logo
२०८० चैत्र १५ बिहीवार



गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि

विचार/दृष्टिकोण |




केपी शर्मा ओली

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
आज बाह्रौँ गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु ।
जनता साँचो अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महìवपूर्ण र अविस्मरणीय दिन हो । गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सव हो । यस उत्सवमा म यहाँहरू सबैलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दछु ।
मानव सभ्यताको विकास क्रममा सामाजिक प्रबन्ध र राज्यहरूको उत्पत्ति गणराज्यहरूबाटै भएको थियो । लोकतान्त्रिक विधिबाट निर्वाचित हुने गणनायकहरूबाट गणराज्यहरूको व्यवस्थापन हुने र हरेक महìवपूर्ण निर्णयहरू जनताको अभिमतबाट निर्णित हुने यस्तो व्यवस्थाबाटै नेपाली सभ्यताको पनि आरम्भ भएको थियो । तसर्थ, गणराज्य नेपाली समाजको मौलिक प्रणाली होे तर समयक्रममा यो प्रणाली भत्कियो । सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताका आधारमा शासकहरू स्थापित हुने, उनीहरूको वंश परम्पराका आधारमा शासन व्यवस्था सञ्चालन हुने र उनीहरूको हुकुम नै कानुन हुने चरम् अलोकतान्त्रिक प्रणालीहरू स्थापित र विकसित हुँदै गए । झन्डै दुई हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर हामीले इतिहासको एउटा महìवपूर्ण कडीलाई जोडेका छौँ । र, विकास गरेका छौँ ।
नेपालमा कुनै पनि स्वरूपको अनिर्वाचित सत्ता अन्त्य भएको छ । आज जनताले निर्वाचित गरेका प्रतिनिधिहरूद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित छ । संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरू प्रतिविम्बित भएका छन् । हाम्रा सम्पूर्ण साधनस्रोत र प्रयासहरू ती आकाङ्क्षालाई मूर्त रूप दिन केन्द्रित छन् । सशस्त्र द्वन्द्वको शृङ्खला अन्त्य भएर मुलुकमा दिगो शान्ति कायम भएको छ । राजनीतिक अस्थिरता र सङ्क्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको छ ।
गणतन्त्र स्थापनासँगै हामीले हासिल गरेका यी उपलब्धिहरू गौरवपूर्ण र दूरगामी महìवका छन् तर यिनै उपलब्धिमा मात्र आत्ममुग्ध भएर बस्न मिल्दैन । गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो । यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन हामीले सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइरहेका छौँ ।
गणतन्त्र गणहरूमार्फत अर्थात् जनतामार्फत जनताको तन्त्र हो । जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो । संविधान र कानुनमा उल्लिखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन सक्दैन ।
यसका लागि उत्पादनका साधनमा जनताको पहुँच आवश्यक छ । यसका लागि उत्पादनको न्यायोचित वितरण र न्यायपूर्ण प्रबन्ध जरुरी छ । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विषयमा जनताको पहुँच आवश्यक छ । श्रम गर्न सक्नेका लागि रोजगारीको प्रबन्ध र श्रम गर्न नसक्नेका लागि फराकिलो सामाजिक सुरक्षाको जरुरी छ । यसका लागि अधिकार, अवसर, सुरक्षा र सम्मानमा सबैलाई समान व्यवहार गरिने कुरा सुनिश्चित हुन जरुरी छ ।
हाम्रा सम्पूर्ण प्रयास यी कामहरूमार्फत गणतन्त्रलाई जनताको जीवनसँग जोड्ने विषयमा केन्द्रित छन् । यसैलाई हामीले परिपूर्ण लोकतन्त्र भनेका छौँ ।
गणतन्त्र शासन प्रणाली मात्रै होइन । यो त नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि हो ।
गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली हो, त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन सक्दैनन् ।
गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरू कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुन सक्दैन ।
गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली हो । यहाँ विचारहरूबीच स्वस्थ बहस, मान्यताहरूबीच मर्यादित छलफल र असहमतिहरूको निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ तर घृणा, विद्वेष र विभाजन ग्राह्य हुन सक्दैन ।
गणतन्त्र विगतका अन्य कुनै पनि प्रणालीभन्दा शासन व्यवस्थाका हिसाबले मात्रै नभएर आचरण र व्यवहारले पनि उन्नत र परिस्कृत प्रणाली हो र हुनुपर्दछ ।
गणतन्त्रमा आफ्ना विचारहरू निर्वाध ढङ्गले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुन्छ तर आफ्ना विचार या स्वार्थका लागि हिंसा र आतङ्क तथा डर र त्रासको प्रयोग स्वीकार्य हुन सक्दैन । अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउँछ ।
सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित छ ।
१२ वर्ष आफँैमा धेरै लामो अवधि होइन । गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय हामीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन, नयाँ संविधान निर्माण गर्न र सङ्क्रमण कालको अन्त्य गर्न केन्द्रित गर्नु परेको थियो । गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महìवपूर्ण उपलब्धि हासिल गरेको छ । जनताको चेतनाले ठूलो फड्को मारेको छ । वर्षौंदेखि मुर्छित विकास र समृद्धिका सपनाहरूले साकार रूप लिन थालेका छन् । आफ्नो देश आफँै बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको छ । राष्ट्रिय एकता सुदृढ भएको छ । आफ्नो निर्णय आफैँ गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढङ्गले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ । विश्व रङ्गमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकका रूपमा नेपालको छवि बलियो बन्दै गएको छ ।
लामो सङ्क्रमणको अन्त्यसँगै आर्थिक क्षेत्रमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यसअघि लगातार औसत ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुनु, निरपेक्ष गरिबीमा निरन्तर कमी आउनु र सुशासन, शान्ति, व्यावसायिक वातावरणजस्ता महìवपूर्ण विश्व सूचकहरूमा उल्लेख्य सुधार आउनुले हामी सही दिशातिर अगाडि बढिरहेको स्पष्ट हुन्छ नै । कोरोना महामारी सुरु हुनुपूर्वका सूचकहरू अत्यन्त उत्साहवद्र्धक छन् ।
जनताको सेवा र विकास निर्माणका लागि सङ्घीय संरचनाका तीनै तहबीच समन्वय कायम गर्र्दै अगाडि बढ्ने काम भएको छ ।
गणतन्त्र स्थापनाको छोटो समयका उपलब्धिबाट हामी विश्वस्त भएका छौँ– विगतका अलोकतान्त्रिक शासन प्रणालीहरूका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकाङ्क्षाहरू र कमजोर बन्न पुगेको राष्ट्रिय स्वाभिमानलाई छोटो समयमै पुनस्र्थापित गर्न र नयाँ ऊर्जा भर्न सक्नेछौँ । लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट विश्व मानचित्रमा नेपाललाई एउटा विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्ने छौँ ।
जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै । प्रणाली विकासका क्रममा सानातिना कमीहरू देखा पर्न पनि सक्छन् तर कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अवश्य नै अनुचित हुन् । इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन । हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेका छौँ ।

