logo
२०८१ बैशाख ७ शुक्रवार



नेपाली पहिचान बोक्ने ‘नेपाली मन’हरू

विचार/दृष्टिकोण |




गोपीनाथ मैनाली

जन्मेको स्थान मातृभूमिको सेवा गर्न मन कसलाई पो हुँदैन र ? माटो र मुटुको माया कतिसम्म हँुदोरहेछ भन्ने उदाहरण नेपाली मूलका बर्मेली साहित्यकार लक्ष्मण न्यौपाने २०१८ मा नेपाल आउँदा विमानस्थलमा ओर्लिनेबित्तिकै जमिनमा लम्पसार परेर गगल्चिँदै भावविह्वल देखिए । नेपालबाहिर रहँदैमा नेपालीत्व छोड्न सकिँदैन र चाहेर पनि आफू र आफ्ना पूर्वज जन्मेको माटोको माया छाड्न सकिँदैन भन्ने उदाहरण हुन् लक्ष्मण न्यौपाने ।
कतिपय नेपाली ‘नेपाली मन’ लिएर अर्को मुलुकलाई कर्मभूमि बनाइरहेका छन् । उनीहरू ‘आफ्नै मातृभूमि नेपालका लागि त्यो पसिना बगाउन पाएको भए’ भन्ने सोच्दा हुन् । बाध्यता, रहर वा अवसर जे कारण भए पनि धेरै नेपालीहरू नेपाली मन लिएर कर्मभूमि अन्यत्रै बनाइरहेका छन् । उनीहरूलाई आफ्नो उद्भव, संस्कृति, समाज र अरू धेरै आफ्नैले निर्देश गरिरहेको हुनसक्छ । उनीहरूले कर्म र अवसरको उपयोगमा पाएको सफलताबाट समस्त नेपालीको ‘सान र वान’ बढ्छ, पहिचान र प्रतिष्ठा विस्तारिन्छ ।
यो लेखक विश्व विकास प्रतिवेदन, मानव विकास प्रतिवेदन लगायतका अध्ययनहरू हात पर्नेबित्तिकै तिनको तर्जुमामा रहेका अनुसन्धाताहरूको नाम पढ्न थाल्छ । कैयौँ वर्षका प्रतिवेदनमा बल्ल एकजना नेपालीको नाम भेटेँ र मन फुरुङ्ग भयो– अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको नाम देखेर । मलाई थाहा भएसम्म विश्व प्रतिवेदनहरूमा उल्लेख नेपाली अनुसन्धाताको पहिलो नाम थियो ‘डा. वाग्ले’ ।
२००४ मा हिरोशिमा शान्ति स्मारकमा अवलोकन गर्दा मेरा आँखाहरूले धेरै बेरसम्म समवेदना पुस्तिकामा नेपाली हस्ताक्षर खोजिरह्यो । दोस्रो विश्वयुद्धको महाविनाशमा समवेदना दिने राष्ट्र÷सरकारप्रमुख र सेलिबे्रटीहरूको स्वहस्ताक्षरको नाम थियो । धेरैबेरको खोजीपछि साथी नाकायामाको सहयोगले समवेदना पुस्तिकामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम भेटेपछि मन प्रफुल्ल भएथ्यो । नाकायामा मात्र होइन, प्रोफेसर कोवायाशी र इनामीहरूले पनि मेरो चेहरा पढिरहेका रहेछन् । यो ‘वसुधैव कुटुम्बकम्’ को समाजमा मनहरू यसरी खुम्चिन हुन्छ ? उदार राष्ट्रवादले सबैलाई बराबर हेर्नुपर्दैन ? होइन सबै मानवजातिप्रति संवेदनशील भएर पनि आफ्नो उद्भव, माटो र पहिचानमा भने विशेष भाव राख्नु मानव कर्तव्य हो, राष्ट्रियता मात्र होइन मानवधर्म हो । माटो र मुटुको सम्बन्ध अक्षुण्ण भएर नै समाज यहाँसम्म आइपुगेको हो ।
विश्वभरि फैलिएका लाखौँ नेपाली मनले नेपाली पहिचान, सम्बन्ध र केही हदमा समृद्धिको विस्तार गरिरहेका छन् । अर्को अर्थमा नेपाली माटोको सुवास फैलाइरहेका छन् । नेपाली राष्ट्रियताको विस्तार गरिरहेका छन् । तिनीहरू नै नेपालका सच्चा दूत पनि हुन् । केहीअघि अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनले करिब साठी लाख नेपाली मनहरू नेपाली डायस्पोराका रूपमा विश्वभरि फैलिरहेको उल्लेख ग¥यो । ‘नेपाल’ पत्रिकाले ‘पौरखी