logo
२०८१ बैशाख ८ शनिवार



देश स्तब्ध, समाज मर्माहित (सम्पादकीय)

विचार/दृष्टिकोण |




सरकारले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । अन्तरजातीय प्रेमिकालाई लिन गएका जाजरकोटका तीन जनाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले संसद्मा जानकारी दिनुभएको छ । अन्तरजातीय प्रेमिकालाई लिन गएका युवाविरुद्ध प्रेम अस्वीकार गर्ने पक्षबाट भएको बल प्रयोग र हत्याको विरोध गर्दै सांसदहरूले छानबिनको माग गरेका थिए । प्रेमिका ल्याउन रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगेका जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका २४ वर्षीय नवराज विकसहित तीन युवाको हत्या भएको पीडित पक्षले जनाएको छ । नवराजसहित १९ जनाको टोली नवराजकी प्रेमिकाको घरनजिक पुग्दा स्थानीयले गरेको आक्रमणबाट ज्यान जोगाउन भेरी नदीमा हामफालेका नवराजसहित तीन जनाको शव फेला परेको छ । अन्य तीन जना मङ्गलबारसम्म बेपत्ता छन् । घटनामा १२ जना घाइते छन् । जेठ १० गते जाजरकोटबाट रुकुम पश्चिम प्रेमिका लिन पुगेका युवाको समूहलाई स्थानीय बासिन्दासहित वडाध्यक्षको संलग्नतामा आक्रमण भएको पीडित पक्षले आरोप लगाएको छ । घटनापछि चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र प्रेमिकासहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार उहाँहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी आएको प्रहरीले जनाएको छ । नवराजका बाबु मुनलाल विकले किटानी जाहेरीमा केटीले बोलाएर नै केटी लिन गएको जानकारी दिनुभएको छ ।
यो घटनाले सम्पूर्ण नेपालीको शिर निहु¥याएको छ । शान्तिप्रिय नेपाली, देवभूमि नेपाल, बुद्धको देश, शान्ति क्षेत्र, समतामूलक देश जे भनेर हामी नेपाल र नेपाली समाजमाथि गर्व गथ्र्यौंं, यो घटनाले हाम्रा दावी र गर्व भताभुङ्ग भएका छन् । विश्व सभ्यतामा यो घटना लाजको पसारो हो । अन्तरजातीय विवाहको कारण भएको भनिएको यो घटनाले नेपाली समाज अझै मध्ययुगीन असभ्यताको अभ्यासमा व्यस्त छ भन्ने स्पष्ट गर्दछ । असंवैधानिक, गैरकानुनी यो अपराधको सर्वत्र विरोध गरिएको छ । देश स्तब्ध छ । समाज मर्माहित छ ।
छानबिन समितिले दिने प्रतिवेदनका आधारमा पीडकलाई हदैसम्मको कारबाही, पीडितलाई क्षतिपूर्तिसहित राहत, उपचार तथा घटनापछिको सुरक्षाको प्रत्याभूति दिन सबै पक्षको सहयोग आवश्यक हुन्छ । कुनै पनि अवस्थामा यस्तो दुष्कर्मले छुट पाउन हुँदैन । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध जबर्जस्ती वा झुक्यान थियो भने त्यसलाई कानुनतः अस्वीकार गर्न सकिने थियो, केटा वा केटीको उमेर नपुगेको भए त्यसविरुद्ध कानुनी उपचार गर्न सकिने थियो, केटा पक्षले पनि प्रेमिकाको परिवारको स्वीकृतिमा जन्तीसहित बेहुली लिन गएको भए घटनाको अन्य प्रक्रियाबाट उपचार हुन सक्थ्यो तर प्रेमजोडीको मन मिलेको अवस्थामा जातकै आधारमा यस्तो हत्या गरिएको हो भने पीडकलाई राज्यले निर्ममतापूर्वक, आग्रह–पूर्वाग्रह नराखी कडा कारबाही गरेन भने यस्ता तìवलाई बल पुग्नेछ ।
यसै हप्ता अन्तरजातीय प्रेम गरेकी अर्की एक युवतीको पनि बलात्कारपछि हत्या गरिएको छ । जातीय विभेद्विरुद्ध संविधान, कानुन, राष्ट्रिय ऐक्यबद्धता हुँदाहुँदै पनि यस्ता घटना पटकपटक दोहरिनुमा यसअघि यस्ता घटनाका दोषीलाई कस्तो कारबाही भयो भन्ने सन्दर्भले पनि व्याख्या गर्छ । घटना भएपछि गराइने कथित मेलमिलाप, फितला निर्णय वा अदालतका फैसलाको कार्यान्वयनमा गरिने आलटालले यस्ता घटनामा संलग्नले संरक्षण पाउँदै आएका छन् । सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको यो घटनामा दोषीलाई कानुनबमोजिम कारबाही गर्न ढिलासुस्ती भयो भने सिङ्गो राष्ट्रलाई नै अन्याय गरिएको ठहर्ने भएकाले पीडितले तत्काल न्याय पाउनुपर्छ । समाज, विज्ञान, धर्म, मानवताविरोधी चिन्तनका कारण उत्पन्न जातीय विभेदलाई जरैबाट निर्मूल गर्न नेपालले व्यवहारमै कठोर हुनुपर्ने बेला आएको छ । यस्ता घटनालाई निरुत्साहन गर्न सकिएन भने ठूलो दुर्भाग्य हुनेछ । यस्तो समस्या र पीडा केवल एक घरपरिवारको मात्र नभएर सम्पूर्ण नेपाल र नेपालीको साझा सवाल हुनुपर्छ । जातीय विभेदका घटनाले आज चारैतिर खिन्न नेपाली समाजलाई जातीय विभेदकारीलाई कडा कारबाही गरेर समतामूलक समाजको निर्माणसँगै हँसिलो नेपालमा परिणत गर्नु सङ्घीय नेपालको प्राथमिकता हो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?