logo
२०८१ बैशाख ७ शुक्रवार



असार १५ र संस्कृति (सम्पादकीय)

विचार/दृष्टिकोण |




आज असार १५ । असारसँग बहुसङ्ख्यक नेपालीको नाता जोडिएको छ । उत्पादकसँग मात्र नभएर उपभोक्तासँग पनि असारको सम्बन्ध छ । किसानमात्र होइन व्यापारी, व्यवसायी सबैसँग असारको नाता छ । असार १५ लाई पछिल्ला वर्ष रोपाइँ÷धान दिवसका रूपमा मनाइने गरिएको छ । कृषि पर्यटनसँग जोड्ने प्रयास पनि गरिएको छ तर यी र यस्ता सन्दर्भले मात्र असारलाई बुझ्न सकिँदैन । असार १५ दिवसमात्र होइन, यो त कृषकको दिनचर्या हो, संस्कृति हो । यद्यपि जेठदेखि साउन, भदौसम्म पनि बर्खेधान रोपिन्छ तर असारलाई धानकै सन्दर्भमा मानो खाएर मुरी उब्जाउने महिना भन्नुमा विशेष कारण छन् । विश्व जनसङ्ख्याको झण्डै आधा मानिसको मुख्य खाना धानका परिकार हुने गरेका छन् । नामै धान । यसले विश्व खाद्यान्नको ठूलो अंश धानेको छ । अर्थतन्त्र धानेको छ । जीवन धानेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३० प्रतिशत योगदान दिने कृषिक्षेत्रमा २० प्रतिशत योगदान धानको छ । त्यसैले असार १५ को महŒव दिवसमा मात्र होइन नेपाली जीवनमा खोज्नुपर्छ, यद्यपि दिवसको आफ्नै महŒव र उपादेयता हुने गर्छन् ।
वि.सं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेअनुसार राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि सोही वर्ष मङ्सिर २९ को कृषि मन्त्रालयको निर्णयले २०६२ असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसान र गैरकिसानबीच १५ असार वा धान दिवस र यसको महŒव समान ग्राफमा पाइँदैन । जो किसान छ, जो माटोमा मन मिसाउन व्यस्त छ उसलाई दिवस र दिवसका पात्र वा समाचार बन्ने फुर्सद हुँदैन । साँच्चै भन्ने हो भने उसले धान दिवसभन्दा १५ असारलाई हृदयमा राखेको हुन्छ । दिवस मनाउनुको केही महŒव रहन्छन् । कुनै पनि ऐतिहासिक घटना, स्तुत्य योगदान, राष्ट्रिय अस्मिताका विषय तथा वस्तुलाई दिवसमार्फत संस्मरण र सम्मान गर्ने गरिन्छ । धान दिवस मनाउँदै गर्दा धानको उत्पादन, भण्डार र उपयोगका विभिन्न चरणलाई बढीभन्दा बढी लाभदायक र प्रतिफलपूर्ण बनाउने पे्ररणा मिल्नुपर्छ ।
यो वर्ष विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को महामारीमा हाम्रा दिन बितेका छन् । यसको प्रभाव व्यापक छ । एकातिर किसानले उत्पादित कृषि उपज कुहाएर फाल्नुपरेको छ, अर्कोतिर उपभोक्ताले सुलभ मूल्य र पहुँचमा कृषि उपज पाएका छैनन् । असार १५ मनाइँदै गर्दा कृषकले असारे गीतको सट्टा धानको बीउ र मलको अभावमा विरह गाउनुपर्ने अवस्था छ । धानमा बाला नलागेर मङ्सिरमा किसानका सपना बाँझिने गरेका समाचार पनि नौला होइनन् । धान दिवस मनाइँदै गर्दा प्रचार, औपचारिकताभन्दा किसानको समस्या र सुविधालाई महŒव दिनु आवश्यक हुन्छ ।
बढ्दो सहरीकरण, कृषियोग्य भूमिको संरक्षणमा गरिएका कमजोरीपूर्ण अभ्यासले आज मुलुकैभर धान रोपिनुपर्ने खेत आनाआनामा काटिएर घडेरी बनेका छन् । मानव इतिहास हेर्ने हो भने पहिला खाना अनि छानाको विकास भएको हो तर अहिले भरे के खाउँला भन्नुभन्दा पनि घर र घडेरीलाई महŒव दिनुपर्ने अवस्था छ । लिच्छविकालमा मात्र होइन, पछिसम्म पनि ‘पानी पुग्ने फाँटमा घर नबनाउनू’ भन्ने नीति तथा उपदेशले दीक्षित नेपालमा जबजब आधुनिकताको राग अलाप्न थालियो त्यसपछि भात खाने खेत मासेर घर उभ्याउने सहरीकरण आमन्त्रण गरियो ।
असार १५ कृषिमात्र होइन संस्कृतिको प्रतीक पनि हो । असारे गीतको ठोकाबाजीले नेपाली लोकसाहित्यको भण्डार भरेको छ, धानले भकारी भरिएजस्तै । उत्पादनका तरिकामा आएका भिन्नतासँगै नेपाली मौलिक श्रम सङ्गठन विघटन हुँदैछन् । मेलापर्म हुरीजस्ता नेपाली मौलिक श्रम सङ्गठनको प्रतिनिधित्व पनि गर्छ रोपाइँ अर्थात् असार वा १५ असारले । आफैँले बनाएका चिउरा र दहीको खाद्यसंस्कृति पनि छ यसमा । सीमित व्यक्तिले गाउँभरिको खेत रोप्नुपर्दा तय गरिने रोपाइँ तालिका, रोपाइँका श्रम विभाजन र श्रम विशिष्टीकरणको नेपालीपन पनि असार, १५ असार वा रोपाइँमा मिसिएका हुनाले असार १५ लाई बृहत् दृष्टिकोणमा बुझ्नुपर्ने हुन्छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?