ने विश्वास गरिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले सलह नियन्त्रणका लागि गृह मन्त्रालयसँगको समन्वयमा आवश्यक तयारी गरेको जनाएको छ । यस्तो समस्यामा नागरिक मूलतः किसान बढी जानकार र स्रोतसम्पन्न हुनुपर्ने भएकाले सलह आए के गर्ने भनेर उनीरूलाई जानकारी दिनुपर्छ । सरकारले गर्ने तयारी, निर्देशन वा समन्वयभन्दा एकजना किसानले गर्न सक्ने प्राथमिक सुरक्षाविधि यस सन्दर्भमा प्रभावकारी हुनसक्नेछ । अहिले सानो झुण्डमा आएको सलह ठूलो झुण्डमा आए सरकारी निकायदेखि कृषक कसरी परिचालित हुने भन्नेमा अहिले नै स्पष्ट हुनुपर्छ । खाद्य सुरक्षासँग पनि सलह समस्यालाई जोडेर हेर्नुपर्छ । कोरोनाका कारण कृषकले निर्धक्कसँग बाली लगाउन नपाएका बेला सलहले महामारीको रूप लिए खाद्य सुरक्षामा प्रभाव पर्नेछ । यसको रोकथामका लागि गरिने प्रयासलाई यसपटकका लागि मात्र भनेर तदर्थवादी हुन हुँदैन । यस्ता अनेकौँ समस्या निरन्तर आइरहने भएकाले पूर्व होसियारी र तयारीलाई उच्च प्राथमिकता दिनुपर्छ । यसको नियन्त्रणका लागि विषादी छर्नु अन्तिम विकल्प मानिए पनि विषादी मानवमैत्री तरिकाले प्रयोग गरिनुपर्छ । सलह भगाउन प्रयोग गरिएको विषादी मानिसका लागि थप समस्या हुनेतर्फ सचेत हुनु जरुरी छ  । नेपालको खेती किसानी प्रायः बस्ती नजिक गरिने भएकाले विषादी छर्किंदा मानव स्वास्थ्यलाई ध्यान दिनु जरुरी हुन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?