दाजुभाइ तथा दिदीबहिनीहरू !
आज सिङ्गो मानव समुदाय कोरोना महामारी विरुद्धको कठिन सङ्घर्षमा जुटेको छ । हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो यस चुनौतीले हाम्रा प्राथमिकताहरू मात्रै होइन, हाम्रो कार्यपद्धति र जीवनशैलीलाई नै प्रभावित गरेको छ । हामी नेपाली पनि कोरोना महामारीका विरुद्धको कठिन सङ्घर्षमा केन्द्रित छाँै । गणतन्त्र दिवसको यस सन्दर्भमा म यहाँहरू सबैमा कोरोना सङ्क्रमणबाट सुरक्षित रहन सक्नुहोस् र यसबीचमा जसलाई सङ्क्रमण भएको छ, उहाँहरू छिट्टै निको भएर सामान्य जीवनमा फर्कन सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । गणतन्त्र प्राप्तिको लामो र कष्टसाध्य सङ्घर्षको अनुभवमाथि आधारित भएर भन्न चाहन्छु, यस चुनौतीलाई पनि हामीले परास्त गरिछाड्ने छौँ । भनिन्छ नि, रात जतिसुकै लामो भए पनि बिहानी अवश्यम्भावी छ ।
यस्तो बेलामा हाम्रो सिङ्गो देश, हामी सबै दाजुभाइ–दिदीबहिनीहरू एकजुट भएर कोरोनाविरुद्ध लड्न जरुरी छ । र, गणतन्त्रलाई वास्तविक अर्थमा संस्थागत गर्न एकताबद्ध प्रयासहरूलाई अगाडि बढाउन जरुरी छ । यसका निम्ति म सबैमा हार्दिक आह्वान र अनुरोध गर्दछु ।
धन्यवाद ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा २०७७ जेठ १५ गते
दिनुभएको शुभकामना सन्देश) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?