प्रवासी’ शीर्षक दिएर विदेशी भूमिमा आफ्नै प्रतिभा र क्षमताले मातृभूमिको मान राख्ने १९ जना नेपालीको कथा नै छापेथ्यो । सयौँ, हजाराँै, लाखौँ नेपाली रोजगारी, अवसर, आविष्कार र अध्ययनको खोजीमा र कतिपय लहडमा मातृभूमिभन्दा पर अर्कै मुलुकलाई कर्मभूमि बनाइरहेका छन् । त्यतै स्थापित छन् र आफ्नै मौलिकतामा नेपाली परिचयको विस्तार गरिरहेका छन् । केही त्यस्ता प्रतिभाको साङ्केतिक उल्लेख यस लेखमा गरिएको छ । छुटेको सबैबाट क्षमा चाहन्छु ।
कुनै समय नेपालको निजामती सेवामा कानुन अधिकृत रहेका प्राध्यापक सूर्य सुवेदीको नाममा बेलायतको विख्यात अक्सफोर्ड विश्वविद्यालयले मानव अधिकार र विद्यावारिधि सम्बन्धी पुरस्कार नै स्थापना गरेको छ । १९९३ मा सोही विश्वविद्यालयबाट विद्यावारिधि गरेका सुवेदीले अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा गरेको असाधारण योगदानका लागि महाविद्यावारिधिसहित राष्ट्रिय सम्मान दिएको थियो । कतिपय समारोहमा बेलायती महारानीको प्रतिनिधित्वसमेत गर्ने अवसर पाउनुभएका सुवेदी संयुक्त अधिराज्य बेलायतमा अझ भनौँ युरोपमा नै त्यस स्थानमा पुग्ने पहिलो नेपाली । कैयन् अन्तर्राष्ट्रिय मञ्चमा अन्तर्राष्ट्रिय कानुनी समाधानका सूत्र पनि हुनुहुन्छ सुवेदी ।
शेष घले अर्का त्यस्ता व्यक्ति, जसले नेपाली पहिचानलाई अस्ट्रेलिया महादेशमा फिँजाउनुभएको छ । लमजुङमा जन्मेर साविक सोभियत सङ्घमा इन्जिनियरिङ् शिक्षा लिई नेपाल सरकारको कर्मचारी अहिले मेल्बोर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत, प्रमुख लगानीकर्ता र उत्कृष्ट व्यवसायीका रूपमा स्थापित हुनुहुन्छ । घले नेपाली डायस्पोराका पहिलो खर्बपति र नेपाली मूलका दोस्रो खर्बपति हुनुहुन्छ । गतवर्षको प्रकाशन अनुसार ७८ औँ धनी अस्ट्रेलियालीमा उहाँको नाम उल्लेख छ । युवा उद्यमी पुरस्कार विजेता घले २०७२ को महाभूकम्पका समयमा नेपालका विशेष दूत र महिला हिंसाविरुद्धका सद्भावना दूतका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँको इन्स्टिच्युटबाट सङ्कटापन्न युवा नेपालीलाई विशेष सहयोग हुँदै आएको छ ।
अस्ट्रेलियामै रहेका स्वाथ्यकर्मी कुमुद धिताल मृत मानिसको मुटु झिकेर जिउँदो मानिसमा प्रत्यारोपण गरी विश्वलाई चकित पार्ने अर्को ‘नेपाली मन’ हुनुहुन्छ । उहाँकोे चिकित्सा सेवाबाट कैयौँ मानिसले जीवन पाएका छन् । उहाँको प्रविधि विश्वभरि फैलिसकेको छ ।
आफ्ना हजुरबुवाको क्षयरोग पीडा बाल्यावस्थामा देखेर त्यो पीडाको निदान खोज्ने काममा निरन्तर लागेका ज्ञानु लामिछाने विश्वविख्यात जोन हकिन्स विश्वविद्यालयका स्थापित वैज्ञानिक बन्न सफल हुनुभयो । त्यो पनि आफ्ना हजुरबुवालाई दुःख दिएको ट्युबरकुलोसिसको ‘माइक्रोब्याक्टेरियन ट्युबरकुलोसिस’ नयाँ उपचारपद्धति पत्ता लगाएर, जसका लागि उहाँले ठूलो सम्मान–पुरस्कार मात्र पाउनुभएन, अमेरिकाभरि नै चर्चित बन्न पुग्नुभयो ।
