logo
२०८१ बैशाख ८ शनिवार



जोगिने रणनीति

विचार/दृष्टिकोण |




डा. नारायणबहादुर बस्नेत

कोरोना भाइरस (कोभिड– १९ ) भाइरसबाट हुने महामारी रोग हो । यसले सामान्यतया नाक, घाँटी हुँदै श्वासप्रश्वास अङ्गहरूलाई सङ्क्रमण गराउँछ । भाइरस भनेको सूक्ष्म तर सरल बनावट भएको जनावर, वनस्पति तथा कीटाणुहरूमा वृद्धि तथा विकास हुने सङ्क्रमणको कारक तत्व हो । भाइरसको उत्पत्ति सम्भवतः वनस्पति तथा जनावरको कोषको उत्पत्ति भएपछि भएको हो । भाइरसलाई बनावट, आकार तथा यसको आवरणका आधारमा वर्गीकरण गरिन्छ । भाइरस बन्ने न्युक्लिक एसिडको आधारमा डीएनए र आरएनए भाइरसमा वर्गीकरण गरिएको छ । यस वर्गीकरणका आधारमा कोरोना भाइरस परिवारअन्तर्गत पर्ने आरएनए भाइरस सार्स कोभ २ सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरुवात भएको सङ्क्रमण मानिन्छ । हाल यो विश्वव्यापीरूपमा फैलँदो छ । यो सुरु भएको २०१९ डिसेम्बरदेखि हालसम्म लाखौँ मानिस सङ्क्रमित भएका छन् । नेपालमा हालसम्म ३१ जनामा सङ्क्रमण फैलिएको छ ।
कसरी सर्छ
हालसम्म प्राप्त जानकारी अनुसार यो रोगको सङ्क्रमण भएको मानिससँग प्रत्यक्ष सम्पर्क वा जीवाणु अंशको सम्पर्क भएपछि सर्छ । प्रत्यक्ष बोल्दा, खोक्दा, हाच्छ्युँ गर्दा तथा सङ्क्रमण भएको व्यक्तिसँग प्रत्यक्ष सम्पर्क हुँदा वा त्यस्ता व्यक्तिले प्रयोग गरेका रुमाल, लुगाफाटा, सरसामानसँगको सम्पर्कबाट सर्छ ।
कसरी पत्ता लगाउने ?
यो रोगको मुख्य लक्षण ज्वरो आउनु, खोकी लाग्नु, सास फेर्न अप्ठ्यारोे हुनुका साथै कडा रूपको सङ्क्रमण भएमा छिटो बिरामीको अवस्था नाजुक हुनु हो । बालबालिकामा भने कडा रुघाखोकी जस्तो लक्षण देखिन सक्छ । उपरोक्त कुनै पनि लक्षण देखिनु दुई दिन अघिदेखि लक्षण देखिएको एक दुई दिन पछिसम्म बढी सर्ने हुन्छ । बिरामीसँग सम्पर्क भएदेखि लक्षण देखिन सामान्यतया दुईदेखि १४ दिनसम्म लाग्छ । रोगको प्रयोगशालामा परीक्षण गर्नु र पत्ता लगाउनु महत्वपूर्ण हुन्छ । पोजिटिभ भएकामध्ये कम मात्रामा कडा रूपमा लिइन्छ । जसलाई तत्काल अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई कृत्रिम श्वासप्रश्वास मेसिनमा राखी उपचार गनुपर्ने हुन्छ ।
व्यक्ति, परिवार र समुदायलाई रोगबाट बचाउन वा प्रतिकार गर्न व्यवस्थापन गर्नु अत्यन्त जरुरी हुन्छ । सम्भावित सङ्क्रमणले व्यापक रूप लिई जनधनको क्षति हुनुअघि वा फैलिन नदिनका लागि अन्तरदेशीय, अन्तर्राष्ट््िरय उपाय अवलम्बन गर्नुपर्छ ।
जनधनको क्षति कसरी रोक्ने