अमेरिकामा पढेर उत्कृष्टता प्रदर्शन गर्नेहरूबीच युवा अर्थशास्त्री पराग पाठकको नाम चर्चित छ । मिनी नोबेल पुरस्कारको रूपमा चिनिएको ‘जोन बेट्स क्लार्क मेडल २०१८’ पाउन सफल पाठक विश्वअर्थशास्त्रलाई नयाँ स्वरूप दिनसक्ने २५ अर्थशास्त्रीको सूचीमा हुनुहुन्छ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री एल्भिन ई रुथका अनुयायी पाठकले सन् २०१२ को ‘प्रेसिडेन्सियल अर्ली क्यारिएर फर साइन्टिस्ट एन्ड इन्जिनियर’ को पुरस्कार पनि प्राप्त गर्नुभएको थियो । भविष्य अनिश्चित छ तर के आशा गर्न सकिन्छ भने गणित र विज्ञानको मिश्रणले व्यावहारिक अर्थशास्त्रमा छुट्टै सिद्धान्त प्रतिपादन भई नोबेल पुरस्कारसम्म पुग्नसक्ने पहिलो ‘नेपाली मन’ उनै पराग हुन सकून् ।
अमेरिकामा रहेर वैज्ञानिकका रूपमा दुई युवा समर्पण र सफलताले शिखर चुम्दैछन् । पहिलो हुन् नासाका वैज्ञानिक लुनेन्द्र ओझा, जसले हाइराइज क्यामेरामार्फत मङ्गल ग्रहमा पानी र जीव विकास सम्भावना हुनसक्ने निष्कर्षका लागि चित्रडाटा लिन सफल भई नयाँ इतिहास रच्नुभयो । उहाँ ‘मस्तिष्कमा मङ्गल मनमा नेपाल’ भएका वैज्ञानिकका रूपमा चिनिनुभएको छ । अर्का युवा वैज्ञानिक सुदीप खड्का बाग्लुङबाट अमेरिका हानिएको थोरै अवधिमा नै जर्जियाको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा उच्च तह (बायो सेफ्टी–४) का अनुसन्धाता बनिसक्नुभयो । मेडिकल केमिस्ट्री एन्ड मलिकुलर फर्मालोजीमा विद्यावारिधि सुदीप तिनै भाइरोलिस्ट हुन्, जसले केहीअघि महामारीका रूपमा विश्वलाई आतङ्कित पार्ने इबोला र जिका भाइरसको रोकथाम गर्ने भ्याक्सिन निर्माण गर्न सकिने निष्कर्ष निकाल्नुभएको थियो ।
परिवार, व्यवसाय र वृत्तिभन्दा समाज सेवालाई प्राथमिकतामा राखी सेवा नै जीवन हो भन्ने आदर्शबाट परिचालित अर्जुनप्रसाद मैनाली अमेरिकामा बस्ने ‘नेपाली मन’ मा मात्र सीमित हुनुभएन । काभ्रेपलाञ्चोकमा सामान्य परिवारमा जन्मेर पद्योदय हाइस्कुलमा सामान्य शिक्षा लिनुभएका अर्जुनमा समाजसेवाको भावना त्यतिखेर जाग्यो, जब उहाँ १९ वर्षको हुँदा रगत नपाएर एक महिला मृत्युसँग सङ्घर्ष गर्दै थिइन् । उहाँले तत्काल रक्तदान गर्नुभयो । १९८७ देखि २०१९ सम्म अर्जुनले गरेको १७२ पटकको रक्तदानले पाँचसय बिरामीलाई जीवनदान दिइसकेको छ । अर्जुन सबैलाई जन्मदिनको सेलेब्रेशन रक्तदानमार्फत अरूलाई जीवन दिएर मनाउन आग्रह गर्नुहुन्छ । धेरैपटक धेरै मात्रामा रक्तदान गर्ने विश्वमै उहाँ पहिला व्यक्ति हुनुहुन्छ । उनको सेवामा जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकामात्र होइन, एसिया, युरोप, अफ्रिका, अस्टे«लिया र अमेरिकी महाद्वीपका सबै मुलुक लाभान्वित छन् । युद्ध, द्वन्द्व, महामारी, विपत्ति, दुर्घटना वा रोग जुनसुकै कारणले रक्त अभावबाट मृत्युसँग सङ्घर्ष गरिरहेकाहरूलाई जीवनदान र अरू मनकारीहरूलाई समाजसेवामा लगाउने प्रेरणास्रोत– अर्जुन मैनाली । न्युयोर्कवासीले रक्तदाता ‘अर्जुन मैनाली दिन’ मनाउन सुरु गरेको कुरा प्रकाशमा आएको छ । उहाँको सङ्घर्ष र प्रेरणाको कथा ‘द गिफ्ट अफ लाइफ’ प्रकाशमा आएको छ, जसले ‘परोपकार पुण्याय’ को सनातन मानवसेवाको मूलमन्त्रलाई बोकेको छ ।
‘एरेस्टेड गड इन काठमाडौँ’ का लेखक सम्राट उपाध्याय (इन्डियाना विश्वविद्यालयका सिर्जनशील प्राध्यापक), सीएनएन एङ्कर श्रीमती किरण क्षेत्री, हिमालयन आर्ट काउन्सिलका दीपक सिम्खडा (अमेरिकामा धेरै प्रकाशित शिक्षाविद् र इतिहासकार), अध्यागमन कानुनविद् खगेन्द्र जीसी, चलचित्रकर्मी रेस मरहट्टा, चारपटकका चेस ग्रान्डमास्टर च्याम्पिएन अनिशराज गिरी, पशुवैज्ञानिक द्रोणप्रकाश रसाली (क्यानाडा), उम्दा आर्किटेक्ट एवं सहरी योजनाविद् अम्बिका अधिकारी, ‘गेम अफ थ्रोन’ मा ईरीको भूमिका निर्वाह गर्ने अमृता आचार्य (नर्वे), संसार एक पाठशालाका विशाल सिटौला (नर्वे), बहुमुखी व्यवसायी महेश श्रेष्ठ (जापान) र जीवा लामिछाने (जर्मनी), जीआईएसविज्ञ केशव भट्टराई (मिजौरी), एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (थाइल्यान्ड) का शोभाकर ढकाल, वातावरणविद् राजु अधिकारी (ृअस्ट्रेलिया), एक्को एभानी विजेता प्रबल गुरुङ (अमेरिकी फेसन डिजाइनर), रुवीका चमक दीपक अधिकारी (म्यान्मार), मृदु आचार्य (अमेरिका) र यहाँ नाम लिन छुटेका कैयन् वैज्ञानिक, विचारक, अध्येता, अनुसन्धाता, व्यवसायी, उद्यमी, पेशाकर्मी, परिश्रमी पौरखीहरू नेपाली मनका धरोहर हुन् । उनीहरूको प्रख्याति, प्रतिष्ठा, सम्मान र सङ्घर्षमा मातृभूमिमै पसिना बगाउने परिश्रमी र प्रतिभाहरू गर्व गर्छन्–नेपाली मनहरू फैलिरहुन् । लाखौँ शुभकामना १
प्रवासमा मात्र होइन, स्वदेशमै बेजोड ‘नेपाली मन’ र परिश्रमका पौरखहरू छन् । गोर्खाहरू इमानदारीका नमुना हुँदैहुन्, शेर्पाहरू परिश्रममा सगरमाथा चुम्ने पौरखी हुन् । कति धेरै शेली र देवकोटाहरू मेलापात र मजदुरी गर्दै होलान् । रोमन मेगासेसे र पद्मभूषण विभूषित सन्दुक रुइत असम्भव कुरालाई सम्भव बनाउने धेरैका जीवन ज्योति हुन् । ‘रुइत प्रविधि’ विकास गरी स्तरीय तर सबैले लिनसक्ने किफायती सेवा दिई लाखभन्दा बढीलाई संसार देखाउन सक्ने वैज्ञानिक यहीँ छन् । राष्ट्रिय आविष्कार केन्द्रमार्फत गाउँघरमा जीवनोपयोगी प्रविधि पु¥याउने वैज्ञानिक महावीर पुन यहीँ छन् । दुवै वैज्ञानिक प्रयोगमा आउन नसक्ने विज्ञान र जीवनोपयोगी सीप दिन नसक्ने शिक्षालाई आआफ्नै सङ्घर्षले चुनौती दिइरहेका छन् । कति धेरै वैज्ञानिक र प्रतिभाहरू अवसर नै नपाई आफ्ना क्षमता उजागर गर्न पाइरहेका छैनन् । सधैँ इच्छाशक्तिले डो¥याएर वा सङ्घर्ष गरेर महावीर वा रुइत बन्न हामीमध्ये कति सक्छौँ ? आफ्नो भविष्य आफ्नै मातृभूमिमा खोजी गर्न, सबैको भविष्य यहीँ सुरक्षित छ भनेर आश्वस्त पार्न र लुकेको प्रतिभालाई प्रकट हुने अवसर दिनसके नेपाली मनका कति नेपालीहरू नेपालभित्रै नेपालको पहिचान बढाउने काम गर्न सक्थे होलान् १
सफलताले सफलतालाई प्रोत्साहन गर्छ, प्रोत्साहनले सफलता डो¥याउँछ । जन्मँदा सबै समान रहे पनि ‘बर्थप्लेस प्रिमियम’ पाएकाहरू नै अगाडि बढेका छन् । प्रतिभा विकासको यो तगारो नहटाएसम्म स्वदेशका नेपाली मनहरू प्रस्फुटित हुन पाउने छैनन् । त्यसैले आवश्यकता समान अवसर हुने प्रणाली निर्माणको हो ।
(लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?