सङ्क्रमण भएको व्यक्ति र अन्य व्यक्तिको दूरी छ फिटभन्दा बढी राख्ने । एक व्यक्तिको श्वासले अर्को व्यक्तिको श्वासलाई प्रभावित पार्ने दूरीभन्दा टाढा बस्ने । आँखा, मुख, नाक आदिमा नछुने, छोएपछि हात धुने । हाच्छ्यँु गर्दा वा खोक्दा नाक, मुख कुइनाले वा कपडाले छोप्ने । नाक, मुख छोप्ने गरी मास्क प्र्रयोग गर्ने । खाना खानुअघि वा बाहिरबाट ल्याइएका सामान छोइसकेपछि कम्तीमा २० सेकेण्ड साबुनपानीले राम्रोसँग हात धुने । बिरामीको हेरचाह गरेपछि हात धुने, कीटाणुनाशक झोलले हात सफा गर्ने । भीडभाड हुन अवस्था सञ्चालन नगर्ने वा गर्नैपर्ने भए दूरी राख्दै मास्कको प्रयोग तथा प्रत्यक्ष सम्पर्कबाट बच्ने गर्नुपर्छ ।.हालसम्म गर्भ वा दूध चुसाउँदा सर्ने प्रमाणित भएको छैन । तथापि नवजात शिशुको आमा पोजिटिभ भएमा सो अवधिभर छुट्टै राख्ने र त्यसपछि स्तनपान गराउनुपर्छ । खोपको बारेमा जनस्वास्थ्यकर्मीको सल्लाह अनुसार गर्नुपर्छ । पर्याप्त मात्रामा झोल जस्तै मनतातो पानी, झोल, दूध, फलफूलको रस, सागसब्जी गेडागुडी सेवन गरी रोग निरोधक शक्ति वृद्धि गर्नुपर्छ । पोजिटिभ वा बिरामीलाई घृणा नगर्ने । चिन्ता नलिने, मन र शरीरलाई शान्त र प्रसन्न राख्ने । दैनिक योग र कसरत नियमित गर्ने ।
यसैगरी बुढापाका, नियमित औषधि सेवन गरिरहेका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, चिनीको रोग, मुटुका रोगी, मिर्गौला रोगी, लामो समय धूमपान तथा मद्यपान गर्ने व्यतिक्तले विशेष सावधानी लिनुपर्छ । भरपर्दो तथा आधिकारिक स्रोतबाट प्राप्त गरिएका सरसल्लाह तथा सुझावलाई मनन गरी व्यवहारमा उतार्नुपर्छ । बस्दा, सुत्दा, काम गर्दा, खाना खाँदा, पारिवारिक भेटघाट गर्दा, खेतिपाती गर्दा, पसलमा किनमेल गर्दा, यातायात, उद्योग, व्यापार गर्दा उचित दूरीलाई ध्यान दिनुपर्छ ।
स्वास्थकर्मीले निरन्तर सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने पोशाक जस्तै कपाल ढाक्ने, टोपी, आँखाको बचावट गरी नाक, मुख छोप्ने गरी मास्क र पूरै शरीर ढाक्ने लुगा, जुत्ता लगाएर एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सार्न नसक्ने वातावरण बनाउनुपर्छ । आफू जोगिएर अरूलाई जोगाउने तथा उपचार गर्नुपर्छ । विदेशबाट आउने व्यक्तिले परीक्षण गर्नुपर्छ ।
काम नगरेमा आर्थिक सङ्कट बढ्दै जाने हुँदा माथिका उपाय अपनाउँदै रोगीलाई सकेसम्म उपचार गराउन सक्ने क्षमता बढाउँदै लामो समयसम्म सङ्क्रमण रहेमा मानवजीवन कष्टकर नहुने गरी व्यवस्थापन गर्नुपर्छ । विभिन्न विशेषज्ञ तथा वैज्ञानिक विज्ञको सुझावका आधारमा सरकारी नीति तथा कार्यक्रम एकीकृत रूपमा गर्दै जानुपर्र्छ । यसबाट जनधनको उचित उपयोग हुनेछ । भाइरसको असरबाट जोगिन सर्वपक्षीय रणनीति आवश्यक पर्छ ।
(लेखक बाल तथा मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?